न रहे बाँस न बजे वंशी ! | Khabarhub Khabarhub

न रहे बाँस न बजे वंशी !



चर्चा सुरु गरौँ भारतीय सञ्चारमाध्यम (इन्डियन मिडिया) बाट । सञ्चार मध्येका ‘चार’ मा आचार पहिलो चार हो तर कालान्तरमा वर्णविन्यासमा विभिन्न शब्द अथवा वर्ण लोप हुने हुँदा आचारको आकार लोप भएर अचारमात्रै रहेको देखिन्छ अहिले भारतीय मिडियामा । अचार सबैलाई मन पर्छ । पहिलो अचार यसरी भनियो :

झन्डै १९७ पटकको ‘खुलासा, खुलासा’ पछि ‘चीनके कहने पर नेपाली लोग नेपालको नेपाल और भारतको इन्डिया कहने लगे हैं !’

यसको मजा बेग्लै छ ।

हाम्रामा एउटा जमात छ जो रातिराति राजा, बिहानै बादल, दिउँसो दाहाल, आलीमा ओली, कान्लामा कांग्रेस, गोजीमा गौतम, खल्तीमा खनाल, नेफामा नेपाल इत्यादि जहाँ जे उपलब्ध हुन्छ त्यसैको भक्ति गर्ने ! समय अनुसारको भक्ति, त्यसै अनुसारको शक्ति ! माथि फेदैमा दुई–चार वटा प्रसिद्ध अंग्रेजी लेखक र दार्शनिक अथवा भनक (जो भनिरहन्छन् तिनीहरू) को भनाइ ल्याएर कुरो सुरु गरेको भए कुरो इन्ट्रेस्टिङ हुन्थ्यो होला । त्यसो नगरेको हुनाले अब कुरो रोचक हुनेवाल छ । यो आधारबिन्दुमा शंका नगरौँ ।

अम्मली चार किसिमका हुन्छन रे !

पहिलो राजम्मली, जसले आफ्नो अम्मलका सबै सामग्री बोकेर हिँड्छ । चुरोटको अम्मली छ भने चुरोट र सलाई दुवै बोकेर हिँड्छ । त्यो राजम्मली । अर्को, ढुकम्मली, जो एक सर्को चुरोट तान्न आफूसँग पैसा भएर पनि नकिनीकन बाटामा अर्काले तान्दै गरेको चुरोट ‘खै खै, सर ! एक सर्को तानम्’ भन्छ । तेस्रो चतुरम्मली । चतुरम्मली निक्कै बाठो हुन्छ । एउटा सलाई अथवा लाइटर किनेर चट्ट खल्तीमा राख्छ । एघार–बाह्र कक्षा पढ्ने भुराभुरी अथवा यस्तै समूह जो भर्खर चुरोट तान्न सिक्दै हुन्छन्, तिनीहरूसँग कसोकसो बाउ अथवा काकाका खल्तीबाट उछिट्याएको एउटा चुरोट हुन्छ, सल्काउने हुँदैन ! यस्ता सिकारुलाई अम्मल सिकाउन र आफ्नो तलतल पनि मेट्न उपयोगी लाइटर÷सलाई निकालेर भन्छन् रे, ‘खै यता ल्याओ, म सल्काइदिन्छु !’

सल्काएर आधा पारेर असली चुरोटधनीलाई दिँदै भन्छन् रे, ‘भोलिदेखि दुइटा लिएर आउनू, सबैलाई पुग्नेगरी !’ र, अन्तिम अम्मली हो, खोकम्मली । यिनीहरू असाध्यै खोक्छन् रे ! एक सर्को चुरोट तान्न आकासपाताल एक गरेर सबै कुरा खोक्छन्, खल्तीमा पैसा हुन्छ तर चुरोट किन्दैनन् । पल्लो कुर्सीमा बसेर चियाचुरोट तान्दै गरेको मान्छेले ‘ल सर ! एक सर्को तान्नोस्’ भनेर अफर गर्ने गरेर गफ हाँकेर सित्तैमा चुरोट तान्छन् । उस्तै पर्दा चिया पनि !

हाम्रो राजनीति उल्लिखित चारमध्ये तीन समूहको हातमा छ । ढुकम्मली, चतुरम्मली र खोकम्मली, एउटा पनि राजम्मली छैन ! कस्तो अचम्म ! हेर्नुस् न ! समस्या छ, समाधान छैन । समाधान छ, नारा छैन । नारा छ, समस्या छैन । नारा, समस्या र समाधान सबै छन्, राजम्मली अथवा एउटा हिम्मती राजनेता छैन ।

हामी कस्तो समाजमा के कुराको निकास खोज्दै छौँ भन्ने नै अलमलमा छ । हेर्नुहोस् न ! नवराजको कुरो । हामी अझै पनि मान्छेलाई लघार्दै मार हान्ने परम्परामा बाँचेका छौँ । गृहमन्त्रीले भने, ‘हाम्रामा मात्रै होइन यो त उहीँ अमेरिकैदेखिको चलन हो, छेकाबाजी पारेर मार हान्ने !’

पार्टीका कार्यकर्ता नभएका भएचाहिँ साँच्चै छानविन हुँदो हो तर नेकपाले कार्यकर्ताको कप्पा तानेर भए पनि हत्यारालाई बचाउँछ भन्ने कुराको पृष्ठभूमि तयार हुँदैछ । हेर्दै लैजानुहोस्, यो समस्या खोकम्मलीले समाधान गर्छन् । समाजमा सामाजिक हुन दलित र दलक, गरिब र चुसक, उत्पादक र खोसक इत्यादिको तालमेल बुझ्नु जरुरी हुन्छ ।

समाज भनेको समाज नै हो । सामाजिकभन्दा धेरै असामाजिक काम हुने हुनाले यसलाई समाज भनिएको हो । संसारका सबै समाजको मिलन बिन्दु यही हो । असामाजिक कामलाई वैधता दिलाउने ऐतिहासिक संरचना नै समाज हो । यही समाजले दलित, गरिब, छुत–अछुत, जात, सम्प्रदाय, रीति–रिवाज, वर्ण, इत्यादि असामाजिक र घोर अनैतिक क्रियाकलापलाई वैधता प्रदान गर्दै आयो । त्यसैलाई हामीले समाज संज्ञा दियौँ ।

त्यसैको परिणति अहिले हामी सरकारलाई सरकारी बनाउँदै गरिब र निमुखाको मानमर्दन गर्न नयाँ अनुसूचीहरू थप्दै, नयाँ शब्द र चलनले सिँगार्दै समस्या समाधान नगरेर सम्बोधन गर्दैछौँ । जस्तो, गरिबीलाई केलाएर हेरौँ । गरिबहरू गरिब भएकाले मात्रै गरिब भएका हुन्, नत्र तिनीहरू पनि धनी हुन्थे । उनीहरू गरिब रहनुको एउटै कारण गरिबीमात्रै हो । गरिबी नहुँदो हो त उनीहरू उहिल्यै धनी भइसक्ने थिए ।

विभिन्न कालखण्डमा गरिबको यो गरिबी देखेर सरकारले गरिबी उन्मूलन गर्ने योजना बनायो । सरकारको सरकारी काम । ए साँच्ची, सरकार भनेको के हो त्यो बुझ्नु भा’छ के ? फेरि एकताल बुझौँ ! कोरोनाको क्वारेन्टिन थप्दै बस्दै गर्दा हुन्छ । सरकार एकताल फेरि बुझ्दा के नै बिग्रेला र, झन् कोरोना सर्दैन । ‘सर’ लाई ‘कार’ मा राखेर सरर्र कुदाउने व्यवस्थालाई सरकार भनिन्छ ।

यो कार नबनुन्जेल काजीले काम काटेको थियो । मैले खाँट्टी नेपालीमा भनेको, इतिहास साक्षी छ, सामाजिक शिक्षा साक्षी छ, पल्टाएर हेर्नू । काजी कहिलेसम्म थिए र सरकार कहिले सुरु भयो भन्ने कुरो छर्लङ्ग लेखिएको छ ।

नेपालीमा भाषण गर्न नलजाउने नेता कृष्णप्रसाद भट्टराईले एकपटक भने रे, ‘गरिबी निवारण गर्ने भनेको कांग्रेसले मात्रै हो, कम्निष्टले हुँदै होइन । किनभने, कांग्रेस धनीहरूको पार्टी हो, जति धेरै धनी, त्यति धेरै कांग्रेस ! कम्निष्ट गरिबको पार्टी हो, जति धेरै गरिब, त्यति धेरै कम्निष्ट ! चुनाव आफैँ गर्नुहोस्, धनी हुने भए रुखमा भोट हाल्नुहोस् !’

उस्तै पर्दा पत्रकार भाइलाई खोइ कुन्नि के देखाइदिन्छु भने रे बाजेले ! हिम्मत भए के गर्न सकिन्न रहेछ र ! अहिले पनि हिम्मत त भएकै नेता छन् तर बाजेजत्तिको चाहिँ होइन । नेपालमा नेता हुनु त उनै भट्टराईजस्तो ! यसो भनेर कान्छा भट्टराई तात्तिएर उफ्रिँदा हुन्, देख्यौ लेखाडीले पनि मजस्तो नेता हुनुपर्छ भन्यो भनेर तर भट्टराई भनेका कृष्णप्रसादमात्रै हुन्, बाबुरामको थरमात्रै मिलेको ।

विधान अथवा संविधानका शब्द अर्थ्याउने हिसाबले भनिएको जस्तो ‘विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा भट्टराई भन्नाले कृष्णप्रसाद भट्टराईलाई बुझ्नुपर्छ !’ बाबुरामले अर्को कुरा के पनि बुझून् भने उनले आफ्नो थर कामी नलेखून् । यसले समग्र कामी थरको अवहेलना गर्छ । कामीजस्तो कर्मठ र स्वाभिमानी थरलाई बाबुरामजस्तो प्रचारको राजनीति गर्ने नेताले सिउर बनाउन नपाऊन्, यसमा सबै सजग हुनुपर्छ ।

कृष्णप्रसादका भाषणमा केही दम थियो तर त्यहाँ पनि एउटा समस्या थियो । जति धेरै गरिब त्यति धेरै कम्निष्ट भन्ने कुरा सही हो तर मजदुर त कांग्रेसलाई पनि चाहिन्छ । धनी मान्छे मजदुरी गर्न जाँदैन । यति कुरो कृष्णप्रसादले बुझेको भए चाहिँ गरिबी निवारण हुन्थ्यो होला । बुढाले बुझेनन् ।

अब अहिले कम्युनिष्टको समाजवादी सरकार छ । गरिबको त फ्याक्ट्री नै खुल्ने भयो । नत्र भारतबाट नेपाल आएका मजदुरलाई हाडछाला एकै ठाउँ हुनेगरी थला पार्ने योजना बनाउने अर्थमन्त्रीको उद्घोष हेर्नुभएको होला ! नेपालभित्र मजदुरी गरिखानेको गरिबी कसरी सम्बोधन गर्ने भन्ने सरकारको कारमा कुनै कार्यक्रम सरर्र गुड्दै छ भने त्यो हो भ्रष्टाचार !

गरिबका नेता, गरिब हुन्जेल नेता हुन नपाउने, नेता भएका भोलिपल्टै गरिब रहन नपाउने ! गज्जब छ ! ‘आरोप लगाउने ?’ भनेर तपाईं मलाई प्रश्न गर्न सक्नुहुन्छ । मैले त तथ्य अगाडि राखेर कुरा गरेको हो, आफैँ केलाउनुहोला ।

उहिल्यै एउटा कथन थियो, ‘कम्निष्ट बिग्रिए केशरजङ्ग हुन्छ’ भन्ने । अहिले सम्झन्छु, त्यो सप्रिएको कम्निष्ट प्रचण्ड अथवा ओलीजस्तो हुन्छ भने के बिग्रिनु, के सप्रिनु ! कुन बिग्रिएको अनि कुन चाहिँ सप्रिएको, ठम्याउने जिम्मा तपाईंकै !

गरिबीको फ्याक्ट्री खोल्ने उपाय खोजिरहेका बेला समाजवादी सरकारलाई सुनौलो अवसर बनेर कोरोना आयो । यो कोरोनामा रुने कोही छ भने त्यो गरिबमात्रै छ । अस्ति हृदयविदारक समाचार आयो । आफ्नी श्रीमतीलाई मृगौलाको डायालेसिस गराउन एकजना ‘गरिब’ ले ठेलागाडामा हालेर दौडाउँदै अस्पताल लगेको ! अर्को समाचारमा खानै नपाएर मधेसमा एक जना मरेको ! (कि खान नदिएर मारेको ?) ।

नआएका समाचार कति होलान् ! चुनाव जितेर माला लगाउँदा आँखामात्रै देखिएको फोटो छाप्ने नेताको एउटा सामान्य सम्बोधनसमेत आएन त्यो गरिबीमा ! के यही दिन हेर्न सरकार बनाएको हो गरिबहरूले भोट दिएर ? कहाँ छ तपाईंसँग कार्यक्रम ?

अस्ति एउटा रिपोर्ट हेर्दै जाँदा यस्तो तथ्य फेला प¥यो कि, अचम्ममा परेँ । विश्वको गरिबी निवारण गर्न विश्वभरि जति लगानी हरेक वर्ष गरिन्छ, त्यसले खास गरिबी निवारणकै काम गरेको भए आजभन्दा दश वर्ष अगाडि नै संसारभर एक जना पनि गरिब रहने थिएन रे ! कहाँ जान्छ त्यत्रो लगानी ? धनीका सन्तानले जागिर खाने गरिबी निवारण कोष ! अब त तपाईं आफैँ उग्ररूपमा रिसाएर सोध्नुहुन्छ होला, ‘यो गरिब शब्दको खेतीमा मान्छेको आहुति कहिलेसम्म दिनुपर्ने ?’

पार्टी प्रणालीमा एउटा असाध्यै दिक्कलाग्दो दौड हुन्छ, ‘जस’ लिने दौड । यो ‘जस’ को चक्करमा प्रायः सबै ‘अपजस’ लिएर फर्किन्छन् । समस्या सधैँ आइरहन्छ । समाधान गर्ने उपाय हुँदाहुँदै समस्यालाई अवमूल्यन गर्नु, अथवा समाधानमा ‘अपजस’ को बडेमानको आकृति देख्नु नै राजनीतिक विचलनको कारण हो ।

सिधा कुरो गर्दा दुई वटामात्रै कुरा हुन्छन् । पहिलो, समस्या र दोस्रो, व्यवस्थापन । समस्या सबैले देख्छन् । समाधानका उपाय पनि धेरैले देख्छन् तर जोसँग समाधानका उपाय व्यवस्थापन गर्ने क्षमता हुन्छ, त्यो नै असली नेता हुन्छ । द्वन्द्व समाज विकासको आधार हो भन्छन् कार्ल माक्र्स । विमति र सहमति दुवै द्वन्द्व हुन् ।

द्वन्द्वलाई राजनीतिको मूल मान्ने कम्युनिष्ट शक्तिको अहिलेको द्वन्द्व चाहिँ अवरोध कसरी हुन गयो ? उत्तर सजिलो छ, द्वन्द्व त यिनीहरूले कार्ल माक्र्सको भाषामा मात्रै पढेको । आफैँले भोगेको होइन । आफैँले भोग्ने द्वन्द्व ‘वर्गशत्रु’ बन्छ । माक्र्सले भनेको द्वन्द्व समाज विकासको आधार बन्छ । यो मनोरोगले ग्रस्त अहिलेको सरकारले द्वन्द्व व्यवस्थापन बुझेकै छैन । फेरि प्रचण्डको कुरो आउँछ । उनलाई आउने भनेको द्वन्द्व उत्पादनमात्रै हो । त्यसको मारमा पर्ने गरिबमात्रै हो । धनी त जस्तोसुकै परिस्थितिलाई पनि धन सोहोर्ने माध्यम बनाउन सक्षम हुन्छ ।

नेपालमा राष्ट्रवादको उर्लंदो भेल बग्छ । त्यो भेलको एउटा नारा भारत र अर्को नारा अमेरिका ! त्यसमा के हुन्छ भनेर भन्यो भने तोते बोलीको बच्चाले पनि भनिदिन्छ । सम्बन्धको उपयोग गर्ने नीति विकसित गर्ने हो र बजार व्यवस्थापन गर्ने हो भने नेपालमा कोही पनि गरिब भएर बस्नु पर्दैन ।

विडम्बना ! नेकपालाई कार्यकर्ता चाहिने र कांग्रेसलाई मजदुर चाहिने भएकाले अब उप्रान्त गरिबी निवारण कार्यक्रमले शब्दकोश संशोधन गर्ने भएको छ रे ! सजिलो ! दिमागले काम गरेन भने मुटु चलाउनू रे, त्यसले पनि काम नगरे किड्नी ! शब्दकोशमा ‘गरिब’ भन्ने शब्द रहेकाले नै नेपालमा गरिबी मौलाएको रे ! अब सबैभन्दा पहिले ‘गरिब’ भन्ने शब्द शब्दकोशबाटै निकालिदिएपछि न रहे बाँस न बजे वंशी !

कसो !

(अष्ट्रेलियाबाट)

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  १० : ५६ बजे

कुवेतमा अन्तर्राष्ट्रिय युवा फोटोग्राफी प्रदर्शनी सुरु

कुवेत – कुवेतको हवाली गभर्नरेटमा सोमबारदेखि अन्तर्राष्ट्रिय युवा फोटोग्राफी प्रदर्शनी

कतारका राजालाई एयरपोर्टमै राष्ट्रपति र प्रधानमन्त्रीको स्वागत (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन

लगानी सम्मेलनको बाहनामा गिरीबन्धुलाई मालामाल

काठमाडौं- सरकारले लगानी सम्मेलनको बाहना बनाएर झापाको गिरीबन्धु टी स्टेटको

युट्यूबलाई वैकल्पिक मिडिया बनाउने यी योद्धा

काठमाडौं– केही समयअघिसम्म एकाध टेलिभिजनलाई श्रव्यदृश्य समाचारको मूलधार मानिन्थ्यो ।

चेम्बर सल्लाहकार परिषदको अध्यक्षमा श्रेष्ठ चयन

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