देउवाको अग्नि परीक्षा « Khabarhub
Logo
१ आश्विन २०७७, बिहीबार

देउवाको अग्नि परीक्षा



चौधौँ महाधिवेशनको सरगर्मीसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विषयमा राजनीतिक विश्लेषकबीच एउटा मूल प्रश्न चर्चामा छ । त्यो हो–कोइराला परिवारले आफ्नो बिरासत फिर्ता गर्न सक्ला ?’

यो प्रश्न चर्चामा आउनुको विशेष कारण छ । केही अपवाद बाहेक स्थापनाकालदेखि नै नेपाली कांग्रेसको राजनीति कोइराला परिवारको सेरोफोरोमै केन्द्रित छ । अहिलेसम्म १३ वटा महाधिवेशन सम्पन्न भएका छन् । जसमध्ये तीन वटामा मात्रै कोइराला परिवारबाहिर नेतृत्व गएको देखिन्छ । त्यो पनि कोइराला परिवारकै सहयोगमा । स्थापनाकालदेखि छैठौँ महाधिवेशनसम्म लगातार बीपी कोइराला र मातृकाप्रसाद कोइराला सभापति बनिरहे ।

२०१२ सालमा वीरगञ्जमा सम्पन्न महाधिवेशनमा मातृकाप्रसाद नेपाली कांग्रेसमा थिएनन् । बीपी उम्मेदवार बनेनन् । सुवर्णशमशेर राणा र गणेशमान सिंहबीच प्रतिस्पर्धा भयो । बीपीले सुवर्णलाई साथ दिए । गिरिजाप्रसाद कोइरालाले गणेशमानलाई साथ दिए । तीन वर्षका लागि सभापति पदमा निर्वाचित भएका सुवर्णशमशेरले दुई वर्ष बित्दा नबित्दै बीपीलाई नेतृत्व हस्तान्तरण गर्ने सोच बनाए ।

२०१४ सालमा जनकपुरमा भएको विशेष महाधिवेशनबाट बीपी सभापति बने । यसैगरी, २०१७ सालमा काठमाडौँमा सम्पन्न भएको सातौँ महाधिवेशनमा पनि बीपीले नै निरन्तरता पाए । २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि वीपीले कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक दिए । २०३९ साल साउनमा बीपीको निधन भयो । कार्यवाहक सभापतिकै रुपमा भट्टराईले निरन्तरता पाउँदै गए ।

२०४८ सालमा झापामा भएको आठौँ महाधिवेशनमा गणेशमानको प्रस्ताव र गिरिजाप्रसादको समर्थनमा भट्टराई निर्विरोध सभापति भए । त्यतिबेला नेपाली कांग्रेसका विश्लेषकहरूले भनेका थिए– गिरिजाप्रसादले चाहेका भए आफैँ सभापति पदमा चुनाव जित्न सक्ने थिए ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादले पार्टीमा निकै ठूलो पकड बनाइसकेका थिए । यति हुँदाहुँदै पनि भट्टराईलाई सभापति बनाए । त्यसपछि २०५३ सालमा काठमाडौंमा सम्पन्न नवौँ, २०५७ सालमा पोखरामा सम्पन्न दशौँ र २०६२ सालमा काठमाडौंमा सम्पन्न ११औँ महाधिवेशनमा निकै फराकिलो मतान्तरले गिरिजाप्रसाद सभापति पदमा निर्वाचित भए ।

१२औँ महाधिवेशन हुँदा गिरिजाप्रसादको निधन भइसकेको थियो । कोइराला परिवारको बिरासत थाम्दै सुशील कोइराला मैदानमा उत्रिए । उनले पनि तीन पटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवालाई फराकिलै मतान्तरले पराजित गरे ।

१३औँ महाधिवेशनमा सुशील कोइरालाको निधन भइसकेको थियो । कोइराला परिवारबाट नेतृत्वमा कसैले दाबी गरेनन् । डा. शशांक कोइराला महामन्त्री पदमा र डा. शेखर कोइराला र सुजाता कोइराला केन्द्रीय सदस्य पदमा निर्वाचित भए । महामन्त्री पदमा डा. शशांकले धेरै फराकिलो मतान्तरले चुनाव जिते । डा. शेखरले सर्वाधिक मत प्राप्त गरे । सुजाताले प्राप्त गरेको मत पनि निकै माथि थियो ।

१३औँ महाधिवेशनद्वारा नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुँदा धेरै मिडियाले लेखे– कोइराला परिवारको हातबाट नेतृत्व खोस्न देउवा सफल भए ।

२००७ सालको जनक्रान्तिले जसरी राणाहरूबाट शासन सत्ता जनतामा ल्याएको थियो ठीक त्यसैगरी देउवाले बहादुरी प्रदर्शन गरेको टिप्पणी पनि धेरैले गरे । परिवारको एकाधिकारबाट नेतृत्व फिर्ता ल्याएको भन्दै देउवाको स्तुतिगान सुरु भयो ।

वास्तवमा देउवाले कोइराला परिवारबाट नेतृत्व खोसेका थिएनन् । किनकि, देउवाको प्रतिस्पर्धामा कोइराला नभएर तनुहँका रामचन्द्र पौडेल थिए । देउवाले कोइराला परिवारका सदस्यलाई नभएर पौडेललाई पराजित गरेका थिए । कोइरालाहरू त सभापति पदमा उम्मेदवार नै थिएनन् । उनीहरू जुन जुन पदमा उम्मेदवार बनेका थिए ती ती पदमा सानदार मत ल्याएर चुनाव जितेका थिए ।

कोइराला परिवारसँग प्रतिस्पर्धा गरेर चुनाव जित्ने सामर्थ्य देउवाले राख्छन् कि राख्दैनन् भन्ने अग्नि परीक्षा भने आसन्न १४औँ महाधिवेशनमा हुनेछ । १४औँ महाधिवेशनमा कोइराला परिवारबाटै सभापति पदमा उम्मेदवार बन्ने सम्भावना धेरै छ ।

त्यसैले, देउवाले कोइराला परिवारको बिरासत खोसे भन्नु ज्यादै ठूलो भ्रम थियो । १३औँ महाधिवेशनको सतही समीकरण हेर्दा कोइरालाहरू पौडेलको प्यानलमा थिए तर भित्री चलखेल के थियो भन्ने कुरा त्यतिबेला देउवा प्यानलबाट महामन्त्रीमा उम्मेदवार भइ डा. शशांकद्वारा पराजित अर्जुननरसिंह केसीले खोलिसकेकै छन् ।

महाधिवेशन सकिएको एक–दुई महिनापछि मिडियामा अन्तर्वार्ता दिँदै केसीले भनेका थिए– म त देउवा प्यानलको देखावटी उमेदवार मात्रै रहेछु, उनको प्यानलका खास उमेदवार त शशांक रहेछन् ।

हुन पनि सभापति पदमा देउवा र महामन्त्री पदमा डा. शशांकलाई चिह्न लगाएका मतपत्र करिब ८ सयको हाराहारीमा भेटिए । यसैगरी, डा. शेखरले पनि दुवै प्यानलका भोट प्राप्त गरे । डा. शखेरले भित्रीरूपमा देउवालाई सहयोग गरेको यर्थाथ केही महिनामा नै वरिष्ठ नेता पौडेलले उजागर गरे ।

माओवादी कांग्रेस गठबन्धन सरकार गठन हुने बेलामा डा. शेखरको नाम परराष्ट्रमन्त्री बन्ने सूचीमा आयो । तर, देउवा पक्षबाट कि पौडेल पक्षबाट नाम पठाउने भन्ने विवादका कारण उनको नाम काटियो । देउवाको तर्क थियो– महाधिवेशनका बेला जुन प्यानलमा नाम थियो त्यही प्यानलले सिफारिस गर्नुपर्छ । पौडेलको तर्क थियो– महाधिवेशनमा जसलाई सहयोग गरेका हौ, उसैले सिफारिस गर्ने हो मैले होइन ।

त्यसपछि डा. शेखर भन्न थाले– म त सी क्लासको कोइराला ।

१३औँ महाधिवेशनमा कोइराला परिवारबाट सभापति पदमा कोही उम्मेदवार नहुनु र उनीहरूको भित्री समर्थन पनि बाँडिनुका कारण देउवाले सभापति पदमा चुनाव जितेका हुन् । कोइराला परिवारबाट नेतृत्व खोसेको पगरी देउवालाई ओढाउनु भनेको झेली कुरा हो ।

गिरिजाप्रसाद र सुशील कोइरालाबाट भोगेको पराजय देउवाका लागि खासै अप्रिय थिएन । ती दुई पराजयले देउवाको उचाइ बढाएको थियो । शशांक वा शेखरसँग पराजय हुने छुट देउवाका लागि छैन । जिते पनि खासै बहादुरी मानिनेछैन । हारे भने त राजनीतिक उचाइ बाँस निहुरिएझैँ हुनेछ ।

कोइराला परिवारसँग प्रतिस्पर्धा गरेर चुनाव जित्ने सामर्थ्य देउवाले राख्छन् कि राख्दैनन् भन्ने अग्नि परीक्षा भने आसन्न १४औँ महाधिवेशनमा हुनेछ । १४औँ महाधिवेशनमा कोइराला परिवारबाटै सभापति पदमा उम्मेदवार बन्ने सम्भावना धेरै छ ।

दशौँ महाधिवेशनमा गिरिजाप्रसाद र १२औँमा सुशील कोइरालाबाट चुनाव हारेका देउवाका लागि १३औँ महाधिवेशनमा रामचन्द्र पौडेल निकै सहज थिए । तर, १४औँ महाधिवेशनमा डा. शेखर र शशांकमध्ये एक जनासँग देउवाले सामना गर्नु पर्नेछ । यी दुवै जना देउवाको तुलनामा जुनियर हुन् । देउवा जुनबेला मुलुकको प्रधानमन्त्री थिए त्यो बेला डा. शेखर र शशांक सक्रीय राजनीतिमा थिएनन्, आफ्नै पेशामा थिए ।

गिरिजाप्रसाद र सुशील कोइरालाबाट भोगेको पराजय देउवाका लागि खासै अप्रिय थिएन । ती दुई पराजयले देउवाको उचाइ बढाएको थियो । शशांक वा शेखरसँग पराजय हुने छुट देउवाका लागि छैन । जिते पनि खासै बहादुरी मानिनेछैन । हारे भने त राजनीतिक उचाइ बाँस निहुरिएझैँ हुनेछ ।

देउवाका लागि अनुकलता भने अझै जीवित छ । एकातिर १३औँ महाधिवेशनमा कोइराला परिवारबाट एक ढिक्का हार्दिक साथ नपाएको पीडा वरिष्ठ नेता पौडेलको छ । अर्कातर संसदीय दलको गत निर्वाचनमा कोइराला परिवारले आफूलाई घात गरेको महसुस प्रकाशिमान सिंहले गरेका छन् । यसैगरी, सभापति पदमा को अघि सर्ने भन्ने सन्दर्भमा डा. शेखर र डा. शशांकबीचको मतभेद हार्दिक सँझौतामा नटुङ्गिने सम्भावना पनि जीवितै छ ।

गण्डकी पश्चिमको भोट बैंकमा देउवालाई धावा बोल्नेहरू अहिलेसम्म देखिएका छैनन् । काठमाडौँ पूर्वमा रहेको कोइरालाहरूको भोट बैंकमा धावा बोल्न यसपटक पनि कृष्णप्रसाद सिटौला बुढनीलकण्ठमा हाजिर छन् ।


भर्खर

0