के थाहा कोही मान्छे यति अपराधी हुन्छ ! | Khabarhub Khabarhub

के थाहा कोही मान्छे यति अपराधी हुन्छ !



काठमाडौं । उमेरले २२ वर्ष टेकेकी पवित्राको रुचि शृङ्गारमा छ । उनलाई चिटिक्क परेर बस्न मन लाग्छ । अहिले उनी उपचारका क्रममा अस्पतालमा छिन् । अस्पतालका रित्ता भित्ताहरू हेरेर दुई दिन बिते ।

अर्को दिन उनले ऐना हेर्न पाइन् । ऐनामा आफ्नो अनुहार देखेपछि पवित्राको मनमा एसिडले पोलेको भन्दा ठूलो पीडा उत्पन्न भयो । उनकी दिदी सुनिताले खबरहबसँग भनिन्, ‘पहिले त पोलेको पीडा मात्र थियो, ऐना हेरेपछि बहिनीले मन थाम्नै सकिनन्, रोइरहेकी छिन् ।’

दिदीहरूले पवित्रालाई यति चाँडै ऐना नदेखाउने सोचेका थिए । त्यसो गर्नुभन्दा ऐना हेर्न दिनु नै उचित हुने ठाने । सुनिताले भनिन्, ‘तत्काल ऐना हेर्न नदिने कि भन्ने सोचेको थियौँ तर बिस्तारै बानी हुन्छ, पछि अचानक आफूलाई अर्कै रूपमा देख्दा असह्य हुन सक्छ भनेर हेर्न दियौँ ।’

पवित्रालाई छ्यापेको एसिडले दिदीहरूको मन पोल्नसम्म पोलेको छ । ‘हाम्रो मन भतभति पोलेको छ, जति चिसो पानीले पनि शीतल बनाउँदैन, बहिनीको मनमा मनमा के बितिरहेको होला,’ सुनिताले भनिन्, ‘अब बहिनीको अनुहार पुरानै रूपमा फर्केला कि नर्फकेला भन्ने चिन्ता छ ।’

प्रायजसो प्रेमिकाले अर्कैलाई मन पराएको वा प्रेममा धोका भएको भन्ने बहानामा युवतीहरूमाथि एसिड प्रहारका घटना हुने गरेका छन् ।कानुनसम्बन्धी चेतना नभएका कारण पनि यस्ता घटना बढेको बताउँछन् नेपाल प्रहरीका पूर्वएआइजी नवराज ढकाल ।

पवित्रालाई अस्पताल पुर्‍याएपछि एसिड प्रहार भएको खबर फैलियो । ओखलढुङ्गामा रहेका परिवारजन झनै पीडित भए । तत्कालै २५ हजार रुपैयाँ ऋण खोजेर एम्बुलेन्समा आमा र काठमाडौं आइपुगिन् ।

पवित्राको उपचार कीर्तिपुरस्थित अस्पतालमा भइरहेको छ । साथमा आमा र दिदी छन् । डाक्टरले अप्रेसन गर्नुपर्छ भनेपछि उनीहरूमा तनाव झन् बढेको छ ।

‘अहिलेसम्म ५५ हजार खर्च भइसक्यो, यो पनि आफन्तसँग सापटी मागेको हो,’ सुनिताले भनिन्, ‘अप्रेसन गर्नुपरे कहाँबाट जुटाउने हो पैसा !’

पवित्रा ओखलढुङ्गामा १२ कक्षा पूरा गरेर चार वर्षअघि स्नातक तह पढ्ने उद्देश्यले काठमाडौं आएकी थिइन् । घरको आर्थिक अवस्था बलियो नभएकाले उनी रोजगारीतिर लागिन् । जेठी र साइली दिदी डल्लुमा बस्थे । उनीहरू डेरा नजिकै एउटा गार्मेन्टमा काम गर्थे ।

पवित्रा पनि दिदीहरूसँगै गार्मेन्टमा काम गर्न थालिन् । त्यही गार्मेन्टका साहु हुन् मोहम्मद आलम । काम गर्दागर्दै आलमसँग उनीहरूको चिनजान भएको थियो । पवित्राले गार्मेन्टमा १५ दिनमात्र काम गरिन् । उनीहरू आलमलाई दाइ भन्थे ।

सुनिताका अनुसार गार्मेन्टमा दुई साता काम गरेपछि पवित्राले अलिक राम्रो जागिर खान्छु भनेर काम छोडिन् । त्यसपछि र्‍याडिसन होटलमा काम गरिन् ।

गत माघमा पवित्रा होटल ह्यात रिजेन्सीमा पुगिन् । त्यहाँ दुई महिना काम गरेपछि देशमा लकडाउन भयो । त्यसपछि उनी घरमै बसिरहेकी थिइन् ।

गार्मेन्ट छोडेपछि गार्मेन्टका मालिक आलम पवित्रालाई फोन गरिरहन्थे । आलम विवाहित पुरुष हुन् । उनका छोराछोरी छन् ।

गत बिहीबार बिहानको पौने सात बजेको थियो । पवित्रा दहीचिउरा किन्न निस्किन् । उनले दिदीलाई जाऔँ भनिन् । तर दिदी सुनिता बेफुर्सदीका कारणले गइनन् । ट्युसन पढ्न गएका सुनिताका छोराछोरी आइपुग्ने बेला हुनै लागेको थियो ।

सँगै नगएकोमा सुनितालाई पछुतो लागेको छ । उनी भन्छिन्, ‘साथमा गएको भए यस्तो घटना हुँदैन थियो कि, अथवा दुवै जनालाई पो हुन्थ्यो कि !’

डेराबाट डेरी पसलहरू नजिकै पनि थिए तर पवित्रालाई जुजु धौ खाना मन लागेकाले सीतापाइला छेउ पुगेकी थिइन् ।

बाहिर निस्केकै समयमा आलमको फोन आयो । पवित्राले फोन उठाइन् र बाहिर छु भनिन् । आफू रहेको ठाउँको नाम बताइन् । आलमले पनि त्यही ठाउँमा रहेको बताए ।

आलमले एकै छिन भेटौँ, म डेरासम्म पुर्‍याइदिन्छु भने । पवित्राले आलमको यस्तो प्रस्ताव अस्वीकार गरिन् तर आलम बाटैमा भेटिए । मोटरसाइकलमा बस्न जिद्दी गरेपछि पवित्रा बसिन् । मोटरसाइकल रोकाएर दही चिउरा किनिन् ।

आलमले कोठामा पुर्‍याइदिने भए । हिँड्दै एक मिनेट जति लाग्ने ठाउँमा आलमले पवित्रालाई मोटरसाइकलबाट ओराले । त्यहाँ उनले उभिएको अर्को एउटा मान्छे देखिन् । उनी फटाफट आफ्नो बाटो लागिन् । बाटोमा उभिएको त्यही मान्छेले दाहिनेतिरबाट एसिड छ्याप्यो ।

पवित्रा चिच्याउँदै कोठामा पुगिन् । ‘बहिनीको अनुहारको दाहिने भाग एसिडले पूरै पोलेको थियो,’ सुनिताले भनिन्, ‘सम्झन पनि सक्दिनँ, कस्तो अवस्थामा बहिनीलाई देखेँ भनेर ।’

२०७५ भदौ १ गते लागु भएको मुलुकी अपराध संहिता दफा १९३ (२) अनुसार कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरूप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना हुन्छ । त्यस्तै शरीररको अन्य अङ्ग कुरूप पारेमा वा शरीरमा पीडा पुर्‍याएमा ३ देखि ५ वर्षसम्म कैद र ५० हजारदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

एसिड छ्यापेका ठाउँमा रहेको सीसी क्यामेराको दृश्यको मद्दतले सोही दिन राति ११ बजे प्रहरीले आलम र मुन्ना महम्मदलाई पक्राउ गर्‍यो । आलम रौतहटका स्थायी बासिन्दा हुन् । मोहम्मद मुन्ना भारतीय हुन् ।

शुक्रबार बिहान पीडितले थाहा पाए, एसिड छ्याप्न लगाउने आलम नै हो भनेर । के थाहा कोही मान्छे यति अपराधी हुन्छ !

