जनयुद्धमा ‘प्रचण्ड’ बसेको घर युद्ध पर्यटन क्षेत्र घोषित | Khabarhub Khabarhub

जनयुद्धमा ‘प्रचण्ड’ बसेको घर युद्ध पर्यटन क्षेत्र घोषित


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा– नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी जनयुद्दका बेला लामो समय आवासका रुपमा प्रयोग गरेको रोल्पा राङसीस्थित घर र आसपास क्षेत्रलाई समेटेर ‘युद्ध पर्यटन क्षेत्र’ घोषणा गरिएको छ ।

नेकपा स्थायी समिति सदस्य समेत रहेका ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले सोमबार उक्त घर र घर परिसर क्षेत्रलाई ‘युद्ध पर्यटन क्षेत्र’ घोषणा गरेका हुन् ।

मन्त्री पुनले उक्त घर नेपालको राजनीतिक परिवर्तनका लागि भएको जनयुद्धको साक्षी भएको उल्लेख गरे ।

मन्त्री पुनले परिवतर्तित सन्दर्भमा आफूहरुले त्यस घरलाई जनयुद्धमा सहभागी भएकाहरुको मात्र नभई राजतन्त्रको अन्त्य र गणतन्त्र, संघीयता, समावेशीतासहितका लागि भएका आन्दोलनहरुको बिम्ब र प्रतीक बनाउन चाहेको बताए ।

‘यो घर प्रचण्ड बस्नुभएको कारणले मात्र होइन, तत्कालीन अवस्थामा काठमाडौंमा रहेको ज्ञानेन्द्र शाहको सरकार र जनताको समानान्तर सत्ताका बीचको संघर्षको केन्द्र हो’, मन्त्री पुनले भने, ‘यो लोकतन्त्र र परिवर्तनका लागि भएका सबै आन्दोलनमा सहभागी हुनेहरुको साझा घर हो ।’

सात राजनीतिक दल र तत्कालीन माओवादीबीच १२ बुँदे सहमतिमा हस्ताक्षर हुनुअघि भएको चर्चित रोल्पा वार्ताका लागि आएका तत्कालीन एमाले नेताहरु बामदेव गौतम र युवराज ज्ञवालीलाई सोही घरबाट गएर प्रचण्डले भेटेको पनि उनले स्मरण गरे ।

प्रचण्डले त्यतिबेला प्रयोग गरेका खाट, खाना पकाउने र खाने भाँडा, कपडा, त्यहाँ बसेर लेखिएका दस्ताबेज सबै युद्ध पर्यटन केन्द्रमा सर्वसाधारणका लागि प्रदर्शनीमा राखिने जानकारी मन्त्री पुनले दिए ।

उनले भारतमा अंग्रेजविरुद्धको आन्दोलन तथा चीनमा माओत्सेतुङ नेतृत्वमा भएको जनयुद्धका चिनारीस्वरुप कतिपय स्थानहरुलाई अझैसम्म सुरक्षित राखिएको तर्क गर्दै ती स्थान पर्यटकीय केन्द्र भएको हुँदा प्रचण्डले जनयुद्धको नेतृत्व गरेको घर र सो क्षेत्रलाई पनि पर्यटकीय क्षेत्र बनाउन उद्देश्य राखिएको बताए ।

‘इतिहासको अध्ययन गर्नेहरुका लागि यो एउटा राम्रो ठाउँ हुनेछ’ मन्त्री पुनले भने । उनले संघ, प्रदेश र स्थानीय सरकार मिलेर उक्त स्थानको संरक्षण तथा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

०७१ सालमा संविधान बन्ने कि नबन्ने अन्योलबीच प्रचण्डले रोल्पा जाने इच्छा देखाएको स्मरण गर्दै उनले आफूसहित प्रचण्ड, उपराष्ट्रपति नन्दबहादुर पुन, तत्कालीन माओवादी सेनाका डेपुटी कमाण्डर चन्द्रप्रकाश खनाल, धनबहादुर मास्की सोही घरमा आएर एक रात बिताएको कुरा समेत सुनाएका थिए । उक्त घरमा एक रात विताएको विषयमा काठमाडौंमा हल्लाखल्ला मच्चिएको समेत उनले स्मरण गरे ।

 

तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले टेलिफोन गरेर धेरै दिन रोल्पा नबस्न र काठमाण्डु आउन आग्रह गरेको प्रसंग पनि मन्त्री पुनले कोट्याएका थिए ।

‘प्रचण्डले जनयुद्धमा बसेको बंकरमा गएर सुत्न मन लागेको छ भन्नुभएको थियो’, पुनले भन्नुभयोे, ‘त्यसले ठूलै तरंग ल्यायो । उहाँ फर्केर काठमाण्डु गएपछि दलहरुबीच संविधानमा सहमति भयो । यो यो घर त्यस्तो शक्तिको श्रोत हो ।’
राङसीलाई एकपटक सबै आउनुपर्ने ठाउँका रुपमा विकास गरिने र त्यसबाट आसपास क्षेत्रका मानिरहरुले पनि लाभ लिनसक्ने उनको भनाइ थियो ।

युद्ध पर्यटन केन्द्रमा एक दिन मानिसहरु आएर बस्न सक्ने बनाउन नजिकैका घरहरुमा होमस्टे सञ्चालन गर्न मन्त्री पुनले सुझाव दिए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पूर्वसभामुख ओनसरी घर्तीले प्रचण्डले जनयुद्धको नेतृत्व गरेको घर इतिहासको साक्षी भएकाले त्यसको संरक्षण गर्न लागिएको बताइन् ।

‘यो ठाउँ कुनै बेला नन्दबहादुर पुन जन्मेको, जयपुरी घर्ती जन्मेको भनेर हेपिन्थ्यो, यहाँका मानिसलाई यातना दिइन्थ्यो’, उनले भनिन, ‘अब यहाँका मानिसले हिजो पाएका सबै दुःख बिर्सने गरी अवसरका रुपमा विकसित हुँदै छ ।’

नेकपा नेतृ एवं सांसद जयपुरी घर्तीले १५ वर्षअघिसम्म बम र बारुद पड्कने र ८१ एमएम मोर्टारबाट आक्रमणको शिकार व्यहोरेको ठाउँ युद्ध पर्यटन केन्द्रका रुपमा विकसित हुन लागेकोमा खुशी व्यक्त गरिन् ।

व्यक्तिका रुपमा नभई जनयुद्धका प्रतीकका रुपमा चिनाउन प्रचण्ड बसेको घर आसपासलाई समेटेर युद्ध पर्यटन केन्द्र घोषणा गरिएको उनको भनाइ थियो ।

कार्यक्रममा नेकपाका रोल्पा इन्चार्ज दीपेन्द्र पुनले मुस्लिमहरुको पवित्र तीर्थस्थल मक्कामदिना र हिन्दूहरुको पशुपति भनेजस्तै संसारभरका कम्युनिष्ट क्रान्तिकारीहरुका लागि एकपटक आउनैपर्ने घरका रुपमा उक्त क्षेत्रको विकास गरिने बताए ।

युद्ध पर्यटन विकास समितिका सचिव जितेन्द्र पुनले प्रचण्ड बसेको घरको मुनि रहेको ७० मिटर लामो सुरुङलाई आधुनिकीकरण गर्ने, नजिकैको डाँडालाई पिकनिक स्थलका रुपमा विकास गर्ने र घरको प्राङगणमा ढुंगा बिछ्याउने योजना रहेको जानकारी दिए ।
जीर्ण अवस्थाको घर लड्नबाट जोगाउन चारैतिर फलामले टेको दिएर जस्ताको छानो लगाइको छ ।

स्थानीय लालबहादुर घर्तीको घरमा ०६१ वैशाखदेखि २०६१ फागुन ३ गतेसम्म पत्नी सीता र छोरा प्रकाशसहित प्रचण्ड बसेका थिए ।
तत्कालीन शाही सेनाले आफू त्यहाँ बसेको सूचना पाएको जानकारी आएपछि प्रचण्ड ३ फागुन २०६१ मा त्यहाँबाट नजिकै अर्को गाउँमा सरेका थिए ।

प्रचण्ड त्यहाँबाट सरेको एक दिनपछि तत्कालीन शाही नेपाली सेनाले उक्त घरमा हवाई हमला गरेको गरेको थियो । घरका भित्तामा अहिले पनि गोलीले पारेका ठूल्ठूला प्वाल छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ४ : ५३ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका