गणतन्त्रले राजाको मानपदवी खोसेपनि जनताको माया घटेको छैन्– मुस्ताङ्गी राजाका उत्तराधिकारी विष्ट (अन्तर्वार्ता) | Khabarhub Khabarhub

गणतन्त्रले राजाको मानपदवी खोसेपनि जनताको माया घटेको छैन्– मुस्ताङ्गी राजाका उत्तराधिकारी विष्ट (अन्तर्वार्ता)



काठमाडौं– मुस्ताङ हिमालपारीको जिल्लाका रुपमा चिनिन्छ । सन् १४४० मा तिव्वतको केन्द्रीय राज्यसँग विद्रोह गरी लो राज्यका रुपमा स्थापना भएको राज्यको राजधानीका रुपमा रहेको मन्थाङ अहिले लोमान्थाङका रुपमा परिचित छ । जसको पहिलो राजा थिए अभिपाल ।

लो राज्यलाई चारैतिरबाट पर्खाल लगाएर घेर्ने काम पनि राज्य स्थापनाकै वर्ष भएको थियो । तर अहिले ती सबै संरचना संरक्षणको पर्खाइमा छन् । १४ औं शताब्दीमा पहिलो मुस्ताङी राजा अभिपालले निर्माण गरेका चराङ, झप्पाम्पा, थुप्चेन लोमान्थाङ, निफुक लगायत गुम्बाको पुनर्निर्माणका लागि मुस्ताङका पछिल्ला राजा पलबरको आग्रहमा हिमालयन फाउन्डेसन अमेरिकाको सहयोगमा सन् १९९२ मा भएको थियो । विदेशीहरुका लागि मुस्ताङ भ्रमण गर्नका लागि पनि सन् १९९२ मै खुला गरिएको थियो ।

कुनै समयमा जुम्लाको करद राज्य बन्न पुगेको लो राज्य नेपाल एकीकरणका बेला बहादुर शाहले जुम्लामाथि कब्जा गरेपछि लो राज्य पनि नेपालमा गाभिएको इतिहास छ । पछि २०१९ सालमा तत्कालिन राजा महेन्द्रले देशका विभिन्न स्थानमा रहेका राजारजौटा अन्त्य गर्ने घोषणा गरेपनि सल्यान, बझाङ, जाजरकोट र मुस्ताङमा मानार्थ राजा कायम गरेका थिए ।

तर नेपालमा गणतन्त्रको घोषणा भएपछि मुस्ताङी राजाको समेत मानवदवी खोसियो । १२ औं सताब्दीमा स्थापना भइ करिब तीन सय वर्ष खस राज्यको एउटा भूभागका रुपमा रहेको अहिलेको मुस्ताङका सबैभन्दा पछिल्ला राजा जिग्मे पलवर विष्टको तीन वर्ष अघि ८६ वर्षको उमेरमा निधन भएको थियो ।

नेपालको हिमाली क्षेत्रका रुपमा रहेको र उत्तरी छिमेकी चीनसँग सीमा जोडिएको मुस्ताङको समग्र पछिल्लो विकास र मुस्ताङी राजाको सन्तानहरुका विषयमा आज हामीले मुस्ताङका पछिल्ला राजा जिग्मे पलवर विष्टका उत्तराधिकारी जिग्मे सिङ्गी पलवर विष्टसँग संवाद गरेका छौं । प्रस्तुत छ, विष्टसँग गरिएको कुराकानीको सम्पादित अंशः

मुस्ताङ हिमालपारीको जिल्ला । तपाईंका पुर्खाहरु त त्यहाँका राजा हुनुहुन्थ्यो । अहिले व्यवस्था परिवर्तन भएको छ । यसलाई कसरी लिनुभएको छ ?

मैले खासै केही महशुश गरेको छैन । नयाँ सरकार बनेपछि हाम्रो पुर्खाको टाइटल हटाएको मात्रै हो । त्यहाँको सांस्कृतिक हिसाबले अहिले पनि हामीले माया पाउँछौं ।

मेरो आमा र स्वर्गीय बुबाका कारण अहिले पनि मैले माया पाइरहेकै छु । खासै त्यस्तो अफ्ठ्यारो केही छैन ।

मुस्ताङको विकास अलि पछाडि परेको देखिन्छ । यद्यपी मुस्ताङ आफैमा ऐतिहासिक महत्वको स्थान । त्यहाँको विकासका लागि तपाईंको भूमिका के छ ?

अहिले मेरो स्वर्गीय वुवाले मुस्ताङमा रहेका गुम्बाहरु, पर्खालहरुको संरक्षण र सम्वद्र्धनका लागि ठुलो योगदान दिनुभएको थियो ।

सन् १९८२ मा जब मुस्ताङमा घुम्न जानेहरुका लागि खुला गरियो । त्यसबेला मेरो बुबाको अमेरिकन हिमालयन फाउण्डेसनका संस्थापक अध्यक्ष समेत रहेको रिचार्ड ब्लमसँग भेट भएको थियो ।

मेरो बुबाले उनीसँग त्यहाँको गुम्बा निर्माणका लागि सहयोग गर्न भन्नुभएपछि उनीहरुले त्यहाँ रहेका गुम्बा, चैत्य निर्माणमा सहयोग गरे ।

मुस्ताङी जनताका स्वास्थ्य, शिक्षा लगाएतका क्षेत्रका लागि उनीहरुले सहयोग गरे । अहिले मैले त्यसलाई निरन्तरता दिन गैरनाफामुलक संस्था समेत मेरो बुबाको नाममा लो ग्याल्पो जिग्मे फाउण्डेसन भनेर खोलेको छु ।

त्यसकै माध्यमबाट शिक्षा क्षेत्रमा योगदान दिइरहेको छु । १४ वटा ‘डे केयर सेन्टर’ अहिले चालु अबस्थामा छ । जोमसोममा ५ कक्षाभन्दा माथिको पढाई हुने विद्यालय समेत सञ्चालन गरिरहेका छौं ।

जुन विद्यालयमा आर्थिक अबस्था कमजोर रहेका परिवारको विद्यार्थीलाई निःशुल्क रुपमा पढाउने व्यवस्था मिलाइएको छ । जहाँ ६० जना विद्यार्थी अध्ययन गरिरहेका छन् । त्यसबाहेक पहिला देखि नै चल्न आएको तिजी पर्व भन्छ, याक्तुम पर्व भन्छ, त्यसमा पनि मैले भाग लिनुपर्छ ।

जुन हाम्रो सांस्कृतिक संस्कार समेत हो । अहिलेको जुन परिवर्तन छ, त्यसपछि मैले ती पर्वहरुमा भाग नलिन खोजेको त्यहाँको स्थानीय बासिन्दाले मानेनन् । मेरो बुबाले जसरी सहभागिता जनाउनुहुन्थ्यो, त्यसैगरी म पनि सहभागी हुदै आएको छु ।

तपाईको बुबालाई जसरी त्यहाँका जनताले सम्मान गर्थे, तपाईलाई पनि गर्छन । यसको पछाडिको मुल कारण के रहेछ ?

यसको पछाडिको कारण के हो भने मेरो स्वर्गीय बुबा र आमाले खेल्नुभएको भूमिका नै हो । मैले केही गर्न त सकेको छैन अहिले । त्यसकै माया मैले पनि अहिलेसम्म पाइरहेको छु ।

मुस्ताङमा रहेको ऐतिहासिक महत्वका गुम्बाहरुको अहिलेको अबस्था र पर्यटकको संख्या र त्यहाँका मानिसहरुको जीवनस्तर कस्तो रहेको छ ?

मुख्य कुरा के हो भने हिमाली क्षेत्र भएका कारण त्यहाँका जनताले जीवनयापनका लागि खेती किसानी गर्ने गर्थे पहिला । तर अहिले खेती पनि एकबाली मात्रै हुने गरेको छ । जसले हामीलाई पुग्दैन ।

पशु व्यवसायका लागि हिउँदे चरनको समस्या छ । एउटा सिजनका लागि समस्या हुन्छ । चीनसँग कुनै बेला राम्रो सम्बन्ध थियो । चीनसँगको सन्धि समाप्त भएको ३५ वर्ष भयो अहिलेसम्म नवीकरण हुन सकेको छैन ।

जसका कारण याक र भेडाको संख्या घट्यो । मेरो सम्झनामा ३८ वटा परिवार पशुपालन गरेरै जीविकोपार्जन गरेका थिए । अहिले उनीहरु सानो घर बनाएर खेतीमा निर्भर भएर बसेको अबस्था छ ।

जब सरकारले विदेशी पर्यटकका लागि मुस्ताङ खुला गर्‍यो । त्यसपछि अहिले सबै पर्यटनमै निर्भर बनेका छन् । हिमालपारीको जिल्ला भएपनि त्यहाँको आफ्नै धर्म, संस्कृति र परम्परा हुँदा विदेशीहरुले समेत धेरै इच्छुक देखिन्छन्, त्यहाँ घुम्नका लागि ।

हरेक वर्ष करिब ४ हजार ५ सय पर्यटकहरु जाने गरेका छन् । त्यसलाई बढाउन सरकारले ऐतिहासिक स्थानको संरक्षण गर्न ध्यान दिनुपर्छ । त्यसबाहेक जति पनि होटेलहरु बनेका छन् । त्यहाँ व्यक्तिको आफ्नो क्षमताअनुसार बनाएको छ ।

होटल सञ्चालकलाई सहुलियत ऋण उपलब्ध गराएर सुबिधासम्पन्न होटल निर्माणमा सरकारले समेत ध्यान दिनुपर्छ । आफ्नै बलमा बनाएको होटल धेरै सुविधाजनक नभएका कारण विदेशी खर्च गर्न चाहेपनि हामीले लिन सकिरहेको अबस्था छैन ।

सरकारले यो विषयमा ध्यान दिनुपर्छ । त्यसले भविष्यमा समेत पर्यटनको क्षेत्र अझै विस्तार हुनसक्छ ।

अहिले नयाँ राजनीतिक व्यवस्थामा हामी चलिरहेका छौं । पछिल्लो समय त प्रदेश सरकार समेत गठन भएका छन् । केन्द्र र प्रदेश सरकारका मन्त्रीहरुसँग तपाईको भेटघाट हुन्छ कि हुँदैन । उनीहरुको तपाईप्रतिको व्यवहार कस्तो हुन्छ ?

घरमा आउनुहुन्छ । गत सालदेखि अलि बढि नै आउने क्रम बढेको छ । चीनतर्फको नाका खोल्ने विषयमा बुझ्नका लागि आउनुहुन्छ । मलाई त्यहाँको स्थानीय जनताको माया पाइरहेका कारण मलाई पनि भेट्न आउनुहुन्छ ।

त्यसका कारण उहाँहरुले समेत मलाई भेट्ने इच्छा राख्नुहुन्छ । मलाई भेटेका बेला राम्रो व्यवहार पनि गर्नुहुन्छ ।

हरेक ५ वर्षमा नेपालमा चुनाव हुन्छ । तपाईलाई दलका तर्फबाट उम्मेदवार बन्न वा भोटका लागि लबिङ गर्दिन कुनै राजनीतिक दलका नेताले अनुरोध गर्छन् कि गर्दैनन् ?

त्यस्तो गर्छ । तपाई भन्नुभएको सही हो । तर म तटस्थ भएर बसेको छु । मुस्ताङ भनेको एउटा सानो ठाउँ हो । जनसंख्या पनि सानो छ । सबैसँग मेरो एउटै माया छ ।

कुनै राजनीतिक दलको सदस्य बनेँ भने कसैको चित्त दुख्नसक्छ । त्यसैले म कुनै पनि राजनीतिक दलको तर्फबाट उम्मेदवार बन्ने वा नेता बन्ने पक्षमा छैन ।

चुनावका बेला कतिपय स्थानीय मतदानका विषयमा समेत सोध्न आउने गरेका छन् तर मैले उनीहरुको आफ्नो इच्छाअनुसार मतदान गर्न भन्दै आएको छु ।

तपाईको जीविकोपार्जन अहिले कसरी चलेको छ ? तपाईको बुबा मुस्ताङको राजा भएका कारण दरबार त अहिले पनि होला ?

मैले जीविकोपार्जनका लागि सानो एउटा होटल सञ्चालन गरेको छु । लोमान्थाङमा मैले गेस्ट हाउस खोलेको छु ।

मेरो बुबाका नाममा खोलेको गैरनाफामुलक संस्थाका तर्फबाट सानोतिनो सहयोग पनि गरिरहेको छु । मेरो पुर्खाको दरबार त एकदमै जीर्ण अबस्थामा छ । ७ सय वर्ष पुरानो माटोको घर । संरक्षणको पर्खाइमा छ । त्यो दरबार राम्रोसँग संरक्षण हुन सकिरहेको छैन ।

भुकम्पपछि मैले पुरातत्व विभागमा पनि मैले अनुरोध गरेको थिँए । त्यहाँबाट पनि हुन सकेन । अहिले मेरो निजी पहलमा विभिन्न स्थानमा रहेका दरबारमध्ये चराङ र लोमान्थाङमा रहेका दरबारमा सांस्कृतिक महत्वको बस्तुहरु समेत रहेका छन् ।

चराङको लागि संग्रहालय बनाउने मेरो सपना छ । तर अहिले केही गर्न सकेको छैन । लोमान्थाङको दरबार जहाँ म अहिले बसिरहेको छु । त्यसलाई ‘लिभिङ म्युनियम’का रुपमा र सकियो भने एक दुईवटा पाहुना कोठा समेत बनाएर विकास गर्ने योजना छ । तर त्यो अहिले हुन सकिरहेको छैन ।

नेपालमा जुन परिवर्तन भयो नि, तत्कालीन अवस्थामा नेपालका राजा महाराजाहरुको योगदान थियो । तपाईले अहिले कस्तो महशुश गरिहनुभएको छ ? गणतन्त्र आएपछि यहाँहरुलाई दिएको मानवदवी पनि अहिले छैन ।

खासै फरक केही पाएको छैन । स्थानीयको माया अहिले पनि छ । संविधानमा केही व्यवस्था नगरिएको भएपनि मुस्ताङ आउने नेताहरुले पनि हामीलाई माया गर्नुहुन्छ । तर एउटा कुरा के भने केमा दुख लागेको छ भने म त केही पनि होइन ।

मुस्ताङको राजा भनेको केही पनि होइन । म त अहिले सर्वसाधारण भएर जीवनयापन गरिरहेको छु । तर हाम्रो देशको राजसंस्था थियो ।

यसलाई संवैधानिक राजतन्त्रका रुपमा राखेको भए हुन्थ्यो । राजतन्त्र देशको अभिभावकका रुपमा रहेको थियो । अहिले अभिभावकविहिन अबस्थामा भएजस्तो लाग्छ ।

यहाँको परिवारमा अहिले को को हुनुहुन्छ ?

मेरो परिवारमा मेरो आमा, मेरो श्रीमती र मेरो ३ जना बच्चा दुईजना छोरा र एकजना छोरी हुन् । मेरो छोरी अहिले अमेरिकामा डाक्टर पढ्दैछिन् । ठुलो छोरा व्यवस्थापनमा स्तानकोत्तर गरेर गेस्ट हाउस सञ्चालन गरिरहेको छ ।

मेरो कान्छो छोरा लामा हो । भारतमा वुद्धिष्ट फिलोसोपी अध्ययन गरिरहेको छ । म काठमाडौंमा बस्दा मेरो आफ्नै घर बौद्धमा बस्छु । समय अनुसार परिवर्तन हुँदै जाने हो ।

केही कमजोरीहरु पनि भएको देखिन्छ, त्यसलाई सच्याएर अघि बढ्ने विश्वास मैले लिएको छु ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ९ : २९ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन