१ वर्ष भित्रै तेस्रो आम निर्वाचनको तयारीमा इजरायल, मतदाता भने निराश | Khabarhub Khabarhub

१ वर्ष भित्रै तेस्रो आम निर्वाचनको तयारीमा इजरायल, मतदाता भने निराश


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेरूसेलम– इजरायलमा मुख्य दलहरुबीच सहमतिमा सरकार गठन हुन नसकेपछि एक बर्षभित्रै तेस्रो आमनिर्वाचनको तयारी भइरहेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि भ्रष्टाचारको एक फौजदारी अभियोग लागे पनि आगामी चुनावी प्रतिस्पर्धा निकै रोचक हुने सङ्केत गरेको छ ।

गत वर्ष अप्रिल र सेप्टेम्बरमा सम्पन्न दुईवटा चुनावमा दक्षिणपन्थी प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका मुख्य प्रतिद्वन्द्वी ब्लू एन्ड ह्वाइट पार्टीका अध्यक्ष बेन्नी गान्जले स्पष्ट बहुमत ल्याउन सकेका थिएनन् । उनीहरु दुबैले सरकार गठनका लागि साना दलसँग पनि समझदारी निर्माण गर्न नसक्दा तेस्रो चुनाव गर्नुपर्ने स्थिति उत्पन्न भएको हो ।

पटकपटकको चुनावबाट थकित भइसकेका इजरायलीहरूले आगामी मार्च २ मा हुन लागेको आमचुनावमा पनि त्यति उत्साह देखाएका छैनन् । राजनीतिक सहमति नभए वर्षान्तमा चौथो चुनाव हुने अड्कलबाजी गर्न थालिएको छ ।

तर अघिल्लो चुनावभन्दा यसपटक भिन्न अवस्था देखा पर्दैछ । इजरायलका सर्वाधिक लामो अवधिसम्म प्रधानमन्त्री रहनु भएका नेतान्याहुमाथि पदमै रहँदा भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरिएको छ ।

गत नोभेम्बरमा उनीमाथिका प्रमाणहरु सार्वजनिक गरिएको थियो भने गत महिना अदालतमा मुद्दा दायर गरिएको छ । उक्त मुद्दामा उहाँमाथि घूसखोरी, धोखाधडी र विश्वास भङ्ग गरेको आरोप लगाइएको छ ।

प्रधानमन्त्री नेतान्याहुले आफूविरुद्ध लगाइएका आरोपहरु झुठा रहेको भन्दै निरन्तर अस्वीकार गरिरहेका छन् । उनीमाथि लागेको सबैभन्दा गम्भीर आरोप टेलिकम क्षेत्रको रहेको छ ।  नेतान्याहुमाथिको मुद्दाको सुनुवाई आगामी मार्च १७ तारिखबाट शुरु हुँदैछ ।

ट्रम्पको सहयोग

पछिल्लो चुनावदेखि नै नेतान्याहुलाई सहज हुने गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दशकौं लामो इजरायल–प्यालेस्टाइन द्वन्द्व अन्त्य गर्ने आफ्नो विवादास्पद योजना सार्वजनिक गरेका छन् । तर प्यालेस्टानीहरुले इजरायली उद्देश्यहरूको पक्षपोषण गरेको भन्दै ट्रम्पको योजनालाई अस्वीकार गरिसकेका छन् ।

गत महिना यो पहलको घोषणा गर्नुअघि ह्वाइट हाउसमा ट्रम्पको छेउमै उभिएका नेतान्याहुले यसलाई यहूदी राज्यको लागि ‘ऐतिहासिक’ अवसर भन्दै स्वागत गरेका थिए ।

उनले यस सम्झौतालाई ट्रम्पसँगको आफ्नो व्यक्तिगत घनिष्ट सम्बन्धको परिणामको रूपमा चित्रित गरेका थिए । अमेरिकी योजनाको कार्यान्वयन आफू पुनः प्रधानमन्त्री चयन भएमा मात्र कार्यान्वयन गर्न सकिने नेतान्याहुको धारणा छ ।

तर नेतान्याहुमाथिको फौजदारी अभियोग वा इजरायल समर्थक ट्रम्पको पहलले चुनावलाई प्रभाव पार्न सकेको छैन ।

पछिल्ला चुनावी मतसर्वेक्षणले नेतान्याहूको लिकुड पार्टी र ब्लू एन्ड ह्वाइट पार्टी दुबैले संसदमा बहुमत जुटाउन नसक्ने देखाएका छन् । इजरायली संसद नेसेटमा बहुमत प्राप्त गर्न ६१ सिट आवश्यक पर्दछ ।

जेरुसेलमस्थित हिब्रु विश्वविद्यालयमा राजनीतिशास्त्रका प्राध्यापक गिदोन राहातले प्रधानमन्त्री नेतान्याहुका लागि चुनावमा यथास्थितिको अवस्था निकै खुशीको समाचार हुन सक्ने बताए । राहातले भने, ‘नेतान्याहुले मतदातालाई आकर्षित गर्न चाहनु भएको छैन, तर आफ्ना मतसंख्या नघटोस् भन्नेमा मात्र उहाँको ध्यान छ ।’

इजरायलका पूर्व सैन्य प्रमुख गान्जले कानुनी झमेलाका कारण नेतान्याहुले मुलुकलाई राम्रोसँग सम्हाल्न नसक्ने बताए । ‘नेतान्याहुलाई अदालतमा उपस्थित हुनु पर्नेछ । उहाँ इजरायली नागरिकको आवश्यकताको हेरविचार गर्न अक्षम हुनु हुनेछ,’ गान्जले यसै साता एक कार्यक्रममा भनेका थिए ।

यसैबीच, इजरायली सरकारी वकीलहरूले गान्जको अध्यक्षतामा रहेको एक साइबर सुरक्षा फर्मले गलत ढङ्गबाट सरकारी कोष प्राप्त गरे नगरेको बारे अनुसन्धान गरिरहेको छ । तर महान्यायाधिवक्ताले गान्जमाथि व्यक्तिगत रुपमा अनुसन्धान नगरिएको जनाएका छन् ।

अन्तिम क्षणका आरोप प्रत्यारोप

नेतान्याहुले विगतका चुनावी नाराझैं अन्तिम समयमा आफूलाई महान राष्ट्रवादी, दक्षिणपन्थी समर्थकका रुपमा उभ्याउने सङ्केत फेरि पनि देखिइ सकेको छ ।

शुक्रबार जेरूसेलम पोस्टसँगको अन्तर्वार्तामा उनले गान्जले मुख्य रूपमा अरब ज्वाइन्ट लिस्ट र यसका नेता अहमद टिबीको समर्थन बेगर सरकार गठन गर्न नसक्ने चेतावनी दिए ।  गत चुनावमा नाटकीय रुपमा अरब ज्वाइन्ट लिस्टले १३ स्थानमा विजयी भएर संसदको तेस्रो ठूलो दल बनेको थियो ।

‘लिकुडले नजितेको अवस्थामा या त चौथो पटक आमचुनाव हुनेछ वा गान्जको नेतृत्वमा वामपन्थी सरकार बन्नेछ जसमा अहमद टिबी र अरब ज्वाइन्ट लिस्टमा परनिर्भर हुनु पर्नेछ,’ नेतान्याहुले भने ।

प्रधानमन्त्री नेतान्याहुले यसै हप्ता पनि हजारौं नयाँ यहुदीका लागि आवास बनाउने घोषणा गरेका छन् । यो आवास योजना अन्तर्राष्ट्रिय समुदायले अवैध मान्ने गरेको पूर्वी जेरुसेलममा सञ्चालन हुनेछ ।

प्यालेस्टानी नेताहरूले चुनावमा प्रभाव पार्न नेतान्याहुको यो चाल हो भन्दै भर्त्सना गरेका छन् । दुबै मुख्य दलहरु चुनावमा कम मतदान नहोस् भन्ने पक्षमा छन् ।

‘संसारको अन्त जहाँसुकै होस् एकै वर्ष छिटोछिटो तीनवटा चुनाव हुँदा मतदातामा नैराश्यता छाउनु स्वाभाविक हो,’ राहातले भने । तर अप्रिलको तुलनामा सेप्टेम्बरमा मतदान केही बढेको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ३ : ३६ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द