फोहोर कभर्डहलमा स्यानिटाइजरको भरमा ब्याडमिन्टन अभ्यास | Khabarhub Khabarhub

फोहोर कभर्डहलमा स्यानिटाइजरको भरमा ब्याडमिन्टन अभ्यास



काठमाडौँ– त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्भडहलमा ब्याडमिन्टन खेलको अभ्यास हुन थालेको छ ।

राखेप सदस्य सचिव रमेश सिलवालको समन्वयमा नेपाल ब्याडमिन्टन संघले राजधानीमा भएका राष्ट्रिय टोलीका खेलाडीलाई अभ्यासमा बोलाएको हो ।

अभ्यास यही आइतबार सुरु भएको हो ।

महिला–पुरुष गरी राष्ट्रिय टोलीका ३० जनाभन्दा बढी खेलाडी छन् । तीमध्ये आधाजति मात्रै काठमाडौँमा छन् । अरू बाहिर छन् । संघले काठमाडौँमा भएका सबै खेलाडीलाई अभ्यासमा सहभागी हुन बोलाएको छ । तेस्रो दिनको अभ्यासमा तीन जनामात्रै सहभागी भए ।

संघका अनुसार केही खेलाडीले व्यक्तिगत कारणले उपस्थित हुन नसकेको जनाएका छन् भने केहीले कोरोना भाइरस जोखिमका कारण परिवारले घरबाहिर निस्किन नदिएको जानकारी गराएका छन् ।

एक हप्तासम्ममा कम्तीमा १० जना खेलाडी अभ्यासमा सहभागी हुने अध्यक्ष रामजीबहादुर श्रेष्ठको भनाइ छ । ‘लामो समय खेलाडीहरू घरमा बस्दा समस्या भइरहेको थियो । अहिले कोर्ट उत्रेको देख्दा खुसी लागेको छ,’ श्रेष्ठले भने, ‘आजभोलि खेलाडी कम छन् तर अबको हप्तादिनभित्र दश जनाभन्दा बढी अभ्यासमा फर्किन्छन् ।’

खेलाडी उत्साहित

गत चैत ९ गते बन्द भएको प्रशिक्षणमा पुनरागमन गरेका खेलाडीहरू पनि कुनै प्रतियोगिता जितेभन्दा कम खुसी छैनन् । मंगलबारको अभ्यासमा सहभागी युवा स्टार प्रिन्स दाहाल, विजित थापामगर र शोभा गौचन लामो समयपछि अभ्यासमा फर्किंन पाउँदा उत्साहित देखिन्थे ।

‘झण्डै सय दिनपछि अभ्यासमा फर्किन पाउँदा निकै खुसी लागिरहेको छ,’ प्रिन्सले भने, ‘नयाँ कोच (प्रशिक्षक) पनि आउनुभएको छ । उहाँले नयाँ नयाँ टेक्निकबाट प्रशिक्षण दिइरहनुभएको छ ।’

ब्याडमिन्टन संघको अग्रसरतामा कोरियाली प्रशिक्षक चोय सोङ कुक चैतको सुरुवातमै नेपाल आएका थिए । एक वर्षका लागि आएका कुकसँग नेपाली खेलाडीहरूले एक साता पनि अभ्यास गर्ने अवसर पाएका थिएनन् । तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) मा जापानी प्रशिक्षक थिए ।

अभ्यासमा फर्किएपछिका केही दिन निकै मिहिनेत गर्नुपर्ने शोभा बताउँछिन् । उनले भनिन्, ‘यति धेरै समय घरमा बसेर आउँदा अहिले गाह्रो भइरहेको छ । अलि बढी मिहिनेत गरियो भने छिटै पुरानो लयमा आउँन सकिन्छ ।’
विजितलाई पनि विस्तारै सबै ठिक हुँदै जाने विश्वास छ ।

प्रशिक्षक भन्छन्: कडा मिहिनेत गर्नुपर्छ

लकडाउनपछिको अभ्यासमा खेलाडीलाई नियालिरहेका प्रशिक्षक कुकले खेलाडीहरू घरमा बस्दा केही कमजोर भएको महसुस गरेका छन् । उनले अहिलेको अभ्यासमा फिजिकल फिटनेसमा बढी जोड दिएका छन् ।

अनुभवी प्रशिक्षक कुक कोर्टमा उभिएर खेलाडीलाई सक्दो धेरै व्यस्त गराइरहेका हुन्छन् । खेलाडीहरूले बढी मिहिनेत गर्नुपर्ने उनको सुझाव छ । कुक अङ्ग्रेजी भाषा बोल्दैनन् । उनले एप्सको सहायतामा खेलाडीलाई निर्देशन दिने गरेका छन् ।

त्योभन्दा बढी संकेत नै चल्छ । ‘प्रशिक्षक अङ्ग्रेजी भाषा बोल्दैनन् तर पनि ब्याडमिन्टनमा धेरै साइन ल्याङ्ग्वेज (संकेत) प्रयोग हुने भएकाले अभ्यासमा खेलाडीलाई समस्या छैन,’ अध्यक्ष श्रेष्ठले भने ।

न्युनतम मापदण्डविनै अभ्यास

नेपालमा लक डाउनको तीन महिनामा १० हजारभन्दा बढीको कोरोना संक्रमित फेला परेका छन् । लकडाउन असार २१ गतेसम्मका लागि जारी छ तर सरकारले जेठ अन्तिमदेखि केही खुकुलो पारेको छ । लकडाउन खुकुलो भएसँगै राखेपले राष्ट्रिय टोलीका खेलाडीलाई अभ्यासमा फर्किन भनेको हो ।

राखेप सदस्य सचिव सिलवालले फिजिकल कन्ट्याक्ट नहुने खेलको अभ्यास सुरु गर्न संघलाई अनौपचारिक आग्रह गरेका छन् । ब्याडमिन्टनमा खेलाडीहरूका लागि ह्यान्ड स्यानिटाइजर उपलब्ध छ । यसबाहेक स्वास्थ्य सुरक्षाको अन्य कुनै प्रबन्ध छैन ।

खेलमा फर्किनुअघि खेलाडी, प्रशिक्षक र साथमा रहने अफिसियलहरूको स्वास्थ्य परीक्षण हुने अन्तर्राष्ट्रिय मापदण्ड छ । खेल स्थललाई डिसइन्फेक्ट गर्नुपर्छ । राखेपले भने आश्वासन दिनबाहेक केही गरेको छैन ।

‘राखेपले यहीँ भएका चिकित्सक अभ्यासमा खटाउने भनेको छ । चिकित्सक आएपछि उहाँले के के भन्नुहुन्छ त्यो पालना गर्दै सुरक्षित साथ अभ्यास गर्छौं,’ अध्यक्ष श्रेष्ठले भने ।

राखेप सदस्य सचिव सिलवालले हालै खबरहबसँगको एक अन्तर्वार्तामा अभ्यास सुरु गर्दा खेलाडीलाई छुट्टै क्वारेन्टाइनमा राख्न नसकिने तर कोरोना जाँच गर्नेबारे छलफल भएको बताएका थिए ।

कभर्ड हलको सरसफाइ पनि राम्रो छैन । मंगलबार खेल अभ्यास भइरहँदा एउटा कुकुर कभर्डहलभित्र डुलिरहेको थियो । परेवाले गरेको फोहर पनि सफा गरेको देखिएन ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  १ : ३१ बजे

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सीईओमा मन्जिला नियुक्त

काठमाडौं – विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले