जोखिममा रहेका ज्येष्ठ नागरिक र दीर्घ रोगीको हेरचाह « Khabarhub
Logo
९ आश्विन २०७७, शुक्रबार

जोखिममा रहेका ज्येष्ठ नागरिक र दीर्घ रोगीको हेरचाह



संक्रामक रोगले शरीरको रोग प्रतिरोधात्मक क्षमतामा असर पुर्‍याउँछ  । कोरोना भाइरस संक्रमण (कोभिड–१९) होस् वा अन्य सरुवा रोगहरू, त्यसबाट शरीरमा हुने जटिलताको स्तर शरीरमा भएको रोग प्रतिरोधात्मक क्षमताले निर्धारण गर्छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर छ भने रोगले बढी प्रभाव पार्छ ।

कोभिड–१९ को सन्दर्भमा कस्तो छ भने रोगसँग लड्ने क्षमता कमजोर भएका मानिसहरूमा यसको संक्रमण भयो भने यसबाट हुने कम्प्लिकेसनहरू (जटिलता) बढी नै देखिएको छ । रोगसँग लड्ने क्षमता कमजोर भएका व्यक्तिहरू को हुन् भन्ने कुरा अध्ययनहरूले देखाएका छन् । उमेरले ६५ वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक र जुन उमेरको भए पनि कुनै कारणले रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरू बढी जोखिममा हुन्छन् ।

कुनै दीर्घ रोग लागेको व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । फोक्सो, मुटुको रोग, दम, उच्च रक्तचाप, नियमित डायलाइसिस गराइरहेका व्यक्ति, क्यान्सरका बिरामीसँग रोग प्रतिरोधात्मक क्षमता (रोगसँग लड्ने क्षमता) कमजोर हुन्छ । उमेर बढ्दै जाँदा क्यान्सरको जोखिम पनि बढ्दै गएको हुन्छ । यसकारण ज्येष्ठ नागरिकहरू सधैँ कुनै न कुनै दीर्घरोगको जोखिममा हुन्छन्, रोगी भएका हुन्छ । अङ्ग प्रत्यारोपण गरेका व्यक्तिहरूमा पनि रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ ।

नियमितरूपमा धुमपान गर्ने व्यक्तिहरूमा पनि शरीरमा रोगसँग लड्ने क्षमता कमजोर हुन्छ । कुनै वयस्क व्यक्ति धुमपान गरिरहेको छ भने उसमा पनि कोरोना संक्रमणको जोखिम बढी हुन्छ ।

नेपालमा मात्र होइन विश्वभरि नै अहिले कोरोना संक्रमण हुने र बढी मृत्यु हुनेमा ज्येष्ठ नागरिक र दीर्घ रोगीहरू नै छन् । कोरोना भाइरस संक्रमणपछि मृत्यु हुनुको कारण नै रोगसँग लड्ने क्षमता कमजोर भएर हुने कम्प्लिकेसन हो ।

कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने ज्येष्ठ नागरिकको संख्या भयावह नै छ । विश्वमा ८० वर्ष उमेरमाथिका व्यक्तिमा कोरोना संक्रमणपछिको मृत्युदर १५ प्रतिशत रहेको छ ।

नेपालमा अहिले देखिएको मृत्युदर तुलनात्मकरूपमा कम नै हो । नेपालमा समुदायमा संक्रमण भरखरैमात्र देखिन सुरु भएको छ । त्यसैले मृत्युदर कम देखिएको हो ।

दीर्घ रोगी र ज्येष्ठ नागरिकलाई छुट्टै आइसोलेसन बनाएर चिकित्सक वा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्नुपर्छ । होम आइसोलेसनमा राख्नु हुँदैन । उनीहरूमा जुनसुकै वेला कम्प्लिकेसन आउन सक्छ । त्यसैले, कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेका व्यक्तिहरूलाई संस्थागत आइसोलेसनमा स्वास्थ्यकर्मीको विशेष निगरानीमा राख्नुपर्छ ।

सुरुमा विदेशबाट आएका वयस्क मान्छेहरूमा कोरोना भाइरस संक्रमण देखिएको थियो । त्यो समयमा मृत्यु पनि कम थियो । अहिले नेपालको तथ्यांकमा मृत्युदर पनि बढ्ने क्रममा छ । समुदायमा संक्रमण फैलिन थालेपछि घरमै रहेका ज्येष्ठ नागरिकमा पनि संक्रमण हुन थाल्यो र मृत्युदर बढ्दो छ । संक्रमण नियन्त्रण गर्न सकिएन भने नेपालमा पनि मृत्युदर बढ्दै जाने अवस्था आउँछ । ज्येष्ठ नागरिकमा बढी संक्रमण देखियो भने मृत्युहुने दर पनि बढी नै हुनसक्छ ।

नेपाल सरकारले जनस्वास्थ्यको मापदण्ड निर्धारण गरेको छ । यसको पालना गर्नुपर्छ । हामीले फोन गर्दा पनि कोरोना लाग्नबाट बच्ने उपाय सुनिरहेका हुन्छौँ । हरेक दिन हामीले सुनेका चेतनाका कुरा कति पालना गरेका छौँ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

चेतनाको लागि फोनमै रिङटोन आउँछ, कोरोनाबाट बच्न दुई मिटरको सामाजिक दूरी कायम गरौँ । हामी कार्यालयमा रहँदा, व्यक्तिसँग कुरा गर्दा वा खाजा खाने समयमा समूहमै बसेको देख्छौँ । हामी वयस्क मानिसलाई कोरोनाले मलाई केही गर्दैन भन्ने भ्रम छ । मानिसमा आत्मबल हुनु राम्रो कुरा हो तर त्यसरीमात्र ढुक्क हुनु हुँदैन । कोरोना लागेका ८० प्रतिशत व्यक्तिमा लक्षण नै देखिँदैन । सबैभन्दा बढी युवाहरू नै हुन्छन् ।

यिनै बलिया युवाहरूले नै आफ्नो घरका र समुदायका ज्येष्ठ नागरिक र दीर्घ रोगीहरूमा संक्रमण गराउने सम्भावना बढी हुन्छ । युवाहरू पनि कोरोना संक्रमणबाट जोगिनै पर्छ ।

कोरोना भाइरस संक्रमण मुख्य दुई वटा कुरामा ध्यान दिन आवश्यक छ । एक, संक्रमण र दुई, संक्रमणबाट हुने कम्प्लिकेसन (जटिलता) । संक्रमण हुँदैमा मानिसलाई केही भइहाल्ने होइन तर त्यही संक्रमणबाट निम्तिने कम्प्लिकेसनले असर गर्छ ।

कोरोना संक्रमण त जसलाई पनि हुनसक्छ तर कम्प्लिकेसन दीर्घरोगी र ज्येष्ठ नागरिकलाई बढी हुन्छ । त्यसैले, आफ्नो परिवार तथा समाजमा रहेका ज्येष्ठ नागरिक र दीर्घरोगीलाई कोरोना सर्नबाट जोगाउन वयस्क व्यक्तिहरू नै कोरोनाबाट जोगिन जरुरी छ ।

घरमै रहेका ज्येष्ठ नागरिकभन्दा घरबाहिर निस्केका वयस्क व्यक्तिले घरपरिवारमा कोरोना संक्रमण लैजान सक्छन् । वयस्क व्यक्तिले मास्क लगाउने, हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, खोक्दा र हाछ्युँ गर्दा मुख छोप्ने, दूरी कायम गर्ने, जरुरी काम नपरी घरबाहिर नजाने जस्ता जनस्वास्थ्यका मापदण्ड पूराका पूरा पालना गर्नुपर्छ ।

जनस्वास्थ्यका यी मापदण्ड पालना गर्न सकियो भने कोरोना आफू र आफ्नो परिवारका सबै उमेर समूहका सदस्यहरूलाई संक्रमणबाट बचाउन सकिन्छ ।

अहिलेको अवस्थामा कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेका व्यक्ति दीर्घरोगी र ज्येष्ठ नागरिकहरू नै हुन् । सरकारले अहिले लक्षणविहीन व्यक्तिहरूलाई होम आइसोलेसनमा राख्ने भनेको छ । म ‘ज्येष्ठ नागरिक रोग’ विशेषज्ञ भएको नाताले भन्दैछु, उनीहरूलाई घरमा आइसोलेसनमा राख्नु हुँदैन । हाम्रो चेतनाको स्तरले घरमा उपयुक्त आइसोलेसन बनाउन सम्भव छ कि छैन भन्ने कुराले कुराले धेरै फरक पार्छ ।

ज्येष्ठ नागरिक र दीर्घरोगीलाई कोरोना पोजेटिभ भएपछि कुनै समस्या देखिएमा तुरुन्त अस्पताल लानुपर्छ । सामान्य समस्या भनेर बेवास्ता गर्नु हुँदैन । दीर्घ रोगी र ज्येष्ठ नागरिकमा सानो संक्रमणले पनि ठूलो जटिलता देखिन सक्छ ।

राम्रो आर्थिक अवस्था भएको परिवार वा आफ्नै घर भएकाले आफ्नो घरमा आइसोलेसन बनाउन सक्लान्, अलग्गै शौचालयदेखि सबै अलग गर्न सक्लान् । यो अवस्थामा होम आइसोलेसन ठिक हो । तर, मध्यम वा अझ कम आयस्रोत भएका, एउटै कोठामा धेरैजना बस्नुपर्ने अवस्था भएका परिवारमा लागि होम आइसोलेसनको व्यवस्थापन कठिन हुन्छ ।

हामी उच्च जोखिममा रहेका दीर्घ रोगी र ज्येष्ठ नागरिकको कुरा गरिरहेका छौँ । दीर्घ रोगी र ज्येष्ठ नागरिकलाई छुट्टै आइसोलेसन बनाएर चिकित्सक वा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्नुपर्छ । होम आइसोलेसनमा राख्नु हुँदैन । उनीहरूमा जुनसुकै वेला कम्प्लिकेसन आउन सक्छ । त्यसैले, कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेका व्यक्तिहरूलाई संस्थागत आइसोलेसनमा स्वास्थ्यकर्मीको विशेष निगरानीमा राख्नुपर्छ ।

विज्ञहरू, नागरिक तथा सञ्चारमाध्यमको दबाबपछि बल्ल स्थानीय तहहरू आइसोलेसन निर्माणको व्यवस्थापनमा लागेका छन् । खासमा यो काम पहिलो चरणको लकडाउनमै हुनुपर्ने थियो । संक्रमणको दर र मृत्युदर न्युनीकरणका लागि लकडाउनको समयमा सरकार क्वारेन्टिन, आइसोलेसन र क्रिटिकल केयरका संरचना निर्माणमा लाग्नुपर्ने थियो । सबै कुरा बन्द गरेर मान्छेको आवतजावत नियन्त्रण गर्नमात्र सरकार गर्न केन्द्रित भयो । स्वास्थ्य सुरक्षा र व्यवस्थापनमा खासै काम भएन ।

सरोकारवाला निकायहरू संक्रमणको प्रक्षेपण गरेर सोहीअनुसार आइसोलेसन तथा क्रिटिकल केयरको लागि व्यवस्थापनमा लाग्नुपर्ने थियो । अहिले काठमाडौंमा हरेक दिन दुई सय जनाभन्दा बढी संक्रमित देखिन थालेपछि बल्ल आइसोलेसन कता बनाउने भनेर सरोकारवाला निकाय तात्न थालेको देखिन्छ । यो एउटा अदूरदर्शिताको परिणाम हो ।

सरकारले उच्च जोखिममा रहेका दीर्घ रोगी र ज्येष्ठ नागरिकलाई संक्रमण पुष्टि भएपछि जतिसक्दो छिटो संस्थागत आइसोलेसनमै राख्ने प्रबन्ध गर्नुपर्छ । संस्थागत आइसोलेसन पूर्णरूपमा व्यवस्थापन नहुँदासम्म परिवारका वयस्क सदस्यहरूले सावधानी अपनाएर दीर्घ रोगी र ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्नुपर्छ ।

कोरोना पोजेटिभ भएपछि कुनै लक्षण देखिएको छ कि, सास फर्ने गाह्रो भएको छ झाडापखाला लागेको छ कि, स्वास्थ्यमा अन्य कुनै जटिलताहरू देखिएको छ कि भनेर परिवारका सदस्यले ध्यान दिनुपर्छ ।

ज्येष्ठ नागरिक र दीर्घरोगीलाई कोरोना पोजेटिभ भएपछि कुनै समस्या देखिएमा तुरुन्त अस्पताल लानुपर्छ । सामान्य समस्या भनेर बेवास्ता गर्नु हुँदैन । दीर्घ रोगी र ज्येष्ठ नागरिकमा सानो संक्रमणले पनि ठूलो जटिलता देखिन सक्छ ।

कुनै समस्या देखिएको छैन तर नियमित औषधि सेवन गर्ने व्यक्ति हुनुहुन्छ भने कम्तीमा एक महिनालाई चाहिने नियमित औषधि राख्नुपर्छ । कोरोना भाइरस संक्रमणको यो जटिल समयमा सचेत रहन तथा संक्रमणबाट जोगिन र जोगाउन सबै उपाय अपनाउन आवश्यक छ ।

यस्तै, संक्रमण नदेखिएका तर जुनसुकै दिन संक्रमण हुनसक्ने ज्येष्ठ नागरिक तथा दीर्घ रोगीको विषेश हेरचाह गर्नुपर्छ । पौष्टिक आहारमा विशेष ध्यान दिनुपर्छ । नियमित खानपानमा सागसब्जी र फलफूलको मात्रा बढाउनु पर्छ । माछामासु तथा अण्डा राम्रोसँग पकाएर खुवाउनुपर्छ । गेडागुडीहरू खुवाउनुपर्छ । घरमै गर्न सकिने शारीरिक व्यायामहरू दैनिक कम्तीमा आधाघण्टा गराउनुपर्छ । यसबाट रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुग्छ ।

कोरोनाका कारण घरमै रहँदा पनि मानसिक तनाब बढिरहेको हुनसक्छ । सधैँ तनावमा हुने मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । त्यसैले, ज्येष्ठ नागरिक तथा दीर्घरोगीलाई सही र सकारात्मक सूचनामात्र दिनुपर्छ । कोरोना भाइरस लागेका सबै मर्दैनन्, निको हुन्छन् भनेर मनोबल उच्च बनाउनु मद्दत गर्नुपर्छ ।

यस्तै, शरीरमा भिटामिन डि कम भएमा पनि रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले हरेक दिन पातलो कपडा आधा घण्टा लगाएर घाममा बस्नुपर्छ । विशेषगरी हिमाली र पहाडी क्षेत्रका वृद्धवृद्धालाई दिनमा आधाघण्टा घाममा पातला कपडामा बस्न लगाउनुपर्छ ।

अहिले कोरोना भाइरस संक्रमण बढ्दै गएकाले सबैको ध्यान यसमै छ । सबै स्रोत कोरोना व्यवस्थापनमा लागेको छ । यसले ज्येष्ठ नागरिक र दीर्घ रोगीको स्वास्थ्य उपचारको कुरा छायामा पारेको छ । परिवारका सदस्यमा कुनै अन्य समस्या देखिएको छ भने तुरुन्त अस्पताल लाने वा चिकित्सक तथा स्वास्थ्यकर्मीको परामर्श लिने गर्नुपर्छ ।

यस्तै, कुनै समस्या देखिएको छैन तर नियमित औषधि सेवन गर्ने व्यक्ति हुनुहुन्छ भने कम्तीमा एक महिनालाई चाहिने नियमित औषधि राख्नुपर्छ । कोरोना भाइरस संक्रमणको यो जटिल समयमा सचेत रहन तथा संक्रमणबाट जोगिन र जोगाउन सबै उपाय अपनाउन आवश्यक छ ।

(डा. कँडेलसँग रिता लम्सालले गरेको कुराकानीमा आधारित)


भर्खर

0