टुँडिखेलको अस्तित्त्व संकटमा पुर्‍याउने को-को ? « Khabarhub
Logo
२६ चैत्र २०७६, बुधबार

टुँडिखेलको अस्तित्त्व संकटमा पुर्‍याउने को-को ?

‘अकुपाई टुँडिखेल’ चर्चा मात्रै उपलब्धी शून्य



काठमाडौं– मन्दिरैमन्दिरको शहर काठमाडौं अहिले कंक्रिटै कंक्रिटको शहर बनेको छ । अहिले काठमाडौंमा खुला स्थान पाउन मुस्किल छ । भएका सार्वजनिकस्थान पनि अतिक्रमणको चपेटामा छन् ।

सार्वजनिक जग्गाको अतिक्रमणकै कारण खुल्ला ठाउँमा घुम्ने, मनोरञ्जन लिन चाहने सर्वसाधारण खुम्चिएर बस्न बाध्य छन् । सबैले देखिरहेको काठमाडौंको सबैभन्दा ठूलो सार्वजनिकस्थल टुँडिखेल पनि टुक्रा–टुक्रा बनाएर ऐतिहासिक धरोहरको नामोनिशाना मेट्ने दुष्प्रयास भइरहेको छ ।

काठमाडौं उपत्यकाको सान र मानको पर्याय बनेर सयौं वर्षदेखि सर्वसाधारणका लागि संरक्षित टुँडिखेललाई सरकारले नै लुछिरहेको छ । कुनै बेला सदर टुँडिखेल नामले प्रसिद्ध एसियाकै सबैभन्दा फराकिलो मानिएको टुँडिखेल देशका विभिन्न कालखण्डमा टुक्रा टुक्रा पार्दै अहिले सकिने अवस्थामा पुगेको छ ।

झण्डै १५ वर्षअघिसम्म टुँडिखेल मै फुटबल खेल्ने पूर्वखेलाडी कोमल पाण्डे भन्छन्– ‘टुँडिखेल एउटा विशाल मैदान थियो । त्यहाँ खेल्नेहरुको भीड लाग्थ्यो । रानीपोखरीदेखि रङ्गशाला सम्म एउटै थियो । बीचमा एउटा ठुलो खरीको बोट थियो । त्यो साह्रै राम्रो थियो ।’

पाण्डेका अनुसार, पञ्चायती व्यवस्थाको शुरुवातसँगै टुँडिखेलको अस्तित्व धरापमा परेको हो । उनी भन्छन् – ‘इतिहास र संस्कृतिको साक्षी बनेर उभिएको खरीको बोट पञ्चायती व्यवस्थाको आगमनसँगै ढालियो । त्यो घटना सम्झदा अहिले पनि दुःख लाग्छ । त्यही खरीको फेदमा बनेको चौतारीमा बसेर चन्द्र शमशेरले १४ मंसिर १९८१ मा करिया मोचन अर्थात दासप्रथा उन्मूलनको घोषणागरेका थिए ।’

त्यो समयमा टुँडिखेलमा राति हिड्न मानिसहरु डर मान्थे । उनले भने, ‘गुरुमापा भन्ने राक्षस आएर दुख दिन्छ भनेर रात पर्ने वित्तिकै टुँडिखेलको बीचबाट कोही पनि हिंड्दैन थिए । टुँडिखेल वरिपरि सवै खेत नै खेत थियो । बिजुली अड्डा अर्थात अहिले भएको विद्युत विभागनेर ढुङ्गेधारा थियो । त्यहाँदेखि अगाडि भद्रकालीसम्म सवै खेत थियो टुँडिखेलमा उभिएर हेर्दा सिंहदरबार कालीकास्थान छेउको बाँसघारी सबै स्पष्ट देखिन्थ्यो ।’

काठमाडौंमै जन्मिएर टुँडिखेलको सेरोफेरोमा बाल्यकाल बिताएका गायक योगेश्वर अमात्य पनि अतिक्रमित टुँडिखेलको अवस्था देखेर चिन्तित छन् । भन्छन्–‘टुँडिखेल अहिलेको जस्तो सानो कहाँ थियो र ? त्यसबेलको ठूलो टुँडिखेललाई दौडेर फन्को लगाउने साथीहरुबीचको प्रतिस्पर्धा हुन्थ्यो । एक फन्को लगाउन सक्ने अवस्था नै थिएन । अहिलेको टुँडिखेल हेर्दा नै विरक्त लागेर आउँछ ।’

यसरी टुक्रा–टुक्रा बन्यो टुँडिखेल

वि.सं. १९९० को भूकम्पपछिको विनाशले घरवारविहीन भएका हजारौं नगरवासीलाई टुँडिखेलले महिनौं आश्रय दिएको थियो । तर, २००७ को राजनीतिक परिवर्तनपछि टुँडिखेलको दोहन शुरु भयो । सुन्धाराबाट भद्रकाली मन्दिर जाने आउने बाटो विस्तार गर्ने नाउँमा टुँडिखेललाई दुई फ्याक पारियो । अनि बीचैमा शहीदगेटको निर्माण गरियो।

त्यसैगरी २०१३ सालमा टुँडिखेलको दक्षिण, पश्चिम छेउका दुईवटा कमलपोखरी मासेर रङगशाला बनाइएको प्रमाण छ ।

राणकालमा सेनापतिदेखि सिपाहीसम्मका सैनिकहरू हरेक दिन टुँडिखेलमै उपस्थित भएर हाजिरी जनाउँथे । तर, २००७ सालपछि टुँडिखेलमा सेनाकै मनोमानी शुरु भयो ।

२०१७ को ‘कू’ पछि टुँडिखेलको बीचैमा सैनिक मञ्च बानाईयो । शहीदगेटले दुई फग्लेटा बनाएको टुँडिखेलको एकातिरको भाग सबै नेपाली सेनाले कब्जा गर्‍यो । अर्को भागको पनि धेरै स्थानमा आफ्नो अधिन जमायो ।

त्यसैगरी रानीपोखरीको डिलमा वाग्मती अञ्चलाधीश कार्यालय बन्यो । २०२६ सालमा भारत सरकारले सहयोग गर्ने भएपछि राजा महेन्द्रले टुँडिखेलको रानीपोखरी अगाडिको ४२ रोपनी जमिन चुँडेर आफ्नी रानी रत्नको नाममा पार्क बनाउन आदेश दिए ।

महेन्द्रले बनाउन लगाएको अञ्चलाधीशको कार्यालय २०४६ सालको आन्दोलनको आक्रोशमा परेर जलेपछि त्यस ठाउँमा प्रहरी भवन बन्यो । त्यसपछिका सरकारले यसको सुरक्षातर्फ कुनै महत्व दिएनन् ।

टुँडिखेल अतिक्रमणको श्रृङखला :

– वि.सं. १८०५ : टुँडिखेलको १ सय २० रोपनी जग्गा अधिग्रहण गरी बागदरबार निर्माण
– वि.सं. १९३५ – छाउनीमा भइरहेको पल्टनको कबाज टुँडिखेलमा
– वि.सं. १९५८ – टुँडिखेलमा तोप पड्काउने चलनको सुरुवात
– वि.सं. २०१३ – टुँडिखेल अधिग्रहण गरी रंगशाला निर्माण
– वि.सं. २०१६ – टुँडिखेलाई दुई टुक्रा पार्दै शहीदगेट निर्माण
– वि.सं. २०२६ – रानी रत्नको नाममा पार्क र पोखरी निर्माण
– वि.सं. २०७३ – भ्यू टावर बनाउन खुलामञ्च कब्जा

रानीपोखरीदेखि सानेपासम्म नै टुँडिखेल !

विभिन्न ऐतिहासिक प्रमाण अनुसार, कुनै समयमा टुँडिखेल अहिलेको रानीपोखरीदेखि ललितपुरको सानेपासम्म फैलिएको थियो । यतिमात्र होइन राणाकालीन समयमै पनि टुँडिखेल एसियाकै परेड खेल्ने मैदानका रुपमा परिचित थियो । अहिलेको टुँडिखेलको स्वरूप रानीपोखरीदेखि रंगशालासम्मको हो ।

इटालियन पादरी इपोलिट्टो डेसिडेरीले ३ सय वर्ष पहिले काठमाडौं आएको समयमा तीन माइल लामो र तीन सय गजभन्दा बढी चौडा भएको मैदान रहेको आफ्ने किताबमा उल्लेख गरेका छन् ।

फिलिप्पो द फिलिपीद्वारा सम्पादित डेसिडेरीको यात्रा वर्णन पुस्तकमा काठमाडौं शहरको पूर्वी किनारमा अत्यन्त ठूलो हरियो मैदान देखेको उल्लेख छ । पुस्तकमा वर्णन गरिएको त्यो खुला मैदान टुंडिखेल नै थियो। तीन माइलको क्षेत्र नाप्दा रानीपोखरीदेखि सानेपासम्म पुग्छ । उनले उल्लेख गरेको यो मैदान यही टुँडिखेल भएको इतिहासविद्हरुले बताउँदै आएका छन् ।

