दंगलले देखाएको कुस्तीको बाटो जसले दिलायो स्वर्ण | Khabarhub Khabarhub

दंगलले देखाएको कुस्तीको बाटो जसले दिलायो स्वर्ण


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०१६ को डिसम्बरमा बलिउड अभिनेता आमिर खान अभिनित फिल्म दंगल रिलिज भयो । यो फिल्म कुस्ती खेलमा आधारित छ । दुई महिला कुस्ती खेलाडी यसको मुख्य भूमिकामा छन् ।

उक्त फिल्ममा बाबु बनेका आमिर खानले समाजले आलोचना गर्दा पनि आफ्ना दुई छोरीलाई फिल्ममा कुस्ती खेलाडी बनाइछाड्छन् । कालान्तरमा उनीहरू च्याम्पियन समेत बन्छन्, फिल्ममै ।

यही फिल्मबाट प्रेरित भएर कुस्तीमा लागेकी एक नेपाली महिला खेलाडीले देशका लागि स्वर्ण पदक जितिसकेकी छन् ।

उनले गत मंसिरमा नेपालमा आयोजित १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक स्वर्ण पदक जितिन् । नेपालले कुस्ती खेलमा जितेको पहिलो अन्तर्राष्ट्रियस्वर्ण पदक यही हो ।

यी कुस्ती खेलाडी हुन्, कञ्चनपुरकी संगीता धामी । उनका लागि साग पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो जहाँ उनले पहिलो खुट्कीलोमै स्वर्ण पदक जितेर सागमा ५१औँ स्वर्ण थपेकी थिइन् ।

सागमा कुस्ती खेल जनकपुरमा भएको थियो । संगीताले ५५ केजी तौलसमूहमा स्वर्ण पदक हात पारिन् ।

व्यावसायिकरूपमा खेलमा लागेको तीन वर्षमै संगीताले अन्तर्राष्ट्रिय स्वर्ण जितेर कीर्तिमान बनाइन् । यो जित आफ्ना लागि हौसला बनेको उनी बताउँछिन् । उनलाई खेलमा अझै मिहिनेत गर्न उत्प्रेरणा मिल्यो ।

कोरोना भाइरसको महामारीका बीच संगीता अहिले महेन्द्रनगरस्थित आफ्नो घरमा छिन् । कोरोनाका कारण नियमित अभ्यास गर्न नपाएको उनको दुखेसो छ । ‘लकडाउनले घरमा बस्नु परेको छ, चैतमा झापामा खेल हुने कुरा थियो,’ संगीताले भनिन्, ‘अहिले कोरोनाका कारण सरेको छ ।’

संगिता धामी, १३ औं सागमा स्वर्ण जितेपछि

कुस्तीको अभिभावक संस्था नेपाल कुस्ती संघ विवादमा छ । नारायणदेव राणा र राज मोहम्मद मिया अन्सारीले नेतृत्व गरेका दुई संघलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तत्कालीन सदस्यसचिव केशवकुमार बिष्टले पुनर्गठन गर्न अनुमति दिएपछि बनेको संघसँग अर्का अध्यक्ष राणाले असहमति राख्दै अदालत गुहारेका छन् । विवादले निकास पाएको छैन ।

संघको विवाद गत मंसिरमा साग खेलकुद तयारीका क्रममा निकै चर्किएको थियो । अन्ततः राखेपको समन्वयमा राज मोहम्मद मिया अन्सारीको नयाँ संघले कुस्तीको तयारी गरेको थियो ।

साग खेलकुदका क्रममा अन्सारी खेलाडीलाई भेट्न जनकपुर पुगेका थिए । भेटमा उनले खेलाडीलाई सागमा पदक जिते पुरस्कारसहित सम्मान गर्ने र अभ्यासका लागि विदेश पठाउने आश्वासन दिएका थिए ।

संगीताका अनुसार साग सकिएपछि संघका पदाधिकारीले विजेता खेलाडीलाई फोन पनि गरेका छैनन् । स्वर्णधारी संगीता भन्छिन्, ‘स‌ंघका पदाधिकारीसँग जनकपुरमा भेट हुँदा उहाँहरुले पदक जित्नसके सम्मान गर्ने, अभ्यासका लागि विदेश पठाउने यस्तै, यस्तै भन्नुभएको थियो । अहिलेसम्म संघले बधाई पनि दिएको छैन ।’

सागका पदक विजेता धेरै खेलाडीहरू ठाउँ ठाउँमा सम्मानित भए । धेरै संघहरूले विजेता खेलाडीलाई सम्मान गरे । कुस्तीमा ऐतिहासिक स्वर्ण विजेता संगीताले भने संघबाट औपचारिक बधाई पनि पाइनन् । संघले त सम्मान नै गर्ने भनेको थियो । सरकारले दिने भनेको पुरस्कार पनि खेलाडीले अहिलेसम्म पाएका छैनन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका, तिलकपुरकी संगीता स्कुल पढ्दा पनि अब्बल खेलाडी थिइन् । उनले स्कुलमा एथ्लेटिक्सका विभिन्न विधामा पदक जितेकी थिइन् ।

संगीताले २०७५ सालमा महेन्द्रनगरमा भएको दोस्रो भीमदत्त नगरस्तरीय माध्यमिक विद्यालय खेलकुद प्रतियोगितामा ४ सय मिटरको दौडमा स्वर्ण पदक जितेकी थिइन् ।

दौड, कब्बडी लगायतका खेलमा अब्बल संगीता कक्षा १० मा पढ्दै गर्दा महेन्द्रगरमा रहेका कुस्तीका पूर्वखेलाडी तथा प्रशिक्षक राजेन्द्र चन्दको टोली उनको स्कुल पुगेको थियो ।

त्यही समयमा संगीता उनको सम्पर्कमा आएकी हुन् । दंगल फिल्म हेरेपछि कुस्तीमा रुचि बढेको थियो ।

‘दंगल फिल्म हेरेपछि कुस्ती मन परेको हो । त्यसपछि मैले युट्युबमा पनि कुस्तीका धेरै खेल हेरेँ,’ संगीताले भनिन्, ‘म कुस्ती खेल्न जाने बाटो खोजिरहेकी थिए । त्यही बेला स्कुलमा राजेन्द्र सरहरू आउनुभयो । त्यसपछि म र केही साथीहरू अभ्यासका लागि गयौँ ।’

संगीतासँग कुस्ती सिक्न गएका स्कुले साथीहरू धेरै समय टिक्न सकेनन् । अभ्यास गर्न ठाउँ नहुने र प्रतियोगिता धेरै नहुने भएकाले खेलाडीहरू पलायन भएको उनी बताउँछिन् ।

‘म कुस्ती खेल्छु भनेरै गएकी थिएँ त्यसैले खेल्न छाडिनँ । मेरा केही साथीहरू लामो समय टिक्न सकेनन्,’ संगीताले भनिन्, ‘यहाँ हामी कञ्चनपुर खेलकुदको कार्यालयको छेउमा एउटा खाली कोठामा म्याट लगाएर अभ्यास गरिरहेका छौँ ।’

१९ वर्षको उमेरमै देशका लागि स्वर्ण जितेकी संगीताका लागि आगामी खेलयात्रा त्यति सहज छैन । पदाधिकारीहरू खेलाडीका लागि भन्दा पनि आफ्नो राजनीतिका लागि संघको नेतृत्वमा पुग्छन् ।

खेलाडीहरूले वर्षभरिमा एक–दुई प्रतियोगिता खेल्न पाउँछन् । महिलाका प्रतियोगिता हुन झनै मुश्किल छ । संगीता आफ्ना अग्रज खेलाडीहरूले पनि जीवनभर खेलेर केही सुविधा नपाएको बताउँछिन् ।

उनलाई नेपालमा खेलाडीको भविष्य छैन भन्ने महसुस पनि भएको छ । तैपनि किन छिन् त कुस्तीमा ? संगीता भन्छिन्, ‘मलाई खेल्न मन थियो, खेलमा लागिहाले । अहिले खेलसँगै पढाइ पनि अघि बढाएकी छु ।’

सोचेअनुसार खेल करियर अघि नबढे सरकारी जागिरको तयारी गर्ने संगीताको विचार छ । उनी विभागीय टोलीमा पुग्ने योजनामा छिन् । उनले सशस्त्र प्रहरी बलमा असई पदमा आवदेन गरेकी छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  १० : ०१ बजे

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल