एक विद्रोहीको बकपत्र : नकलबन्दादेखि नख्खुब्रेकसम्म | Khabarhub Khabarhub

एक विद्रोहीको बकपत्र : नकलबन्दादेखि नख्खुब्रेकसम्म

गलत व्यक्तिको घेरा तोड्न सके ओली-दाहाल फेरि एक हुन्छन्



झापा— २०२८ सालको झापा विद्रोहबाट स्थापित एक नेता केपी शर्मा ओली अहिले प्रधानमन्त्री छन् ।

झापा विद्रोहको बिरासत सम्हाल्ने सच्चा उत्तराधीकारी ‘हामी हौँ’ भन्दै झापा विद्रोहका नेताहरूको शहादत स्थल सुखानीमा पुगेर कसम खाएका अर्का नेता पुष्पकमल दाहालले ‘प्रचण्ड’ले ओलीलाई पार्टी अध्यक्षबाट निष्काशन गरेको घोषणा गरेका छन् ।

करिब अढाई वर्षअघि नेपाल कम्युनिष्ट आन्दोलनका दुई भङ्गालोका यी नेताहरूले पार्टी एकीकरण गर्दा झापा विद्रोहका नेताहरू आफ्नो त्यागले बल्ल सार्थकताको बाटो समाएको भन्दै आशावादी भएका थिए ।

पुराना दुई भङ्गालोका ती नेता अहिले दुई किनारा भएपछि अग्रजहरूको त्यो आशा फेरि निराशामा बदलिएको छ ।

झापा विद्रोहका लडाकुहरूमध्ये एक हुन्, भीष्म धिमाल । उनी झापा आन्दोलनमा लागेका कारण १७ वर्षभन्दा बढी जेल बसे । एक दशकयता उनी नेपथ्यबाट नेपाली राजनीति नियालिरहेका छन् ।

 ललितपुरको ग्वार्कोमा खेती गरेर गुजारा चलाउँदै आएका झापा विद्रोहका लडाकुहरूमध्ये एक भीष्म धिमाल नेताहरूमा बढेको आत्मकेन्द्रित भावना र लोभीपापीहरूको घेराले देश र कम्युनिष्ट आन्दोलन फेरि संकटमा पुगेको बताउँछन् । 

उमेरले सात दशक पार गरेका उनी हाल ललितपुरको ग्वार्कोमा खेती गरेर गुजारा चलाउँदै छन् । नेताहरूमा बढेको आत्मकेन्द्रित भावना र लोभीपापीहरूको घेराले देश र कम्युनिष्ट आन्दोलन फेरि संकटमा पुगेको उनको ठहर छ ।

१७ वर्ष जेलमा

२०२८ सालको झापा विद्रोहको प्रस्थान विन्दु मानिएको तत्कालीन किसान आन्दोलनका एक योद्धा हुन् भीष्म ।

उनी झापाको सालबारीमा २००७ सालमा विपन्न किसान परिवारमा जन्मिए । उमेर बढ्दै जाँदा आफ्नो विकाससँगै किसानहरूमाथि हुने विभेदका विरुद्ध विद्रोही बने । करिब २० वर्षको उमेरमा किसान आन्दोलनमा सहभागी भए अनि एक महिना थुनिए र छुटे ।

किसान आन्दोलनले झापा विद्रोहको स्वरूप लिइसकेको थियो । भर्भराउँदो युवा जोश उनले त्यही विद्रोहमा खन्याए । किसानहरूलाई सङ्गठित गर्ने, जमिनदार र पञ्चायतका विरुद्ध चेतना छर्ने काम गर्दै हिँडे ।

यही क्रममा उनी २०२९ साल माघ १ गते झापाको काँकडभिट्टा उत्तर नकलबन्दाबाट  पक्राउ परे । कारागार र गोलघरमा कैद भए । उनको उमेर, यौवन र विद्रोही चेतनाले एकै पटक २०४६ सालमा मात्र घाम ताप्न पायो ।

नख्खु ब्रेकर

नेपाली राजनीतिमा २०३३ सालको नख्खु जेल ब्रेक निक्कै चर्चित छ । नख्खु ब्रेकर नेताहरूको कथा तिलस्मी नायकका कथासरह भनिने र सुनिने गरेको त्यही जेल ब्रेकका एक पात्र भीष्मको भने नाम हम्मेसी सुनिँदैन ।

पक्राउ परेपछि उनी झापा कारागार चलान भए । करिब १८ महिनापछि उनी वीरगञ्ज कारागार पठाइए । त्यहाँ दुई हप्ता राखेर केन्द्रीय कारागार, काठमाडौँ पुर्‍याइए । फेरि एक सातामै ललितपुरको नख्खु जेल पुर्‍याइए । जीवनका १६ हिउँद–बर्खा नख्खु जेलकै चौघेरा र गोलघरमा बिते । उनलाई आफ्नो यौवन, ऊर्जा, राप र ताप बितेको पत्तै भएन ।

नख्खुमा धेरै राजबन्दीहरू राखिएका थिए । त्यहीँ भेटिए झापा विद्रोहका नेताहरू । अनि युवा जोसले बुन्यो जेलब्रेकको योजना । उनले २०३३ सालको जेल ब्रेकको कुरा सुनाए, ‘हामीलाई प्रशासनले छोड्नेवाला थिएन । उम्किनका लागि हामीसँग तीन ओटा विकल्प थिए । जेल कब्जा गर्ने, पर्खाल नाघेर भाग्ने वा सुरुङ बनाएर निस्कने । तीमध्ये सुरुङ खन्नु नै उपयुक्त मानियो । अनि सुरु भयो चम्चा र डाडपन्युले कोट्याउन ।’

एक महीना सुरुङ खनेपछि १५ जना त्यहाँबाट भाग्न सफल भए । भाग्नेहरूमा भीष्मसहित, सीपी मैनाली, नरेश खरेल, घनेन्द्र बस्नेत, जीवन मगर, माधव पौडेल, प्रदीप नेपाल लगायत थिए ।

गोलघरमा

जेल ब्रेक गरेर उम्किएका १५ जनामध्ये पाँच जना केही दिनमै पक्राउ परे । नरेश खरेल, नारद वाग्ले, धर्म घिमिरे, घनेन्द्र बस्नेत र आफू पक्राउ परेको उनले सुनाए । उनले भने, ‘म भागेर जनकपुरको कर्मैया पुगेको थिएँ, त्यहीबाट पक्राउ गरेर हनुमानढोका ल्यायो । त्यसपछि झन कठोर कालरात्रि सुरु भयो ।’

पक्राउ पछि ‘ताईको माछो उम्केर भुङ्ग्रो’ मा परेजस्तो भयो । नेल र हतकडीसहित साँघुरो, अँध्यारो गोलघरमा कोचिनु पर्‍यो । २०४६ सालको जनआन्दोलनले उनीजस्ता धेरै लडाकुहरूले कल्पना गरेको उज्यालो बिहान ल्यायो ।

त्यही आन्दोलन सफल भएर बहुदलीय व्यवस्था घोषणा हुनु तीन महीना अघिमात्र उनले खुला आकाशको पारिलो घाम ताप्न पाए । पञ्चायत कमजोर हुँदै गएपछि राजबन्दीहरू रिहा गर्ने क्रममा उनी पछि छुटे ।

बुबा बितेको खबर वर्ष दिनपछि

भीष्मको घरपरिवार अर्काको खेत जोतेर जीविका चलाउँथ्यो । आमाको निधन हुँदा उनी छ वर्षका मात्र थिए । आशा र भरोसाको केन्द्र मानेको जवान छोरो जेल परेपछि बुबा भेपे धिमालको कष्ट झन थपिएको थियो । उनी जेलमा छँदा बुबा बितेछन्, २०३५ सालमा । उनले एक वर्ष पछिमात्र खबर पाएछन् ।

जेलबाट छुटेपछि उनी सरासर घर पुगे । परिवारजन कोही थिएनन् । केही दिन आफू जन्मेको र हुर्केखेलेको ठाउँमा बिताए । फेरि जोडिनु त पार्टीमै थियो । जुन सपना देखेर जीवन समर्पण गरेका थिए, त्यो दिन बहुदलले आँखैअगाडि ल्याइसकेको थियो । त्यही खुसीमा १७ वर्षको कष्टकर जेलजीवन र यतानाका पीडा भुलेर पार्टीसँग जोडिन उनी काठमाडौँ गए ।

मदनले भनेको मानेनन्

त्यस बेला सबैभन्दा आशा लाग्दा नेता थिए मदन भण्डारी । पार्टी र सङ्गठन बलियो बनाउन मदनले नेताहरूलाई खासखास ठाउँमा खटाए । मदनले भनेको कुरा भीष्मले सुनाए, ‘भीष्मजी, तपाईं परिपक्व नेता हो । तपाईंलाई अल्झाउने परिवार पनि छैन, विवाह गर्नुभएको छैन । तपाईंले पूरा समय पार्टीलाई दिनु पर्‍यो ।’

मदनले विराटनगर, पोखरा वा काठमाडौँमा रहेर सङ्गठन निर्माणमा लाग्न भने । भीष्मले यी ठाउँमा जान रुचि देखाएनन् । उनले भने, ‘मलाई मदनजीले खास ठाउँमा खास मान्छे भनेर खटाउन खोज्नुभएको थियो तर मैले झापा बस्ने विचार राखेँ । मोरङको मध्य भाग, जहाँ मेरो समुदाय पनि छ, त्यहाँ बसेर दुवै जिल्लाका पार्टी गतिविधिमा सहभागी हुन पाइन्छ भन्ने मेरो सोचाइ थियो ।’

झापाको दमक र मोरङको उर्लाबारी आसपासमा धिमाल समुदायको बाक्लो बस्ती छ । उनले आफ्नै समुदाय वरिपरि पार्टीको काम गर्ने विचार गरेका थिए तर सङ्गठनमा जिम्मेवारी पाएनन् ।

जीवनको दोस्रो इनिङ

खास जिम्मेवारी नभएकाले उनी झापा–काठमाडौँ आउजाउ गरिरहन्थे । एक दिन एक अखबारमा उनको अन्तवार्ता छापियो झापा विद्रोहका लडाकु र नख्खु ब्रेकरको रूपमा । त्यो अन्तर्वार्ता तत्कालीन मालेकी भूमिगत कार्यकर्ता, ललितपुरकी चूडादेवी दाहालले पनि हेरिन् । उनी भूमिगतकालमा ‘नमुना’ नामले चिनिएकी थिइन् ।

भीष्मका चामत्कारिक झैँ लाग्ने भोगाइ, साहस र संघर्षको कुराले चूडादेवी अर्थात नमुनालाई आकर्षित गर्‍यो । उनले भीष्मलाई एउटा पत्र पठाइन् । उनी काठमाडौँमा कुचो, खुवा आदि बेचेर गुजरा चलाउँथिन् । भीष्म र चूडादेवी भेट भयो, चिनजान गरे ।

अनि, २०४९ सालमा झापाका आदिवासी भूमिपुत्र र ललितपुरकी ब्राह्मणपुत्रीको ‘क्रान्तिकारी’ बिहे भयो । यो जोडी ललितपुरमा जग्गा लिजमा लिएर तरकारी खेतीमा व्यस्त छ ।

संविधानसभा सदस्य

झापा विद्रोहभन्दा बढी क्रान्तिकारी बनेर नेकपा माओवादीले जनयुद्ध चलाएको थियो । दोस्रो जनआन्दोलन अनि जनयुद्धको समाप्तिसँगै देश पहिलो संविधानसभा निर्वाचनको माहोलमा थियो । भीष्म आफ्नो च्याउ खेतीमा मस्त थिए ।

एक दिन भीष्मको खेतीनजिक दुई ओटा मोटरसाइकल रोकिए । मानिसको आउजाउ भइरहने भएकाले उनले वास्ता गरेनन् । मोटरसाइकलमा आएका मध्ये एक जनाले भने, ‘प्रचण्ड कामरेडले तपाईंलाई लिएर आउनू भन्नुभएको छ ।’

उनलाई अनोठो लाग्यो । उनले ‘अहिले तपाईंहरूसँग जान्नँ, अलिक दिनपछि आफैँ आएर भेट्छ रे भनिदिनू’ भनेर दूतहरूलाई फिर्ता पठाए । एउटा कम्युनिष्ट कार्यकर्ता भएकाले मूलधारमा आएका कम्युनिष्ट नेताहरूले खोज्नु र भेट्न जानु स्वाभाविक मान्छन् उनी ।

उनले भने, ‘केही दिनपछि म पार्टी कार्यालय पुगेँ । प्रचण्ड, बाबुराम, किरण, बादल लगायत सबै नेताहरू थिए । प्रचण्डले मलाई संविधानसभा निर्वाचनमा उम्मेदवार बनाउन खोजेको बताउनु भयो । तपाईंजस्तो त्यागी र क्रान्तिकारी नेता अब पार्टी आउनुपर्छ भन्नुभयो । केही बेरको कुराकानीपछि म राजी भएँ । पहिलो संविधानसभाको सदस्य बनेर राजनीतिको दोस्रो चरणमा केही काम गरियो ।’

प्रचण्डले आफूमाथि कुनै उपकार गरेको नभई आफ्नो राजनीतिक स्वार्थाका लागि आफूलाई रोजेको उनको भनाइ छ । उनले भने, ‘एक त म पुरानो मान्छे, त्यहीमाथि धिमाल समुदायको अनि झापा र मोरङमा एक किसिमको सम्बन्ध भएको मान्छे । त्यो समुदाय र भूगोलमा आफ्नो पार्टीको प्रभाव विस्तारमा सहयोग पुग्छ भनेर मलाई छानेका रहेछन् ।’

प्रधानमन्त्री ओलीसँग भेट नभएको लामो समय भयो । उनले भनेँ, ‘म पहिलो संविधानसभा निर्वाचनमा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा खुब खटेँ । ओलीले हारे । उनी मलाई भेट्न कुनै चाहना राख्दैनन् ।’

प्रचण्ड र ओलीको समीक्षा

दुई ठूला कम्युनिष्ट पार्टी तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक हुँदा उनलाई आफ्नो संघर्षले सार्थकता पायो भन्ने लागेको थियो । आफ्नो विवेक र चेतनाको तराजुमा राख्दा यी दुवै नेता उस्तै लाग्छन् उनलाई ।

दुवै नेताहरूमा बढेको महत्वाकांक्षा, गलत व्यक्तिहरूको घेराबन्दी र उनीहरूकै सुझाबका आधारमा देश र पार्टी चलाउन खोज्दा बारम्बार देश र कम्युनिष्ट आन्दोलनले धोका पाएको उनको टिप्पणी छ ।

उनले प्रनिनिधिसभा विघटनको घटना पनि नियालिरहेका छन् । यो घटनाले नेपाली जनता र कम्युनिष्ट आन्दोलनलाई नै क्षति पुर्‍याएको उनको निष्कर्ष छ । अझै पनि दुवै नेताहरूले जिम्मेवारीपूर्ण ढङ्गले सोच्ने र गलत व्यक्तिको घेराबन्दी तोड्ने हो भने पार्टी एक हुन सक्ने उनको विश्वास छ ।

नेपाली कम्युनिष्ट आन्दोलनमा आफ्नो भूमिकाको उचित मूल्याङ्कन भएन भनेर कसैसँग पनि गुनासो नरहेको भीष्मको भनाइ छ ।

उनी भन्छन्, ‘मैले कुनै पद र अवसर चाहियो भनेर कहिले पनि भनिनँ, अब पाउने आशा पनि छैन । मलाई केही दिनु परेन । देश र जनताका लागि गर्ने हो भने पार्टीलाई र सिङ्गो कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाएर नेताहरू अघि बढ्न सकून् । यति भए मलाई पुग्छ ।’

सुखानी सम्झिँदा

झापा विद्रोहको पहिलो चरण सुखानी पुगेर ब्रेक लागेको थियो । विद्रोहका नेताहरू रामनाथ दाहाल, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र नेत्र घिमिरेलाई झापा कारागारबाट इलाम सार्ने बहानामा २०२९ फागुन २१ गते झापा र इलामको सीमा सुखानीमा लगेर गोली हानी हत्या गरियो ।

त्यसपछि धेरैजसो नेताहरू पक्राउ परे, बाँकी रहेकाहरू तितरबितर भए । झापा विद्रोह शिथिल बन्यो । धेरै नेता र सहकर्मीहरू शहीद भए । नेताहरू जेलनेल भोग्न बाध्य भए । त्यो संघर्ष खेर नगएको भीष्मको एकमुष्ट समीक्षा छ । उपलव्धि संस्थागत गर्न र शहीदको सपना जनताको विपनामा रूपान्तरण गर्न नेताहरू चुक्दै गएकोमा उनलाई खिन्नता छ ।

झापा विद्रोहको साढे तीन दशकसम्म पनि कतिपय नेता, कार्यकर्ताहरूको मुद्दा छिनोफानो हुन सकेको थिएन । २०७२ साउनमा झापा विद्रोहका लडाकु तथा इलाम आन्दोलनका योद्धाहरू मुद्दाबाट मुक्त भए । तत्कालीन सरकारको सिफारिसमा राष्ट्रपति रामवरण यादवले २० जनाको मुद्दामा माफी दिएका थिए ।

माफी पाउनेमा नख्खु जेल ब्रेकरहरू घनेन्द्र बस्नेत, नरेश खरेल, भीष्म धिमाल, धर्म घिमिरे र नारद वाग्ले थिए । उनीहरूसँगै इलाम आन्दोलनका लडाकुहरूले पनि माफी पाए ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ९ : ०१ बजे

बजेट निर्माणबारे अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्रीहरुको सुझाव

काठमाडौ– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटबारे

राष्ट्रिय विकास परिषदको बैठक बस्दै, १६औँ योजनालाई अन्तिम रुप दिइने

काठमाडौं– राष्ट्रिय विकास परिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री

राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित

महोत्तरी– महोत्तरीको मटिहानी–६ स्थित मुस्लिम बस्तीका अग्निपीडित परिवार राहतको प्रतीक्षामा

पोखरामा भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

गण्डकी– पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न