एन्फा नेतृत्वलाई गिज्याउने ‘म्याच फिक्सिङ’ ! | Khabarhub Khabarhub

एन्फा नेतृत्वलाई गिज्याउने ‘म्याच फिक्सिङ’ !



काठमाडौं–अखिल नेपाल फुटबल संघ (एन्फा) ले गएको २८ मंसिरदेखि ३ फागुनसम्म घरेलु शीर्ष डिभिजन लिग सम्पन्न गरेको छ । ३८ औं संस्रकणको उपाधि मछिन्द्र क्लबलाई सुम्पिँदै सम्पन्न भएको लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लब पुनः एकपटक उपविजेतामै सीमित भयो ।

मछिन्द्र र आर्मीबीचको अन्तिम खेल शनिबार दशरथ रंगशालामा १–० गोलको नतिजासँगै लिग टुङ्गियो । लिगमा १४ टोलीले ९१ खेल खेले ।

लिग शुरु हुँदा दिनमा दुई खेल – बिहानको खेल सातदोबाटोस्थित एन्फाको ‘एस्टो टर्फ’ मैदान र दिउँसोको अर्को खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन्थे भने अन्तिम चरणमा दिनका तीन खेल एन्फा मैदानमा खेलाउँदै समापन भयो ।

यो हेर्दा लिगमा एन्फा कति सम्बेदनशिल छ भन्ने पनि प्रष्ट हुन्छ । यद्यपी एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले लिग सफलताका साथ सम्पन्न भएको संकेत समापन खेल अगाडि दिएको मन्तव्यमा झल्किन्थ्यो ।

त्यतिमात्रै होइन, उनले आगामि दिनमा लिगलाई ६ देखि ८ महिनासम्म आयोजना गर्ने दाबी समेत गरे । उनले आगामि वर्षहरुमा काठमाडौं बाहिरसमेत लैजाने घोषणा गरे ।

तर, काठमाडौंमा भएका खेल मैदानको सहि व्यवस्थापन र लिगको सफल आयोजनामै चुक्दै आएको एन्फा नेतृत्वले लिगलाई राजधानी बाहिर लिएर सञ्चालन गर्छु भन्दा धेरैले त्यसमा सत्यता देख्दैनन् । कारण, एन्फाले अहिलेसम्म गरेको काम नै हो ।

काठमाडौंमा लिग आयोजना गर्दा यहाँ भएका मैदानकै व्यवस्थापन मिलाउन नसक्ने एन्फाले जिल्लामा गएर लिग खेलाउँछु भन्दा कसरी विश्वास गर्ने ?

भखरै सम्पन्न ए डिभिजन लिगले विभिन्न नयाँ तरङ्ग उब्जाएको छ । खेलाडीको अनुशासन, रेफ्रिको निर्णयमाथि प्रश्न, क्लबको लापरबाही र एन्फा यी सबै कुरामा मुकदर्शक मात्रै बनेको देखिन्छ ।

यतिसम्मकी यो सिजनको लिगमा गोल पोष्टको जाली च्यातिएको, मैदान १२ खेलाडी खेलाउँनेदेखि खेलकै बीचमा प्रशिक्षक भाग्ने सम्मका विषयलाई लिएर एन्फाप्रतिको विश्वास घटेको छ ।

लामो सयमदेखि नियमित रुपमा हुन नसकेको लिग लगातार दोस्रो वर्ष आयोजना गरेको जस पाउने कर्मा छिरिङ शेर्पा नेतृत्वले त्यसमा भए गरेका कमिकमजोरीको जिम्मेवारी पनि लिनु पर्छ ।

अघिल्लो वर्ष रेलिगेशन विनाको लिग गरेको एन्फाले यो वर्ष एक टोली रेलिगेशन गर्ने निर्णयसहित प्रतियोगिता सञ्चालन गर्‍यो। जसमा सरस्वती क्लब पुछारमा रहँदै ‘बी’ डिभिजनमा घटुवा भएको छ ।

यो सिजनको लिगमा एउटा अर्को विषयले पनि निकै चर्चा पायो, ‘म्याच फिक्सिङ’ । लिगको अन्तिमतिर आइपुग्दा अंक तालिकामा पुछारतिर रहेका अधिकाशं टोलीका प्रशिक्षकले पोष्ट म्याच कन्फ्रेन्समा भन्ने गरेको कुरा के पनि हो भने, ‘खेलाडी हामी भन्दा जान्ने हुन्छन् । आफ्नो योजना भन्दा पनि आफ्नो योजना अनुसार खेल्छन् ।’

त्यसोत, सरस्वती क्लब र हिमायन शेर्पा क्लबबीचको खेलमा त खुलेरै म्याच फिक्सिङ भएका समाचार आए । खेलमा हिमालयन शेर्पाविरुद्ध सरस्वती क्लब ४–३ गोल अन्तरले जीत हात पारेको थियो ।

सरस्वतीका कप्तान दिपेश श्रेष्ठ र हिमालयन शेर्पाका गोलकिपर किशोर गिरीलाई तत्कालै एन्फाको इन्टिग्रीटी कमिटीले कारबाही गरेको थियो । खेलका दौरान दिपेशले विपक्षी टोलीका गोलकिपर किशोर गिरीलाई गोल हुन दिन प्रस्ताव गरेको भन्दै लिगकै दौरान उनलाई कारबाही गरेको थियो ।

त्यसो त, हिमालयन शेर्पाका अध्यक्ष एन्फा अध्यक्षसमेत रहेका कर्मा छिरिङ शेर्पा हुन् भने सरस्वती युवा क्लबका अध्यक्ष एन्फाका उपाध्यक्ष शिक्षित पराजुली हुन् ।

त्यतिमात्रै होइन, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र फ्रेन्ड्स क्लबबीचको खेललाई पनि फिक्सिङ भएको आरोप सरस्वती क्लबका प्रशिक्षक प्रदिप नेपालले लगाएका थिए । सो खेलमा एपीएफ ५–२ गोल अन्तरले विजयी भएको थियो ।

एपीएफ र फ्रेन्ड्सबीचको खेलमा पनि मिलेमतो हो वा होइन भनेर अहिले एन्फाको इन्टीग्रीटी कमिटीले अनुसन्धान गरिरहेको लिग कमिटिका निर्देशक सञ्जीव मिश्र बताउँछन् ।

लिग सफल भएको बताएका लिग कमिटी संयोजक विज्ञान शर्माले ‘म्याच फिक्सिङ’ भएको हुन सक्ने भन्दै एन्फाले त्यसमा अनुसन्धान गरिरहेको समेत बताएका थिए ।

उनले नेपालका खेलमा मिलेमतोदेखि सट्टैवाजी सम्म हुने गरेको बताएका छन् । ‘सेलमा तेल र खेलमा झेल नभइ रमाइलो नै हुन्न नि ! खेलमा केही झेल भएको होला । विवादहरु आउँछ । विवाद समाधान गर्दै जाने हो,’ संयोजक शर्माले भने, ‘कतिपय कुराहरुमा विवाद भइरहेको छ । यसबाट हामीले पनि केही कुराहरु सिक्दै अगाडि बढ्नु पर्छ ।’

शर्माले एन्फाले रेफ्रिको विवाद, खेलमा मिलेमतोका विषयहरु, मैदानको व्यवस्थपन लगायतका कुराहरुमा सुधार गर्दै अगाडि बढ्नु पर्ने बताएका छन् । यो सिजनको लिग भएका केही काममा आफैसमेत सन्तुष्ट हुन नसकेको स्वीकारेका छन् ।

लिगको अन्तिम २ चरणका खेल बिहान ८ : ४५ बजेदेखि एन्फा मैदानमा शुरु भएर बेलुका सबा ५ बजे सम्म हुन्थ्यो । त्यसका लागि पहिलो खेलका खेलाडीहरु बिहान चिसो मैदानमा भिड्नु पर्दा निकै दुख लागेको उनले बताएका छन् ।

‘दिनमा तीन खेल खेलाउनु, बिहान ७ बजे खेलाडी मैदान आएर खेल्नु परेको कुरामा म स्वयम पनि सन्तुष्ट छैन । तर, यसलाई स्वीकार्दै अबका दिनमा अगाडि बढ्नु पर्छ र यसलाई नदोहोर्‍याउने गरी लाग्नुपर्छ,’ शर्माले भने ।

बढ्नथाले रेफ्रिका विवाद

संयोजक शर्मा नेपालका उठेका रेफ्रिका विवाद संसार भर आइरहेने घटान भएको बताउँछन् । खेलमा मिलेमतोका घटना भने एसियाली क्षेत्र र अफ्रिका तिर बढी देखिने गरेको बताउँछन् ।

उनले भने, ‘संसारमा जताततै हेरे पनि रेफ्रिको निर्णय विवादमा आइरहेको हुन्छ। म्याच फिक्सिङको कुराहरु चाँही त्यति धेरै हुँदैन । यो एसिया र अफ्रिकामा अलि हुन्छ।’

फिक्सिङका कुरा आइरहेपनि एन्फा त्यसमा कडाइका साथ लागेको उनले बताएका छन् ।

उनले एन्फाले प्रहरीसँगको सहकार्यमा खेलमा मिलेमतोका भए नभएको विषयमा अध्ययन भएरहेको बताए ।

‘म्याच फिक्सिङको कुरामा हामी कडा छौं । हामीले कडा निर्णय गर्दै आएका पनि छौं । प्रहरीसँगको सहकार्यमा काम भइरहेको छ ।’

उनले एन्फा फिक्सिङ गर्नेमाथि अनुसन्धान गरिरहेको र यसको परिणाम आउन बाँकी रहेको बताएका छन् । उनले नेपालमा सट्ट्बाजी गोलमा नभइ कर्नर, आउट बल र रातो कार्डमा भइरहेको बताएका छन् । ‘यहाँ अहिले झिंगे दाउको म्याच फिक्सिङ छ । त्यसलाई घटाउँदै लिनु पर्छ,’ उनले भने ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  १० : १५ बजे

अर्थमन्त्री पुन र अमेरिकी यूएस इन्टरनेशनल डीएफसीका सिइओबीच भेट 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस

सर्वदलीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सरकार बनाउन अपिल

सुप्रिम सहकारी ठगी प्रकरणमा दिपेश पुनसँग ४ लाख धरौटी माग

काठमाडौं– बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वउपराष्ट्रपति

दाङमा आगलागीबाट एक जनाको मृत्यु

दाङ– दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।