अभिभावकलाई ढाँटेर ५ प्रतिशत कमिसनमा विद्यालयको जग्गा बिक्री | Khabarhub Khabarhub

अभिभावकलाई ढाँटेर ५ प्रतिशत कमिसनमा विद्यालयको जग्गा बिक्री



नवलपुर– नवलपरासीपूर्वको मध्यबिन्दु नगरपालिका–१, सेतापानीस्थित शान्ति आधारभूत विद्यालयमा तीन सय जनाभन्दा बढी विद्यार्थी पढ्छन् । केही अनाथ विद्यार्थीहरू आवासीय सुविधासहित राखिएका छन् । सुकुम्बासी बस्तीमा नमुना बन्दै गएको यो विद्यालयका लागि आर्थिक स्रोत जुटाउन दुई वर्षअघि धनधान्याचल महायज्ञ लगाइएको थियो ।

महायज्ञबाट विद्यालयलाई १४ कठ्ठा ऐलानी जग्गा प्राप्त भएको थियो । दान दातब्यबाट केही नगद पनि प्राप्त भयो । महायज्ञपछि विद्यालय ऋणमुक्त भयो । विद्यालयका प्रधानाध्यापक दधि सापकोटाका अनुसार यज्ञमा बोलकबोल भएको करिब १० लाख रुपैयाँ अझै उठ्न बाँकी छ ।

यज्ञका अवसरमा विद्यालयलाई दाताले दिएको १४ कठ्ठा जग्गामध्ये ८ कठ्ठा प्रधानाध्यापक सापकोटा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिद्धिमान खड्काले मिलेमतोमा बिक्री गरेका छन् । विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकहरूलाई तलबका लागि रकम जुटाउन जग्गा बिक्री गर्नु परेको उनीहरूको भनाइ छ ।

निजी विद्यालयका सञ्चालकलाई जग्गा बिक्री

सरकारी विद्यालयको ऐलानी जग्गा कावासोती नगरपालिका–१६, डण्डास्थित नवलपुर बोर्डिङ स्कुलका सञ्चालक हरिहर अधिकारीले किनेका हुन् । कुल मूल्य ३२ लाख रुपैयाँमध्ये १६ लाख असोज २७ गते प्रधानाध्यापक सापकोटा र अध्यक्ष खड्काले बुझेका छन् ।

जग्गा बिक्री गरेबापत सापकोटा र खड्काले ५ प्रतिशत कमिशन पाउनेछन् । विद्यालय व्यवस्थान समितिको गत साउन ४ गते भएको बैठकमा जग्गा बिक्री गर्नेलाई ५ प्रतिशत प्रोत्साहन भत्ता दिने कुरा निर्णय पुस्तिकामै उल्लेख गरिएको छ ।

हेर्नुहोस् निर्णय :

अधिकारीले विद्यालय व्यवस्थापन समितिको निर्णयका आधारमा आफूले जग्गा किन्ने सम्झौता गरेको बताए । उनले विद्यालयले दुई महिनाभित्र ब्याजसहित फिर्ता गर्ने गरी ऋण दिएको कागज पनि आफूसँग रहेको बताए ।

ऋण चुक्ता गर्न नसके कानूनी प्रक्रिया मिलाएर हस्तान्तरण गर्ने गरी जग्गा धरौटीमा लिएको अधिकारको भनाइ छ । प्रधानाध्यापक सापकोटाले नै जग्गा खरिद गरिदिन आग्रह गरेको पनि उनले बताए ।

स्थानीयबासीको चर्को विरोधपछि बैना रकम फिर्ता गर्ने आश्वासन आफूले पाएको पनि अधिकारीको भनाइ छ ।
यज्ञमा आम्दानीभन्दा खर्च बढी !

विद्यालयलाई आर्थिक भार कम गर्न २०७५ सालमा धनधान्याचल महायज्ञ गरिएको थियो । यज्ञबाट १४ कठ्ठा जग्गा प्राप्त भयो । यसबाहेक यज्ञमा सञ्चालन खर्चसमेत नउठेर उल्टै ऋण लागेको प्रधानाध्यापक सापकोटाको भनाइ ।

‘अझै केही ठाउँमा महायज्ञको खर्च तिर्न बाँकी छ,’ सापकोटाले भने, ‘त्यतिबेला बोलकबोल भएको आठ—दश लाख रुपैयाँ अझै उठ्न बाँकी छ ।’

अभिभावकहरूले भने यज्ञको हिसाबकिताब पनि पारदर्शी नभएको आरोप लगाएका छन् । महायज्ञमा दुई करोड रुपैयाँभन्दा बढी आम्दानी भएको उद्घोष गरिएकोमा उल्टै घाटा देखाइएको अभिभावक सुकराम थनेतको भनाइ छ ।

अभिभावकलाई ढाँटेर हस्ताक्षर !

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्काले कोरोनाको कारण देखाएर आमभेला गर्न नसकिने भन्दै आफू निकटका मान्छे बोलाएर बैठक राख्ने गरेको धेरैको गुनासो छ ।

सेतापानीका १४ वटै टोलका सचिव सुनीललाल कुमालले व्यवस्थापन समितिका अध्यक्षले दुईचार कुरा बोल्न सक्ने मान्छेहरूलाई बैठकमा नबोलाउने र निकटकालाई मात्रै बोलाएर भित्रभित्रै जग्गा बेच्ने निर्णयमा हस्ताक्षर गराएको आरोप लगाए । जग्गा बेचिएको थाहा पाएर आफूहरूले बोलाएको आमभेलामा प्रधानाध्यापक सापकोटा र अध्यक्ष खड्का उपस्थित नभएको कुमालको भनाइ छ ।

सात वटा टोलले आमभेला गर्न माग गरेको र निर्णय पुस्तिकामा हस्ताक्षर नगरेको कुमालले बताए । दरबन्दीका शिक्षकको तलब पनि प्रधानाध्यापक र अध्यक्षले चलाउने गरेको उनको आरोप छ ।

दुई वर्षमै ३४ लाख रुपैयाँ ऋण कसरी लाग्यो भन्ने अभिभावकहरूको प्रश्न छ । व्यवस्थापन समितिका सदस्यहरू पनि जग्गा बेच्ने निर्णयबारे अनभिज्ञ छन् । समितिकी एक सदस्य राधिका परियारले अध्यक्ष र प्रधानाध्यापक बाहेक अरूलाई केही कुरा थाहा नभएको बताइन् ।

धेरै अभिभावकहरूको प्रश्न छ— एकपटक जग्गा बेचेर तलब खुवाउने अनि अर्को पटक के गर्ने ? अध्यक्ष खड्काले निजी स्रोतका शिक्षकहरूलाई हटाउने बताए ।

यस्तो छ शिक्षा नियमावलीको प्रावधान

शिक्षा नियमावलीमा विद्यालयको विकासको काममा बाहेक विद्यालयको नाममा दर्ता भएका जग्गा वा अन्य सम्पत्ति बेचबिखन गर्न नहुने प्रावधान छ । सामुदायिक विद्यालयको जग्गा धितो राख्नसमेत नपाउने प्रावधान छ ।

‘सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकास सम्बन्धी विशेष योजनाको लागि नेपाल सरकार वा वित्तीय संस्थाबाट ऋण प्रवाह हुने भएमा सो प्रयोजनको लागि व्यवस्थापन समिति र नियम १५८ बमोजिको समितिको सिफारिसमा मन्त्रालयले स्वीकृत गरे बमोजिम विद्यालयको सम्पत्ति धितो राख्न सकिने’ नियमावलीमा उल्लेख गरिएको छ ।

विद्यालयको नाममा रहेको सम्पत्तिको सुरक्षा गर्ने प्रमुख दायित्व व्यवस्थापन समिति र प्रधानाध्यापकको हुने प्रावधान नियमावलीमा छ ।

सामुदायिक विद्यालयको नाममा रहेको सम्पत्तिको व्यवस्थापन र संरक्षण गर्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा संरक्षण समिति रहने व्यवस्था पनि छ । विद्यालयको नाममा प्राप्त भई दर्ता हुन बाँकी रहेको जग्गा दर्ता गर्ने व्यवस्था मिलाउने काम विद्यालय सम्पत्ति संरक्षण समितिको हुने नियमावलीमा उल्लेख छ ।

यसरी स्थापना भयो विद्यालय

हालको नवलपरासीपूर्व मध्यबिन्दु नगरपालिका–१, सेतापानीमा २०६० सालमा विभिन्न ठाउँबाट आएर सुकुम्बासीहरूको बस्ती बसेको थियो । सङ्गठित हुँदै गएका सुकुम्बासीहरूको नेतृत्व सिद्धिमान खड्काले गरे ।

सुकुम्बासीको बस्तीमा २०६२ सालमा स्थापना शान्ति प्रावि स्थापना भयो । उक्त विद्यालय अहिले कक्षा ८ सम्मको आधारभूत विद्यालय बनेको छ ।

खड्का नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सम्बद्ध सुकुम्बासी सङ्गठनका केन्द्रीय अध्यक्षसमेत थिए । अहिले आफू तटस्थ रहेको खड्का बताउँछन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  २ : ०२ बजे

बागमतीको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

हेटौंडा- बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्न

संरक्षणका पर्खाइमा शुक्लाफाँटाका ताल

महेन्द्रनगर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको घनत्व बढिरहँदा त्यहाँभित्र वन्यजन्तुलाई पानी

उपचारका लागि नयाँ दिल्ली गए कांग्रेस नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह स्वास्थ्य उपचारका लागि बुधबार भारतको

पानी नपरेपछि वडाअध्यक्षसहितले गरिदिए हेटौंडामा भ्यागुताको बिहे

खडेरीका कारण पानी नपरेर सास्ती भोग्नुपरेपछि स्थानीयबासीले हेटौंडामा भ्यागुताको बिहे

चिया निर्यातमा भारतीय अवरोध हट्यो  

झापा– भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात