कोरोना भाइरसको खोप नआए के होला ? | Khabarhub Khabarhub

कोरोना भाइरसको खोप नआए के होला ?



कोरोना भाइरसको महामारीले विश्व आक्रान्त भइरहेका बेला यो कसरी र कहिले रोकिएला भन्ने सबैको मनमा छ । विश्वका ५ लाख भन्दा धेरै मानिसलाई संक्रमित गराएको र २४ हजारभन्दा धेरैको ज्यान लिएको यो भाइरसको प्रसार अझै रोकिने छाँट देखिएको छैन । बरु अझ तीब्र गतिमा फैलिँदै छ ।

कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकारी कदमका कारण मानिसहरू घरबाहिर निस्कन पाएका छैनन्, काम गर्न पाएका छैनन् । सबैलाई चाँडै यो संकट हटिदिए हुन्थ्यो भन्ने लागेको छ । अनि सबैको प्रश्न छ, हामी कहिलेसम्म यसरी बस्नु पर्ने हो ?

वैज्ञानिकहरूका अनुसार कोरोना भाइरस संक्रमण कहिले थामिन्छ, ठ्याकै तोकेर भन्न सकिँदैन । तैपनि मुख्य चार अवस्थाले कोरोना भाइरसको संक्रमण नियन्त्रण निर्धारण गर्नेछ ।

१. हर्ड इम्युनिटी

हामी जब कुनै संक्रामक रोगबाट ग्रस्त हुन्छौँ, हाम्रो शरीरले उक्त संक्रमण फेरि दोहोरिन नदिन प्रतिरोधात्मक क्षमता विकास गर्छ ।

कुनै अवस्थामा संक्रमण सीमित समयका लागि हुन्छ । जस्तै, रुघाखोकी । रुघाखोकी लागेपछि हाम्रो शरीरले रुघा प्रतिरोधी क्षमता विकास गर्छ र विस्तारै रुघाखोकी हराउँछ । यो प्रतिरोधी क्षमता सीमित समयका लागि मात्र हुन्छ । हत्तपत्त कसैलाई पनि एउटै सिजन दुईपटक रुघाखोकी लाग्दैन ।

त्यस्तै, कुनै रोग प्रतिरोधी क्षमता दीर्घकालको हुन्छ । जस्तै, बिफर । एकजनालाई जीवनमा एकपटकमात्रै बिफर लाग्छ । बिफर निको भएपछि फेरि जीवनभर विफर आउँदैन । हाम्रो शरीरमा बिफर प्रतिरोधी क्षमता रहिरहन्छ ।

प्रतिकात्मक तस्वीर

धेरै मानिसमा निश्चित संक्रामक रोगको प्रतिरोधी क्षमता विकास भएर उक्त रोगको संक्रमण र प्रसार बन्द हुने अवस्था हर्ड इम्युनिटी हो ।

विश्वमा तीब्र गतिमा फैलिँदै गरेको कोरोना भाइरस हर्ड इम्युनिटीका माध्यम हट्न विश्वको आधादेखि तीन चौथाई जनसंख्यामा कोरोना भाइरस विरुद्ध प्रतिरोधी क्षमता विकास भएको हुनुपर्छ ।

वैज्ञानिकहरू रोग प्रतिरोधी क्षमता विकास गर्ने दुई उपाय बताउँछन् । पहिलो, संक्रमित भएर आफ्नो प्रतिरोधी क्षमताले रोगलाई जित्न सक्नु । दोस्रो, खोप लगाउनु ।

कोरोना भाइरस प्रतिरोधी खोपको विकास नभइसकेकोले यसबाट संक्रमित भएरै रोग प्रतिरोधी क्षमता विकास गर्नुपर्ने हुन्छ । तर, कोरोना भाइरस एकपटक लागेपछि फेरि लाग्दैन भन्ने पक्का छैन ।

एउटै व्यक्तिलाई दुई पटक कोरोना भाइरसको संक्रमण देखिएको भन्ने समाचार पनि आएको छ । यसबारे थप अध्ययन जारी छ ।

खोप नभएको अवस्थामा मानिस संक्रमित भएरै रोग प्रतिरोधात्मक क्षमता विकास हुनुपर्छ । यसमा सबैभन्दा ठूलो जाखिम छ किनभने कोरोना भाइरस प्राणघातक रोग हो । संक्रमित हुनेहरू सबै निको हुन्छन् भन्ने ग्यारेन्टी हुन्न ।

सोझो हिसाबले कोरोना भाइरसको मृत्युदर १ प्रतिशतमात्रै मान्दा पनि विश्वका आधा जनसंख्या साढे ३ अर्ब भन्दा धेरैलाई हर्ड इम्युनिटीको नाममा संक्रमित बनाउँदा ३ करोड ५० लाख मानिसको मृत्यु हुन सक्छ । त्यसैले कोरोना भाइरस प्रतिरोधी खोपको विकास नहुँदासम्म ने यो विकल्पमा कसैको जोड छैन ।

२. खोप

अहिले विश्वका विभिन्न ३५ संस्थाका वैज्ञानिकहरू कोरोना भाइरसविरुद्धको खोप बनाउन जुटेका छन् । तीमध्ये केहीले मानवमै खोपको परीक्षण गरेकेका छन् भने केहीले जनावरमा परीक्षण थालेका छन् ।

चीनले जनवरी महिनाको शुरुमै कोभिड–१९ फैलाउने कोरोना भाइरसको श्रेणी नमूना (सिक्वेन्स) सार्वजनिक गरेकाले विश्वका विभिन्न जीवविज्ञान प्रयोगशालामा कोरोना भाइरसको नमूना विकास गरी यसले मानिसको कोषमा कसरी हमला गर्छ भन्ने पत्ता लगाउन सहज भएको छ ।

अमेरिकाकी एक महिलामा कोरोनाविरुद्धको खोपको परीक्षण गरिँदै, तस्वीर– एपी

खोप विकासमा यस्तो अध्ययन महत्वपूर्ण मानिन्छ ।

परम्परागत रूपमा खोप विकास गर्दा मानिसको शरीरमा रहेको रोग प्रतिरोधी क्षमता बढाउन जुन भाइरसविरुद्ध खोप बनाइएको हो, त्यसकै कमजोर नमूना शरीरभित्र पठाइन्छ । यसबाट उक्त रोगविरुद्ध शरीरको प्रतिरोधी क्षमता बढ्छ ।

यस उपायका जोखिमहरू पनि उत्तिकै छन् । मानिसको शरीरमा खोपका रूपमा पठाइएका यी भाइरसहरू विकास भएर व्यक्ति उल्टै बिमारी हुने सम्भावना पनि रहन्छ । भाइरसविरुद्ध खोप बनाइरहेका केही कम्पनीहरूले भने नयाँ प्रविधिको प्रयोग गरेका छन् ।

जस्तै, नोभाभ्याक्स नामक कम्पनीले ‘रिकम्बिन्यान्ट’ प्रविधिमा आधारित रही कोरोना भाइरसविरुद्ध खोप विकास गरिरहेको छ । यो प्रविधि अन्तर्गत भाइरसको सतहमा रहेको प्रोटिन स्पाइकमा रहेको जेनेटिक कोडलाई ब्याक्टेरियम वा ढुसीको जेनोममा पेष्ट गरिन्छ । भाइरसको सतहमा रहेको प्रोटिनले मानिसको प्रतिरोधात्मक क्षमतालाई उत्तेजित बनाउने भएका कारण यस्तो गरिएको हो ।

केही कम्पनीहरू भने प्रोटिनलाई पूरै बेवास्ता गरी भाइरसको जेनेटिक इन्स्ट्रक्सनबाटै खोप बनाउने प्रयासमा छन् ।

खोप विकसित भएपछि पनि यसको परीक्षण गरिन्छ । पहिलो चरणमा केही दर्जन स्वयंसेवीहरूमा यो खोप दिइन्छ र नतिजा विश्लेषण गरिन्छ । दोस्रो चरणमा महामारीग्रस्त स्थानमा केही सय जनामा खोप परीक्षण गरिन्छ । अन्तिम चरणमा हजारौं मानिसहरूमा परीक्षण गरिन्छ ।

परीक्षण गरिएका सबै खोप स्वीकृत हुन्छन् भन्ने पनि छैन ।

खोप विकासमा सबैभन्दा ठूलो चुनौती चाहिँ यसको उत्पादनमै हुन्छ । महामारी चलिरहेका बेला विकास भएको खोपको माग अत्यधिक हुन्छ । औद्योगिक स्तरमा मागअनुसार उत्पादन गर्न कम्पनीहरूलाई समस्या पर्छ ।

खोप विकास गर्न सोचेजस्तो सहज भने छैन । खोप बनाउन समय पनि उत्तिकै लाग्छ । छिटोमा १८ महिनासम्म लाग्नसक्ने खोप विकास गरिरहेका कम्पनीहरू बताउँछन् । खोप उपलब्ध हुने बेलासम्म कोरोना भाइरसको महामारी यतिकै चलिरहला वा अझ उग्र रुप लेला भन्ने विषय चाखलाग्दो होला ।

३. गर्मीमा भाइरस हराएर जाला !

वैज्ञानिकहरूको यो ठूलो अपेक्षा हो । कोरोना भाइरसले पनि रुघाखोकी लगाउने भाइरसले जस्तै व्यवहार देखाओस् भन्ने अपेक्षा वैज्ञानिकहरूको छ ।

गर्मी लाग्दै गर्दा पृथ्वीको उत्तरी गोलार्धमा रुघाखोकी लाग्ने भाइरस कमजोर बन्दै जान्छ । तर, उत्तरी गोलार्धमा गर्मी बढ्न थालेपछि भने दक्षिण गोलार्धतिर रुघाखोकी बढ्न थाल्छ । किन हुन्छ, यकिन कसैलाई थाहा छैन ।

उत्तरी गोलार्धमा जुन, जुलाई र अगष्ट महिनामा रुघाखोकीको संक्रमण कम हुन्छ । दक्षिणी गोलार्धमा नोभेम्बर, डिसेम्बर र जनवरी महिनामा रुघाखोकीको संक्रमण कम हुन्छ ।

आद्र्रता वा तापक्रमका कारण यस्तो हुन्छ भन्ने सिद्धान्तहरू छन् । एउटा सिद्धान्तअनुसार आद्र्र मौसममा मानिसको मुखबाट निस्कने खकार वा सिँगानका थोपाको आकार बढी हुन्छ । यसकारण त्यस थोपाभित्रका भाइरस पार्टिकलहरू पाताला हुँदै जान्छन् र कम सक्रिय हुन्छन् ।

कोरोना भाइरसले पनि यस्तै व्यवहार देखायो भने गर्मी मौसममा अहिलेजस्तो लकडाउन खेप्नु नपर्ला ।

कोरोना भाइरसको सङक्रमण फैलिन नदिन पोखराको लेकसाइडमा दमकलको सहायताले कीटनासक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्किदै । तस्वीरः हरि बाँस्तोला/रासस

यति भन्दै गर्दा कोरोना भाइरस रुघाखोकी लगाउने भाइरस होइन भनेर जान्नु महत्वपूर्ण छ । रुघाखोकी लगाउने भाइरस र कोरोना भाइरसको तुलना गर्नु स्याउ र सुन्तलाको तुलना गरेबराबर हो ।

त्यसैकारण गर्मी मौसममा रुघाखोकी हराएर गएजस्तै कोरोना भाइरस हराएर जानेमा ठूलो शंका छ । वैज्ञानिकहरू भने यसैको अपेक्षा गरिरहेका छन् ।

४. भाइरसको परिवर्तनशीलता

यही मार्च ३ का दिन नेशनल साइन्स रिभ्यू नामक जर्नलमा प्रकाशित शोध प्रतिवेदनले कोरोना भाइरसका दुई प्रजाति पत्ता लागेको उल्लेख थियो ।

१०३ नमूना अध्ययनपछि चिनियाँ वैज्ञानिकहरूले कोरोना भाइरसका ‘एल’ र ‘एस’ नामका दुई प्रजाति रहेको जनाएका थिए ।

उक्त शोध अनुसार पहिला जनावरबाट मानिसमा ‘एस’ प्रजातिको कोरोना भाइरसको संक्रमण देखापरेको थियो । त्यस्तै, विश्वमा कोरोना संक्रमितमध्ये ७० प्रतिशतमा ‘एल’ प्रजातिको कोरोना भाइरस पाइएकोमा संक्रमणको प्रकोप बढ्दै जाँदा ‘एल’ प्रजातिको सक्रियता कम हुँदै ‘एस’ प्रजातिको भाइरस बढ्दै गएको उक्त शोधमा उल्लेख गरिएको छ ।

यसको अर्थ भाइरस परिवर्तन हुँदै गइरहेको छ । सिद्धान्ततः भाइरसले आफैँमा समय र परिस्थितिसँगै परिवर्तन ल्याउँछ ।

भाइरसको उत्परिवर्तन (mutation) हुन्छ । सिद्धान्ततः उत्परिवर्तित भाइरस कुनै अवस्थामा मानिसका लागि कम हानिकारक हुन्छन् भने कुनै अवस्थामा झन् बढी हानिकारक भएर निस्कन सक्छन् ।

हालै बिजनेश इनसाइडरले प्रकाशित गरेको समाचारमा कोरोना भाइरस बिस्तारै उत्परिवर्तित हुने उल्लेख थियो । यसबाट भाइरस अझ खतरनाक भएर आउने सम्भावना कम रहेको र खोपको विकास गर्दा त्यो दीर्घकालीन हुने अपेक्षा गरिएको थियो ।

यतिबेला हामी कोरोना भाइरस चाँडै हराएर जाओस् भन्ने अपेक्षामात्र गर्न सक्छौँ । वैज्ञानिकहरू दिनरात नभनी खटिएर कोरोना भाइरस उन्मुलन गर्ने अभियानमा लागेका छन् । आशा गरौँ, चाँडै त्यो दिन आउनेछ ।

(विभिन्न एजेन्सीहरूको सहयोगमा)

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ३ : ४३ बजे

अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

क्यानबेरा– पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत

सोमेश्वर दर्शन गर्न दुई लाख भक्तजन पुगे

भरतपुर– चितवनको माडीस्थित सोमेश्वर कालिका मन्दिरमा चैतेदसैँ र रामनवमी पर्वमा दुई

पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्यको खोजी

म्याग्दी– गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटकको

मनकामना केबलकार शुक्रबार बन्द हुने

नारायणगढ– मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने