६८ प्रतिशत पुनर्निर्माण पूरा, ३ खर्ब ८१ अर्ब खर्च | Khabarhub Khabarhub

६८ प्रतिशत पुनर्निर्माण पूरा, ३ खर्ब ८१ अर्ब खर्च

कोरोना माहामारीले काम ठप्प


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गोरखाको बारपाक केन्द्रविन्दु भई ७.६ रेक्टरको भूकम्प गएको ५ वर्ष पूरा भएको छ । यस अवधिमा पुनर्निर्माणको काम करिब ६८ प्रतिशतसम्पन्न भएको छ ।

निजी आवास, शैक्षिक संस्था, स्वास्थ्य संस्था, पुरातात्विक सम्पदा, सार्वजनिक र सुरक्षा निकायका भवनमा भूकम्पले क्षति पुर्‍याएको थियो । सबैभन्दा बढी क्षति निजी आवासमा पुगेको थियो ।

पुनर्निर्माण प्रगति सबैभन्दा बढी निजी आवासमा भएको छ ।

नेपाल सरकारले भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन, २०७२ अनुसार भूकम्पबाट भएको भौतिक क्षतिको शीघ्र पुनर्निर्माण गर्ने र प्रभावित संरचनाको पुनस्र्थापना गर्ने उद्देश्यका साथ ९ महिनापछि अर्थात् पुस १२ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना भयो ।

भूकम्पबाट क्षति पुगेका संरचनालाई अहिले सुरक्षित र आकर्षकरूपमा पुनर्निर्माण गरिएको प्राधिकरणको भनाइ छ ।

भूकम्प गएको ५ वर्ष बित्दा प्राधिकरणले कुन क्षेत्रमा कति पुनर्निर्माण गर्‍यो त ?

घर निर्माणपछि कास्कीकी एक भूकम्पपीडित

निजी आवासमा ८८ प्रतिशत प्रगति

राष्ट्रिय योजना आयोगले २०७२ मा गरेको विपद्को क्षति आकलन प्रतिवेदनअनुसार ४ लाख ९५ हजार ८५२ घर पूर्णरूपमा र २ लाख ५६ हजार ६५७ घरमा आंशिक क्षति पुगेको थियो ।

प्राधिकरणले निजी आवास पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति भएको जनाएको छ ।

प्राधिकरणले ४ लाख ९४ हजार ४४ अर्थात् ६३ प्रतिशत लाभग्राहीको निजी आवास पुनर्निर्माण सम्पन्न भएको र थप १ लाख ९० हजार १४५ अर्थात् २५ प्रतिशत लाभग्राही पुनर्निर्माणको चरणमा रहेकोसहित समग्रमा ८८ प्रतिशत भएको जानकारी गराएको हो ।

प्राधिकरणले अन्तिम किस्ता भुक्तानीका लागि प्रमाणीकरण गरिएका लाभग्राहीको संख्या ५ लाख ६१ हजार ६५० अर्थात ७२ प्रतिशत पुगेको जनाएको छ ।

निजी आवास पुनर्निर्माणका क्रममा करिब ५ लाख गुनासो सम्बोधन भएको र गुनासो सुनुवाइमा पनि चित्त नबुझ्नेहरूका लागि पुनरावेदन समितिमार्फत समस्या समाधान गर्ने व्यवस्था मिलाएको प्राधिकरणको भनाइ छ ।

सञ्जीवनी विद्यालय धुलिखेलका विद्यार्थी र पृष्ठभूमिमा पुनर्निर्माण भएको  विद्यालय । तस्वीर : पुनर्निर्माण प्राधिकरण

शैक्षिक संस्थामा ७४ प्रतिशत प्रगति

प्राधिकरणका अनुसार भूकम्पले ३२ जिल्लाका ७ हजार ५५३ विद्यालयमा क्षति पुर्‍याएको थियो ।

विद्यालय पुनर्निर्माणको काम राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइले (शिक्षा) गर्दै आएको छ ।

भूकम्प गएको पाँच वर्ष बित्दा ५ हजार ५९८ अर्थात ७४ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ ।

एक हजार ४ सय ९२ अर्थात २० प्रतिशत विद्यालय पुनर्निर्माणको चरणमा छन् ।

पुननिर्माण भइरहेको धरहरा ।

सास्कृतिक सम्पदामा ४५ प्रतिशत प्रगति

भूकम्पले ३२ जिल्लाका ९२० वटा सम्पदामा क्षति पुर्‍याएको थियो । पुरातत्व विभागले सम्पदा पुनर्निर्माणको काम गरिरहेको छ ।

पाँच वर्षमा ४०२ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ भने १४१ वटा सम्पदा पुनर्निर्माणको चरणमा छन् ।

काठमाडौँ उपत्यकाभित्रका विश्व सम्पदा क्षेत्रका क्षतिग्रस्त १७० वटा सम्पदामध्ये १०१ वटा अर्थात ५९ प्रतिशत सम्पन्न भएका छन् । बाँकी ५४ वटा अर्थात ३२ प्रतिशत पुनर्निर्माणको क्रममा छन् ।

स्वास्थ्य संस्थामा ६८ प्रतिशत प्रगति

भूकम्पले कुल १ हजार १५७ वटा स्वास्थ्य संस्थामा क्षति पुर्याएका थियो ।

पाँच वर्ष बित्दा ६६९ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माण सकिएको छ भने १४५ वटा पुनर्निर्माणको चरणमा छन् ।

सम्पन्न भएका र पुनर्निर्माण भइरहेका गरी स्वास्थ्य क्षेत्रमा ६८ प्रतिशत प्रगति हासिल भएको छ ।

सरकारी भवनमा ८४ प्रतिशत प्रगति

भूकम्पले पूर्ण र आंशिक गरी कुल ४१५ सरकारी भवन क्षति भएका थिए ।

तीमध्ये ३४९ वटा अर्थात ८४ प्रतिशत सरकारी भवनको पुनर्निर्माण सम्पन्न भइसकेको छ । ४९ वटा पुनर्निर्माणको चरणमा छन् । तीमध्ये धेरै सम्पन्न हुने चरणमा छन् ।

पुनर्निर्माणअन्तर्गत सुरक्षा निकायका १९४ वटा संरचनाको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने २२ वटा पुनर्निर्माणको चरणमा छन् ।

भूकम्पपछि असुरक्षित स्थानमा रहेका लाभग्राहीमध्ये ४ हजार २०४ लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको र ८ हजार ७ सय ४४ भूमिहीन तथा सुकुमबासी लाभग्राहीलाई जग्गा खरिद र अन्य वैकल्पिक व्यवस्थाद्वारा जग्गा उपलब्ध गराई निजी आवास पुनर्निर्माण गर्ने वातावरण मिलाइएको प्राधिकरणले जनाएको छ ।

गोरखाको लाप्राक गुम्सीपाखामा निर्माण गरिएको एकीकृत बस्ती । तस्वीर: पुनर्निर्माण प्राधिकरण

९ वटा एकीकृत बस्ती बने

४३ वटा एकीकृत बस्तीको योजना स्वीकृत भएको छ । यीमध्ये ९ वटा एकीकृत बस्तीको पुनर्निर्माण सम्पन्न भइसकेको छ । २७ वटाको डीपीआर स्वीकृत भई निर्माणाधीन छन् । यसरी कुल ७९ वटा एकीकृत बस्ती पुनर्निर्माणको प्रक्रियामा छन् ।

समग्रमा हेर्दा पुनर्निर्माणमा ५ वर्षमा ६८ प्रतिशत प्रगति हासिल गरेको प्राधिकरणले जनाएको छ ।

पुनर्निर्माणमा ३ खर्ब ८१ अर्ब खर्च

प्राधिकरणले विभिन्न क्षेत्रमा पुनर्निर्माणका क्रममा हालसम्म ३ खर्ब ८१ अर्ब खर्च गरेको छ ।

जसमा नेपाल सरकार र दातृ निकायबाट ३ खर्ब ९ अर्ब रुपियाँ र गैरसरकारी संस्थामार्फत ७२ अर्ब रुपियाँ भएको प्राधिकरणले जनाएको छ ।

पुनर्निर्माण भइरहेको रानीपोखरी

पुनर्निर्माण ठप्प

कोभिड–१९ अर्थात कोरोना भाइरसको महामारीले विश्वव्यापीरूपमा प्रभाव पारेको र नेपालमा पनि एक महिनादेखि लकडाउन भएकोले प्राधिकरणले पुनर्निर्माणमा असर परेको जनाएको छ ।

पुनर्निर्माण र पुनस्र्थापनाका क्षेत्रमा द्रुत गतिमा काम जारी रहेका बेला कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सिर्जित नयाँ परिस्थितिले पुनर्निर्माण र पुर्नस्थापनाको काममा गम्भीर असर परेको प्राकिरणका सूचना अधिकारी मनोहर घिमिरेले बताए ।

‘मानिसको जीवन रक्षाका सामु अरू विषय गौण बनेका छन्’ घिमिरेले भने, ‘स्थिति सहज हुनासाथ पुनर्निर्माण अघि बढ्छ ।’

समय थपिन सक्ने

पुनर्निर्माण प्राधिकरकणको समयवधि आगामी पुस १० मा सकिँदै छ । त्यो समयसम्म पुनर्निर्माण काम सकिँदैन । कामको गति दु्रत बनाउनुपर्ने बेला कोरोना संक्रमण रोक्न लकडाउन भएको छ ।

यसअघि पुससम्म काम सक्ने लक्ष्य प्राधिरणले लिएको थियो ।

‘अहिले पुनर्निर्माणका काम शहरदेखि गाउँसम्म्म रोकिएको छ’ उनले खबरहबसँग भने, ‘शहरमा रहेका कामदार गाउँ फर्किसके, निर्माण सामग्री पनि ल्याउन सकिने अवस्था छैन ।’

पाँच वर्षमा तोकिएको काम सम्पन्न नभएमा नेपाल सरकारले प्राधिकरणको कार्यवधि एक वर्ष थपिने व्यवस्था ऐनमा छ ।

पुनर्निर्माणपछि पाटन दरबारस्क्वायरको हरिशंकर मन्दिर

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ६ : ५४ बजे

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको