चिडियाखाना सञ्चालन अझै अनिश्चित | Khabarhub Khabarhub

चिडियाखाना सञ्चालन अझै अनिश्चित


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखा सञ्चालन कहिलेबाट भन्ने अझै अनिश्चित भएको छ ।

चिडियाखाना व्यवस्थापनले स्वास्थ्य मापदण्ड पूरा गरी तिहारपछि खोल्ने तयारी गरे पनि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) बाट निर्णय नआउँदा कहिले खुल्ने भन्ने निश्चित नभएको हो ।

विश्वभर फैलिएको कोभिड–१९ का कारण गत चैत ७ गतेदेखि अवलोकनका लागि पूर्णरूपमा चिडियाखाना बन्द गरिएको थियो ।

लामो समयसम्म बन्द रहँदा जीव जनावरको खानपान र कर्मचारी व्यवस्थापन गर्न समस्या भएकाले खोल्ने तयारी गरे पनि निर्णय नआएकाले अन्योल भएको चिडियाखाना व्यवस्थापन प्रमुख डा. चिरञ्जीवीप्रसाद पोखरेलले जानकारी दिए ।

‘कोरोना भाइरस सङ्क्रमण कम भएको छैन, त्रास केही कम भएकाले सावधानी अपनाएर खोल्ने तयारी गरेको हो । त्यसका लागि मापदण्ड पनि तयारी अवस्थामा छ’, पोखरेलले भने ।

मास्क अनिवार्य ल्याउनुपर्ने, सीमिति मानिसलाई मात्र अवलोकन गर्न दिने, चिडियाखानाभित्र बसेर खान र जीवजनावरलाई खुवाउन छुन नपाउने, एक व्यक्ति बढीमा डेढ घण्टा मात्र बस्न पाउने, बालबालिकालाई खेलाउन नपाउनेजस्ता मापदण्ड तयार गरिएको छ ।

यसअघिझैँ हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुने गरी नै मापदण्ड तयार गरिएको भए पनि एकपटकमा सीमित व्यक्तिलाई मात्रै प्रवेशको व्यवस्था गरिएको छ ।

हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ जीवजनावर रहेका छन् । यहाँ मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा, रेडपाण्डा आदि रहेका छन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् ।

नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।

उक्त स्थानमा अवलोकनका गर्न विदेशीका लागि रु ७५०, सार्क राष्ट्रका पाहुनाका लागि रु ५००, नेपालीलाई रु १५० र नेपाली विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि रु ९० शुल्क निर्धारण गरिएको छ ।

वार्षिक ११ लाख दर्शक अवलोकन गर्न आउने यहाँ प्रवेश शुल्कबाट नै वार्षिक रु १५ देखि १६ करोडसम्मको आर्थिक कारोवार हुने गरेको छ ।

अवलोकन गर्न आएका अवलोकनकर्ताबाट प्राप्त शुल्कबाट कर्मचारी व्यवस्थापन र जनावरलाई खानपानको व्यवस्थापन गर्दै आएको चिडियाखानामा विगत आठ महिनादेखि आम्दानी शून्य भएपछि खर्च व्यवस्थापन गर्न समस्या भएको छ ।

कोरोनाका कारण बन्द हुनुअघि ८० कर्मचारी कार्यरत थिए । अहिले व्यवस्थापन गर्नै समस्या भएपछि २० कर्मचारी कटौती गरिसकेको जनाइएको छ । अब तत्काल सञ्चालनमा नल्याए थप समस्या हुनेछ ।

उद्धार केन्द्र अभाव

सदर चिडियाखानामा विभिन्न जीवजन्तुलाई संरक्षण गर्न पहिलो चरणमा ल्याएर राखिने उद्धार केन्द्रको अभाव रहेको छ ।

जङ्गली जनावरले समय–समयमा मानव बस्तीमा आएर समस्या पार्ने गरेकाले तिनलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

त्यसरी मानव बस्तीमा आएर दुःख दिने जनावरलाई पहिलो चरणमै चिडियाखानामा राखिएका अन्य जनावरसँग घुलमिल गराएर राख्न समस्या हुन्छ ।

तिनलाई लामो समय स्वास्थ्य परीक्षण गर्नका लागि विशेष निगरानीमा राख्नुपर्छ तर चिडियाखानामा यस स्थानको अभाव छ ।

‘प्रत्येक वर्ष १०/१५ जीवजन्तु यहाँ संरक्षण गर्नुपर्छ, संरक्षण गरिएका जीवजन्तुलाई छ महिनादेखि एक वर्षसम्म अवलोकन गर्नका लागि राख्न सम्भव हुँदैन, पशु चिकित्सकको निगरानीमा संरक्षण गरी राख्नुपर्छ तर स्थान अभाव छ’, प्रमुख व्यवस्थापक डा. पोखरेलले भने ।

थपियो डाँफे

विगत आठ वर्षपछि चिडियाखानामा एक जोडी डाँफे थपिएको छ ।

जुम्लाबाट ल्याइएको डाँफेलाई अहिले अवलोकनका लागि नराखी संरक्षणकक्षमा राखिएको छ । अन्य जीवजनावरको तुलनामा चराको प्रजाति यहाँ बढी छ ।

तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जङ्गबहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाको रूपमा स्थापना गरेका थिए ।

विसं २०११ बाट सर्वसाधारणका लागि खुला गरिएको चिडियाखाना विसं २०५२ बाट यसको व्यवस्थापनको जिम्मेवारी ३० वर्षका लागि नेपाल सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको हो ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  १० : ३३ बजे

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको

सुनिल पौडेललाई थुनामा राख्न आदेश

काठमाडौं- नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले

भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा

टक्सार– भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट 

बरहथवा– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले