उद्योग-व्यवसाय क्षेत्र कोमामा छ, नयाँ नर्मलमा बाँच्नुको विकल्प छैन | Khabarhub Khabarhub

उद्योग-व्यवसाय क्षेत्र कोमामा छ, नयाँ नर्मलमा बाँच्नुको विकल्प छैन



नेपालको ठूलो व्यावसायिक घराना ज्योति समूहका निर्देशक सौरभ ज्योति नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हुन् । महासंघमा उनी ‘बैंक, फाइनान्स र इन्स्योरेन्स कमिटी’ का अध्यक्ष पनि हुन् । कोरोना भाइरस संक्रमणबाट नेपालको उद्योग-व्यवसाय क्षेत्र ‘कोमा’ मा गएको उनको निष्कर्ष छ तर पुनर्जीवनका लागि सरकारले आवश्यक मद्दत नगरेको उनको गुनासो छ ।

सौरभ चालु आर्थिक वर्षको बजेटबाट निराश थिए तर मौद्रिक नीति केही हदसम्म स्वागतयोग्य आयो । उनका अनुसार अब स्वास्थ्यका मापदण्डहरू पालना गरेर कोभिडसँगै नयाँ नर्मलमा बाँच्न सिक्नुको विकल्प छैन, सधैँको लकडाउनले जीवन चल्दैन । कोरोनाले संकटमात्रै होइन, अवसर पनि दिएको उनको भनाइ छ । कोरोना भाइरसका सन्दर्भमा सरकारको काममा उनी सन्तुष्ट छन् ।

सौरभ नेपाल उद्योग वाणिज्य महासंघमा उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् । उनै सौरभ ज्योतिसँग खबरहबका गोविन्द लुइँटेल र एकराज बास्तोलाले कोरोना भाइरसले व्यावसायिक क्षेत्रमा पुर्‍याएको असरको सेरोफेरोमा संवाद गरेका छन् ।

कोभिड–१९ का कारणले झण्डै ६ महिना लकडाउन हुँदा उद्योग–व्यवसाय ठप्प भयो । यसबाट देशको समग्र आर्थिक क्षेत्रमा कस्तो असर परेको देख्नुहुन्छ ?

यो लामो लकडाउनले उद्योग व्यवसायमा ठूलो असर पारेको छ । हामीले दश वर्षअघिको तथ्यांक हेर्दा पनि एक दिन बन्द-हड्ताल दैनिक झण्डै १५० अर्बको नोक्सान हुन्थ्यो । अहिले त त्योभन्दा बढी दैनिक नोक्सान परेको छ । साना, मझ्यौला, ठूला सबै उद्योग ठप्प पारेको हुनाले अत्यन्तै गाह्रो परिस्थिति भएको छ । दैनिक रोजगारीबाट गुजारा गर्ने निम्न वर्गका मानिसहरूलाई झन् ठूलो असर परेको छ ।

ठूला उद्योगहरूलाई ऋणको साउँब्याज तिर्न, तलब दिन र अन्य फिक्स्ड ओभरहेड धान्न मुश्किल परेको छ । हामी उद्योगी, व्यवसायीले लकडाउन समाधान होइन भनेका छौँ । अब पोष्ट कोभिडको अवस्था पनि आउनेवाला छैन । अब हामीले कोभिडसँगै बाँच्न सिक्नुपर्छ । अब न्यु नर्मलमा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर, सुरक्षित भईकन काम गर्नुपर्छ र अर्थतन्त्र चलायमान बनाउनुपर्छ भनेर हामीले सुझाब दिएका छौँ ।

असरहरू चाहिँ के कस्तो प्रकारका छन् ?

हामी दुई पटक लकडाउनमा गइसक्यौँ । यो लकडाउनले उद्योग-व्यवसायको क्षेत्रमा दीर्घकालीन असर परेको छ । यसलाई हामीले तीन प्रकारले वर्गीकरण गरेका छौँ- कम प्रभावित, मध्यम प्रभावित र अति प्रभावित । कम प्रभावितमा औषधि होला, खाद्य होला, आधारभूत आवश्यकताका वस्तुहरू होलान्, इ-कमर्स होला । यिनीहरूमा केही चहलपहल छ ।

