पालमुनि बसेर सीमामा निगरानी गर्दैछन् सुरक्षाकर्मी | Khabarhub Khabarhub

पालमुनि बसेर सीमामा निगरानी गर्दैछन् सुरक्षाकर्मी


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण एक महिनाभन्दा लामो समयदेखि मुलुक (बन्दाबन्दी) लकडाउनमा छ । मुलुक लकडाउनले सुनसान भएसँगै देशको पूर्वी क्षेत्रको चहलपहल पनि शून्य छ ।

तर महामारीले मुलुक सुनसान भइरहेको अवस्थामा देशको सीमा क्षेत्रमा भने थप सतर्कता बढाउनुपर्ने हुन्छ । त्यसैले देशको पूर्वी क्षेत्रमा भारतसँग जोडिएका सीमा नाकाबाट हुनसक्ने अवैध प्रवेश रोक्न चुस्त रुपमा निगरानी भइरहेको छ ।

हप्तादिनभन्दा लामो समयदेखि झापासहित देशको पूर्वी भागमा पानी परिरहेको छ । दिन ढल्किनासाथ आकाश गड्याङगुडुङ गर्छ, हावाहुरी चल्छ र पानी वर्षन थाल्छ । तर पानी परे पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी भने हावाहुरी र पानीको प्रवाह नगरी झापाको सीमावर्ती क्षेत्रमा दिनरात सुरक्षार्थ खटिरहेका छन् ।

हुनत प्रकृतिले जेजस्तो स्वरुप देखाए पनि प्रहरीको काम सुरक्षा दिने हो, दिइरहेकै छन् । तर पनि यतिबेला भने उनीहरुले निकै अप्ठेरोसँग राष्ट्रसेवा गरिरहेका छन् । महामारीले ल्याएको समस्या देशका अरु क्षेत्र र निकायजस्तै सीमा क्षेत्रमा खटिएका प्रहरीले पनि भोगिरहेका छन् ।

खुल्ला सिमानाको फाइदा उठाउँदै भारतबाट लुकीछिपी कोही मानिस नेपाल प्रवेश गर्न नसकुन् भन्दै बाहुनडाँगीदेखि गौरीगञ्जसम्मको १४४.०२ किलोमिटर क्षेत्रमा अहिले एक हजार ५०० सुरक्षाकर्मी खटिएका छन् । तर ती सबैको बास भने पालमुनि छ । यस्तो संरचनामा बसेर उनीहरुले देशको सीमा क्षेत्रमा निगरानी गरिरहेका छन् ।

नेपाल–भारत सीमावर्ती क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले हालैमात्र २३३ वटा चेकपोष्ट खडा गर्दै सीमा क्षेत्रको निगरानी शुरु गरेको हो । सीमा क्षेत्रमा अस्थायी चेकपोष्ट निर्माण गरिएका कारण दिनहुँजसो रातको समयमा आउने हावाहुरीसहितको पानी र चट्याङले निगरानी गर्ने प्रहरीलाई सकस भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए ।

सीमा क्षेत्रको नजिकै प्रहरीले पाल टाँगेर चेकपोष्ट निर्माण गरेको छ । दिनभरि घामले सताउँछ भने राति परेपछि हावाहुरीसहित असिना र पानी पर्छ । यस्तो अवस्थामा सीमाको निगरानीका लागि परिचालन गरिएका प्रहरीले कसरी ज्यान बचाउने आफैंमा चिन्ताको विषय छ ।

प्रहरी उपरीक्षक कोइरालाले भने, ‘हावाहुरीले त्रिपाल उडाएर लगेपछि ड्युटीमा खटिएका प्रहरी पानीमा भिज्नुको विकल्प रहँदैन । कैयौँ पटक त अस्थायी पाल हावाले उडाएर पनि लग्यो, पछि फेरि बनाएर बस्नु परेको छ ।’

सशस्त्र प्रहरी र नेपाल प्रहरीले अहिले खोलाको बगर र खेतमा बाँस, त्रिपाल र टिनले बनाएको छाप्रोलाई नै अस्थायी प्रहरी पोष्ट बनाएका छन् । जहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक हजार ५०० सुरक्षाकर्मी तैनाथ छन् । गृह मन्त्रालयको निर्देशनानुसार झापाको सीमावर्ती क्षेत्रमा चौबीसै घण्टा प्रहरी परिचालन गरिएको छ ।

खुल्ला सिमानाको फाइदा उठाउँदै भारतबाट आउनसक्ने मानिसलाई नेपाल प्रवेशमा रोक लगाउन प्रहरी परिचालन गरिए पनि उनीहरुलाई असिना पानीसहित आएको हावाहुरीले समस्या हुने गरेको सशस्त्र प्रहरीबल २ नम्बर गण झापाका प्रहरी उपरीक्षक रेसमकुमार थाक्सुले बताए ।

उनले भने, ‘सीमाको निगरानी गर्नुछ, असिना पानी आयो भन्दैमा प्रहरीले काम गर्न त छाड्नुभएन नि । विश्वमा महामारीका रुपमा देखा परेको कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि बढ्दै गएको छ । यस्तो अवस्थामा देशको सीमा क्षेत्रमा रहेर आवश्यक निगरानी गर्नु हाम्रो कर्तव्य हो र हामीले जस्तोसुकै दुःख झेलेर भए पनि आफ्नो कर्तव्य पालना गर्नुपर्छ ।’

‘प्रि–मनसुन’को बेला छ, दिनहुँजसो रातको समयमा हावाहुरीसहित असिना पानी र चट्याङसमेत पर्ने गरेकाले सीमा क्षेत्रमा प्रहरीले दुःखले काम गरिरहेका छन् बाह्रदशी गाउँपालिका–१ का वडाध्यक्ष शम्भूसिंह राजवंशीले भने । एक–एक किलोमिटर जस्तोमा प्रहरीलाई बस्ने चेकपोष्ट बनाइएको छ, तर राति नै हावा हुण्डरीले उडाएर लान्छ, फेरि भोलिपल्ट निर्माण गर्दै बस्दै गरेका छन्, उनले भने ।

मौसमले समेत साथ नदिएका कारण सीमा क्षेत्रमा प्रहरीलाई ड्युटी गर्न समस्या देखिएको छ वडा अध्यक्ष राजवंशीले भने, ‘स्थानीय तहले पनि प्रहरीलाई अस्थायी पोष्ट निर्माणका लागि सहयोग गरिरहेका छौँ ।’

झापाको सिमाना भारतको बङ्गाल र विहार राज्यसँग जोडिएको छ । उत्तरी झापाको भू–भाग तिरिङ खोलादेखि दक्षिणको गौरीगञ्जसम्म १४४.०२ किलोमिटर क्षेत्रफलमध्ये भारतसँग मेचीनगर र भद्रपुर नगरपालिका तथा कचनकवल, झापा र गौरीगञ्ज गाउँपालिकाको सीमा जोडिन्छ । सीमा क्षेत्रको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय झापाले ४७५ जना थप प्रहरी पनि सीमा क्षेत्रमा खटाएको छ ।

मानिसको आवतजावत हुनसक्ने चोर बाटोको पहिचान गर्दै जिल्ला प्रहरी कार्यालय झापाले १०५ स्थानमा छाप्रो बनाएर प्रहरी परिचालन गरेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए । उनले सीमा निगरानीकै लागि पाँचजना प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी परिचालन गरिएको छ ।

इलाका, वडा, सीमा र चौकी गरी २९ वटा प्रहरी कार्यालय सीमावर्ती क्षेत्रमा छन् । त्यहाँ कार्यरत प्रहरीसमेत सीमा क्षेत्रमै सरक्षाका लागि खटेका छन् । प्रहरी उपरीक्षक कोइरालाले भने, ‘प्रदेशबाट थप जनशक्ति जिल्लालाई पठाएपछि सीमामा १०५ वटा अस्थायी पोष्ट बनाएका छौँ, अहिले स्थानीय तह र स्थानीयवासीसँगको समन्वयमा सीमा निगरानी समितिसमेत निर्माण गरिएको छ ।’

सशस्त्र प्रहरी बल २ नम्बर गण झापाले भने सीमा क्षेत्रमा १२८ वटा अस्थायी पोष्ट निर्माण गरेको छ । त्यसमध्ये २२ वटा ‘फरवाड’ पोष्ट छन् । प्रदेश प्रहरी कार्यालयबाट ४७५ जना थप जनशक्ति परिचालन गरिएपछि ९३४ जनालाई सीमा क्षेत्रमा खटाइएको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक थक्सुले बताए । उनका अनुसार जिल्लाका सीमावर्ती क्षेत्रमा आठ वटा स्थायी ‘बोर्डर आउटपोष्ट’ समेत निर्माण गरिएका छन् ।

