समस्याको चाङमा नेकपाको विमान | Khabarhub Khabarhub

समस्याको चाङमा नेकपाको विमान



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तिरक विवाद र नेपालको कम्युनिष्ट आन्दोलनलाई फर्केर हेर्दा यस्ता थुप्रै घटनाहरू मिल्ने देखिन्छन् । कम्युनिष्ट पार्टी निर्माण भएदेखि विभिन्न चिरामा भएका विभाजन केवल विचार, विधि, पद्धति र मान्यताका आधारमा थिएनन् । कहिले पद, कहिले व्यक्तिवादी दम्भ त कहिले विचार, मान्यता र सिद्धान्तका आधारमा छिन्नभिन्न बनेका प्रशस्त उदाहरणहरू छन् ।

आजको परिवेश भने केही फरक हुनुपथ्र्यो । सुझबुझपूर्ण ढङ्गले गरिएको दुई ठूला कम्युनिष्ट पार्टीको एकता आज जुन अवस्थामा आइपुगेको छ, यो शुभ संकेत होइन । देशी–विदेशी तत्वहरू ‘फुटाऊ र राज गर’ भन्ने उद्देश्य लिएर अघि बढिरहेको अवस्थामा हाम्रा नेताहरू त्यस्तै नाटकको पात्र बनिदिने खतरा निम्तिएको छ । यसबाट पुनः नेपाली कम्युनिष्ट आन्दोलनले धोका खान्छ कि भन्ने चासो र चिन्ता सर्वत्र छ । यसैको भूमरीमा नेकपाका ८ लाखभन्दा धेरै नेता–कार्यकर्ता चिन्तित छन् ।

नेपाली कम्युनिष्ट आन्दोलनले जसरी आज यो उचाइ हासिल गरेको छ, त्यसलाई हामीले राम्ररी मनन गर्न सकेनौँ कि भन्नेमा पनि छलफल र समीक्षाको जरुरी भइसकेको छ । शीर्ष नेताहरू अहिले जसरी अघि बढ्न खोज्दैछन्, त्यसले धेरै नेता–कार्यकर्तालाई निराश मात्रै पारेको छैन, नेपाली जनतामाथि समेत धोका हुने निश्चित छ ।

हामी विगतका टुटफुट र विभाजनको तिता अनुभवको सामना गरेर आएका र नेपाली कम्युनिष्ट आन्दोलनबारे जानकार भएका कारण त्यसबाट पाठ सिकेर एकता संघर्ष र रूपान्तरणलाई आत्मसात गर्दै विचार, विधि र पद्धतिको संयोजनबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई एउटा एकताबद्ध र शक्तिशाली कम्युनिष्ट पार्टीको रूपमा स्थापित गर्नुपर्ने आवश्यकता छ ।

पार्टी एकतामात्रै नभएर राष्ट्र र राष्ट्रियताका निम्ति महत्वपूर्ण भूमिका भएका अध्यक्ष ओलीले पार्टी एकतामाथि खतरा निम्त्याएर उहाँको कद बढ्ने होइन, घट्छ ।

पार्टीको रणनीतिक लक्ष्य अर्थात अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद र न्युनतम कार्यक्रम समाजवाद उन्मुख जनताको जनवादलाई आत्मसात गर्दै समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोतिर जानुपर्ने अपरिहार्यता हामीमाझ जगजाहेर छ ।

मुख्यतः अहिले पार्टीमा देखिएको संकट शीर्ष नेताहरूले नै समाधान गर्न सक्ने खालको छ । पार्टीको नियमित बैठक हुने र पार्टीको निर्देशन मान्ने हो भने समस्या समाधान हुन्छ । पार्टीको निर्णय मान्न सबै तयार हुनुपर्छ, पार्टी अध्यक्षदेखि सामान्य नेता–कार्यकर्ता सबै । कम्युनिष्ट पार्टीमा जनवादको अभ्यास र पार्टी निर्देशन मुख्य कुरा हो । त्यसैले अन्य विचारधारा भन्दा कम्युनिष्ट विचारधारा समुन्नत छ भनिएको हो ।

पार्टीमा अहिले गुटगत–पमा समस्याहरू बाहिर ल्याइएका छन्, जो विचार र सिद्धान्तको मान्यताभित्र पर्दैनन् । कम्युनिष्ट पार्टी विचारप्रधान हुन्छ । विचारले पार्टीका नीति तथा कार्यक्रम बनाउने हो । विचार प्रष्ट भइसकेपछि विधान, विधि, मान्यता र पद्धति त स्वतः अधिन भएर सर्वोपरि हुने भइहाल्छ । अहिले यही नै समस्याको जड देखिएको छ ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकता हुँदा हामीले आगामी महाधिवेशनसम्म जनताको जनवादलाई आफ्नो विचार र मालेमावादलाई मार्गनिर्देशक सिद्धान्तको रूपमा स्वीकार गरिसकेका छौँ । यस अवस्थामा पूर्वएमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद र पूर्वमाओवादीले मान्दै आएको २१औँ शताब्दीको जनवाद अहिले कोमामा छन् । यी विषयमा महाधिवेशनअघि छलफल र बहसको जरुरी छैन ।

यी कुरा प्रष्ट हुँदाहुँदै पनि बेलाबेलामा विवाद निम्त्याउन खोजिएको छ । मण्डले शैलीमा केही थान नेताहरूले पार्टी एकता ब्रेक गर्न यस्ता चालबाजीहरू नगरेका होइनन् । एउटा विशाल पार्टीमा केही यस्ता तत्व हुनु अस्वाभाविक पनि होइन । यी कुरा समयक्रमसँगै मिल्दै जाने हुन् । आजको विवाद यी विषयमा नभएर अन्यत्रै पुगेको देख्दा आम कम्युनिष्ट नेता–कार्यकर्ताको मन दुखेको छ ।

जनताका भन्दा बिचौलियाका प्यारा बन्नु नेता र नेतृत्व सकिनु मात्रै नभएर सिङ्गो नेपाली जनतामाथि गरेको अपराधको रूपमा दर्ज हुनेछ ।

पार्टीका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले नै अहिलेको विवादको समाधान निकाल्न सक्नुहुन्छ । बल उहाँकै कोर्टमा छ । उहाँमा केही प्रवृत्तिगत समस्या देखिए पनि उहाँले राष्ट्रका निम्ति निर्वाह गरेको भूमिका कुनै नेताको भन्दा कम छैन । विपरीतहरूको एकत्व कसरी हुन्छ भन्ने कुरा प्रमाणित गर्न उहाँले माओवादीसँगको एकता साहसपूर्ण ढङ्गले अघि बढाउनुभयो । त्यो स्थानमा अन्य नेता हुन्थे भने यो एकता हुँदैन थियो कि ? यो प्रश्न टड्कारो नै छ ।

पार्टी एकतामात्रै नभएर राष्ट्र र राष्ट्रियताका निम्ति महत्वपूर्ण भूमिका भएका अध्यक्ष ओलीले पार्टी एकतामाथि खतरा निम्त्याएर उहाँको कद बढ्ने होइन, घट्छ । उहाँलाई सत्तालोभीको आरोप लाग्न सक्छ । सत्ता प्राप्तिका खातिर पार्टी एकता गरेको जस्तो सन्देश जाने खतरा छ । अहिले नेकपामा देखिएको विवाद धेरैजस्तो अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री ओलीसँग नै सम्बन्धित छ ।

नेकपा संकटमा देखिएका प्रवृत्ति

अहिले नेकपामा संकट गहिरिँदै गएको कुरा नकार्न सकिन्न । सबैलाई थाहा छ, यतिबेला पार्टी गम्भीर र जटिल मोडमा छ । विवाद समाधान गर्न बनेको कार्यदलले बुझाएका सुझाबहरू सर्वसम्मत रहेको सन्देश बाहिर आएको छ । पार्टीका विभिन्न कमिटीमा सूचनाहरू सही ढंगले सम्प्रेषण गरिएमात्रै पनि आम नेता–कार्यकर्तामा रहेको अन्यौल हटेर जाने थियो ।

तर, हाम्रो परम्परा यस्तो रहेन । हामी प्रचारमुखी भयौँ । समयक्रमसँगै आफ्ना पार्टीका कमटीभन्दा मिडिया नजिक बनाइए । यो पनि दुर्भाग्यपूर्ण कुरा हो । यहाँ मिडियाको भूमिका घटाउन खोजिएको होइन तर स्रोतको हवाला दिँदै आउने सूचनाहरू पछ्याउँदै कहिलेसम्म हामीले हाम्रो पार्टीको झण्डा फहराउने ?

हामीले हाम्रो पार्टीका आन्तरिक कुराहरू गोपनियताका साथ कमिटी प्रणालीबाट जानकारी पाउनुपर्छ । स्रोतको हवाला दिँदै मिडियामा आएका सूचनाबाट धारणा बनाउने कुरा अन्त्य हुनुपर्छ । अनिमात्र हामी जनताको कम्युनिष्ट पार्टी निर्माण गर्न सक्छौँ ।

अहिले नेताहरूबीचको विवाद आफ्नो पोल्टामा पार्न व्यक्ति विशेषका कुराहरू समेत ल्याउन थालिएका छन् । कुनै एक नेताको नाममा नेपाली जनताले नेकपालाई दुई तिहाइनजिक मत दिएको भन्दै प्रचार गरिरहेका छन् । आम जनताले कोही नेता वा व्यक्तिलाई भनेर मत दिएका होइनन् तर बुर्जुवाहरू यस्ता कुरामा खेलेर व्यक्तिको पूजा गर्नसमेत पछि परेका छैनन् ।

कार्यदलको सुझाबपछि नेकपामा आशाका तरंगहरू छाएका छन् । आम नेपाली र कम्युनिष्ट नेता–कार्यकर्ताहरू राहतको सास फेर्न थालेका छन् ।

पार्टीमा संकट गहिरिँदै गर्दा नेताहरूमा देखिएका विभिन्न खाले कुराहरू सोचनीय छन् । आन्दोलन, विचार, विधि र पद्धतिभन्दा बाहिर पुगेर व्यक्तिलाई नै सर्वोपरी ठान्दै विभिन्न आचरणहरू देखिन थालेका छन् । हामीले हाम्रो पार्टीलाई सर्वहारा वर्गको नेतृत्व गर्ने अग्रदस्ता बनाउने भने पनि अन्ततः बुर्जुवा वर्गहरूका कारण जनतालाई दास र आफू मालिक ठान्ने प्रवृत्ति देखिन थालेको छ ।

पुँजीवादको चरम भ्रष्टीकरणका कारण पार्टीका नेता तथा मन्त्रीहरू भ्रष्टाचारको दलदलमा दलालसँगै फस्ने खतरा समेत उब्जिएको छ । यी प्रश्नहरूको उत्तर तत्काल दिनु नपरे तापनि सत्ता बहिर्गमनपछि भने जनताले खोज्ने छन् । लोकप्रिय कम्युनिष्ट पार्टी र आन्दोलन सेटब्याक भएर अन्ततः पुँजीवादीहरूको हातमा सत्ता पुग्नेछ र जनताको अधिकार र प्रजातन्त्रको नाममा ब्रह्मलुट हुनेछ ।

यस्ता कारणहरू किन देखिँदैछन् भने, हामी चारित्रिकरूपमा दलाल पुँजीपतिलाई पोस्ने तर आवरणमा कम्युनिष्ट आदर्श र मान्यतालाई अङ्गीकार गरेको जस्तो देखिने गर्दैछौँ । पार्टीमा संकट गहिरिँदै गर्दा ओम्नी, यती, दीपक भट्ट, सुशील भट्टजस्ता बिचौलियाले हाम्रो आदर्शमा मात्रै नभएर विचार, विधि, सिद्धान्त र मान्यतामाथि नै ठूलो आँधिबेहरी सिर्जना गरेर विभाजन र टुटफुट गराएरै छाड्नेछन् । जनताका भन्दा बिचौलियाका प्यारा बन्नु नेता र नेतृत्व सकिनु मात्रै नभएर सिङ्गो नेपाली जनतामाथि गरेको अपराधको रूपमा दर्ज हुनेछ ।

आफ्नै नेता कार्यकर्तालाई सडकमा कसैको पक्षमा जिन्दावाद र कसैको मुर्दावादको नारा लगाउन अघोषितरूपमा निर्देशित गर्नु पनि अपराध नै हो । कोरोना कहरका कारण आम नागरिक घरमा सीमित रहेका बेला प्रधानमन्त्रीको बचाउमा जुलुस निस्किनु राम्रो भन्न सकिँदैन । भन्नेहरूले अहिले प्रहरीमा देखिएको कोरोना संक्रमण त्यही भीडबाट सरेको भन्न थालेका छन् । यस्तो भनाइ तत्काल नकार्न सकिएला तर त्यो भीडले आमरूपमा कम्युनिष्ट आदर्श र विधिविपरीत गरेको हर्कतको कसरी खण्डन गर्न सकिन्छ ?

अपेक्षाअनुसार भविष्यमा जनताले राहत महसुस गर्नेछन् भनेर हामी आशावादी थियौँ तर त्यसो हुन सकेन । आमरूपमा सरकार असफलता उन्मुख हुँदै गएको सत्य लुकाउन मिल्दैन ।

विपक्षी कमजोर छ भन्दैमा अरूलाई दास र आफूलाई शासक सोच्नु दुर्भाग्यपूर्ण कुरा हो । अहिले कार्यदलले काम गरेपछि भने नेकपामा केही राहत महसुस भएको छ ।

कार्यदलले पार्टीलाई एकताबद्ध बनाउन सर्वसम्मतरूपमा सुझाब दिएको भनिएको छ, जो अत्यन्तै सुखद पक्ष हो । हामी हाम्रो पार्टी फुट्नु हुन्न भन्नेमा दृढ विश्वास राख्छौँ । नेपाली जनताले हामीलाई जसरी विश्वास गरेका छन्, त्यसरी अघि बढ्न नसकिए पनि तत्कालको खतरा टरेको छ । अब पार्टीले सरकार चलाउने कुरामा हामी सहमत भएर व्यक्तिगत दम्भ र अहंकार त्यागेर जनताको अधिकार बचाउन तत्पर हुनेछौँ ।

पार्टीमा आन्दोलनका हिसाबले कसैको कम कसैको केही बढी भूमिका हुन सक्ला तर कसैलाई देवत्वकरण र कसैलाई दानवीकरण गर्नाले हामी कहाँ पुग्ने भन्नेमात्रै नभएर हामीले कस्ता नेता–कार्यकर्ता जन्माउने भन्ने प्रश्न समेत उठाइदिन्छ । यसकारण कसैलाई कसैको अनुहार मन नपरेकै भरमा दलाल र मन परेकै भरमा जनताको सारथि बनाउनु किमार्थ स्वीकार्य कुरा होइन । यस्तो कुरा आम जनताले पनि पत्याउँदैनन् । कार्यदलको सुझाबपछि नेकपामा आशाका तरंगहरू छाएका छन् । आम नेपाली र कम्युनिष्ट नेता–कार्यकर्ताहरू राहतको सास फेर्न थालेका छन् ।

पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री

ऐतिहासिकरूपमा गरिएको दुई ठूला कम्युनिष्ट पार्टीको एकता अदम्य साहसको प्रतिफल थियो । विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक ढङ्गबाट अघि बढिरहेका वेला नेपालको कम्युनिष्ट आन्दोलन विश्वलाई नै एउटा सकारात्मक सन्देश दिन सफल भएको थियो । यसमा मुख्यतया दुबै अध्यक्षको भूमिका बराबर थियो । जनताले यो महसुस पनि गरेका थिए । तर, एकता रूपान्तरण पनि जादुको छडीजस्तो हुने कुरा त होइन ।

यसका बाछिटा वेलावेलामा देखिने गरे पनि शीर्ष तहमा सहमति र सहकार्य गरेर अन्तिम निष्कर्षमा पुर्‍याइएको थियो । पार्टीको गति सोचेजसरी अघि बढ्न नसके पनि चलेकै थियो । जनताले आशा भरोसा मारेका थिएनन् । सरकारको नेतृत्वमा पार्टीका अध्यक्ष नै पुगेपछि नेकपा वृत्तमा अब नेपालमा केही हुन्छ भन्ने आशा पलाएको थियो ।

प्रधानमन्त्रीलाई बालुवाटारको पर्खाल र सचिवालयले यसरी घेर्दै लग्यो कि उहाँमा बाहिरको वातावरण देख्ने नजर नै पुग्न सकेन । कोरोना कहरमा समेत भ्रष्टाचारको गन्ध आयो ।

कम्तीमा पार्टीका घोषणापत्र, चुनावी नारा र जनताका अपेक्षाअनुसार भविष्यमा जनताले राहत महसुस गर्नेछन् भनेर हामी आशावादी थियौँ तर त्यसो हुन सकेन । आमरूपमा सरकार असफलता उन्मुख हुँदै गएको सत्य लुकाउन मिल्दैन ।

पार्टी ठिक ढङ्गले चल्न नसके सरकार पनि चल्न सक्दैन । हामी कम्युनिष्टहरू पार्टी विवेक हो, सरकार सत्ता हो, त्यसकारण विवेकले सत्ता चलाउनु पर्छ, सत्ताले विवेक चलाउन सक्दैन भन्ने कुरामा विश्वास गर्छौं । यहाँ यसको ठिक उल्टो हुन पुग्यो । पार्टी सरकारले गरेको निर्णयको साक्षी बसिदिनु पर्ने, त्यो पनि विवाद निस्किएर छलफलको माग गरिएपछि । यसैकारणले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विभिन्न प्रश्न तेर्सिएका हुन् ।

प्रधानमन्त्रीलाई बालुवाटारको पर्खाल र सचिवालयले यसरी घेर्दै लग्यो कि उहाँमा बाहिरको वातावरण देख्ने नजर नै पुग्न सकेन । कोरोना कहरमा समेत भ्रष्टाचारको गन्ध आयो । बहालवाला मन्त्रीहरूले घुस मागेको अडियो सार्वजनिक भयो । अयोग्यलाई विभिन्न निकायमा राजनीतिक नियुक्ति दिइयो । पहुँचका आधारमा निम्छरो आवाजलाई राष्ट्रिय विषय बनाइयो ।

अन्ततः पार्टी अध्यक्ष नै बैठकमा उपस्थित नहुने अवस्था आयो । पार्टीका कमिटी निर्णयविहीन र व्यक्तिको स्वार्थमा चल्न खोज्यो । विडम्बना नै भन्नुपर्छ, यसरी कम्युनिष्ट पार्टीमा विश्वमै नदेखिएको दृश्य नेकपामा देखियो । व्यक्तिवाद, अकर्मण्यता, मनोगत शैली र अप्राकृतिक गठबन्धन नै नेकपाभित्रको समस्या हो । पछिल्लो शक्ति संघर्षका कारण भने अब पार्टीलाई एकताबद्ध बनाउन कुरामा अध्यक्षद्वयको सहमति देखिन्छ ।

पार्टीलाई एकताबद्ध बनाउन कार्यदलका सुझावहरू निर्मम ढङ्गले पालना गरेको हुनुपर्छ । यो विषयबाट भाग्न नेकपाका कुनै नेताहरूलाई छुट छैन र छुट दिनु हुँदैन ।

पार्टी एकता जीवित राख्नेबारे

अब बयलगाडा चढेर अमेरिका पुग्न सकिन्न भन्ने अभिव्यक्ति परिमार्जन गर्दै कम्युनिष्ट एकता बलियो बनाए संसार जित्न सकिन्छ र चाहेको स्थानमा यान चढेर यात्रा गर्न कसैले रोक्न सक्तैन भन्ने सोच्न जरुरी छ । पुँजीवादी समाजमा समाजवाद पुग्ने बाटो अङ्गीकार गर्दै एकता थप सुदृढ बनाउन आआफ्ना स्वार्थ त्यागेर मनोगत शैलीलाई पराजय गर्नसके हामी बलियो बन्न सक्छौँ । पार्टी एकता बचाउन सक्छौँ ।

कार्यदलको सुझावअनुसार पार्टीमा विधि, विधान, पद्धति मान्नु र राजनीतिक वातावरण सिर्जना गर्दै इगो त्याग गरेर पर्खालहरू भत्काउनै पर्छ । आम नेता–कार्यकर्ताले पार्टी फुटेको देख्न चाहेको छैनन् । नेताहरू एकताको सन्देश बोकेर आएको हेर्न चाहन्छन् । अहिलेको आवश्यकता पनि यही हो ।

व्यक्तिवाद, अकर्मण्यता, मनोगत शैली र अप्राकृतिक गठबन्धन नै नेकपाभित्रको समस्या हो । पछिल्लो शक्ति संघर्षका कारण भने अब पार्टीलाई एकताबद्ध बनाउन कुरामा अध्यक्षद्वयको सहमति देखिन्छ ।

बालुवाटारमा हुने हरेक छलफल स्वार्थरहित हुनु आवश्यक छ । यो पार्टी असफल भयो भने त्यसको मुख्य दोषी शीर्ष नेता, त्यसमा पनि प्रधानमन्त्री ओली र प्रचण्ड, नै हुनेछन् । कार्यदलले दिएको सुझाब मानेर पार्टीका घोषणापत्र पुनः एकपटक पढ्न जरुरी छ ।

सरकारमा रहेर फोहोरी खेल खेल्ने जोसुकै मन्त्रीलाई तुरुन्त फिर्ता बोलाएर सक्षमलाई लैजानुपर्छ । गुटको को पर्‍यो वा परेन भनेर हिसाब नगरी क्षमतावान र जिम्मेवारी बहन गर्नसक्नेलाई अवसर दिनु आजको आवश्यकता हो ।

अन्त्यमा,

समस्याको चाङमा रहेको नेकपाको विमान सहज अवतरण गराएर यात्रुको भविष्य समाजवादको गन्त्यव्यमा पुर्‍याउन आम नेता–कार्यकर्तालाई तयार राख्नै पर्छ । विमानका सबै पक्षहरू ठिक र सन्तुलित रहेमा पक्कै पनि दोस्रो–तेस्रो तहका नेताहरू समाजवादको गन्तव्यसम्म विमान हाँक्न सक्षम हुनेछन् । फेरि पनि समाप्त पार्ने दम्भले हो र इतिहासले कसैलाई पनि माफी माग्नलायक पनि छाड्ने छैन ।

(लेखक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश १, प्रदेश कमिटी सदस्य हुन् ।)

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  १२ : ४२ बजे

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना