विस्तारै हुँदै चक्रपथ दोस्रो खण्ड : ९७ प्रतिशत निर्माणस्थल खाली गरियो | Khabarhub Khabarhub

विस्तारै हुँदै चक्रपथ दोस्रो खण्ड : ९७ प्रतिशत निर्माणस्थल खाली गरियो


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चक्रपथको दोस्रो खण्ड कलङ्की– धोबीखोला (गोपीकृष्ण हल नजीकसम्मको सडक) विस्तारका लागि निर्माणस्थल खाली गर्ने काम ९७ प्रतिशत सकिएको छ ।

चीन सरकारले निर्माण शुरु गर्नु पहिले निर्माणस्थल खाली गरिसक्ने गरी सडकको अधिकार क्षेत्रमा रहेका संरचना हटाउने काम भइरहेको छ ।

सो सडकखण्डमा रहेका १९ घर हटाउने काम सबैभन्दा कठिन रहेको छ । तीमध्ये अहिलेसम्म आठ घरका घरधनी सम्पर्कमा आएको काठमाडौँ चक्रपथ सडक योजनाका प्रमुख अर्जुन सुवालले बताए । सुवालका अनुसार ती घरको मुआब्जा निर्धारणका लागि बनेको उपसमिति दशैँ पहिले काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको नेतृत्वमा रहेको मुआब्जा निर्धारण समितिसँग बैठकमा बसेको थियो ।

तिहार पहिले प्रजिअ दाहाललाई कोभिड सङ्क्रमण देखिएकाले केही समयसम्म बैठक बस्न नसकिएको उनले बताए । उनले भने, “छिट्टै बैठकमार्फत मुआब्जाको विषय टुङ्ग्याएर अघि बढ्नेछौँ ।”

अहिले वडा कार्यालयबाट ती घरको विवरण मागिएकाले त्यसैका आधारमा मूल्याङ्कन गरेर काम अघि बढ्ने जनाइएको छ । नेपाल विद्युत् प्राधिकरणले हाइटेन्सन पोललाई मोनो पोल बनाएर हटाउन लागेको पनि सुवालले जानकारी दिए । सानो भर्‍याङ र कारखाना चोकमा बालाजुतर्फ जाने विद्युत्का लागि मोनो पोल बनाउन लागिएको हो ।

उनले भने, “प्राधिकरणले ठेक्का निकाल्न लागेको छ, दुई महिनामा सकाउने तयारी छ ।”

काठमाडौँ महानगरपालिकाले स्वयम्भू नजीकै रहेको चैत्य स्थानान्तरणका लागि प्रक्रिया अघि बढाएको छ । कामपाले ठेक्का अघि बढाएकाले केही समयमा सडकको अधिकार क्षेत्र खाली हुने उनको भनाइ छ । आयोजनाले यसअघि नै सडकमा रहेका रुख काट्न र बिजुलीका खम्बा हटाउने काम गरिसकेको छ । खम्बा सारेर पनि तार तान्न बाँकी रहेकाले अब चाँडै अघि बढाइने उनले बताए ।

दुई महिना पहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सो सडकमा बाँकी संरचना हटाउनका लागि समन्वय गर्न विभिन्न निकायका प्रतिनिधिसँग बैठक गरेर जिम्मेवारी बाँडफाँट गरिएको थियो । चक्रपथको पहिलो खण्ड (कोटेश्वर–कलङ्की सडक) मा निर्माणका क्रममा विभिन्न अवरोध आएकाले चिनियाँ पक्षले निर्माणस्थल खाली भएपछि मात्रै काम शुरु गर्ने बताएको छ ।

कोटेश्वर–कलङ्की सडक निर्माण गरिएसँगै चीन सरकारले चक्रपथको दोस्रो खण्डका रुपमा कलङ्की–महाराजगञ्ज सडक विस्तारमा चासो देखाएको थियो । गोरखा भूकम्प पहिले नै कोटेश्वर–कलङ्की सडक विस्तारको काम शुरु भए पनि भूकम्प र त्यसपछि नाकाबन्दीका कारण समयमै निर्माण सम्पन्न हुन सकेको थिएन ।

सडकमा रहेका खानेपानीका पाइप, ढल, बिजुलीका खम्बा र रुख समयमै हटाउन नसकिएकाले पनि काममा बाधा पुगेको थियो । त्यतिबेला निम्तेका समस्या पहिले सल्टाएर मात्रै काम शुरु गर्न चिनियाँ टोलीले चाहेको छ ।

चक्रपथ दोस्रो खण्डमा दुई ‘अण्डर पास’, प्रत्येक किलोमिटरमा आकाशे पुल र मुख्य लेनका बीचमा डिभाइडर हुने गरी सडक विभागले प्रस्ताव गरेको छ । झण्डै आठ किलोमिटर लम्बाइको सडक विस्तारका लागि सरकारले सकेसम्म चाँडो निर्माणस्थल खाली गरेर हस्तान्तरण गर्ने गरी तयारी गरिरहेको छ । पहिलो चरणको विस्तारमा रहेको कमजोरी हुन नदिने गरी डिजाइन गरिएको विभागले जनाएको छ ।

आठ लेनको सडकमा कोटेश्वर–कलङ्की सडकमा जस्तै मुख्य चार र सहायक चार गरेर जम्मा आठ लेन नै रहने बताइएको छ । पहिलो चरणमा मुख्य सडकमा दायाँबायाँ सडक चिह्नले मात्रै छुट्याइएकामा अब डिभाइडर राखिने भएको छ ।

बालाजु चोकमा ‘ओभर पास’ र महाराजगञ्ज चोकमा ‘अण्डर पास’ निर्माण गरिने भएको छ । आठ लेनको सडकमा चार लेन अण्डरपास र चार लेन माथिल्लो सडकमा हुनेछ । सो सडकमा पैदलयात्रुलाई सडक पार गर्न प्रत्येक किमीमा एउटा आकाशे पुल निर्माण हुने भएको छ । सो सडकखण्डमा नौ आकाशे पुल निर्माण हुने गरी डिजाइन भएको छ । रासस

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ३ : ३० बजे

डढेलोमा परी घाइते भएकी एक महिलाको मृत्यु

डोटी– वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु

दिक्तेल-चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा

खोटाङ– मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीनवटा खोलामा निर्माणाधीन ‘मोटरेबल’

सभामुख घिमिरे आज स्वदेश फर्किँदै 

काठमाडौं– जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम