निराशाबीच आशाका ७ किरणहरू « Khabarhub
Logo
२९ चैत्र २०७७, आइतबार

निराशाबीच आशाका ७ किरणहरू



संसारमा अहिले सबैको मन र मुखमा एउटै कुराको बास छ- कोरोना भाइरसको महामारी । नहोस् पनि किन, यही महामारीका कारण विश्वभर हजारौंको ज्यान गइसकेको छ । अरू लाखौं मानिस संक्रमित छन् ।

हरेक टेलिभिजन, पत्रपत्रिका, रेडियो र अनलाइनमा जताततै कोरोना भाइरसले संसारभर मच्चाइरहेको वितण्डाको कुरामात्र हुन्छ ।

नेपालमा पनि कोरोना भाइरसको संक्रमण देखएपछि सरकारले हिँडडुल बन्दाबन्दी (लकडाउन) गरिदिएको छ । मानिसहरू अत्यावश्यक कामबाहेक बाहिर निस्कन पाएका छैनन् । दैनिक काम गरेर गुजारा गर्ने श्रमिकहरू अलपत्र छन् ।

यो बेला विश्वभरका मानिसहरूको मनमा ‘यो भाइरसको महामारी सकिएर जाने हो कि होइन’ वा ‘कतिदिन यसरी घरभित्रै बसिरहनुपर्ने हो’ वा ‘आफू पनि यो भाइरसको शिकार भइने पो हो कि’ भन्ने अनेकौँ अनिश्चित र अनुत्तरित प्रश्न उब्जेका छन् ।

यो असामान्य परिवेशमा यस्तो हुनु स्वाभाविक नै छ ।

यस्तो असामान्य परिस्थितका बीच पनि, १९औँ शताब्दीका प्रभावशाली स्वीस दार्शनिक हेनरी–फ्रेडरिक अमेइलले भनेजस्तै ‘अनिश्चिततामा आशाको बास हुन्छ ।’

कोरोना भाइरस संक्रमणको यो समयमा जतिसुकै अनिश्चितता भए पनि आशा गर्ने ठाउँ पनि छ । सबैभन्दा महत्वपूर्ण कुरा हिम्मत नहार्नु र आश गर्न नछाड्नु हो ।

कोरोना भाइरस मानव सभ्यताका लागि पहिलो वा सबैभन्दा खतरनाक प्रकोप हुँदै होइन । सन् १९१९ मा ५ करोड भन्दा धेरैको ज्यान जानेगरी आएको स्पेनी फ्लूपछि पनि मानव सभ्यता आफ्नो खुट्टामा उभिन सकेको हो । औषधि विज्ञान र चिकित्सा प्रविधिको क्षेत्रमा यतिका प्रगति हासिल गरेको मानव सभ्यताले पुनः एकपटक यो विषाणु प्रकोपलाई पनि जित्ने आशा गर्ने ठाउँ छ ।

आशा गर्ने ७ कारणहरु

१. हामीलाई यो कस्तो प्रकोप हो भन्ने थाहा छ

कुनै प्रकोपको सामना गर्न सर्वप्रथम त्यसको पहिचान गर्नु आवश्यक हुन्छ । सन् १९८१ मा पहिलोपटक एड्स रोगको लक्षण देखिए पनि उक्त रोग ल्याउने भाइरस (एचआइभी) पहिचान हुन २ वर्ष लागेको थियो ।

प्रविधिको विकासका कारण अहिलेको प्रकोप निम्त्याउने कोरोना भाइरसको पहिचान भइसकेको छ । गत डिसेम्बरको ३१ मा यो भाइरसका पहिलो संक्रमितको पहिचान भएको थियो । जनवरी ७ का दिन संक्रमण गराउने भाइरसको पहिचान भएको थियो । त्यसको केही दिनमै यो भाइरसको जेनोम सार्वजनिक भयो ।

२. चीन सम्हालिँदै छ

कोरोना भाइरसको शुरुआत भएको चीनमा पछिल्ला केही दिनयता यसबाट संक्रमित र मृत्यु हुनेहरुको संख्यामा नाटकीय कमी आइरहेको छ । चीनमा पछिल्ला केही सातामा स्थानीय स्तरमा एक व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस संक्रमण ह्वात्तै घटेको छ ।

कोरोना भाइरसको उद्गमस्थल मानिने हुबेई प्रान्तका अधिकांश शहरहरूमा करिब अढाई महिनापछि लकडाउन खुला गरिएको छ । प्रान्तीय राजधानी वुहान आगामी ८ अप्रिलबाट खुला हुनेछ । कोरोना भाइरसको प्रकोप सधैँ रहिरहन्न भनेर चीनले गतिलो उदाहरण प्रस्तुत गरेको छ ।

३. गैरचिकित्सकीय कदमहरू

स्वास्थ्य महामारी व्यवस्थापनका लागि चिकित्सासँगै गैरचिकित्सकीय कदमको पनि उत्तिकै महत्व हुन्छ । सरकारी एवं प्रशासनिक स्तरबाट कठोर गैरचिकित्सकीय कदम आवश्यक पर्न सक्छ ।

विश्वका विभिन्न मुलुकहरूले लकडाउन गर्ने, मानिसको भीडभाड हुन नदिने, खेलकुद र साँस्कृतिक समारोह बन्द गर्ने, बार र रेष्टुरेन्टहरू बन्द गर्नेजस्ता प्रशासनिक कदम चालेका छन् । यस्ता कदमका कारण कोरोना भाइरसको संक्रमण नियन्त्रण हुदै गएको देखिएको छ ।

४. संक्रमणबाट जोगिन व्यक्तिगत सरसफाइ

स्यानिटाइजर र साबुनपानीको नियमित प्रयोगले कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न सकिन्छ । सतहमा रहेको भाइरसलाई इथानोल, हाइड्रोजन पेरोक्साइड वा सोडियम हाइपोक्लोराइटको घोल प्रयोग गरी निष्क्रिय पार्न सकिन्छ ।

साबुनपानीले मिचिमिची हात धुने र स्यानिटाइजर प्रयोग गर्नाले पनि कोरोना भाइरसलाई निष्क्रिय गर्न सकिन्छ ।

५. संक्रमितमध्ये ८० प्रतिशतमा लक्षण सामान्यमात्र

वैज्ञानिकहरूका अनुसार कोरोना भाइरसको संक्रमण भएका ८१ प्रतिशत मानिसहरूमा सामान्य लक्षणमात्र देखा पर्छ । खोकी लाग्ने, ज्वरो आउनेजस्ता सामान्य लक्षण देखा पर्छ र उनीहरू निको हुन्छन् । अन्य १४ प्रतिशत संक्रमितहरुमा चाहिँ कोरोना भाइरसका कारण निमोनिया नै हुनसक्छ ।

बाँकी ५ प्रतिशत संक्रमितको मात्र अवस्था गम्भीर बन्न सक्छ । तथापि यसबाट हुने मृत्युदर ५ प्रतिशतभन्दा कम रहेको वैज्ञानिकहरूको भनाइ छ ।

६. संक्रमितमध्ये सबैको मृत्यु हुँदैन

कोरोना भाइरसले वृद्धवृद्धा, दीर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरूलाई बढी असर पर्ने पुष्टि भइसकेको छ । सोही कारण कोरोना भाइरसले मानव सभ्यता नै नाश गर्ला भनेर विरक्तिनु आवश्यक छैन ।

७. खोप विकास हुँदैछ

ढिलै भए पनि कोरोना भाइरसविरुद्ध खोपको विकास हुँदैछ । विश्वका विभिन्न ३५ संस्थानका वैज्ञानिकहरू खोप बनाउन जुटेका छन् ।

केहीले जनावरमा खोपको परीक्षण गरिरहेका छन् । केहीले मानवमै परीक्षण गरिसकेका छन् । कोरोना भाइरसविरुद्धको खोप विकास भएमा महामारी पनि सकिएर जानेछ ।


भर्खर

0