अन्डरवर्ल्ड डन दाउदको नेपाल 'कनेक्सन' | Khabarhub Khabarhub

अन्डरवर्ल्ड डन दाउदको नेपाल ‘कनेक्सन’



काठमाडौं– केहिदिन अघि भारतीय सञ्चारमाध्यममा समाचार आयो, ‘अन्डरवर्ल्ड डन दाउद इब्राहिमले नेपालमा आफ्नो अड्डा नै बनाएर भारतमा नक्कली नोट पठाउने गरेका छन्।’

भारतीय अनलाइन जागरणमा प्रकाशन भएको समाचार अनुसार, मुम्बई प्रहरीको फन्दामा परेका कुनै समयका दाउदको ग्याङका सदस्य एजाज युसुफ लकडाले सोधपुछका क्रममा यस्तो बताएका हुन् ।

नेपालमा पाकिस्तानी दूतावासका प्रमुख अधिकारीको माध्यमबाट दाउदले धन्दा चलाइरहेको उल्लेख गर्दै समाचारमा भनिएको छ, ‘उनको कम्पनीले काठमाडौंमा करोडौंको लगानी गरेको र निकै ठूलो कारोबार सञ्चालन गरेको छ ।’

यतिमात्र होइन, कयौं कन्स्ट्रक्सन र अन्य कम्पनीमा पनि दाउदले लगानी गरेको र यसमा नेपालका कयौं नेताहरुको पनि सेयर रहेको खुलासा गरिएको छ ।

नेपालमा दाउदको अड्डा छ त ?

नेपाल प्रहरीका प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्री नेपालमा अन्डरवर्ल्डको अड्डा रहेको कुरा पत्याउँदैनन् । उनी भन्छन्–‘हामी त्यस्ता सूचनालाई सत्य वा आधार मान्दैनौ। काठमाडौं सुरक्षित छ । र काठमाडौंमा कुनै पनि आतंककारी संगठनको गतिविधि छैन । यस्तो हुन नदिन नेपाल प्रहरी सक्षम छ ।’

यदी दाबी गरेपनि नेपाली भूमिमा अन्डरवर्ल्ड समूमहबाट हुनसक्ने आपराधिक घटनाका विषय भने नकार्न नसकिने उनी बताउँछन् ।

थापा भन्छन्, ‘अन्तर्राष्ट्रिय अपराध सीमा भित्र वा बाहिर हुन्छ भन्ने छैन । यस्तो अवस्थामा कुनै पनि अन्तर्राष्ट्रिय गिरोह काठमाडौंमा भएपनि उ कानूनी दायरामा आउँछ । र ल्याएको पनि छ । भारतसँगको खुल्ला सिमानाका कारण अन्तर्राष्ट्रिय इन्फ्लुयन्सका घटना फाट्ट फुट्ट भएका छन् । अनि त्यसको अनुसन्धान पनि गरिएको छ । जो सीमित मात्रामा छन् ।’

नेपाल प्रहरीको विशेष ब्यूरोको कमान्डसमेत सम्हालिसकेका पूर्वडीआईजी हेमन्त मल्ल भने नेपालमा अन्डरवर्ल्डको अड्डा या आश्रयस्थत हुन सक्ने सम्भाना रहेको बताउँछन् । उनी भन्छन् – अहिलेसम्मको अनुसन्धानमा त त्यस्तो केहि देखिएको छैन । तर, भविष्यमा त्यस्तो नहोला भन्न चाहिं सकिन्न ।’

मुम्बइ आक्रमण पछि अन्डरवर्ल्ड समूह नेपाल आएर फिजाएको जालो विस्तारै झाँगिदै गयो । उनीहरुले विभिन्न क्षेत्रका नेपालीसँग सम्पर्क बढाएर सहयोग लिँदै आफ्ना गतिविधि बढाएको देखिन्छ । तिनै गतिविधसँगै उनीहरु आपराधिक क्रियाकलापमा पनि सक्रिय हुन थालेका छन् ।

नेपालमा जुन किसिमले विदेशी मुद्रा आउने र खपत हुने गर्छ, यसले अन्डरवर्ल्डको गतिविधि बढाउने सम्भावना रहेको देख्छन् मल्ल ।

नेपाल प्रहरीका पूर्वडीआईजी केशव अधिकारी अन्डरवर्ल्ड समूले नेपाललाई अपराध गर्ने भूमि नभई अरु देशमा अपराध घटनाउने योजना बनाउन सक्ने सम्भावनाको क्षेत्र रहेको बताउँछन् ।

