आफू जोखिम मोलेर अरुको ज्यान बचाउन खटिएका ‘फायर फाइटर’ कुँवर | Khabarhub Khabarhub

आफू जोखिम मोलेर अरुको ज्यान बचाउन खटिएका ‘फायर फाइटर’ कुँवर

‘आगोको मुस्लोबाट मानिसलाई जीवितै उद्धार गर्दाको खुसी अन्त कहाँ मिल्छ र ?’



काठमाडौं–आगोको मुस्लोदेखि डराउनुपर्ने उमेरमा आगोसँग खेल्न मन पराउँथे डल्लुका नरेश राज कुँवर । भविष्यमा विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्ने सोच थियो त्यतिबेला उनको ।

पारिवारीक वातावरण पनि उनको सोचसँग मिल्न पुग्यो । उनका काका अग्नी नियन्त्रकका रुपमा काम गर्थे । डल्लुमा रहेको उनको घरमा बसन्तपुरस्थित जुद्ध वारुण यन्त्रको भवन वरपर बजेको घण्टीको आवाज सुनिन्थ्यो ।

अग्नी नियन्त्रक (फायर फाइटर) बन्ने उनको सोचलाई बेलाबेला त्यही घण्टीले पुनर्ताजगी गराउँथ्यो, झस्काउँथ्यो । अनि हरेक दिन घर बाहिर निस्किँदा अग्नी नियन्त्रकको कपडा लगाएर हिडेका व्यक्तिहरु देख्थे ।

‘मेरो घर यही डल्लुमा अनि म बिहान बेलुका विद्यालय जाँदा पनि अग्नी नियन्त्रकहरु छुट्टै पोशाकमा हिडेको देख्थेँ’ त्यो बालकपनको कुरा कोट्याउँदै उनी भन्छन्, ‘मनमनै सोच्न थाले ठुलो भएपछि यसरी नै आगो निभाउन हिड्छु ।’

हरेक व्यक्तिले भविष्यमा के बन्ने भन्ने कुरा सानैदेखि कल्पना गरेको हुन्छ । त्यहि लक्ष्य हासिल गर्नकै निम्ति उ बारम्बार प्रयत्न गरिहन्छ । कतिपय मानिसको सोच र सपनाहरु परिवारको सहमति नमिलेर पनि अपुरै हुन्छन् ।

तर नरेशले भने आफ्नो लक्ष्य अपुरै छोड्नु परेन । किनकी उनको परिवारले पनि उनलाई यही क्षेत्रमा काम गर्न थप प्रेरणा दिने गर्थे ।

परिवारको साथ र सहयोगकै कारण उनी विगत १६ वर्षदेखि अग्नी नियन्त्रकका रुपमा परिचित भइसकेका छन् ।

वि.स. २०३४ सालमा डल्लुमा जन्मिएका नरेश परिवारका कान्छा छोरा हुन् । उनले गीता माध्मिक विद्यालयबाट अध्ययन शुरु गरेका उनले आइए (प्लस टु) सम्म अध्ययन गरे ।

अध्ययनकै क्रममा वि.स. २०५७ सालतिर काठमाडौं महानगरपालिकामा कर्मचारी आवश्यकता सम्बन्धी सूचना देखे ।
‘अध्ययन चलिरहेको थियो, काठमाडौं महानगरको विज्ञापन हेर्नासाथ त्यहाँ निवेदन दिएँ । अनि म छनौट पनि भइहालेँ,’ उनले भने, ‘नगर प्रहरी सहायक निरीक्षकका रुपमा रहेको थिएँ ।’

उनकाअनुसार त्यहाँ उनले सडकपेटी अतिक्रमण नियन्त्रण, फोहोरमैला व्यवस्थापन र महानगरले दिएका निर्देशनहरु गर्ने गर्थे । उनले त्यहाँ करिब ४ वर्षसम्म काम गरे ।

नगर प्रहरीबाट अग्नी नियन्त्रक कमान्डर

‘सानो छँदा फायर फाइटर बन्छु भन्ने सोचे पनि रोजगारीका क्रममा अलि फरक काम गरिरहको थिएँ’ खबरहबसँग कुरा गर्दै उनले भने, ‘तर भविष्यमा फाइटर चाहिँ बन्छु नै भन्ने सोच थियो ।

