अमानवीय कोरोना भाइरसको मानवीय पाटो | Khabarhub Khabarhub

अमानवीय कोरोना भाइरसको मानवीय पाटो



कोरोना भाइरसका कारणले अहिले मानव संसार आक्रान्त छ । त्रसित छ । शायद दोस्रो विश्वयुद्ध पछाडिको यो सबैभन्दा ठूलो मानवीय त्रास हो । अहिलेसम्म विकसित सभ्यता र परम्परा एकै पटक ठप्प भएको छ । आधुनिक संसाररूपी चल्दाचल्दैको उपकरण झ्याप्प बिजुली गएर रोकिएको जस्तो भएको छ ।

सामान्यतया हामी दुई तहमा काम गथ्यौँ । पहिलो, उत्पादन (प्रोडक्सन इण्डस्ट्री) र दोस्रो, सेवा (सर्भिस इण्डस्ट्री) । अहिले यी सबै काम बन्द छन् । हामी संसारभर आआफ्ना घररडेरामा थुनिएर बसेका छौं । हात छन्, काम छैन ।

उहिले मान्छे ओडारमा बस्थे रे । रामापिथेकसबाट होमोस्यापिन्स हुँदै अहिलेको समाजसम्म आइपुग्दा मान्छेको सबैभन्दा भरपर्दो आविस्कार भनेको ‘घर’ नै हो भन्दा फरक नपर्ला ।

प्राथमिक कक्षमा पढ्दाको कुरो याद आयो । म पढ्थेँ, बहिनी सानै थिई, भर्खर तोते बोलिकी । मैले पढेको सुनेर ऊ पनि मेरो किताब खोसेर घुँडामाथि राखेर ‘दादालाई घोलेले हुलीबात मच्चाउँछ’ भन्थी । यसको पाठ चाहिँ यस्तो थियो :

राधालाई घरले हुरीबाट बचाउँछ । राधालाई घरले पानी बाट बचाउँछ ।

अहिले अर्को एउटा हरफ थपिएको छ :

राधालाई घरले ‘कोरोना भाइरस’ बाट बचाउँछ !

जे जस्तो परिस्थितिबाट उत्पन्न भएको होस्, घर सबैभन्दा प्यारो आश्रयस्थल हो । पहाड, मधेश, शहर, गाउँ, बस्ती सबै घरकै उपज हुन् । घर आधारभूत चिन्तनको आरम्भ बिन्दु हो । घरमा पुगेपछि विश्राम मिल्छ, शान्ति मिल्छ । साँच्चै मिल्छ ।

‘पल्लाघरको माइलो अरपे लाहुरे भएर बिर्तामोठमा चार तल्ले मुण्डाघर बनायो रे !’

ऊ बेला मुण्डाघर बनाउने मान्छे निकै कम थिए । पहाडमा झण्डै सात—आठ गाउँमा नयाँ बच्चा जन्मिएको पनि थाहा हुन्थ्यो । अहिले पनि हुन्छ होला । गाउँमा सबैले चिन्थे । त्यही भएर पनि पहाडमा एक्लै हिँड्दा जनावरको मात्रै डर हुन्थ्यो ।

विदेशिएको हामीजस्ता युवापुस्ता गाउँ अर्थात घर फर्किने छौँ । अहिलेको सेवामुखी अर्थतन्त्र फेरि उत्पादनमुखी हुनेछ । आखिर मान्छेलाई चाहिएको त मान्छेको साथ हो नि ! हामीले चाहे असम्भव के छ र !

अहिले सुनिन्छ, एक्लै हिँड्दा जनावरभन्दा मान्छेको धेरै डर हुन्छ । उतिबेला हामी नचिनेका मान्छेसँग डराउँथ्यौँ, अहिले भुराभुरी चिनेका मान्छेसँग पो बढी डराउँछन् रे !

हावाहुरीबाट बचाउने ‘घर’ छाडेर पैसा कमाउन र सुख खोज्न उतिबेला पनि ‘अरप’ जाने चलन थियो, अहिले पनि हामी ‘अरप’ मै छौँ ।

यो समाजमा एउटा ‘भाइरस’ लागेको छ, कोरोनाको बराजु भाइरस । जसरी पनि पैसा कमाउनु छ !

धार्मिक, साम्प्रदायिक र लैङ्गिक भाइरसले घरपरिवारको अवधारणामै विचलन ल्याइसकेको अवस्थामा छौँ हामी । आफूखुशी रहनेभन्दा पनि अरूलाई देखाउन पाउँदा आफू खुशी हुने मान्यताले सामाजिक वातावरण असाध्यै दूषित भएको छ ।

समाज केलाउने क्रममा कार्ल माक्र्स भन्छन् : इन्फ्रा स्ट्रक्चर डिटरमाइन्स सुपर स्ट्रक्चर । अर्थात्, आधारभूत संरचनाले उपरी संरचना निर्धारण गर्छ ।

अहिले यो वाणी काटीकुटी ठ्याक्कै मिलाउँदा यस्तो भएको छ : सुपर स्ट्रक्चर डिस्ट्रक्ट्स इन्फ्रा स्ट्रक्चर, अर्थात् उपरी संरचनाले आधारभूत संरचना भत्काउँछ ।

पढालेखा भएपछि हामी सबै शहर छिर्दै आयौँ । शहरले मात्रै पुगेन, विदेशतिर हान्नियौँ । अनि कहिलेकाहीँ यहीँ बसेर गफ हाँक्छौं : गाउँ नबनाई सर्वाङ्गीण विकास असम्भव छ !

गाउँमा हाम्रो जग्गा थियो । उत्पादन हुन्थ्यो । दुःख हुन्थ्यो तर उत्पादन अवश्य हुन्थ्यो । बिस्तारै उत्पादन छाडेर सेवालाई सजिलो पेसा देख्न थाल्यौँ । वर्षभरि कठीन परिश्रम गरेर उत्पादन गरेको मूल्यभन्दा धेरै त एउटा सामान्य जागिर खाने मान्छेले कमाउन थाल्यो । हातगोडा फोहोर पनि नहुने, हिलोमैलो खेल्नु नपर्ने । चिटिक्क जुत्ता लगाएर कुर्सीमा बस्यो, गफ हाँक्यो, कलम चलायो, पैसा खेलायो !

यो पद्धतिले उत्पादनको संरचना भत्कायो । उत्पादनको संरचना भनेको आधारभूत संरचना हो । कार्ल माक्र्सले आज नेपालको सामाजिक परिस्थिति अध्ययन गरेर अर्थशास्त्र लेख्नुपर्‍यो भने लेख्ने होलान् : एन इमिटेसनल इकोनोमी अल्वेज रिजल्ट्स अन्प्रेडिक्टेबल सोसल आउट्कम, अर्थात् अनुकरण गरिएको अर्थतन्त्रले अप्रत्यासित सामाजिक परिणाम निम्त्याउँछ ।

पैसा टिप्न हामी ‘घर’ बाहिर हान्निएर गएका थियौँ । एक्कासी यो कोरोना भाइरस हाम्रो बीच बाटामा आइलाग्यो । यताउता, जतातता सबै बन्द गरायो । यसले एकपटक हामीलाई ‘घर’ भित्र हुलिदिएको छ, मानौँ गोठालाले साँझमा चरनबाट फर्काएर ल्याएका बाख्राबस्तु खोर र थलामा थुन्दैछ ।

अर्को हात्ती चढ्यो भनेर आफू धुरी चढ्ने नक्कली अर्थतन्त्रको चपेटामा हामी फस्यौँ । उत्पादन छोड्यौँ । सुख हुन्छ भनेर सेवा रोज्यौँ । सकेसम्म ‘सरकारी नोकरी’, नभए ‘प्राइवेट’ ले पनि भयो । आफ्नै स्वामित्वको उत्पादन भने कठीन भयो ।

यसले नै हाम्रो आधारभूत संरचना ध्वस्त बनायो । परिणामस्वरूप परिवार टुक्रियो । ‘युनिटरी मोड’ अर्थात एउटा—एउटा भन्नुपर्ने समाजमा आज हामी छौँ ।

अहिले घर छ, परिवार छैन । घरभित्र बस्ने पारिवारिक सदस्यबीच प्रतिस्पर्धा छ । सबै आआफ्नै धुन र धनमा मस्त छौँ । धनी छन् तर धन छैन । धन भनेको त्यो हो जो अरूको काममा आउँछ ! अहिले हामीलाई जति भए पनि आफैँलाई पुग्दैन, कसरी अर्कालाई दिनु र ! हजुरबाले जीवनभर कमाएको सम्पत्तिभन्दा धेरै त अहिले हामी एउटै नातिले कमायौँ होला तर हजुरबाको जति धन छ हामीसँग ? गहन प्रश्न यो छ ।

हजुरबाले पहाड—मधेश दुवैतिर स्कुल बनाउन जग्गा र पैसा दिन भ्याउनुभयो । तिनै स्कूलमा हामी पढ्यौँ । अहिले हामीसँग त्यति धन छ ? के हामीसँग साँच्चै धन छ कि ‘पैसा’ मात्रै छ ?

जवाफ सजिलो छैन ।

यो परिस्थिति हामी आफैँले निम्त्याएका हौँ । यो पैसा टिप्न हामी ‘घर’ बाहिर हान्निएर गएका थियौँ । एक्कासी यो कोरोना भाइरस हाम्रो बीच बाटामा आइलाग्यो । यताउता, जतातता सबै बन्द गरायो । यसले एकपटक हामीलाई ‘घर’ भित्र हुलिदिएको छ, मानौँ गोठालाले साँझमा चरनबाट फर्काएर ल्याएका बाख्राबस्तु खोर र थलामा थुन्दैछ ।

कोरोनाले हाम्रो गति अहिले बदलिदिएको छ । बाहिरबाट फर्काएर भित्र हुलिदिएको छ । यो पीडा हो र अवसर पनि । अहिले हाम्रो ‘पैसा’ को होडले अवरुद्ध भएको मानवीय नाता ‘धन’ बनेर आउने अवसर बन्नसक्छ ।

पैसा कमाउन बिहानै घरबाट निस्केको बाउलाई राम्ररी देख्न शनिबार कुर्नुपर्ने बच्चाले अहिले केही दिन भए पनि आफ्नो बाउ राम्ररी छाम्न पाएको छ । मान्छे सामाजिक र आर्थिक प्राणी भईकन पनि ‘इमोसनल’ अर्थात भावनात्मक प्राणी हो । हामी अहिले संवेदना नभएको मरुभूमिमा हरपल मर्दै बाँचिरहेका छौँ ।

सबै आआफ्नै होडमा छौँ । ‘भावना’ पनि कहीँ कतै थियो के भन्ने अवस्थामा पुगेका थियौँ । एक्कासी हामी एकपछि अर्को दुःखका घटना सुन्दै आउन थाल्यौँ ।

रातारात क्वारेन्टिन कक्ष बन्नु, ठमेलजस्तो ठाउँमा आपतमा परेका पर्यटकलाई निःशुल्क खाना खुवाउनु, विभिन्न ठाउँमा घरबेटीले भाडा छुट दिनु ! यो त सुरुवात मात्रै हो । हाम्रो मानवियता अब त्यतिमा मात्रै सीमित हुनेछैन । काठमाडौंमा बिस्तारै सडक बालबालिका देखिन छाड्नेछन् । मागेर बाँच्नुपर्ने बाध्यता हराउनेछ ।

चीनमा कोरोना भाइरसले मान्छे मर्न थालेको समाचार आउन थाल्यो । सुरुमा आरोप प्रत्यारोप जे जे भए पनि अहिले यो भाइरसले संसारमा एकछत्र शासन चलाएको छ । मान्छे पो आफ्नो हुन्छ त, रोग त रोग नै हो नि !

अहिले हामी थुनिएर बस्दा आफन्त भेट्न जान सकेका छैनौँ । हाम्रो मरिसकेको मानवीय संवेदना जागरुक हुन थालेको छ ।

अल्बर्ट आइन्स्टाईन भन्थे रे : द ग्रेटेस्ट ब्यारियर अफ माइ लर्निङ इज माइ एजुकेसन अर्थात् मेरो सिकाइको सबैभन्दा ठूलो अड्चन भनेको मेरै शिक्षा हो ।

के कोरोनाले मान्छे मार्दैछ अथवा मान्छे बचाउँदैछ ?

‘कस्तो पटमुर्ख होला यो मान्छे, अहिलेसम्म झन्डै १९ हजार मान्छे मार्ने कोरोनाले पनि मान्छे बचाउँदैछ भन्छ’ भन्नु होला ।

एकपटक तथ्यांक हेरौँ । विश्व स्वास्थ्य संगठनका अनुसार मानवीय क्रियाकलापको उत्सर्जनले प्रदूषित हुने पर्यावरणबाट फोक्सो र रगत सम्बन्धी रोग लागेर वार्षिक ४२ लाख मानिस मर्छन् । नेपालमा सबैखाले सडक दुर्घटनाबाट सरदार दैनिक ७ जनाले ज्यान गुमाउँछन्, १७ जना अङ्गभङ्ग भएर बाँच्छन् । एक हप्तासम्म नेपालमा सडक दुर्घटनामा मर्ने लगभग ५० जनाको ज्यान जोगिनेछ ११९ जना अङ्गभङ्ग हुनबाट जोगिनेछन् ।

विश्व वातावरण संगठनले प्रस्तुत गरेको तथ्यांकअनुसार अहिले संसारभर वायु प्रदूषणमा झन्डै ३५ प्रतिशतले कमी आएको छ । यसको परिणाम यो हुन सक्छ कि अब ती ४२ लाख मान्छेको स्वास्थ्य सुधार हुनेछ ।

कोरोना भाइरसको संकटले मानवीय भोकलाई सही दिशा लिन प्रेरित गर्‍यो भने प्रत्येक देशले नयाँ आर्थिक नीति तर्जुमा गर्नेछन् । नयाँ आर्थिक मापदण्ड र नीतिले पर्यावरण र परिवारको सन्तुलन पुनस्र्थापित गर्नेछन् । पैसा धन बन्ने छ । अहिले हामी करले घरभित्र पसेका छौँ । बिस्तारै हामीलाई घरभित्र बस्ने रहर जाग्नेछ ।

अहिले हामीले घर हुँदा र नहुँदाको अवस्था महसुस गरेका हुनाले भोलि घर नहुनेका मद्दतका लागि हाम्रो ‘धन’ खर्च हुनेछ । असली धन मानवता नै हो । यो कोरोना भाइरसले अहिलेको सामाजिक, धार्मिक, लैङ्गिक र साम्प्रदायिक भाइरस ध्वस्त बनाउनेछ । यसको लक्षण देखिन थालेको छ ।

रातारात क्वारेन्टिन कक्ष बन्नु, ठमेलजस्तो ठाउँमा आपतमा परेका पर्यटकलाई निःशुल्क खाना खुवाउनु, विभिन्न ठाउँमा घरबेटीले भाडा छुट दिनु !

यो त सुरुवात मात्रै हो ।

हाम्रो मानवियता अब त्यतिमा मात्रै सीमित हुनेछैन । काठमाडौंमा बिस्तारै सडक बालबालिका देखिन छाड्नेछन् । मागेर बाँच्नुपर्ने बाध्यता हराउनेछ ।

विदेशिएको हामीजस्ता युवापुस्ता गाउँ अर्थात घर फर्किने छौँ । अहिलेको सेवामुखी अर्थतन्त्र फेरि उत्पादनमुखी हुनेछ ।

आखिर मान्छेलाई चाहिएको त मान्छेको साथ हो नि ! हामीले चाहे असम्भव के छ र ! (अष्ट्रेलियाबाट)

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ७ : ४० बजे

नदी कटानका कारण साँघुरिँदै बस्ती

म्याग्दी । म्याग्दी नदीको कटानका कारण बगरफाँट गाउँ साँघुरिँदै गएको

प्रधानसेनापतिद्वारा सैनिक फिल्ड अस्पताल तथा महाविद्यालयको उद्घाटन

बुटवल । प्रधान सेनापति प्रभुराम शर्माले बुटवलमा निर्माण भएको सैनिक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि लुम्बिनी र मधेशमा सरकार विस्तारसम्म

प्रधानमन्त्री प्रचण्ड र ओली छलफल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र

दमौली अस्पतालमा १२ घण्टा ओपिडी सेवा

तनहुँ– सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा

तीनकुनेको अनियनमा एक रुपैयाँमा रोटी 

काठमाडौं– काठमाडौंको तीनकुने स्थित हिपत फुड पोइन्ट कम्पनीद्वारा सञ्चालित अनियनमा