सीमाको निगरानीका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीले १२ जना प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी परिचालन गरेको छ । पृथ्वीनगर, कोरोबारी, पथरिया, नकलबन्दा र कुमरखोदमा नेपाल प्रहरीले प्रहरी निरीक्षकसहितको टोली परिचालन गरेको हो भने सशस्त्र प्रहरीले बाहुन्डाँगी, भद्रपुर, महेशपुर, पाठामारी, पन्तापाडा, कुञ्जीबारीको आमगाछी र गौरीगञ्जमा प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी परिचालन गरेको छ ।

खुल्ला सिमाना भएर पनि प्रहरीको कडा निगरानीका कारण सीमा नाकाबाट लुकीछिपी कोही पनि मानिस नेपाल प्रवेश गर्न नसकेको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए । उनले भने, ‘कोरोना रोगको त्रास फैलिएका कारण कोही अपरिचित मानिस गाउँमा देखापरे गाउँलेले आफैँले फोन गरेर जानकारी गराउँछन्, त्यसपछि उनीहरुको बारेमा अनुसन्धान हुने गर्छ ।’

महामारीका रुपमा फैलिएको कारोना भाइरसको उच्च जोखिममा प्रहरी रहेको भन्दै नेपाल रेडक्रस सोसाइटी झापाले प्रहरीका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराए पनि पर्याप्त सामग्री नहुँदा सीमा क्षेत्रमा खटिने प्रहरीलाई समस्या भएको नेपाल रेडक्रस झापाका सभापति लोकराज ढकाल बताउँछन् । उनका अनुसार भारतबाट कोही मानिस नेपाल प्रवेश गरे उनीहरुलाई नियन्त्रणमा लिँदै क्वारेन्टाइनमा पुर्‍याउने पहिलो व्यक्ति नै प्रहरी भएकाले यसरी नियन्त्रणमा लिएको व्यक्तिलाई कोरोना भाइरसको सङ्क्रमण भएको भए प्रहरीलाई पनि जोखिम हुनसक्छ । सीमामा बस्ने प्रहरीलाई त्यसैले पनि स्वास्थ्य सुरक्षाको आवश्यक प्रबन्ध मिलाउन जरुरी देखिन्छ ।

सभापति ढकालले सीमा क्षेत्रमा खटिएका प्रहरीका लागि स्वास्थ्य सामग्रीसहित रेडक्रसले पालको समेत व्यवस्था गरेको बताए । तर हामीले दिएको पाल पनि खरब मौसमका कारण हावाले सबै उडाएर र च्यातेर बस्न नहुने अवस्थामा रहेको जानकारी आएको ढकालले बताए ।

सीमा क्षेत्रमा खटिएका प्रहरीका लागि पिपिइ, मास्क, पञ्जा, स्यानिटाइजरलगायतका आवश्यक स्वास्थ्य सामग्री पर्याप्त उपलब्ध गराइनुपर्ने र पानी पर्दा ओत लाग्न सक्नेगरी बस्ने प्रबन्ध मिलाउनुपर्ने जरुरी देखिन्छ ।


सुरेन्द्र भण्डारी/रासस

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ३ : ४९ बजे

एप्पललाई उछिन्दै पहिलो स्थानमा सामसुङ 

काठमाडौं– विश्व स्मार्टफोन बजारमा एप्पललाई उछिन्दै सामसुङ स्माटफोन सेल्समा अगाडि

मार्ग प्रशस्त गर्न कोशीका मुख्यमन्त्रीलाई एमालेको आग्रह

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न

गठबन्धनबाट सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारीको दाबी पेस 

काठमाडौं– नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा

काठमाडौंमा कक्षा १२ को परीक्षा केन्द्र स्वचालित विधिबाट तोकियो

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को लागि काठमाडौँ जिल्लाका

गठबन्धनमा गडबड : कांग्रेस भन्छ- नयाँ खबर सुन्न पाइन्छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सत्ता गठबन्धनमा हलचल