उनको सोचलाई पुरा गरिदियो– ‘काठमाडौं महानगरपालिकाले’ । कुरा हो ०६० सालको । महानगरपालिकाको मातहतमा दमकल चलाउने भन्ने कुराहरु हुँदै थियो । त्यसका लागि जनशक्ति राख्ने बारे छलफल भइरहेको थियो ।

वि.स. २०६४ सालसम्म जुद्ध वारुण यन्त्र गृह मन्त्रालय मातहतमा थियो । विस्तारै विपद् सम्बन्धी संस्थाहरु स्थानीय निकायले हेर्ने भनिएसँगै काठमाडौं महानगरपालिकाले हेर्न थाल्यो ।

०६५ सालबाट पूर्ण रुपमा महानगरपालिकाले हेर्न थाल्यो र नरेश लगायत अन्य १० जना इच्छुक कामदार जुद्ध वारुण यन्त्रतिर प्रवेश गरे ।

छनौट गर्दा शारीरिक बनोट, फूर्तिलोपन, चलाख योजना बनाउन सक्ने र पढेलेखेका युवाहरुलाई मध्यनजर गरिएको र त्यसमा आफु पनि परेको बताउँदै उनी भन्छन्, ‘फायर फाइटिङ र रेस्क्यूमा काम गर्न सक्ने छ कि छैन भन्ने आधारमा छान्दा म पनि चुनिएँ ।’

आगो नियन्त्रणका लागि विज्ञान र गणित विषयमा राम्रो ज्ञान हुनु पर्ने उनको अनुभव छ । आगोलागीमा प्रत्यक्ष असर पर्ने चीजहरु भएकाले केमिकलको गुणलाई नै हेरेर आगलागी नियन्त्रण गर्नुपर्ने हुँदा यी विषयहरु अध्ययन गर्नुपर्छ ।

पहिले र अहिलेमा फरक

०६० सालतिर सामान्यतया घरहरु आगलागी हुन्थे । घरको कोठामा लागेको आगो निभाइन्थ्यो । त्यो बेला काठको प्रयोग गर्ने पनि धेरै हुन्थे । आगोमा लुगा सल्किने र कोठाभरी आगो फैलिने जस्ता समस्या हुन्थे पहिले ।

अहिले आगो लाग्ने अवस्थाहरु फरक छन् । अहिले इलेक्ट्रिक कुराहरु बढी प्रयोगमा आउन थाल्यो त्यससँगै ग्यास, हिटर बढी प्रयोग हुन थाले । त्यसमा परिवर्तन भएको छ । आगलागीका हिसाबले इलेक्ट्रिक फायरहरु बढी भइरहेको छ ।

साँघुरा गल्लीमा : फायर बाइकको प्रयोग

लाखौं जनसंख्या भएको काठमाडौं शहर । बाक्ला घर र साँघुरा गल्ली । आपतकालीन अवस्थामा दमकललाई यस्ता साँघुरा गल्ली पस्न सक्दैनन् । विशेषगरी काठमाडौं महानगरपालिका अन्तर्गत रहेका १८, १९, २०, २१, २२, २३, २४ र २५ वडाहरु गल्लीले भरिएका वडा मध्ये पर्छन् ।

विगतमा साँघुरा गल्लीमा आगलागी भएमा पाइप बिछ्याएर आगो नियन्त्रण गर्ने गरेपछि ४ वर्षअघिबाट यहाँ फायर बाइक सञ्चालनमा रहेको उनले बताए ।

‘साँघुरा गल्लीमा दमकल जान सक्दैनन् यो ठूलो चुनौती पनि बनेको थियो’ नरेशले भने, ‘तर अहिले फायर बाइकको प्रयोग गरेर जतिसुकै साँघुरा गल्लीमा लागेको आगो पनि नियन्त्रण गरिरहेका छौं ।’

फायर बाइकमा भएका उपकरणले आगो निभाउन सकेमा निभाउँछ नत्र जुन ठाउँसम्म दमकल पुग्छ त्यहाँसम्म पाइप बिछ्याइसकेको हुन्छ । त्यसरी साँघुरा गल्लीमा आगो निभाइरहेको उनले सुनाए ।

यसरी नियन्त्रणमा आउँछ आगलागी

कुनै ठाउँमा आगालागी हुनासाथ सम्बन्धित व्यक्ति अथवा प्रहरीले हट लाइनमा फोन गर्छन् । ‘कन्ट्रोल रुममा फोन आउनासाथ आगालागीका बारेमा तथ्याङ्क लिने गर्छौ’ अनुभव सुनाउँदै उनले भने, ‘स्थान, के मा लागेको, अवस्था, जानकारी दिनेको सम्पर्कबारे जानकारी लिनसाथ ८ जनासम्मको टोली घटनास्थल तिर प्रवेश गर्छौ ।’

‘घटनास्थलमा नपुगुन्जेलसम्म जानकारी लिँदै जान्छौं’ उनले थपे, ‘कतिपय अवस्थामा स्थानीय र प्रहरी मिलेर निभाइसकेको अवस्था पनि हुन्छ अन्यथा हामी पुगेर फायर फाइटिङ गर्छौ ।’

२२ हजार स्वायर फिटभन्दा बढी रहेका घरलाई अग्लो घरका रुपमा लिइन्छ ।

त्यस्ता घरहरु बनाउँदा आगालागी लगायत विभिन्न समस्याबाट कसरी सुरक्षित रहन सकिन्छ भनेरै निर्माण भइरहेका पनि छन् ।

‘त्यस्ता हाइराइजिङ बिल्डिङमा आगलागी भएको छ भने दमकल लिएर गएपनि उनीहरुको इन्स्टालेशन प्रयोग गरेरै पनि निभाउछौं’ उनी भन्छन्, ‘सपिङ मल, सिनेमा हल, अस्पतालमा इन्स्टालेशन छन् । त्यसलाई रिकुमेन्ट गर्ने काम पनि गरिरहन्छौं ।’

२ हजारभन्दा बढी आगलागी नियन्त्रण

१६ वर्ष भयो नरेशले आगालागी नियन्त्रण र रेस्क्यु गर्दै आएको । ‘यो अवधीमा २ हजारभन्दा बढी आगालागी नियन्त्रण गरेँ’ उनले भने, ‘५० जनाभन्दा बढीको रेस्क्यु पनि गरेको छु ।’

उनी आगलागी नियन्त्रणकै क्रममा दकमल लिएर दोलखादेखि नारायणघाटसम्म पुगेका छन् ।

फायर फाइटिङ आफैंमा पनि संवेदशील र जोखिमपुर्ण काम रहेको उनी बताउँछन् । भन्छन्, ‘यो एकदमै जोखीमपुर्ण काम हो, तर जोखीम मोलेरै पनि आगोको मुस्लोबाट मानिसहरु रेस्क्यु गरेको छु त्यस्तो बेलामा आफैंलाई एकदमै खुसी महशुस हुन्छ ।’

धेरे घटनाहरु यस्ता पनि छन् जहाँ उनले परिवारका सदस्यहरुलाई गुमाउनबाट बचाएका छन् । जसकारण उनलाई आफ्नै कामबाट पनि गर्व महशुस हुन्छ ।

‘रेस्क्यु गरिसकेपछिको अवस्थामा धेरै मानिसहरुले ढोग्छन्, बधाइ दिन्छन्, धन्यवाद दिन्छन्’ प्रफुल्ल हुँदै नरेशले सुनाए, ‘मैले गरेको कामबाट यही एचिभमेन्ट पाएँ भन्ने महशुस हुन्छ कानून संवत ढंगले अरुका आँखाबाट बगेका आँशु पुछिरहेको छु झै लाग्छ ।’

मृत्युले बाचेको त्यो घटनाहरु

०६६ सालतिरको कुरा हो । महाबौद्धस्थित एउटा घरको चोथो तलामा ठूलो आगलागी भयो । जुनकोठामा आगलागी भएको थियो त्यही कोठामै गएर फायर फाइटिङ गरिरहेका थिए उनी । साथमा दुई जना साथी पनि ।

‘ठूलो आगो बलिरहेको थियो । आगोको असरले सिलिङ, वाल कमजोर पारिसकेको थियो’ घटना सुनाउँदै उनी भन्छन्,–‘भवन संरचनामै पुग्नु पर्ने अवस्था थियो । फायर फाइटिङ गरिरहेको थियौं, कमाण्ड पनि । अरु संघ संस्थाहरुले सम्वन्य गरेनन् । उनीहरुले बाहिरैबाट दमकलबाट मोनिटर गर्दिए । पहिल्यै कमजोर भइसकेको त्यो बिल्डिङ मोनिटरको पावरले छतमा हान्नासाथ भत्किने सम्भावना भइसकेको थियो ।

‘बाहिर निस्केको ५ सेकेन्डमा माथिको पुरै सिलिङ भत्कियो, उनका साथी त्यही पुरिए’ उनले थपे, ‘इट्टाले साथी पुरिसकेको थियो, केही समयपछि उसलाई रेस्क्यु गर्‍यौं ५ सेकेन्डले गर्दा तीन जना नै बाच्न सफल भयौं, त्यो घटना सम्झिँदा बाँचेर फर्केको झै लाग्छ ।’

खुसीको त्यो क्षण

१६ वर्षको अवधीमा धेरै ठूला आगो पनि नियन्त्रण गरे उनले । केहि वर्ष अघि बागदरवारस्थित गुलाब स्वीट्सको भवनको अन्डर ग्राउन्डमा आगो लागेको थियो । ‘त्यहाँ आगो लागेको दृश्य देख्दा निकै डरलाग्दो थियो’ स्मरण गर्दै नरेशले सुनाए, ‘सुतेर (क्राउलिङ) १० देखि १५ मिनेटभित्र त्यो आगो नियन्त्रण गर्न सकियो ।’

‘आगोलाई नियन्त्रण गर्दा मात्र नभइ आगोको मुस्लोबाट मानिसहरुलाई रेस्कयु गर्दा अति नै खुसी मिल्छ’ फुस्स हाँस्दै उनले भने, ‘त्यति खुसी अरु काममा कहिल्यै मिलेको छैन ।’

त्यसरी रेस्क्यु गर्दा धेरैले झरेका खुसीका आँशु झार्दै भगवान समेत सावित गरिदिँदा आफैलाई भाग्यमानी समेत ठान्छन् उनी ।

आगलागी नियन्त्रणका क्षेत्रमा सुधार गर्नुपर्ने पक्ष

आगलागी कुन समय कहाँ हुन्छ भन्ने टुंगो हुँदैन । नेपाल आगलागीका क्षेत्रमा प्रभावित पनि छ । यहाँ धेरै आगालागीका घटनाहरु भइरहन्छन् । अन्तर्राष्ट्रिय स्तरका फाइटिङ उपकरणहरु नभएको बताउँछन् उनी ।

‘आगलागी नियन्त्रणका हिसाबमा हेर्ने हो भने २०/२२ वर्षीय उमेर समुहको आवश्यक ठानिन्छ र ३५ वर्षमाथिकालाई फायर फाइटिङमा राख्न उपयुक्त मानिन्दैन पनि’ उनले भने, ‘तर हामीकहाँ त्यस्ता दक्ष जनशक्ति छैनन् ।’

यो पनि एउटा आत्मविश्वासी खेल जस्तै हो । जहाँ खेल्न इच्छा हुनेहरु आत्मविश्वासका साथ आएमा थप प्रभावकारी बन्न सक्छ ।

पछिको योजना

‘फायर फाइटर बन्ने सपना बोकेको मान्छेले अरु त के गर्ने सोच बनाउँछ र यो बाहेक ?’ कामप्रति गर्व गर्दै उनी भन्छन् ‘म जस्तै लागिरहेको आगो निभाउने जसको सपना छ, बलिरहेको आगोबाट मानिसहरुको ज्यान सुरक्षित ढंगले बाहिर ल्याउने तिनीहरुलाई तालिम दिने केही संस्था खोल्ने सोच छ ।’

आफूले सकुन्जेल यही क्षेत्रमा काम गर्ने अझै यस्ता घटनाहरु नियन्त्रण गर्ने बताउँदै अन्तमा उनले भने, ‘यसबाट रिटायर्ड भएपछि यही सीपले नयाँ युवावर्गलाई यस क्षेत्रमा ल्याउन प्रेरणा र ज्ञान दिने सोच बनाएको छु । हेरौं समयले कति साथ दिन्छ ।’

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ९ : १९ बजे

यस्तो छ १६ औँ योजनाको मस्यौदा

सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र

थाइल्यान्डमा ‘लु’ बाट ३० जनाको मृत्यु

बैंकक– यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले