‘आमा’ समीक्षा : मध्यमवर्गीय परिवारको जीवन्त चित्रण « Khabarhub
Logo
२६ असार २०७७, शुक्रबार

‘आमा’ समीक्षा : मध्यमवर्गीय परिवारको जीवन्त चित्रण



काठमाडौं – म्याक्सिम गोर्कीको उपन्यास ‘आमा’ विश्वविख्यात छ । आमामाथि लेखिएको यो उपन्यास उनका लोकप्रिय कृतिमध्ये एक मानिन्छ । आमामाथि विश्वभर कैयन् कृति लेखिएका छन् । थुप्रै चलचित्र र डकुमेन्ट्री बनेका छन् । आमा शब्द आफैमा प्रिय छ ।

यतिबेला निर्देशक दीपेन्द्र के खनालले ‘आमा’ चलचित्रमार्फत आमाप्रतिको आत्मीयता देखाउने प्रयास गरेका छन् । उनले यो चलचित्रमार्फत नेपाली समाजको मध्यमवर्गीय परिवारको सपाट चित्रण गरेका छन् ।

गाउँमा बस्ने यज्ञप्रसाद अर्याल (देशभक्त खनाल) आफ्नो छोरासँग त्यति खुशी छैनन् । बूढेशकालमा छोरासँगै नभएको पीडा बाबुआमा दुवैमा छ । बिहे गरेर गएकी छोरी आरती (सुरक्षा पन्त) काठमाडौंमा बस्दै आएकी छे । छोरो चोर बाटो हुँदै अमेरिका पुगेको छ । बुबाले कमाएको पैसा पनि छोरो अमेरिका जाँदा सकिन्छ । अमेरिका जाँदाको ऋण छोराले तिरेर भ्याइएको छैन ।

एक साँझ यज्ञप्रसाद भर्‍याङबाट लड्छन् । उनको टाउकोमा गम्भीर चोट लाग्छ । उपचारका लागि तुरुन्तै काठमाडौं पुर्‍याइन्छ । त्यसपछि शुरु हुन्छ चलचित्रको कथा । खुशीसाथ रमाइरहेको परिवारमा पैसाका कारण कस्तो समस्या आइपर्छ, त्यही नै चलचित्रको कथा हो ।

चलचित्रले अस्पतालमा हुने लूटतन्त्रको पाटो पनि उठाएको छ ।

चलचित्रमा गहन विषय त छ नै, बिरामी र कुरुवाले कसरी दुःख पाउँछन् भन्ने पनि देखाइएको छ । भोगेकालाई आफ्नै कथा चलचित्रमा देखाइएको अनुभूति हुन्छ ।

धेरै दृश्य अस्पताल परिसरमै खिचिएको चलचित्रका कैयन् दृश्य उही छन् । तर, कथाले बाँधिराख्छ । काठमाडौंमा सामान्य जागीर गरेर बस्ने परिवारको जीवन कति सकसपूर्ण र जोखिमपूर्ण छ भन्ने कथा उनिएको चलचित्र ‘आमा’ दीपेन्द्र के खनालका चलचित्रमध्ये अर्को एक प्रशंसनीय चलचित्र हो ।

चलचित्रमा शीर्ष भूमिका निभाएकी मिथिला शर्माको अभिनय जीवन्त लाग्छ । चलचित्र हेर्दा दर्शकलाई उनी आरती (सुरक्षा पन्त) की आमा मात्र नभएर सबैकी आमा हुन् भन्ने लाग्छ । उमेरले कमजोर बनाइसक्दा पनि उनी अस्पतालमा कुरुवा बस्नुपरेको छ । उनको दौडधूप र बिग्रेको घडी मिलाउने कष्टले उनी आमा मात्र होइनन्, एक इमान्दार पत्नी पनि हुन् भन्ने देखाउँछ । आमा हुनुभन्दा पहिले उनी कसैकी पत्नी बनिसकेकी हुन् भन्ने देखाइएको छ ।

मिथिलाले यो पात्रलाई आफ्नै भोगाइजस्तै गरी पर्दामा उतारेकी छिन् ।

चलचित्रमा सुरक्षा पन्तको अभिनय पनि उस्तै अब्बल छ । पात्रमा उनी यसरी डुबेकी छिन् कि, उनी साँच्चिकै अस्पतालको बेडमा लमतन्न भएका बुबाको पीडामा छट्पटाइरहेकी छिन् भन्ने लाग्छ । एकातिर भेन्टिलेटरमा उपचाररत बुबाको ख्याल गर्न नपाउँदाको पीडा छ, अर्कातिर आफै आमा बन्न नपाउँदाको पीडा पनि छ । यो भाव सुरक्षाले उतारेकी छिन् ।

केही चलचित्रमा गरेको कमजोर अभिनयपछि पुन: सुरक्षा आफ्नो लयमा फर्किएकी छिन् ।

आरतीको पतिको भूमिका निभाएका मनिष निरौलाको अभिनयले दर्शकको मन छुन्छ ।

यस्तै छोटो भूमिकामा देखिएकी सरिता गिरीको अभिनयले पनि मन जित्छ । आमा बन्ने सौभाग्य पाए पनि छोरालाई टाढैबाट टुलुटुलु हेर्नुपर्ने दृश्य र भागेर बिहे गर्ने आँट गर्दा पनि सबै भएर पनि कोही नभएको महसूस गर्नुपरेको परिवेशलाई उनले मर्मस्पर्शी ढंगले पर्दामा उतारेकी छिन् ।

चलचित्रमा धेरै कलाकार छैनन् । तर, हरेकले जीवन्त अभिनय गरेका छन् ।

दीपेन्द्र के खनालले आफैले लेखेको र छायांकन गरेको यो चलचित्रमा निर्देशकीय क्षमता झल्किएको छ । उनले स–साना कुरालाई पनि ख्याल गरेर चलचित्र खिचेका छन् । साथै उनले चलचित्रमार्फत जीवनप्रतिको बुझाइ पनि देखाउन खोजेका छन् ।

उनले घडीलाई बिम्बका रुपमा प्रयोग गरेका छन् । बिग्रेको घडी बनाउन हर प्रयास गर्ने विषयले जीवन र मरणको वर्णन गर्न खोजेका छन् । उनले संवादमार्फत जन्म र मृत्युबाहेक सबै कुरालाई एक भ्रमका रुपमा अर्थ्याएका छन् ।

छायांकनमा खनालको मिहिनेत उत्तिकै देखिन्छ । धेरैजसो दृश्यहरु इन्डोरमा खिचिएको छ । चलचित्रमा जे छ, त्यो स्वभाविक लाग्छ । यद्यपि अझै राम्रो बनाउने ठाउँ भने छन् ।

निर्देशकले दर्शकको मन जित्न चाहिनेभन्दा बढी दृश्य खिचेका छैनन् । तर, कथा अगाडि बढ्दै जाँदा दर्शक पनि त्यही कथाअनुसार अगाडि बढ्छन् । चलचित्रका संवाद स्वभाविक लाग्छन् ।

निर्देशकले मानवीय संवेदनालाई नजिकबाट केलाउने प्रयत्न गरेका छन् । चलचित्रले अस्पतालभित्रको लूटको कथा भने पनि यसले अन्तर्जातीय विवाह, वैदेशिक रोजगारीका कारण रित्तिएका गाउँहरु र नेपाली समाजका समस्यालाई पनि कोट्याएको छ ।

चलचित्रमा छोरा अस्ट्रेलिया भएर नातिसँगै बस्दै आएकी एक हजुरआमाले बुहारीलाई गर्ने व्यवहार र अन्तिममा तिनै हजुरआमाले सुनको थैली बुहारीलाई दिएको दृश्य कारुणिक छ । उनका माध्यमबाट आमाहरू कसरी बूढेशकालमा एक्लै हुनुपरेको छ भन्ने देखाइएको छ ।

त्यसो त चलचित्रमा कमजोरी हुँदै नभएका होइनन् । ‘आमा’ हेरिरहँदा यसमा अझै स्तरीय बनाउन सकिन्थ्यो भन्ने धेरै ठाउँमा लाग्छ । निर्देशक खनालले कथालाई अस्पताल र एउटा फ्ल्याटमा मात्र सीमित बनाएका छन् । चलचित्रको पार्श्वध्वनि झुर नभए पनि दर्शकलाई पूर्ण तरंगित गराउन नसकेको महसूस हुन्छ ।

छोराको भूमिकामा कसले अभिनय गरेको छ भन्ने निर्देशकले अन्तिममा खुलाएको भए चलचित्र अझ रोचक हुने थियो । अमेरिकामा छोरो त छ, तर कस्तो अवस्थामा छ भन्ने देखाइएको छैन ।

यस्तै चलचित्रमा संवादले नै कतिपय दृश्यलाई बुझाउन खोजिएको छ । भर्‍याङबाट लडेको दृश्य, गाउँ र गाउँका घरहरु चलचित्रमा ‘मिसिङ’ छन् । न त चलचित्रमा जोडिएका अन्य सहायक चरित्रको बारेमा प्रष्ट रुपमा देखाइएको छ ।

अस्पतालमा भेटिएका र बनेका आफन्तहरु अस्पतालसँगै सकिन्छन् । कथामा निर्देशकले थप मिहिनेत गर्ने प्रशस्त ठाउँ भने छन् ।

समग्रमा चलचित्रले नेपाली समाजका आमाहरुको कथा भनेको छ । ‘हिँडेर अमेरिका’ नामक चलचित्र बनाउन कस्सिएका निर्देशक खनालले त्यसैको सानो कथालाई लिएर ‘आमा’ बनाएका छन् ।

हुनसक्छ, निर्देशकले यो चलचित्रलाई प्रिक्वेलका रुपमा बनाएका किन नहोऊन् । जे होस्, निर्देशकले हिँडेर अमेरिका गएपछिको जटिल अवस्थालाई चलचित्रमा स्थान दिन भने छुटाएका छैनन् ।

डार्क कमेडी विधाले दर्शक पाइरहेका बेला डार्क साइडका कथा भनेर निर्देशक खनालले मध्यमवर्गीय परिवारको पीडा भन्ने आँट गरेका छन् । यो चलचित्र धेरै नेपालीको साझा समस्या हो । चलचित्रमा सामान्य कमजोरी छन् तर ती कमजोरीलाई दर्शकले भुलिदिन्छन् । किनकि, चलचित्रले हाम्रै मौलिक कथा भनिरहेको छ ।


भर्खर

0