विधिपूर्वक गरियो महागौरीको पूजाराधना | Khabarhub Khabarhub

विधिपूर्वक गरियो महागौरीको पूजाराधना


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवरात्रको आठौँ दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरीको विधिपूर्वक पूजाराधना गरिएको छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीको आठौँ दिन महागौरीको विधिपूर्वक पूजाराधना गर्ने वैदिक सनातनी परम्परा छ ।

नवरात्रको पहिलो दिन कात्तिक १ गते शनिबार दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएका स्थानमा नौ दुर्गामध्येकी पहिली शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाराधना गरियो ।

दोस्रो दिन पूजास्थलमा ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी देवी र सातौँ दिन कालरात्रिको विधिपूर्वक पूजाराधना गरियो । दुर्गा पक्षको आठौँ दिन आज महागौरीको विशेष पूजाराधना गरिएको हो ।

नवरात्रका नौ दिन घटस्थापना गरिएका स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवीस्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गाको विशेष आराधना गर्छन् ।

नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यस वर्ष विजयादशमीको साइत यही कात्तिक १० गते बिहान १०ः१९ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका थाप्न कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । देवीका आराधनाका साथ प्रसाद ग्रहण गरी नेपालीले १५ दिनसम्म बडादशैँ पर्व मनाउँछन् ।

महागौरीको स्वरुप

महागौरीको रङ पहिलो केही कालो भएकाले एक पटक भगवान् शिवले देवीलाई ख्यालठट्टामा ‘ए काली’ भन्ने शब्द प्रयोग गरेछन् । त्यो शब्द भगवतीलाई मन परेनछ । तिनले अत्यन्त कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले महागौरी भनिएको हो भन्ने विषय विभिन्न पुराणमा वर्णन गरिएको छ ।

सेतो वृषभमाथि चढ्ने गोरो वर्णकी श्वेतवस्त्र धारण गरेकी स्वरुपमा महागौरी हुन्छिन् भन्ने पुराणमा लेखिएको छ । दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजाराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले धेरै मन्दिर बन्द छन् । भौतिक दूरी अपनाएर स्वास्थ्य सुरक्षाका विधिसहित केही मन्दिर भने खुला गरिएको छ जहाँ भक्तजन पुग्ने गरेका छन् । धेरै शक्तिपीठमा भक्तजनले बाहिरैबाट दर्शन गर्ने गरेका छन् ।

कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्र मठमन्दिर जान तथा खानपिन गरी दशैँतिहारजस्ता चाडपर्व मनाउन तीनै तहका सरकारले आह्वान गरेका छन् । दशैँको मुख्य दिन नजिकिँदै जाँदा कोरोना भाइरसबाट सङ्क्रमित हुने पनि बढिरहेका छन् ।

दशैँको आठौँ दिन आज शक्तिपीठमा पूजाराधना गर्ने भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष कोरोनाको त्रासका कारण घरमै बसेर मानसिक रुपमा स्मरण गर्न भक्तजन बाध्य छन् । घरघरमा भने बलिसहित पूजाराधना गरी नेपालीले आजको दिनलाई विशेष रुपमा मनाएका छन् । बलिसहित पूजा गरेपछि प्रसादका रुपमा ग्रहण गर्ने परम्परा पनि नेपाली समाजमा छ ।

महाष्टमी पूजा

बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिएको छ । महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ ।

आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशुबलि दिई दुर्गाको विशेष पूजा गरिन्छ । आजैका दिन राति कालरात्रिका रुपमा पशुबलिको विधि र पूजाराधनासहित मनाउने गरिन्छ ।

कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा गर्न नपर्ने विधान रहेको जनाइएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ९ : २५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका