मिलेमतो परिपाटी नहटाए फुटबलको विकास हुन्न : प्रशिक्षक केसी « Khabarhub
Logo
२० चैत्र २०७६, बिहीबार

मिलेमतो परिपाटी नहटाए फुटबलको विकास हुन्न : प्रशिक्षक केसी

क्लब फुटबलबाट बाहिरिन्छु, असल नागरिक उत्पादन गर्ने एकेडेमी खोल्छु



काठमाडौं – फुटबल प्रशिक्षक मेघराज केसी आफूलाई भाग्यमानी सम्झन्छन् । जीवनमा आफू सबैभन्दा सन्तुष्ट भएको बताउने उनले भनेका छन्, ‘मैले मेरो ‘प्यासन’लाई नै पेशा बनाउन पाएँ ।’

सानैबाट फुटबलसँगै हाँसखेल गरेका उनी फुटबलमै रमाउन चाहन्थे । जीवनको उकाली ओरालीमा पनि उनलाई फुटबलले राम्रै साथ दियो । त्यसैले त उनी भन्छन्, ‘नेपाली जीवन शैली अनुसार म एकदमै सन्तुष्ट छु । मैले मेरो ‘प्यासन’लाई नै पेशा बनाए । यस्तो अवसर कमैलाई मात्र मिल्छ । त्यसैले म आफैंले आफैंलाई निक्कै भाग्यमानी पनि ठान्छु ।’

लगनखेलमा जन्मिएका उनको छिमेकमै थियो, जावलाखेल क्लब । टोलमै नेपालको शीर्ष डिभिजन क्लब भएपछि छर छिमेकमा फुटबल माहौल हुने नै भयो । अनि स्थानीय बालबालिकामा फुटबलको रुची बढ्नु स्वभाविक पनि हो ।

मेघराज पनि यही वातावरणमा हुर्के र अरु भन्दा फरक हुन सकेनन् । उनी फुटबलमै रमाउन थाले ।

उनी खेलसँगै पढाईमा पनि अब्बल थिए । परिवारको पढाईलाई जोड दिनुपर्छ भन्ने सुझावको जवाफ कक्षामा उत्कृष्ट नतिजा निकालेर दिने गर्थे । विस्तारै जीवनको गोरेटोमा अघि बढ्दै जाँदा उनी दुई मध्ये एक रोज्नुपर्ने अवस्थामा पुगे र फुटबल रोज्दा पढाई उनीबाट अलि धुमिल भयो ।

उनले प्लस टु भन्दा माथि पढाईलाई निरन्तरता दिनै सकेनन् । ३ दशकभन्दा लामो समय नेपाली फुटबलमा विताएका उनी अब क्लब फुटबलबाट विश्राम लिने योजनामा छन् ।

त्यसैले उनका लागि क्लब फुटबल प्रशिक्षणको यो नै अन्तिम बर्ष हो । थ्रीस्टार क्लबसँग पनि उनले कुरा गरिसकेका छन् । तर, उनी अबको केही महिना मोफसलका प्रतियोगितामा टोलीको नेतृत्व गर्नेछन् ।

जुन दिन उनी क्बल फुटबलबाट बाहिरिने छन् त्यो दिन उनको क्लब फुटबलमा बिताएको २५ बर्ष लामो यात्रामा विराम लाग्नेछ ।

‘राम्रो मान्छे बनाउन जान्छु’

२०४६ सालदेखि शीर्ष डिभिजन लिगमा जावलाखेल युवा क्लबबाट डेब्यु गरेका मेघराज २०७६ साल आफ्नो क्लब करियरको अन्तिम बर्षका रुपमा रहेको बताउँछन् । यति लामो यात्रालाई एकै छिनको झोकमा उनले छाड्ने योजना बनाएका होइनन् । धेरै लामो सोच विचार र परामर्शपछि आफुले निर्णय गरेको बताउँछन् ।

‘मैले मेरो जीवनको आधाभन्दा बढी समय यसैका खर्चेको छु । झोककै भरमा म टाढिन लागेको पक्कै होइन । यसबाट टाढिइसकेपछि आफुलाई कसरी अगाडि बढाउने भन्ने योजना बनाएरै छाड्न लागेको हुँ ।’

आफूले खेल सिकाएका खेलाडी नै अहिले प्रशिक्षक बनेर आउन थालेको भन्दै केसीले उनीहरुलाई अवसर दिनका लागि पनि आफू अलिक फरक योजनामा जान चाहेको बताए ।

फुटबल नै आफ्नो सबैथोक भनेर हिडेका उनी के अब फुटबलमै रहँदैनन् त ? त्यसो होइन । तर, उनी क्लब फुटबलमा भेटिने छैनन् । रणनीति जवाफका रुपमा उनी भन्छन्, ‘मैले केही जानेको छु भने त्यो फुटबल नै हो । फुटबल बाहेक मैले केही कुरा जानेको छैन । त्यसैले म यसैमा हुन्छु,’ उनले खबरहबसँगको कुराकानीमा भने, ‘सुविधा सम्पन्न फुटबल एकेडेमी खोल्छु । जहाँ फुटबल लगायत धेरै कुरा सिकाइनेछ ।’

मेघराज आफुले विदेशमा देखेको जस्तै आधुनिक सुविधा सम्पन्न एकेडेमी खोल्ने योजनामा छन् । उनी आफूले खोलेको एकेडेमीमा भर्ना हुने सबै जना फुटबलर नबन्न पनि सक्ने तर, असल मान्छे बनेर निस्कने दाबी गर्छन्।

‘फरक किसिमको फुटबल एकेडेमी बनाउने लक्ष्यमा छु । त्यहाँ आउने हरेक बालकले फुटबल त खेल्छ नै त्यो बाहेक पनि धेरै कुरा सिक्नेछ,’ उनले भने, ‘उ फुटबलर नबन पनि सक्छ । तर, राम्रो र असल मानिस बनाउने जिम्मा मेरो हुनेछ ।’

मनलाई जितेको दिन

कक्षा पाँचमा पढ्दै गर्दा उनी पहिलो पटक फुटबल प्रतियोगितामा सहभागी बने । उनको टोलको टीमले भैंसिपाटीमा कालिका क्लबले आयोजना गरेको ५.५ फिट उचाईभन्दा तलका खेलाडीले खेल्ने प्रतियोगिता आयोजना गरेको थियो ।

त्यसमा उनी आफ्नै टोलबाट खेल्ने निश्चित भइसकेको थियो । तर, प्रतियोगिताको ३ दिन अगाडि उनले ठूलो चोट व्यहोर्नु पर्यो । उनका पिताको निधन भयो । परिवार सोकमा पर्‍यो । उनका ठूला दाजु र आमा किरिया बसे । तर, मेघराजको बर्तबन्ध नगरेका कारण उनी बाहिरै रहे ।

किरिया नबसेपनि उनले दिनको एक छाक मात्रै खान्थे । प्रतियोगिता खेल्ने निश्चित भइसकेपछि घरमा परेको सोककै बीच उक्त खेल तोकिएकै दिन हुनेभयो । सबै जना हिड्ने बाटो छेउमा मेघराजको घर थियो ।

खेल्न जाने टोलका सिनियर दाइहरुसहित उनका साथीहरु उनकै घरअगाडिबाट होहल्ला गर्दै अगाडि बढे । उनी दुविधामा परे । जाउ भने घरमा पीडा छ । नजाउ भने मनले मान्दैन ।

निकै ढिलागरि उनले प्रतियोगितामा जाने योजना बनाए । तर, घर अगाडि त मान्छेहरु बसेर गफ गरिरहेका थिए । उनले वैकल्पिक बाटो खोजे । त्यसमा उनले घरको पछाडि पट्टी झ्यालबाट निस्किए । टाउकोमा सेतो कपडा र खाली खुट्टै फुटबल खेल्नकै लागि उनी भागेका थिए ।

दौडदै गएका उनी मैदानमा भने अघि गएका मान्छेहरुसँगै पुगे । दौडदै मैदान पुगेका उनले खेल्ने अवसर पनि पाए । जसमा उनी उत्कृष्ट खेलाडी समेत बने ।

तत्कालिन खेलकुद मन्त्री केसरबहादुर बिष्ट मैदान पुगेका थिए । पछि उनैबाट उनले फुटबलमा आफ्नो पहिलो पुरस्कार थापेका थिए । जुन पुरस्कार उनका लागि अविस्मरणीय बन्यो । त्यसैको प्रेरणाले उनी ३ दशक भन्दा लामो समय फुटबल मै बिताए ।

राष्ट्रिय टोलीबाट खेल्न पाएन

मेघराजले क्लब खेलाडीका रुपमा जति अनुभव बटुले उनले राष्ट्रिय खेलाडीका रुपमा बने अनुभव नै लिन पाएनन् ।
२०५२ मा उनलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाइएको थियो । त्यतिबेला नेपाली टोलीको प्रशिक्षक थिए, विराट कृष्ण श्रेष्ठ ।

लामो समयको बन्द प्रशिक्षणबाट श्रेष्ठले अन्तिम २० जना खेलाडीको सूचि तयार गरेका थिए । त्यसमा मेघराजको नाम पनि थियो ।

दशैं पछि प्रतियोगिता थाइल्यान्डमा हुँदै थियो । तर, क्याम्प दशैंमा बन्द भयो । खेलाडी दशैं मनाउन घर घर गए ।
दशैंको अवसर पारेर एन्फाका तत्कालिन महासचिव लोकबहादुर शाहीले नेपाली टोली लिएर भारतको आसाम गए ।

शाहीले लिएको टोली प्रतियोगिताको सेमिफाइनलबाटै आउट भयो । तर, काठमाडौं फर्किने क्रममा शाही र खेलाडीबीच विवाद शुरु भयो । विवादले काकडभिट्टा पुगेपछि ठूलो रुप लियो । खेलाडी र शाहीबीच ‘भनाभन’ को स्थित नै आयो । तर, पनि शाहीले खेलाडीसँग माफी मागे । पछि त्यो घटना काँकडभिट्टामै समाधान भयो ।

त्यसको असर भने पछि काठमाडौं पुगेपछि मेघराजले भोग्नु पर्यो । शाहीले आफ्नो पदको दुरुपयोग गरे । उनले खेलाडीसँग काँकडभिट्टामा माफी मागेपनि काठमाडौंमा क्याम्प शुरु भएपछि उनले तत्कालिन एन्फा अध्यक्ष गणेश थापामार्फत् कारबाहीको धम्की मात्रै दिएनन् । घटनाको सम्पूर्ण विवरणसहित माफी माग्न भनियो ।

तर, हकी स्वभावका उनी एन्फासमक्ष झुक्न मानेनन् । ‘काँकडभिट्टामै सकिएको घटना काठमाडौं आएर व्युताउन खोजियो जसमा मलाई लिखित माफी माग्न भनियो,’ मेघराज भन्छन्,‘मलाई चित्त बुझेन । उनले (लोकबहादुर शाही) ले मलाई पेल्न खोज्नु भयो । उनीहरुसँग झुक्नु भन्दा छाडिदिन्छु भनेर म पछि तयारीमै पनि गएन ।’

जावलाखेलबाटै शुरु भयो, क्लब फुटबलको यात्रा

मेघराजको क्लब फुटबल यात्रा आगनकै क्लब जावलाखेल युवा क्लबबाट शुरु भयो । उनी आफ्नो क्लब करियरभर जालाखेलमै रहे । उनले २०४६ सालदेखि २०६३ सालसम्म जावलाखेलबाटै खेले ।

तर, उनले जावलाखेल सहभागी नभएका मोफसलका नकआउट प्रतियोगितामा अन्य क्लबबाट पनि खेले । उनले जावलाखेल बाहेक थ्रिस्टार, मनाङ–मस्र्याङ्दी, फ्रेन्ड्स र हिमालयन शेर्पाबाट मोफसलका प्रतियोगिता खेलेका थिए ।

खेल्दा खेल्दै मेघराज २०५५–०५६ सालबाट ‘प्लेयर कम कोच’ भइसकेका थिए । अहिलेसम्म उनले ९० खेल भन्दा बढी ए डिभिजन क्लबमा प्रशिक्षकको जिम्मेवारी सम्हालि सकेका छन् ।

‘मैले फुटबल खेलाडीको रुपमा भन्दा पनि प्रशिक्षकको भूमिकामा धेरै खेले । मसँग क्लब फुटबल खेलेको अनुभव छ । राष्ट्रिय टोलीलाई प्रशिक्षण गरेको अनुभव पनि छ,’ उनले भने, ‘तर, राष्ट्रिय टोलीको खेलाडीको अनुभव छैन् ।’
एन्फा विवादमा थापालाई साथदेखि पीएलए !

माथि उल्लेख गरेको एक प्रशंग यहाँ पनि खोतलौं । राष्ट्रिय टोलीमा क्याम्पमा रहँदा विवाद भएपछि क्याम्पबाटै बाहिरिएका उनले पछि एन्फामा गणेश थापा र गीता राणा विवाद हुँदा भने उनले थापालाई साथ दिएका थिए ।

२०५५–०५६ सालतिरको कुरा हो, अध्यक्ष थापाकै आग्रहमा उनले एन्फा एकेडेमिका यु–१२ देखि यु–१५ सम्मका खेलाडीलाई प्रशिक्षण दिएका थिए ।

एन्फामा काम गर्दा गर्दै उनलाई एन्फाले तत्कालिन माओवादीको पीएलए (पिपुल्स लिब्रेसन आर्मी) को प्रशिक्षकको रुपमा शक्तिखोर पठाएको थियो । त्यहाँ उनले २ बर्षजति काम गरे । त्यहाँ बस्दा आफुले फुटबलबाट पनि पैसा आउँछ भन्ने जानकारी पाए ।

त्यसअघि उनले एन्फा एकेडेमिमा रहँदा ३ हजार मासिक पाउँथे भने शक्तिखोर गएपछि उनले फुटबल व्यवसायिक खेल हो र यसबाट पनि पैसा कमउन सकिन्छ भन्ने थाहा पाए ।

‘एन्फाकै आग्रहमा म शक्ति खोरको जंगलमा फुटबल सिकाउन गएको थिए,’ केसी भन्छन्, ‘त्यहाँ म एक्लो फुटबल जान्ने मान्छे । मैले जे भन्यो त्यहिँ नियम हुन्थ्यो ।’

उनले शक्तिखोरमा २ बर्ष विताउँदा आफुले २४ घण्टा नै फुटबलका बारेमा मात्रै सोच्नु पर्दा आफ्नो करियरमा पनि राम्रो सुधार ल्याएको बताए ।

‘त्यहाँ बस्दा मैले फुटबल अझै धेरै बुझ्ने अवसर पाए । मेरो काम नै फुटबल खेलाउने र फुटबलबारे सिकाउने थियो,’ उनले भने, ‘मेरा लागि पछिसम्म त्यहाँको बसाई शुखद् बन्यो । खासमा मैले फुबटल खेलेर पैसा पाइन्छ भन्ने पनि त्यहिँ थाहा पाएको हुँ ।’

छोरीहरुले मेरो पढाईको कमी पुरा गरे

मेघराज स्कुलमा पढ्दा १ कक्षादेखि ९ सम्मका स्कुल टपर हुन् । तर, जति कक्षा बढ्दै गयो त्यति नै उनको पढाई प्रतिको रुचि पनि घट्दै गयो । कक्षा ९ बाट १० मा जाँदा तेस्रो भएका उनी एसएलसी अगाडिको टेस्ट परीक्षामा त चौथो हुन पुगे ।

पछि उनले एसएलसी सकिएपछि पिपुल्स कलेजमा भर्ना भए । जहाँ उनी स्कुलका किताब कापी भन्दा फुटबलका ‘बुट’ बढी बोक्थे । त्यस्तै गर्दा गर्दै उनको परिवारले पनि पढाईमा जोड गर्न भन्न थालेपछि उनी फुटबल छाड्न नसक्ने भइसकेका थिए । जसले गर्दा उनी परिवारसँग छुट्टीएर बस्न थाले ।

जावलाखेल मै मेघराजको दुईवटा घर थिए । एक घरमा उनको परिवार बस्थ्यो भने अर्को घर भाडामा थियो । पछि उनी छुट्टिदाँ भाडामा रहेको घरको एक फ्ल्याटमा बस्न थाले । केही समय एक्लै बसेपछि उनकी आमा पनि उनीसँगै बसाई सरेकि थिइन् ।

केसीले पढाईबीचैमा छाड्नु परेको पीडा बेलाबखत महुसुस गर्दै आएका छन् । तर, अहिले छोरीहरुले आफ्नो पीडामा मल्हम लगाएको उनी बताउँछन् ।

‘जीवनमा मान्छेले सबै कुरा पाउँदैनन् । एउटा समयमा आएपछि परिवारले पढाईमा दबाब दिँदा आफुलाई चित्त बुझेन । तर, पछि कुनै समय आएपछि मलाई फुटबलसँग पनि चित्त दुख्यो होला,’ केसीले भने, ‘अहिले मेरो अधुरो पढाई छोरीहरुले पुरा गरिरहेका छन् ।’

केसीका दुई छोरीमध्ये जेठी छोरीले अहिले सीए (चार्टर अकाउन्टेन) को अन्तिम बर्षमा अध्यनरत छिन् भने कान्छी छोरी आइएस्सी पढि रहेकी छन् ।

उनले भने, ‘अहिले मेरो आत्मसन्तुष्टि अधुरो पढाई मेरो छोरीहरुले पुरा गरिदिएको छ जस्तो लाग्छ । कतिपय कुरामा मेरो काममा पनि छोरीहरुले सहयोग गरिरहेका हुन्छन् ।’

मिलेमतोका लागि अफर

नेपाली फुटबललाई नजिकबाट चिनेका मेघराजका लागि केही बर्ष अगाडि थ्रीस्टार क्लबमा हुँदा मिलेमतोका लागि अफर समेत आएको अनुभव उनले सुनाए । तर, उनले उक्त अफरलाई अस्वीकार गरे । क्लबका अध्यक्ष थिए, ललितकृष्ण श्रेष्ठ ।

उनले अध्यक्षलाई कुनै अमुक व्यक्तिले मिलेमतोका लागि अफर गरेको सुनाए । उक्त अफर ठूलै थियो । अध्यक्ष पनि झस्किए । त्यतिबेला उनलाई ५ लाख दिने र थ्रीस्टार क्लबलाई १० लाख दिन्छु भन्दै एक व्यक्तिले अफर गरेका थिए ।

जुन कुरा उनले अध्यक्ष श्रेष्ठलाई सुनाएका थिए, ‘दाइ क्लबलाई १० लाख र मलाई ५ लाख दिन्छु भनेको छ, के गर्ने ? मेरो निर्णय म गरुला तपाईसँग सल्लाहका लागि कुरा गरेको ।’

अध्यक्ष श्रेष्ठले त्यो बेला भनेको कुरा अहिले केसी सम्झिँदै भन्छन्, ‘आजको दिनमा त्यो पैसा क्लब र तिम्रा लागि ठूलो हो । तर, हामीले कमाएको इज्जत कहाँ पुग्ला । क्लबको १० लाख र तिमीलाई आउने ५ लाखले जीवनभर त पुग्दैन ।’

अध्यक्ष श्रेष्ठको यही वाक्यले केसीको मन छोयो । उनकै सम्मानले आफु थ्रीस्टारसँग लागेको उनी सुनाउँछन् । फुटबल जोगाउन मिलेमतोलाई रोक्नु पर्ने उनको भनाई छ ।


भर्खर

0