नेपाल पसेको 'सलह' सानो बथान तर क्षतिको छैन अनुमान | Khabarhub Khabarhub

नेपाल पसेको ‘सलह’ सानो बथान तर क्षतिको छैन अनुमान



काठमाडौँ- नेपालमा शनिबार बिहान सलह कीराको प्रवेश भएको छ । शुक्रबार भारतको बनारसमा रहेको सलहको बथान उत्तरपूर्वतर्फ हावाचल्दा सिधै बारा जिल्लामा प्रवेश गरेको हो ।

केही दिनअघि सलह कीराको चर्चा जताततै थियो । विज्ञहरूका अनुसार करिब दुई साताअघि भारत आइपुगेको सलहको बथान हावाको बेगले नेपाल प्रवेश गर्न रोकेको थियो । यससँगै नेपालमा सलहको संकट टरेको उनीहरूको भनाइ थियो ।

अनुमान विपरीत शनिबार राति अचानक सलह नेपाल प्रवेश गरेको छ । यससँगै भोकमारी निम्तिने खतरासमेत बढेको छ । जानकारहरूका अनुसार यसको एउटा ठूलो बथानले करिब ३५ हजार मानिसलाई खान पुग्ने उत्पादन क्षेत्रका हरिया विरुवा चार घण्टामै खाइदिसक्छ ।

सुरुमा बारा जिल्लामा प्रवेश गरे पनि अहिले सर्लाही, रुपन्देही, बुटवल, पाल्पा, सिन्धुली लगायत अन्य जिल्लामा सलहको बथान पुगिसकेको छ ।

सलह कीरा एकअर्कामा झुम्दै बथान भएर उड्ने गर्छन् । एउटा बथानमा चार करोडभन्दा बढी कीरा हुने गर्छन् । नेपालमा प्रवेश गरेको सलहको बथान भने लाखको संख्यामा रहेको कृषि विभागका पूर्वमहानिर्देशक डा. दिल्लीराम शर्माले खबरहबलाई बताए ।

‘सलह कीराले कुनै निश्चित बाली खाने भन्ने हुँदैन, जहाँ हरियो देख्छ त्यहीँ खाइदिन्छ’ उनले भने, ‘रोपेको धान, तरकारी लगायत सिजनको बाली सखाप पार्न सक्छ ।’

सलह कीरा विभिन्न स्थानमा उडिरहेकोले कति क्षति गर्छ र कहिलेसम्म बस्छ भन्ने कुरा निश्चित नभएको डा. शर्माको भनाइ छ । उनले भने, ‘दिनभर उडिरहन्छ, कहाँसम्म पुग्छ र कति क्षति पु¥याउँछ अनुमान गर्न सकिँदैन ।’

न्युनीकरण गर्न के गर्नुपर्ला ?

सलह कीरा दिनभरि उड्ने र साँझ परेपछि रुख तथा विरुवाको झ्याङमा बस्ने भएकाले तुरुन्तै विषादी प्रयोग गर्न पूर्वमहानिर्देशक शर्माको सुझाब छ । उनका अनुसार मानिसको स्वास्थ्य र वातावरणलाई असर नपार्ने ‘मालाथिन’ ९६ प्रतिशतको विषादी प्रयोग गर्ने हो भने कीराको ६० प्रतिशतसम्म संख्या एकै दिनमा कम गराउन सकिन्छ ।

त्यस्तै दमकल, ट्याकरजस्ता ठूला सवारी साधनबाट विषादी छर्कन सकेमा यसको संख्यामा कमी ल्याउन सकिने शर्माले बताए । अहिले नेपाल प्रवेश गरेको सलह ठूलो नभई सानो बथानमा रहेकोले तत्काल डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । उनका अनुसार हावाको दिशा र गतिमा अचानक आएको परिवर्तनले सलह कीरा साना झुण्डहरूमा छरिएर आएको हो ।

शनिबार नै सलहका बथानहरू बाराबाट अन्य थुप्रै जिल्लामा पुगिसकेका छन् । हावाको बेगसँगै उड्ने भएकाले हावा पश्चिमबाट पूर्वतर्फ चल्यो भने रुपन्देहीबाट चितवनसम्म सलह आउन सक्छ । पूर्वबाट पश्चिमतर्फ हावा चल्यो भने रुपन्देहीबाट कपिलवस्तु, दाङ, नेपालगञ्ज लगायतका जिल्लामा पुग्न सक्छ ।

सलहलाई धेरै फैलिनबाट रोक्न राति र बिहानको समयमा बसेको बेला विषादी छर्कनेबाहेक अर्को केही उपाय नरहेको उनको भनाइ छ ।

बाली जोगाउन किसानलाई सुझाब !

शर्माका अनुसार यो सलह प्रजनन यहाँ नहुने र अण्डा पार्न भारतको राजस्थान नै पुग्ने भएकाले यसको वृद्धि हुन्छ भनेर डराउनुपर्ने अवस्था नरहेको तर सत रहनुपर्ने शर्माको भनाइ छ ।

यसको प्रभाव न्युनीकरणका लागि सरकार तयार नभएको अवस्थामा किसानले आफ्नै तवरबाट सिजनअनुसारको बाली जोगाउन सक्ने उनले बताए । उनका अनुसार किसानले आफ्नो खेतबारीको बीचमा उभिएर सिठी फुक्ने, तीत बजाउने, भाडा ठोक्ने, ड्रम बजाउने, आगो लगाएर धुवाँ उडाउने जस्ता काम गर्दा पनि आवाजको डरले कीरा भाग्न सक्छन् ।
यस्तो छ सरकारको तयारी छ !

नेपालमा सलह पस्ने खतरा देखिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत जेठ १३ गते ‘सलह कीराको आगमन तथा व्यवस्थापनसम्बन्धी प्राविधिक कार्यदल’ गठन गरेको थियो ।

मन्त्रालयले सलह कीराबारे सचेत रहन सातैवटा प्रदेशलाई तथ्यपत्र पठाइसकेको छ । तथ्यपत्रमा सलह कीराको परिचय, जीवनचक्र, बालीमा पुर्‍याउने क्षति र यसबाट बालीनालीको सुरक्षा कसरी गर्ने भन्ने कुरा उल्लेख गरिएको मन्त्रालयले जनाएको छ ।

यस्तै कीराको संख्या, अवस्था, फैलावट, क्षतिको आकलन लगायतका विषयमा जानकारी लिन संघीय निकायहरू र प्रदेश अन्तर्गतका प्राविधिकहरू प्रिचालित भइसकेको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए ।
संयुक्त राष्ट्र संघीय कृषि तथा खाद्य कार्यक्रम (एफएओ) ले पनि यस वर्ष नेपालमा सलहको प्रकोप नरहेको जानकारी दिएको थियो । कार्यदलले त्यहीअनुसार अर्को वर्षका लागि पूर्वतयारी गरिरहेको बताउँछन् संयोजक सहदेवप्रसाद हुमागाईं ।

‘यस वर्ष सलहको प्रकोप हटेको भनिए पनि अचानक शनिबार बिहान बारा जिल्लामा देखिएपछि तुरुन्त आकस्मिक बैठक बस्यौँ’ उनले खबरहबसँग भने, ‘बारामा देखिएको सो कीरा सलह नै रहेको पुष्टि भएको छ ।’ प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख समेत रहेका हुमागाईंले सानो बथानमा प्रवेश गरेको र माइग्रेटरी (उडिरहने खालको) देखिएको उनले बताए ।

‘सलह शनिबार बिहानै बारामा देखियो, २ घण्टापछि सर्लाहीको नवलपुरमा देखियो, फेरि २ घण्टापछि सिन्धुलीमा देखियो’ उनले भने, ‘त्यहाँबाट पनि २ घण्टाको फरकमा सिन्धुलीकै चियाबारीमा आइपुगेका खबर प्राप्त भएको छ ।’

यो कीरा उठिहरको भएकाले कसरी जोगिने अन्योल भएको हुमागाईंको भनाइ छ । उनका अनुसार राति बास बसेको ठाउँमा विषादी छर्किनुपर्छ तर २—३ घण्टाको फरकमा धेरै ठाउँमा देखिएकाले राति कहाँ पुग्छ भन्ने टुंगो हुँदैन ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ८ : ३५ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द