‘नेपाल उनीहरुको स्वार्थ पुरा गर्ने भूमि त होइन । तर अरु देशमा अपराध घटनाउने योजना बनाउने भूमि भने हुनसक्छ । नेपाल मै घटना घटाउनु चाँही उनीहरुकै लागि अहित छ,’ अधिकारीले भने, ‘अन्य देशलाई लक्षित गरी बनाइएका योजना नेपाली भूमिमा हुन सक्ने सम्भावना धेरै छ । जस्तो भारतको प्लेन हाइज्यकमा उनीहरु १०/११ महिना अलग–अलग देश योजना बनाइएको पाइयो । अन्त्यमा उनीहरुले नेपालको प्रयोग गरे ।’

नेपालमा दाउदको कनेसक्सन

दाउद इब्राहिम सन् १९९३ मा मुम्बईमा भएको शृंखलाबद्ध बम विष्फोटनका योजनाकार ‘डी कम्पनी’ का मुख्य नाइके हुन् ।

जब मुम्बईमा बम विष्फोट भयो तब उनका समूह त्यहाँबाट भाग्न थाले । प्रहरी अनुसन्धान अधिकारीहरुका अनुसार त्यही मुम्बई बम विष्फोटपछि अन्डरवर्ल्डका सदस्यले आश्रयस्थलका रुपमा नेपाली भूमिको प्रयोग गर्न थालेका छन् ।

नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै उनीहरु भारतीय सुरक्षा निकायलाई छल्न नेपाल तर्फ छिरेका थिए । उनीहरु नेपाल आएपछि कतिपयले नेपालमै लुकेर यहाँका केही व्यक्तिहरुलाई साथमा लिएर आफ्नो धन्दा चलाउन थाले भने कतिले नेपालका आपराधिक समूहको सहयोगमा नक्कली राहदानी बनाएर क्वालालम्पुर, सिंगापुर र दुबई लगायत देश पुगे ।

यसरी मुम्बइ आक्रमण पछि अन्डरवर्ल्ड समूह नेपाल आएर फिजाएको जालो विस्तारै झाँगिदै गयो । उनीहरुले विभिन्न क्षेत्रका नेपालीसँग सम्पर्क बढाएर सहयोग लिँदै आफ्ना गतिविधि बढाएको देखिन्छ । तिनै गतिविधसँगै उनीहरु आपराधिक क्रियाकलापमा पनि सक्रिय हुन थालेका छन् ।

यति सम्मकी नेपालमा हुने ठूला अपराधिक घटनाहरु जस्तै हत्या, हवाई अपहरण, ड्रग्स, सुन तस्करी, भारतीय नक्कली नोटको कारोबार, क्यासिनो, हुण्डी, सट्टेबाजी लगायतको कारोबारमा समेत दाउद समूहको कनेक्सन देखिन थालेको प्रहरी अनुसन्धान अधिकारीहरुको बुझाई छ ।

कैदको सजाय भोगिरहेका अन्डरवर्ल्ड डन बब्लु श्रीवास्तवले आफ्नो पुस्तकमा समेत नेपालसँग दाउदको डी कम्पनी तथा भारतीय अन्डरवर्ल्डको कनेक्सनका बारेमा उल्लेख गरेका छन् ।

दाउदको डी कम्पनीले कालो धनलाई सेतो पार्न नेपालजस्ता देशहरु रोज्ने गरेको खबरहरु सार्वजनिक हुने गर्छन् । यसबाहेक ठूलो मात्रामा हुने गरेको सुन तस्करीमासमेत बेला–बेलामा दाउदको नाम जोडिएर आउने गरेको छ ।

उनले लेखेका छन्–‘सन् १९८९ मा पुलिसबाट जोगिन दिल्लीमा चन्द्रस्वामी कहाँ गएँ । केही दिनमै उनीसँग कुरा ब्रिगियो । त्यसपछि नेपाल गएर केही समय बसे। अनि सन् १९९२ मा दुबई पुगे । दुबईमा पुगेपछि मिर्जा दिलसाद बेगले मेरो भेटघाट दाउद इब्राहिमसँग गराए ।’

नेपाल प्रहरीका पूर्वडीआईजी मल्ल पनि अन्डरवर्ल्डका विषयमा फाट्ट फुट्ट मिडियाहरुमा चर्चा हुने गरेको बताउँछन् । उनी भन्छन् –‘दाउद लगायत अन्डरवर्ल्डको नेपाल कनेक्सनका विषयमा चर्चा हुन्छ । पहिले भएका केही घटनामा पनि अन्डरवर्ल्डको संलग्नता रहेको कुरालाई पूर्णत अस्वीकार गर्न सकिँदैन ।’

यही घटनालाई लामो समयदेखि अनुसन्धान गरिरहेका अधिकारीहरुले पनि अहिले भारतीय अन्डरवर्ल्डका सदस्यले सिंगापुर, मलेसिया र दुबईसँगै नेपाललाई निशानामा बनाइरहेको बताएका छन् ।

यस्ता छन् अन्डरवर्ल्डसँग जोडिएका घटना

वि.सं. २०५५ असार १५ गते काठमाडौंको सिफलमा तत्कालीन राप्रपाका सांसद तथा पूर्वमन्त्री मिर्जा दिलसाद बेग मारिए । प्रहरीले घटनाको अनुसन्धान गर्दै जाँदा उनको हत्याको कारण अन्डरवर्ल्ड किङ दाउद इब्राहिमको गिरोह सँगको कनेक्सन मानिएको थियो ।

अन्डरवर्ल्ड डन दाउद इब्राहिमसँगको कनेक्सनका कारण भएको भनिएको मिर्जा हत्याको दुई दशक बढी समय बितिसकेको छ । यो बीचमा त्यस्तै प्रकृतिका आधा दर्जन भन्दा बढी घटना भईसकेका छन् ।

यस्ता छन् घटना श्रृङ्खला

– २०५५ असार १५ गते, काठमाडौंको सिफलमा मिर्जा दिलसाद बेगको हत्या
– २०६३ भदौ २४ गते, काठमाडौंको नयाँ बानेश्वरमा कमलसिंह नेपालीको हत्या
– २०६४ असोज १९ गते, नेपालगन्जमा अब्दुल मजीत मनिहारको हत्या
– २०६६ पुस १० गते रुपन्देहीमा सौकत अलि बेगको हत्या
– २०६६ माघ २४ गते, काठमाडौंको लाजिम्पाटमा सञ्चार उद्यमी जमिम साहको हत्या
– २०६७ फागुन २६ गते, काठमाडौंको केन्द्रीय कारागारमा युनुस अन्सारीमाथि गोली प्रहार
– २०६८ असोज ९ गते, काठमाडौंको घण्टाघरमा नेपाल इस्लामिक संघका महासचिव फैजन अहमदको हत्या
– २०७० असोज १८ गते बारामा एमाले नेता मोहम्मद आलमको हत्या

प्रहरीले गरिरहेको अनुसन्धान अनुसार श्रृङखलाबद्ध दोहोरिएका यी घटनामा कतै न कतै अन्डरवर्ल्ड कनेसक्न देखिएको छ ।

जानकारहरुले पनि दाउदको डी कम्पनीले कालो धनलाई सेतो पार्न नेपालजस्ता देशहरु रोज्ने गरेको बताउँदै आएका छन् ।

यसबाहेक ठूलो मात्रामा हुने गरेको सुन तस्करीमासमेत बेला–बेलामा दाउदको नाम जोडिएर आउने गरेको छ । यसबाहेक नेपालका केही व्यवसायीलाई पनि दाउदसँग जोडेर भारतीय सञ्चार माध्यममा समाचारहरु आउने गरेका छन् । यद्यपि यो विषयमा ठोस प्रमाण भने भेट्न सकिएको छैन् ।

यता २०७५ असार ९ गते, काठमाडौंको पानीपोखरीबाट नथमल अग्रवाल ‘नागराज’ पक्राउ परेका थिए । इन्डियन प्रिमियर लिग (आईपीएल)को सट्टेबाजीमा २ करोड ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा उनलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो ।

कतिपयले उनको अन्डरवर्ल्डका नाइके दाउद इब्राहिमसम्मको कनेक्सनलाई लिएर चर्चा गरेका थिए । तर उनको दाउद कनेक्सन प्रहरी अनुसन्धानबाट पुष्टि भएको छैन । यस्ता विषयमा गम्भिर अनुसन्धान हुनुपर्ने सुरक्षा मामिला जानकारहरु बताउँछन् ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी क्षेत्री यस्ता आपराधिक गतिविधी नियन्त्रणका लागि त्यस्ता समूहमाथि निगरानी बढाउने, खुला नाकामा कडाई गर्ने र संलग्नता हुन सक्ने क्षेत्र वा प्वाइन्टमा थप सर्तकता बढाउनु पर्ने बताउँछन् ।

पूर्वडीआइजी मल्ल भने संगठित अपराधमा काम गर्ने नेपालका सुरक्षा संगठन थप मजबुत र राम्रो काम गर्न योग्य बनाउनु पर्ने तर्क गर्छन् ।

उनी भन्छन् – ‘सरकारले त्यस्ता अपराध नियन्त्रणका लागि लगानी बढाउनु पर्छ । प्रविधि थप्नु पर्छ । हुनत यो एउटा मात्र निकायले गरेर भने सम्भव छैन । इन्टर एजेन्सि कोअर्डिनेशन हुनुपर्छ । किनकी यो अपराध एक देशमा मात्र बसेर गरिने होइन । १० वटा देशमा बसेर हुनसक्छ । तसर्थ अन्र्तरदेशीय सुरक्षा सम्बन्ध बनाउनु पर्छ ।’

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  १० : ०१ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका