७० वर्षे उमेरमा फक्रिँदो तरकारी बाको जाँगर « Khabarhub
Logo
१० आश्विन २०७७, शनिबार

७० वर्षे उमेरमा फक्रिँदो तरकारी बाको जाँगर



काठमाडौं– वातावरणमा हरियाली छ । तीन रोपनी जग्गामा विभिन्न प्रकारका तरकारी रोपिएका छन् । तरकारी बारीको बीचमा एक किसान तरकारी टिप्न व्यस्त छन् ।

उमेर सात दशक पार भइसकेको छ । कपाल फुलेर टाउको हिँउजस्तो सेतो छ । अनुहारको छालामा बुढ्यौलीका धर्साहरू बाक्लै छन् । जोश र जाँगरमा भने बुढ्यौलीको कुनै संकेत छैन ।

बिहानको झुल्के घामसँगै उनी तरकारी बारीमा पुग्छन् । तरकारी किन्न मान्छे आउन् कि नआऊन्, उनी आफ्नो कर्ममा दिनभर लागिरहन्छन् । यसरी काम गर्न पाउँदा उनलाई गर्वको अनुभूति हुन्छ । उनले धेरै युवाहरूलाई आत्मनिर्भर बन्न सुझाएका छन् ।

यी किसान हुन् रमेश उप्रेती । काठमाडौंको नारायणटारका यी किसानले जग्गा भाडामा लिएर तरकारी खेती गरेको पाँच वर्ष भयो । बारीको बीचमा जस्ताले छाएको एउटा टहरो छ ।

यही शनिबार बेलुकी ५ बजेतिर उनको तरकारी बारीमा पुग्दा केही महिलाहरू थिए । उनीहरू आफ्नो भान्साका लागि तरकारी किन्न बारीमै पुगेका थिए । केही बेरमा तरकारी किसान रमेश दुवै हातमा फर्सीका र स्कुसका मुन्टा लिएर आइपुगे । महिलाहरू तरकारी लिएर फर्के ।

उनले मायालु भावमा मलाई सोधे, ‘तपाईं पनि तरकारी लिन आउनुभएको ?’

मैले भनेँ, ‘तरकारी पनि किनूँ अनि बाको यो मिहिनेको बारेमा कुरा पनि गरूँ भनेर आएको ।’

उनले बेलुकाको समयमा तरकारी लिन आउनेहरू धेरै हुने भएकाले आफू व्यस्त रहने बताए । उनले भने, ‘एकै पटक धेरै जना आउँछन्, तरकारी टिपेर राख्नुपर्छ ।’

तरकारी किन्नेहरू बारीमै एक पछि अर्को गर्दै आइरहेका थिए । उनी एक्लै भ्याइनभ्याई तरकारी टिँदै बेच्दै थिए । उनले अबको एक घण्टापछि मात्रै कुरा गर्न फुर्सद मिल्ने बताए ।

उनले यसो भन्दै गर्दा पनि कुरा अघि बढ्यो ।

रमेश रौतहटको चन्द्रनिगाहपुरका स्थायी बासिन्दा हुन् । उनी धेरै वर्ष रोजगारीका लागि भारत बसे । करिब १० वर्षअघि स्वदेश फर्के । केही समयपछि श्रीमतीको मृत्यु भयो ।

पत्नीवियोगको चोटले केही जग्गा बेचेर २०६९ सालमा काठमाडौं पसे । काठमाडौंको नारायणटारमा एउटा घर किने, छोराछोरीलाई पनि बोलाए । त्यसयता उनी नारायणटारमै छन् । तरकारी खेती गरेको पाँच वर्ष भयो ।

जेनतेन जीविका चलेकै भए पनि उनलाई काम नगरी बस्न मन लागेन । उनले भने, ‘काम गरिरहेको मान्छे, घरमा कति बस्नु ! कतै जग्गा भाडामा लिएर केही व्यवसाय गर्ने सोच पलायो ।’

सकुन्जेल काम गर्ने सुरले उनले गोकर्णेश्वर नगरपालिकास्थित शिवचोक छेउमा ३ रोपनी जग्गा पाए । त्यही जग्गा भाडामा लिएर काम सुरु गरे । उनले कुखुरा पालन र तरकारी खेती एकसाथ सुरु गरे । तरकारीबाट राम्रै आम्दानी भए पनि कुखुराले सोचेजस्तो लाभ दिए ।

उनले कुखुरा छाडेर तरकारीमा मात्रै ध्यान दिए । बरु, एक वर्षअघि च्याउ खेती सुरु गरेका छन् ।

करिब एक लाख रुपैयाँको लगानीमा सुरु गरेको च्याउ खेतीबाट अहिले रमेशले राम्रै आम्दानी लिन थालेका छन् । ‘तरकारी किन्न आउने ग्राहकहरूले नै च्याउ पनि खुसी भएर लैजान्छन्,’ प्रशन्न मुद्रामा उनले भने, ‘धेरै प्रकारका तरकारी लगाएको छु, ग्राहकहरूलाई रित्तो हात फर्काउनु परेको छैन ।’

छोटो समयमा च्याउबाट राम्रै आम्दानी भएको उनको भनाइ छ । च्याउ खेतीमा छोराले साथ दिएका छन् । उनको बारीमा अहिले इस्कुस, फर्सी, घिरौला, लौका, बोडी, सिमी, साग, भिण्डी, तितेकरेला, गोलभेँडा लगायतका तरकारी फलेका छन् ।

व्यवसायको सुरुवाती दिनहरूमा तरकारी बेच्न बजारसम्म लैजानुपर्थ्यो । अहिले बारीमै बिक्री हुन्छ । धेरैजसो ग्राहक सोझै भन्सामै लैजाने हुन्छन् । रमेशले भने, ‘पहिले बोकेर बजारसम्म लैजानुपथ्र्यो, अहिले बारीमै किन्न आउनुहुन्छ, यसमै ठूलो खुसी मिलेको छ ।’

उनका अनुसार कोरोना भाइरसका कारण देशमा लकडाउन भएसँगै स्थानीय बासिन्दाहरूले बजारको भन्दा बारीमै किनेको तरकारी रुचाएका छन् । उनले भने, ‘बजारमा भिडभाड बढी हुने भएर पनि होला, मानिसहरू तरकारी लिन बारीमै आउन थालेका छन् ।’

रमेशलाई घरमा गुम्सिएर बस्नुभन्दा दिनभरि तरकारी बारीमा काम गर्न पाउँदा आनन्द महसुस हुने गरेको उनको भनाइ छ । उनले भने, ‘यति हरियाली छ, सास फेर्न पनि आनन्द लाग्छ, आफ्नो भान्सामा सधैँ यहीँको ताजा तरकारी पाक्छ ।’


भर्खर

0