कांग्रेसको कम्युनिष्टकरण | Khabarhub Khabarhub

कांग्रेसको कम्युनिष्टकरण


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यदि तिमी उड्न सक्दैनौ भने दौड, दौडन सक्दैनौ भने हिँड, हिँड्न पनि सक्दैनौ भने घिस्र । जस्तोसुकै अवस्थामा पनि तिमी अघि बढिरहनु पर्छ ।मार्टिन लुथर किङ्ग जुनियर

इनफ इज इनफ अभियानले पीसीआर परीक्षणको माग सरकारसँग गर्‍यो । समाजवाद उन्मुख र त्यसमा पनि कम्युनिष्ट सरकार भएको देशमा खासमा यो मागिराख्नु पर्ने नै थिएन । तर, युवाहरू अनशन नै बसे । युवाको अनशन हुँदा उनलाई भेट्न सबैभन्दा ठूलो लर्को चाहिँ नेपाली कांग्रेसका नेताहरूको थियो ।

१४औँ महाधिवेशनको चर्चा चल्न थालेको पृष्ठभूमिमा पछि परिएला कि या भनौँ त्यहाँ नगए त सबै छुट्छ कि भन्ने पिर कांग्रेस नेताहरूमा देखिन्थ्यो ।

सभापति शेरबहादुर देउवादेखि उनका प्रतिस्पर्धी कृष्ण सिटौलासम्म वसन्तपुर पुगे । युवाले गरेको अनशनमा कांग्रेसका युवा नेता नपुग्ने त कुरै भएन । गए र अभियानमा ऐक्यबद्धता पनि जनाए ।

यसपछि स्वाभाविकरूपमा मनमा एउटा प्रश्न उब्जियो– के कांग्रेसलाई साँच्चै सरकारले कोरोना संक्रमितको परीक्षणमा कैफियत भएकै लाग्छ ? वा लोकरिझ्याइँको लागि मात्र वसन्तुपर गएका हुन् ? साँच्चै सरकार चुकेको भन्ने लाग्छ भने खासमा यो अनशन भनौँ वा आन्दोलन विपक्षी दल समेत भएको नाताले नेपाली कांग्रेसले गर्नुपर्ने होइन र ?

कांग्रेसजनले न यो प्रश्न आफूलाई गरे न अनशन नै बसे ।

नेपालमा जहाँ पनि नयाँ नेतृत्व चयनको बखत हुन्छ, तब नेतृत्वका आकांक्षी अचानक विचारवान र क्रान्तिकारी हुने गर्दछन् ।

कोरोनाको त्रास बढ्दैछ । कहिलेसम्म रहन्छ भन्ने थाहा छैन । ई अभियानले गरेको अनशन गर्न कांग्रेस पार्टीलाई कसैको अनुमति चाहिन्थ्यो र ? कांग्रेसमा आबद्ध युवालाई नेताको आदेश चाहिन्थ्यो र ? चाहिन्थ्यो भने आफ्नै पार्टी कार्यालयमा नेवि संघका जुझारु क्रान्तिकारी युवाहरू कसको आदेशमा अनशन बसेका थिए ?

खासमा कांग्रेसले विपक्षी भूमिका नै बिर्सिसक्यो । २०६२ सालपछि सहमति, सहकार्य र एकता भन्दाभन्दै कांग्रेसले सत्ताको च्याँखे दाउ थाप्न त जान्यो तर विपक्षमा बसेर सरकारलाई कसरी सही ठाउँमा राख्ने भन्ने नै भुल्यो । कोरोनाको महामारी विश्वभरि नै छ । तर जब सत्तासञ्चालकहरू सेवक नभएर शासक हुन थाल्दछन् तब राजनीतिक माहौल गरम हुन्छ ।

बेलारुसमा अहिले राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोविरुद्ध सहरमा मानवसागर उर्लिएको छ । उनले सैनिक पठाए तर यो महासागर सेनाले तह लगाउला ? पटक पटक राजनीतिक व्यवस्था नै परिवर्तनको मुख्य नेतृत्व गरेको कांग्रेस अहिले मुखमा मुड्कीले हानेर किन बसेको छ ?

कोरोनाले आक्रान्त पारेको वेलामा सरकार अनेक नियुक्ति र चाँजोपाजो मिलाउन व्यस्त छ । यसको विरोध अन्यत्रभन्दा नेकपामै बढी छ । फेरि पनि कांग्रेस मौन छ । त्यो नेकपा जसलाई भद्रगोल छ भनिएको छ, उसले कम्तीमा एक जना प्रदेश सांसद राजेन्द्र पाण्डे जसले मनमोहनको नाउँमा अस्पताल खोलेर व्यापार गरे भनेर लाञ्छना लगाइएको छ, तिनैलाई संयोजक बनाएर भए पनि स्वास्थ्य विभाग गठन गरेको छ ।

विपक्षी दल कांग्रेसले यति काम पनि गरेको छैन । महाधिवेशनको मिति तोकिसकेपछि सभापति शेरबहादुर देउवा भटाभट विभागहरू गठन गर्दैछन् तर स्वास्थ्य विभागको अपरिहार्यता महसुस गरेका छैनन् । र, बडो कष्टले गठन गरेको छायाँ सरकारले के गर्दैछ ?

नेपाली कांग्रेस यति वेला एउटा अनौठो विचार शुन्यताको अवस्थामा छ । कांग्रेसमा नीति ठिक तर नेतृत्व ठिक नभएको हो ? वा नीति पनि गलत छ ? सवाल खडा हुन थालेको छ । जस्तो, बीपीले राष्ट्रियता, प्रजातन्त्र, समाजवाद भने । उनकै भाइ गिरिजाप्रसादले सहमति, सहकार्य र एकता भने । यी दुई मूल सिद्धान्तमा तात्विक भिन्नता के छ ? सहमति, सहकार्य र एकता भनेको मिलेर सत्ता चलाउने होइन ?

खासमा कांग्रेसजस्तो पार्टीले नीतिगत बहश ६ महिना पहिल्यै टुङ्गो लगाएर मात्र नेतृत्वको लागि बन्द सत्रमा प्रवेश गर्नु उपयुक्त हुन्थ्यो । यतातर्फ सामान्य ध्यान पनि गएको देखिन्न ।

यो त्यही कांग्रेस हो जसले संसदीय परिपाटीको आज पनि वकालत गर्छ तर शान्ति प्रक्रियाको विशिष्ट अवस्था भनेर संसदमा विपक्षीविहीन अवस्था बनायो ।

विपक्षीविहीन पनि संसद हुन्छ ? यसै वेलादेखि भुत्ते भएको कांग्रेस अझै पनि धारिलो हुन सकेको छैन । खासमा कांग्रेसले विपक्षीय भूमका नै बिर्सिसकेको छ ।

आफूले पाएको जिम्मेवारी पूरा गर्दा पनि मानिसहरूले अगाध स्नेह गर्छन । यसको उदाहरण ऊर्जामन्त्री भएर बत्तीको पैसा नतिर्नेको तार काटेका गोकर्ण विष्ट र नेपाल विद्युत प्राधिकरण हाकेर लोडसेडिङ हटाएका कुलमान घिसिङ हुन् ।

त्यसो त कांग्रेसमा अहिले विचार र अभिव्यक्तिको ज्वालामुखी नै फुटेको छ । नेपालमा जहाँ पनि नयाँ नेतृत्व चयनको बखत हुन्छ, तब नेतृत्वका आकांक्षी अचानक विचारवान र क्रान्तिकारी हुने गर्दछन् । कुनै समय नेपाल विद्यार्थी संघको अध्यक्ष समेत भएका गुरुराज घिमिरेले हालै कडा विचार व्यक्त गरेका छन् ।

उनले भनेका छन्–आन्दोलन र क्रान्तिमा निकै फरक छ । आन्दोलनले सुधारको माग गर्दछ तर क्रान्तिले परिवर्तनको । नेपाली कांग्रेसमा क्रान्तिको आवश्यकता छ, सुधारले पुग्दैन । त्यसैले पार्टीमा पुस्तान्तरण आजको आवश्यकता हो र यो समयको माग पनि हो । अब टालटुले हिसाबले हुदैन ।

उनको यो भनाइमा थुप्रै युवा नेताहरू सहमत भएका देखिन्छन् । कांग्रेसको १४औँ महाधिवेशनमा यिनै युवा पुस्ताका नेताहरू अब सभापति युवा पुस्ताले जित्छ भन्दै हिँडेका छन् । गगन थापादेखि गुरु घिमिरे र धनराजदेखि चन्द्र भण्डारीसम्म यही लहरमा छन् ।

के कांग्रेसको कम्युनिष्टकरण हुँदै गरेको हो ? नत्र, ओपन मास बेस्ड पार्टी किन बन्द हुँदैछ ? के कांग्रेसमा अहिले भइरहेको बहश, र संवादमा आम मानिसले भाग लिन पाउँछन् ? पाउँछन् भने त्यो कुन विधि हो ?

युवा पुस्तादेखि बुढो पुस्तासम्मको दाबेदारी हेर्दा आधा दर्जनभन्दा बढी नेताहरूले सभापतिमा दाबी गरेका छन् । चुनावको मनोविज्ञान बुझेकाहरू भन्ने गर्दछन्– चुनावमा दुई खालका उम्मेदवार हुन्छन् । एक, नेतृत्वको लागि कटिबद्ध, पूर्ण तयारीको साथ उठने । दुई, चुनावको अघिल्लो दिनसम्म उठने, वार्गेनिङ गर्ने, पद सुरक्षित गर्ने । कति त चन्दा संकलनको लागि पनि उम्मेदवार हुने गर्दछन् । वास्तवमा कांग्रेसमा खास चुनावमा भिड्ने उम्मेदवार कति होलान् ?

कांग्रेसकै युवा नेता कल्याण गुरुङले भनेका छन्– आदरणीय बौद्धिक समुदायहरू, सम्झाउन मिल्छ भने सम्झाइदिनु होला । आफू र आफ्नालाई अन्य पदहरू सुरक्षित गर्न बार्गेनिङ गर्न सभापति पदको उम्मेदवारीको दाबेदारी नगरौँ । सभापति पदको उम्मेदवार हुन भावना र शुभकामना मात्र पर्याप्त हुँदैन आँट र भोट पनि चाहिन्छ ।

खासमा एउटा लोकतान्त्रिक पार्टीको महाधिवेशनको मूल काम के हो ? नीति र विधि तय गर्ने कि नेतृत्वमात्र चयन गर्ने ? खासमा कांग्रेसजस्तो पार्टीले नीतिगत बहश ६ महिना पहिल्यै टुङ्गो लगाएर मात्र नेतृत्वको लागि बन्द सत्रमा प्रवेश गर्नु उपयुक्त हुन्थ्यो । यतातर्फ सामान्य ध्यान पनि गएको देखिन्न ।

हरेक पार्टीमा नीति र विधि पछाडि पारिन्छ भने त्यहाँ पदमात्र रहन्छ । कांग्रेसमा यतिन्जेलको बहश हेर्दा नेतृत्व फेर्ने भनेर आक्रोशपूर्ण अभिव्यक्ति सुनिन्छ तर नीतिको बारेमा एक वाक्य बोलेको सुनिन्न ।

यही वेलामा कांग्रेसले अर्को बहश पनि गर्नुपर्छ । कांग्रेस मास बेस्ड पार्टी थियो तर अब यसबाट पर हटेर सेमी मासबेस्ड पार्टी भइसक्यो । आठ लाख सङ्गठित कार्यकर्ता भएको नेकपासँग प्रतिस्पर्धा गर्न कांग्रेसले व्यापक मात्रामा सक्रिय सदस्यता बाँडिरहेको छ । हुनत बीपी पनि पछिसम्म पनि साथीहरूलाई कमरेड भन्थे । वरिष्ठ नेता रामचन्द्र पौडेल विद्यार्थीकालमा वाम राजनीतिमा थिए ।

के कांग्रेसको कम्युनिष्टकरण हुँदै गरेको हो ? नत्र, ओपन मास बेस्ड पार्टी किन बन्द हुँदैछ ? के कांग्रेसमा अहिले भइरहेको बहश, र संवादमा आम मानिसले भाग लिन पाउँछन् ? पाउँछन् भने त्यो कुन विधि हो ? यदि, तपाईं पार्टीलाई बन्द कोठामा सीमित गर्नुहुन्छ वा केही निश्चित नेताको बयलगाडा बनाउनुहुन्छ भने त्यसमा समग्र जनताको सहभागिता हुँदैन ।

नेतृत्वको लागि सभापति देउवा नै आकांक्षी छन् । उनको क्याम्पबाट विमलेन्द्र निधि पनि तयार छन् । खासमा निधि सभापतिको लागि तयारी गर्दैछन् वा वरिष्ठ उपसभापतिको ?

पार्टीको नेतृत्वमा पुग्न कपाल फुलाउनै पर्ने र तल्लो तहदेखि चुनावमा जित्ने कोटरी तयारी पार्ने व्यवस्था रहेसम्म कांग्रेस जनताको पार्टी हुँदैन । केही स्वार्थ समूहको मात्र पार्टी हुन्छ । तर, के कांग्रेसको युवा पुस्ता यो बहश गर्न र विधान परिमार्जन गरी यसलाई खुला गर्न तयार छ ?

कांग्रेसमा अहिले पुस्तान्तरण कि नेतृत्व हस्तान्तरण भन्ने सवाल छ । सभापति शेरबहादुर देउवाबाट रामचन्द्र पौडेलको हातमा नेतृत्व आउनु हस्तान्तरण मात्र हो । तर, यो पुस्ता भन्दा तल, डा. शशांक कोइराला नेतृत्व आएमा पुस्तान्तरण हुनेछ । अहिलेको बहश र चुनावी पद्धति हेर्दा यो पुस्ताभन्दा तल नेतृत्व पुग्ने देखिन्न ।

नेतृत्वको लागि सभापति देउवा नै आकांक्षी छन् । उनको क्याम्पबाट विमलेन्द्र निधि पनि तयार छन् । खासमा निधि सभापतिको लागि तयारी गर्दैछन् वा वरिष्ठ उपसभापतिको ?

यता पौडेल खेमामा अनेक पक्ष छन् । पौडेललाई डा. शशांक, प्रकाशमान सिंह, डा. शेखर कोइरालाले चुनौती दिइसकेका छन । कृष्णप्रसाद सिटौलाको अर्को समूह छँदैछ, जो प्यानल सहित उम्मेदवारी दिने तयारी गर्दैछ । । युवा पुस्ताबाट गत महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिएका गगन थापा यसपटक उपस्थितिको लागि मात्र भए पनि सभापति लड्ने भन्दैछन् ।

कांग्रेसमा कसले वाजी मार्ला भन्ने रस्साकस्सी देखिन्छ । सबैले आफूमात्र जित्ने दाबी गरेका छन् । तर, महत्वपूर्ण कुरा के हो भने कांग्रेसमा पौडेल समूह थिएन र छैन । देउवासँग असन्तुष्ट भएकाहरूले पौडेललाई ढाल मात्र बनाएका थिए ।

खासमा गत महाधिवेशनमा कोइराला विरासत तोडेर देउवाले जसरी नेतृत्व लिएका थिए, यसपटक गैरकोइरालाकै हातमा नेतृत्व रहन्छ कि यिनीहरू असफल भए कांग्रेसलाई जस्तो भएपनि कोइराला नै चाहिन्छ भन्ने मान्यताको जित हुन्छ, यो नै प्रतीक्षाको विषय हो ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  १ : १४ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०