हेनरीद्वारा लिखित पुस्तक ‘स्केच्स् फ्रम नेपाल’मा पनि टुँडिखेललाई ‘एसियाको सबैभन्दा ठूलो परेड मैदान’ भनिएको थियो । यसका साथै हाम्रै मुलुकभित्रका विभिन्न वृत्तान्त तथा लिखतहरुमा समेत टुँडिखेलको इतिहास कान्तिपुर नगरको सभ्यता जत्तिकै प्राचीन रहेको पाइन्छ ।

अकुपाई टुँडिखेल अभियानमा सहभागि । फाइल तस्वीर

‘अकुपाई टुँडिखेल’ अभियान तर, उपलब्धि शून्य

वि.सं. २०७२ को विनासकारी भूकम्पताका धेरै काठमाडौंबासीले टुँडिखेललाई टाउको लुकाउने सुरक्षित ठाउँ बनाए । वि.सं. १९९० को भूकम्पमा पनि धेरै को आश्रयस्थल बनेको थियो । तर, त्यही टुँडिखेल अतिक्रमणको चपेटामा परेर चोइटिदै गएपछि अभियन्ताहरुले टुँडिखेलको अस्तित्व बचाउन ‘अकुपाई टुँडिखेल’ अभियान चलाए ।

नेपालको संविधानको धारा ४८ (घ) को नागरिकको कर्तव्यअन्तर्गत ‘सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु’ उल्लेख छ । यस्तै, धारा ३२ मा भाषा र संस्कृतिको अधिकार छ ।

अकुपाई टुँडिखेल अभियानमा सहभागि । फाइल तस्वीर

यसअन्तर्गत नागरिकले मातृभाषा र संस्कृति बोल्न र मान्न पाउने अधिकार छ । यही अधिकारको उपयोग गर्दै अहिले अभियन्ताहरुले अभियान चलाएका थिए । अभियानका संयोजक आलोक तुलाधर भन्छन् – ‘संरक्षण गर्नुपर्ने निकायले नै त्यसको अतिक्रमण, दोहन र व्यापार गरिरहेको छ । त्यसैले टुँडिखेल जोगाउन अभियान थलिएको हो ।’

नेवा समाज समितिका अध्यक्ष शैलेश शाक्य भन्छन्– ‘टुँडिखेल रानीपोखरीदेखि दशरथ रंगशालासम्म थियो भन्ने सबैलाई प्रष्ट छ । हाम्रो अभियान रानीपोखरीदेखि दशरथ रंगशालासम्म नै खुला हुनुपर्छ भन्ने नै हो ।’

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल भने टुँडिखेल स्थित खुलामञ्च कसैले पनि कब्जा नगरेको दाबी गर्छन् । उनी भन्छन् – ‘खुलामञ्च कसैले कब्जा गरेको छैन । महानगर पदाधिकारीको सर्वसहमतिमै वीर अस्पताल र दरबार हाइस्कुलको भवन निर्माण सामग्री राख्न दिइएको हो । काम पूरा भएपछि हटाइन्छ ।’

कात्तिक २३ बाट शुरु गरिएको अभियानले भने लक्ष्य अनुसार काम गर्न सकेन । अतिक्रमण रोक्न महानगरलाई तीन महिनाको अल्टिमेटम समेत दिईएको थियो । अभियान्ताहरुले दिएको समय सकिँदा पनि टुँडिखेलको अवस्था जस्ताको तस्तै छ ।

यद्यपी अभियान सफल नभएसम्म चरणबद्ध तरिकाबाट दवाव मुलक कार्यक्रमहरु ल्याउने अभियन्ता तथा सांसद् भीमसेनदास प्रधान बताउँछन् ।

अब सरकारको आँखा खुल्नुपर्छ

सामाजिक र सांस्कृतिक धरोहरको रुपमा रहेको यस क्षेत्रले हाम्रो शहरी वातावरणलाई असीमित हदसम्म रक्षा गरिरहेको छ । जनताका लागि एक रोपनी खुला ठाउँ निकाल्न नसक्ने राज्यले सामाजिक र सांस्कृतिक महत्व भएको टुँडिखेलमाथि जारी राखेको निर्मम प्रहार रोक्नु र तत्काल संरक्षणका उपाय अवलम्बन गर्नुपर्छ ।

टुँडिखेल सार्वजनिक महत्वको सम्पत्ति हो । यसमाथिको अतिक्रण कसैका लागि पनि प्रिय हुँदैन् । किनकी यो भनेको राष्ट्रिय सम्पति हो । सबै नेपालीको साझा हक लाग्ने सम्पति रहर र लहडको विषय बन्नु हुँदैन् । टुँडिखेल हरेक नेपालीको आत्मगौरव बन्नुपर्छ । यसलाई केकसरह टुक्र्याउनु भनेको अपराध हो ।


भर्खर

0