भारी बोक्ने भरियाको यही हो जिन्दगानी… « Khabarhub
Logo
१ आश्विन २०७७, बिहीबार

भारी बोक्ने भरियाको यही हो जिन्दगानी…



गत असार अन्तिमको एक साँझ, संघीय राजधानी काठमाडौंको डिल्लीबजार ओरालो सकिएपछि पुतलीसडक चोकको सडक पेटी ।

मुखमा मास्क लगाएर, कम्मरमा नाम्लो च्यापेर बसेका तीन कर्मयोगी मनुवाहरू कुमार, कृष्णबहादुर र दुर्गासँग ख्यालख्यालमै गफ चल्यो ।

कुमार कोइराला ४७ वर्षका भए । दोलखाको शैलुङ्गेश्वरबाट काठमाडौं आएर बसेको २० वर्ष भयो । हुन त उनी पहिलोपटक आठ वर्षकै उमेरमा काठमाडौं आएका हुन् । त्यतिबेला एउटा घरमा कामदार भएर तीन वर्ष बसे । त्यसपछि एउटा सानो होटलमा त्यस्तै तीन वर्षजति काम गरे ।

यसपछि गाउँघर फर्केका कुमार केही वर्ष उतै बसे । बिहे भयो । छोराछोरी हुन थाले । यो २० वर्षमा परिवारसहित काठमाडौं बसेकै १३ वर्ष भयो । ठूली छोरीको बिहे भइसक्यो । बाइस वर्ष उमेरको जेठो छोराले १२ कक्षाको पढाइ पूरा गरेको छ । जापानी भाषा सिकेर जपान जान तयार भएको छ । अहिले कार्पेट फिटिङको काम गरेर कुमारलाई घरखर्च सघाउँदैछ । कान्छो छोरो ११ कक्षामा पढ्दैछ ।

मैतीदेवीमा डेरा छ । पेशा हो भारी बोक्ने, अर्थात कुमार भरिया हुन् । लकडाउनअघि भारी बोकेरै महिनाको २५–३० हजार रुपैयाँ कमाउँथे । लकडाउनमा स्वाट्टै घट्यो । श्रीमती घरेलु कामबाट पाँच–सात हजार कमाउँछिन् । यस्तैले गर्जो टरेको छ ।

भारी बोकेरै काठमाडौंमा छोराछोरीको पढाइ भयो, अझै पढ्दैछन् । छोरीको बिहे भयो । बचाउन नसके पनि गर्जो टरेकै छ । छोरोले सघाउन थालेपछि कुमारदम्पतीलाई केही सजिलो भएको छ ।

आफूले भनेरमात्रै नहुने ! कोरोना भाइरस नामको रोग आयो । सरकारले सबैतिर बन्द गर्ने भयो । काम ठप्प भयो ।

भारी बोक्न पाउने आशै रहेन । असार लागेपछि थोरथोरै काम हुन थालेको छ तर अलिक बढी पैसा आउने भारी पाएको छैन ।

कुमार भन्छन्, ‘मान्छेले ढुक्क मनले किनमेल गर्न पाए पो भारीको काम आउँछ । खानेकुराबाहेक मानिसले केही किनेकै छैन ।’ मानिसले सामान नकिनेपछि भारी बोक्ने काम हुने भएन । उनका अनुसार अलिक राम्रो कमाइ हुने भनेको फर्निचर, दराजजस्ता अलिक ठूला सामान किन्दामात्रै हो ।

आजकाल खाद्यान्नको भारी बेलामौकामा फेला पर्छ, ग्यास सिलिण्डर पनि । त्यो पनि कति तलामाथि पुर्‍याउने हो, त्यसमा भर पर्छ । ज्याला त सामान हेरेर २० रुपैयाँबाट पनि सुरु हुन्छ ।

कुमार एक्लै छैनन् । कृष्णबहादुर कोइराला र दुर्गा कार्की छन् साथी । कृष्णबहादुर पनि ४७ वर्षका भए । शैलुङ्गेश्वरकै हुन्, कुमारका दाजुभाइ खलक ।

दुर्गा चाहिँ घ्याङसुका ठोकरका हुन् । कृष्णबहादुर डिल्लीबजार नजिकै धोवीधारामा बस्छन् । तीन छोराछोरीसहित पाँच जनाको परिवार छ । पहिली श्रीमतीको अचानक निधन भएर अर्को बिहे गर्नुपर्‍यो । एउटी छोरी १० र अर्की छोरी चार कक्षामा पढ्छन् । छोरो स्कूल पठाउने बेला भएको छ ।

दुर्गा ५२ वर्षका भए । डेरा कपनमा छ । कामका लागि डिल्लीबजार–पुतली सडकतिरै आउँछन् । दुई सन्तान छन्, एक छोरी र एक छोरो । छोरीको बिहे भइसक्यो । छोरो लकडाउनअघि कामका लागि साइप्रस गयो । भारी बोकेरै घरव्यवहार चलेको छ । छोराछोरीले अलिअलि पढे, आफैँ गरिखान सक्ने भए ।

यी तीनै जनाले पढेनन् । स्कूल नै गएनन् भने पनि हुन्छ । आफूले नपढे पनि छोराछोरीले सकेको जति पढून्, छोराछोरी सडकमा भरिया नबनून् । उनीहरूको साझा चाहना यही हो । यही चाहनाले उनीहरूलाई निर्धक्क भारी बोक्न प्रेरित गर्छ । शरीरमा बल र हातमा नाम्लो भए भइगयो, अरू केही चाहिएन ।

यति सजिलो भए पनि रहरले भरिया भएका होइनन् । पढिएन, पहाडमा भएको थोरै खेतीपातीले खानै पुग्दैन, कमाइको के कुरा गर्नु ! बरु शहरमा भारी बोकेरै व्यवहार चलेको छ, खनखाँचो टरेको छ । यो लकडाउनले अलिकति समस्या भएको हो नत्र के खाऊँ, के लाऊँ भएको छैन ।

कामको कुरामा कुमार, कृष्णबहादुर र दुर्गाको एकै स्वर छ ।

भरियाको कमाइ ज्यानमा बल हुन्जेल हो । अहिलेसम्म त आँट कम भएको छैन । सानोतिनो बिसञ्चोबाहेक ठूलो बिरामी परेर खर्च गर्नु परेको छैन । एकपटक सिसाले कुमारको खुट्टो काट्यो । झण्डै छ महिना काम गर्न सकेनन् । उपचारमा निकै खर्च भयो तर ठूलो रिन गर्नु परेन ।

भरिया नै सही, आफ्नै पसिनाको कमाइ खान पाइएको छ । कसैसँग हात पसार्नु परेको छैन । लकडाउनले कमाइ घटेको त छ र निमिट्यान्न भएको छैन । जेनतेन चलेकै छ । ठूलो रोग नलागेर काम गरेर खान पाए भयो । सकुन्जेल भारी बोकौँला । नसकेका दिन यति दुःख गरेर हुर्काएबढाएका छोराछोरीले हेर्लान् ।

भविष्यको आशा यिनै छोराछोरी त हुन् ।

लकडाउनमा त कामै भएन भने पनि हुन्छ । अलिक खुकुलो भएपछि अलिअलि काम आउन थाल्यो तर कमाइ नहुने, ससानो भारीमात्रै । आजकाल दिनभरिको धेरै समय डिल्लीबजार र बागबजार मुख, पुतली सडक चोक, को किनारामा बितेको छ ।

डिल्ली बजारपट्टि सडकको मुखैमा पेटीमा भेटिएका हुन् कोइराला बन्धु र उनीहरूका सहकर्मी दुर्गा कार्की । लकडाउन केही खुकुलो हुँदै गएपछि असार एक गते हिँड्दै गर्दा उनीहरूलाई देखेको थिएँ । हातमा नाम्लो बोकेका तीन जना र कहिलेकाही चार–पाँच जना भरिया साँझपख देख्ने गरेको हुँ ।

असार अन्तिमतिरको एक दिन मैले उनीहरूसँग सडक पेटीमै बसेर एकछिन गफ गरेँ । पानी पर्लाजस्तो भयो । कुराको चुरो फुर्न थालेपछि एउटा चिया पसलमा बस्न सल्लाह मिल्यो ।

‘यो सरकारलाई तपाईं के भन्नु हुन्छ त कुमारजी ?’

‘के भन्नु र सर ! नेता आफैँ लडाइँ गरेका छन्, गरिबलाई सधैँ उस्तै हो । काम नगरी खान पाइने होइन, कसैले मुखमा माड लगाइदिने होइन ।’

‘काम नगरी खान पाए हुन्थ्यो भन्ने ठान्नु भएको हो र ?’

‘तेस्तो किन हुन्थ्यो, मस्त काम पाइयोस्, आफ्नै पसिनाको कमाइ खान पाइयोस् पो भनेको त, लकडाउनले गर्दा खाली बस्नु परो !’

‘राहत बाँडेको थियो नि त सरकारले, पाउनु भएन र ?’

‘सुनेको त हो, कतै खोज्न पनि गइएन, लिन आइज पनि कसैले भनेन, खानकै लागि राहत चाहिएन पनि, बरु कामै भए राम्रो ।’

‘कुमारजी एउटा कुरा सोधू ?’

सोध्नु न, के छ र जिन्दगीमा !’

‘दारुपानी चल्छ कि चल्दैन ?’

‘दारु त स्वाद पनि था छैन, दारु खान थालो भने त केही पनि पुग्दैन ।’

‘अनि कृष्णबहादुरजी नि !’

‘म र कुमार दुरुस्तै मिल्छौँ सर ।’

‘आहा ! कस्तो राम्रो !’

‘हो सर, रक्सी कहिल्यै खाइएन र त यति हट्टाकट्टा छौँ नि !’

कुमारको कुरामा कृष्णबहादुरले र कृष्णबहादुरको कुरामा कुमारले सही थापिरहे । दुर्गा चाहिँ खोइ कता लागेछन्, आएनन् ।

‘ल, कृष्णबहादुरजी ! तपाईं अरू केही भन्नु न त !’

‘के भन्नु र सर, कुरा यही हो, भरियाको जिन्दगी यस्तै हो, आफ्नै कमाइ खान पाए भयो ।’

झमक्कै साँझ पर्‍यो । डिल्लीबजारको उकालो हिँड्दै गर्दा तीन जना भरियासँगको भलाकुसारीले एउटा आनन्दानुभूति दियो । ठिक त्यही बेला सम्झेँ जनवादी गायक जीवन शर्माको स्वर : झरनाको चिसो पानी, भारी बोक्ने भरियाको यही हो जिन्दगानी !


भर्खर

0