‘त्यसलाई फाँसी नै भए राम्रो हुन्थ्यो तर हाम्रो देशमा त्यस्तो कानुन छैन, तिनीहरूलाई कडाभन्दा कडा सजाय होस् !’ सुनिताले भनिन् ‘जेलमा तिनीहरूको शरीर एसिडले भन्दा धेरै पोलोस् ।’

बहिनीको उपचारका लागि सरकारले मद्दत गरे हुन्थ्यो भन्ने सुनिताको अपेक्षा छ ।

यस्तो छ कानुनी प्रावधान

२०७५ भदौ १ गते लागु भएको मुलुकी अपराध संहिता दफा १९३ (२) अनुसार कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरूप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना हुन्छ ।

त्यस्तै शरीररको अन्य अङ्ग कुरूप पारेमा वा शरीरमा पीडा पुर्‍याएमा ३ देखि ५ वर्षसम्म कैद र ५० हजारदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

क्षति हेरेर तीनदेखि ८ वर्ष कैद र ५० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म जरिवाना हुने अर्को प्रावधान पनि छ ।

एसिड प्रहारबाट मृत्यु भएमा पीडकलाई ज्यानसम्बन्धी मुद्दा लाग्छ ।

रोक्ने उपाय कानुनी चेतना

प्रायजसो प्रेमिकाले अर्कैलाई मन पराएको वा प्रेममा धोका भएको भन्ने बहानामा युवतीहरूमाथि एसिड प्रहारका घटना हुने गरेका छन् ।

कानुनसम्बन्धी चेतना नभएका कारण पनि यस्ता घटना बढेको बताउँछन् नेपाल प्रहरीका पूर्वएआइजी नवराज ढकाल ।

‘अन्य मुलुकहरूमा कानुन लागु गर्नुअघि त्यसबारे चेतना दिइन्छ तर हाम्रोमा अदालत र कानुन कार्यान्वयन गर्ने निकायमा गएपछि मात्र थाहा हुने गरेको छ, त्यो हटाउनुपर्छ,’ ढकालले भने ।

एसिड कसले बेचेको छ र बेच्नेले कानुनी प्रावधान पालना गरेको छ कि छैन भन्ने अनुगमन हुनुपर्ने ढकालको भनाइ छ । उनले खबरहबसँग भने, ‘आयात र बिक्री गर्नेहरू पनि यसको दायित्वभित्र पर्छन्, उनीहरूले पनि जिम्मेवारीपूर्वक काम गर्नुपर्छ ।’

ढकालका अनुसार यस्ता घटना संक्रामक अर्थात एकबाट अर्कोले सिक्ने खालका हुन्छ । यस्ता घटनाहरू समाचारका रूपमा प्रकाशन र प्रसारण गर्दा पनि विचार पुर्‍याउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  १२ : ३५ बजे

ओलीको प्रतिवेदन : विचार मिल्नेहरू माझ सहकार्य आवश्यक  

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख्य प्रश्नहरूमा न्यूनतम

इलाम पुगेर गगनले भने- गठबन्धनले माघ कटाएछ भने फेरि जवाफ दिन आउनेछु

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन लामो समय

एमालेको प्रतिनिधि परिषदमा प्रस्तुत ६ प्रतिवेदनहरू

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ

हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय

बेनी– अष्ट्रेलियका पिटर जेटी हल सन् १९९३ मा पहिलो पटक

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको