नेपाल–भारत सम्बन्धका शाश्वत आयामहरू « Khabarhub
Logo
५ कार्तिक २०७७, बुधबार

नेपाल–भारत सम्बन्धका शाश्वत आयामहरू



प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिणी छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ७०औँ जन्मदिनको अवसरमा बधाई तथा शुभकामना सन्देश दिए । यसअघि प्रधानमन्त्री ओलीले भारतको ७४औँ स्वतन्त्रता दिवसको अवसरमा पनि आफ्ना भारतीय समकक्षी मोदीलाई शुभकामना तथा बधाई सन्देश दिएका थिए ।

उपर्युक्त दुई वटा शुभकामना सन्देशले नेपाल र भारतबीच विगत ५ महिनादेखि चिसिएको सम्बन्धमा न्यानोपन आउन थालेको छ । अब विस्तारै यो सामान्य हुँदै पूर्ववत अवस्थामा फर्किन लागेको देखिन्छ । अतिक्रमित भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालले नयाँ भौगोलिक नक्शा जारी गरेपछि नेपाल–भारत दुई पक्षीय सम्बन्धमा कटुता उत्पन्न भएको थियो । विगत ५ महिनादेखि नेपाल र भारतबीच कूटनीतिकस्तरमा सम्बन्ध कायम रहे पनि राजनीतिकस्तरमा अनुकूलता थिएन ।

नेपाल र भारतबीच राजनीतिकस्तरमा न्यानो सम्बन्ध नरहे पनि व्यापारिक कारोबार बन्द भएन । खाद्यान्न, औषधि, पेट्रोलियम पदार्थ, लगायत कुनै पनि आवश्यक सामग्रीको आयातमा समस्या उत्पन्न भएन । हुन पनि नेपाल र भारतबीच परस्पर अन्तर्निर्भता, विश्वास र पारस्परिक लाभमा आधारितबाहेक सम्बन्धको विकल्प पनि छैन । भारतका प्रधानमन्त्री मोदी र हाम्रा प्रधानमन्त्री ओलीबीच संवादहीनता अन्त्य भई दुईपक्षीय सम्बन्ध सामान्य अवस्थामा फकिर्ने सम्भावना विकसित हुनु सकारात्मक कुरा हो । परस्पर विश्वास, सहयोग र सद्भावमा आधारित सम्बन्ध दुवै देशको हितमा हुनेछ ।

कुनै एक छिमेकी राष्ट्रको पक्षमा खुलेर उभिनु र अर्को छिमेकी राष्ट्रको खुलेर विरोध गर्नु हाम्रो देशको हितमा हुन सक्दैन । आफ्नो भौगोलिक अवस्थाअनुसार कूटनीति सञ्चालन गर्न र अवसरको उपयोग गर्न नसक्ने देशले प्रगति पनि गर्न सक्दैन ।

भारतीय स्वतन्त्रता दिवसको अवसरमा दुई प्रधानमन्त्रीबीच दुई पक्षीय संवाद भएलगत्तै नेपाल–भारत संयुक्त निगरानी संयन्त्रको बैठक भयो । नेपालका परराष्ट्रमन्त्री र नेपालका लागि भारतीय राजदूत बीच भएको बैठकमा नेपालमा भारतीय सहयोगमा निर्माणाधीन परियोजनाहरूको अवस्थाका बारेमा समीक्षा भएको थियो । कोभिड–१९ महामारीका कारण भर्चुअल माध्यमबाट यो बैठक भएको हो ।

नेपालका परराष्ट्र सचिव र भारतीय दूतावासका अधिकारीहरू बीच द्विपक्षीय हितसँग सम्बन्धित अन्य कतिपय विषयमा पनि छलफल भएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले प्रधानमन्त्री ओलीसित अनौपचारिक संवाद गर्नुका साथै सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालसित पनि द्विपक्षीय हितका विषयमा विचार–विमर्श गरे ।

निकट भविष्यमै नेपाल र भारतका परराष्ट्र सचिव तथा परराष्ट्रमन्त्री स्तरीय वार्ता हुने सम्भावना पनि विकसित भएको छ । नेपालको समग्र विकासमा भारतले गर्दै आएको सहयोगले पुनः निरन्तरता पाउन थालेको छ ।

नेपाल र भारतबीच विद्यमान सबै खाले समस्याको समाधान शान्तिपूर्ण वार्ताको माध्यमबाट सहजरूपमा गर्न सकिन्छ । निकट भविष्यमा दुई देशबीच उच्चस्तीय बैठकहरू हुने निश्चित छ । आपसी सम्बन्धका कतिपय विषयमा पनि छलफल हुने सम्भावना छ । भारतले रक्सौल–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्ने प्रस्ताव गरेको छ । रक्सौल–काठमाडौँ रेलमार्ग निर्माण हाम्रो देशको आर्थिक विकासमा कोशेढुङ्गा सावित हुनेछ ।

नेपालमा भारतीय अनुदानमा सञ्चालित परियोजनाहरूको अवस्था तथा नयाँ परियोजनाका विषयमा पनि छलफल हुन सक्ने सम्भावना छ । सीमा समस्या समाधानका बारेमा पनि छलफल हुनसक्ने सम्भावना छ । नेपाल र भारतको करिब १८ सय किलोमिटरभन्दा लामो सीमामध्ये ९८ प्रतिशत ठाउँमा वैज्ञानिक जीपीएस प्रविधिमार्फत नयाँ स्तम्भ गाडने काम पनि भइसकेको छ । सीमा नदीको वहावका कारण केही ठाउँमा समस्या देखिएको छ ।

सम्बन्धको धागो निरन्तरको सम्पर्क, सहकार्य, संवाद एवं सद्भावबाट बलियो बनाउन सकिन्छ । व्यङ्ग्य, कटाक्ष, आक्षेप, दोषारोपण र अनावश्यक टिका टिप्पणीले हित हुँदैन ।

नयाँ नक्शाका कारण उत्पन्न समस्या समाधान पनि चुनौती हुनेछ तर यसमा पनि वार्ताबाट समाधान निस्कने नै छ । नेपाल–भारत बाउण्ड्री वर्किङ गु्रपको बैठक बस्ने सम्भावना छ । यस बैठकमा सीमानाको विषय चर्चामा रहने निश्चित छ । नेपाल–भारत संयुक्त आयोगको बैठकमा विगतमा पनि कतिपय समस्या समाधान भएका छन् । आगामी दिनमा पनि आपसी सहमतिको आधारमा अनेकौँ द्विपक्षीय समस्याहरू समाधान हुने अपेक्षा गर्न सकिन्छ ।

केही अघिमात्रै भारतका परराष्ट्र सचिव हर्षवर्द्धन शृंगलाले ‘भारतीय विश्व सम्बन्ध परिषद’ ले आयोजन गरेको ‘महामारीकालमा भारतीय कूटनीतिको वृहत् आयाम’ विषयमा सम्बोधन गर्दै नेपाल र भारत बीचको सम्बन्ध सामान्य अवस्थामा रहेको र घनिष्ठ एवं मित्रवत सम्बन्धमा समस्या उत्पन्न नै नहुने बताए । उनले कोरोना महामारीका दौरान पनि भारत र नेपालको व्यापारिक कारोबार पूर्ववत अवस्थामा सञ्चालनमा रहेको र नेपाललाई भारतले सक्दो सहयोग गरेको बताए ।

भारतीय परराष्ट्र सचिवको उक्त भनाइलाई पनि हाम्रो सम्बन्ध पूर्ववत अवस्थामा फर्किन लागेको संकेतको रूपमा बुझ्न सकिन्छ । कोरोना महामारीका कारण भारतका विभिन्न शहरमा कार्यरत हजारौँ नेपाली कामदारहरू स्वदेश फर्केका थिए । नेपालमा काम पाउन नसकेपछि दिनहुँ फेरि हजारौँको सख्यामा नेपाली युवाहरू पश्चिमी तराईको नाकामार्फत कामको खोजीमा भारतका विभिन्न शहरमा जाने क्रम सुरु भइसकेको छ ।

मित्र फेर्न सकिन्छ तर छिमेकी रोज्न सकिँदैन भन्ने शाश्वत मान्यता बिर्सेर परराष्ट्र सम्बन्ध सञ्चालन गर्न खोज्नु बुद्धिमानी होइन । भारत र चीनजस्ता विश्वका उदाउँदा शक्ति राष्ट्रको बीचमा अवस्थित नेपालले दूरदर्शी कूटनीति सञ्चालन गर्न सकेन । कुनै एक छिमेकी राष्ट्रको पक्षमा खुलेर उभिनु र अर्को छिमेकी राष्ट्रको खुलेर विरोध गर्नु हाम्रो देशको हितमा हुन सक्दैन । आफ्नो भौगोलिक अवस्थाअनुसार कूटनीति सञ्चालन गर्न र अवसरको उपयोग गर्न नसक्ने देशले प्रगति पनि गर्न सक्दैन ।

परराष्ट्र सम्बन्धजस्तो संवेदनशील विषयमा परिपक्व, र गम्भीर भूमिकाको अपेक्षा हुन्छ । दुवैको भूमिका सकारात्मक भए नेपाल र भारत बीचको द्विपक्षीय सम्बन्ध सामान्य अवस्थामा फर्किनेछ ।

एउटा राजनीतिक दलको सम्बन्ध विश्वका जुनसुकै देशको राजनीतिक दलसित वा समान विचारधारा भएका राजनीतिक दलहरूसित हुन सक्छ तर परराष्ट्र सम्बन्धको निर्धारण व्यक्ति अथवा दलको हितलाई ध्यानमा राखेर हुँदैन । त्यहाँ देश र जनताको हित सर्वोपरी हुनुपर्छ । विश्वका जति पनि सम्पन्न र शक्तिशाली राष्ट्रहरू छन् तिनको परराष्ट्र सम्बन्ध व्यक्तिगत अथवा दलगत आधारमा निर्धारण भएको हुँदैन ।

आर्थिक रूपले पिछडिएका, जातीय द्वन्द्वले जर्जर अर्थ व्यवस्था भएका, गृहयुद्ध अथवा आन्तरिक सशस्त्र संघर्षका कारण अस्तव्यस्त राजनीतिक र सामाजिक अवस्था भएका देशहरूमा त्यहाँका शासक र नेताहरू राष्ट्रियताको नारा अघि सारेर जनताका जल्दाबल्दा समस्या ओझेलमा पार्ने काम गरिरहेका हुन्छन् । जुन देशका शासक र राजनीतिक दलसित देशको आर्थिक विकास एवं समृद्धिको निम्ति प्रष्ट दृष्टिकोण हुँदैन, ठोस नीति एवं कार्यक्रम लागु गर्ने मनसाय हुँदैन, ती देशमा परराष्ट्र सम्बन्धको पनि ठोस दिशा र लक्ष्य हुँदैन ।

विगत ५ महिनामा नेपाल–भारत द्विपक्षीय सम्बन्ध चिसिएको अवस्थामा रहेको भए पनि जनताको सम्बन्धमा कटुता भएन । प्रकृतिप्रदत्त यस सम्बन्धको विशेष महत्व छ । यसलाई अस्वीकार गर्न सकिँदैन । सम्बन्धको धागो निरन्तरको सम्पर्क, सहकार्य, संवाद एवं सद्भावबाट बलियो बनाउन सकिन्छ । व्यङ्ग्य, कटाक्ष, आक्षेप, दोषारोपण र अनावश्यक टिका टिप्पणीले हित हुँदैन ।

परराष्ट्र सम्बन्धजस्तो संवेदनशील विषयमा परिपक्व, र गम्भीर भूमिकाको अपेक्षा हुन्छ । दुवैको भूमिका सकारात्मक भए नेपाल र भारत बीचको द्विपक्षीय सम्बन्ध सामान्य अवस्थामा फर्किनेछ ।


भर्खर

0