मध्यममा कृषि, उद्योग-व्यवसाय, निर्माणमा असर परेको छ । पर्यटन क्षेत्रमा दीर्घकालीन असर परेको छ । होटल, ट्रेकिङ र ट्राभल एजेन्सी, उद्योग क्षेत्रमा ठूलो असर परेको छ । यसअनुसार पुनर्जीवनका लागि नेपाल सरकारले प्रत्यक्ष र अप्रत्यक्षरूपमा सहजीकरण गर्नुपर्छ । असरअनुसार हामीले पुनर्जीवनका लागि सरकारसँग प्याकेज खोजेका हौँ । केही हदसम्म मौद्रिक नीतिले हाम्रो माग सम्बोधन गरेको छ ।

लकडाउन बढ्दै गएकोले त्यति सम्बोधनले पुग्दैन । कोभिड र लकडाउन सकियो भने त ठिकै छ तर परिस्थिति अझै पनि अन्योलमै छ । अझै पनि लकडाउन गर्ने परिस्थिति छ । ठिक छ, बजार खृुल्यो तर डिमाण्ड पनि हुनुपर्‍यो नि ! बजार खालि ३०-४० प्रतिशतमा चलिरहेको छ । बजार खुलको छ तर उपभोक्ता छैन, क्रेता छैन । उद्योग खोलेर पनि बजारमा डिमाण्ड नै छैन भने त चल्दैन । यस्तो अनिश्चित समयमा सबैले बचत गर्न खोज्छन् । नभई नहुने वस्तुमामा मात्रै खर्च गर्छन् ।

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेटमा ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राख्नुभएको छ, विश्व बैंकले १.५ प्रतिशतबाट थोरै बढी मात्रै हुन सक्ने प्रक्षेपण गरेको छ, तपाईंको के मूल्यांकन छ ?

मेरो व्यक्तिगत विचारमा हामी अर्थमन्त्री र विश्व बैंकले भनेको आर्थिक वृद्धिको बीचतिर कतै हुन्छौँ होला । अहिलेको परिस्थितिमा चार, साढे चार पनि न्युन हो । जिडिपी (कुल गार्हस्थ उत्पादन) को अवस्था ठिकै छ । म अलिक आशावादी मान्छे पनि हुँ । रेमिट्यान्स जुन ढङ्गले घट्छ भन्ने अनुमान थियो, त्यो भएन, क्र्यास भएन । गत वर्षकै हाराहारीमा छ ।

अब लकडाउन कम गर्दै र आर्थिक गतिविधि बढाउँदै जाने हो भने बिस्तारै अन्य सेक्टर पनि अघि बढ्दै जाला । कन्जुमर सेक्टर, अटोमोबिल सेक्टर, निर्माणजस्ता क्षेत्रमा अलिकति पिकअप हुन्छ । रियल स्टेट, टुरिजम, ट्राभलजस्ता क्षेत्रमा अलिक बढी समय लाग्छ । यसमा पनि विकल्प छ । हामी जहिले पनि टुरिजम भनेपछि विदेशीलाई मात्रै हेर्छौं । आन्तरिक टुरिजम पनि छ नि !

त्यति लामो द्वन्द्वकालमा पनि टुरिजम धानेको थियो । प्याराडाइम सिफ्ट भएको थियो । यसपछि पर्यटन व्यवसायीलाई नेपाली पनि टुरिष्ट हो रहेछ भन्ने थाहा भयो । नेपालीले त विदेशीले भन्दा पनि बढी खर्च गर्दोरहेछ । नेपालीहरू खानेपिनेमा रमाइलो गर्छन्, विदेशीजस्तो सस्तो खोज्दैनन् । कोरोना संक्रमित कम भएको ठाउँमा हामी डोमेस्टिक टुरिजम प्रोमोट गर्न सक्छौँ ।

यो राम्रो लक्षण छ । हामी यु कर्भ वा भि कर्भ हुँदै अघि बढ्ने सम्भावना छ । यसको लागि हाम्रो अभिभावक नेपाल सरकारले सहजीकरण गरिदिनुपर्छ । नेपाल सरकारले रिफाइन्सिङ्मा ५ गुणा बढाएर १९० अर्ब पुर्‍यायो । यो कगजमा आयो तर लामो प्रक्रियाका कारणले गर्दा पाउन सकेको छैन ।

मौद्रिक नीतिमा हामीले रिफाइनान्स, रिस्टक्चर र रिड्युस भनेका थियौँ । रिड्युसमा व्याजदर त घट्यो । बैंकहरूसँग लिक्विडिटी बढेको छ, यो राम्रो हो तर अहिलेको परिस्थितिमा माग नै घटेको छ । बैंकलाई यो गर, त्यो गर भन्यो । सरकराले घरधनीलाई भाडा घटाइदेऊ भन्यो । सरकारले पास डाउनमात्रै गरेको छ । आफैँ नेपाल सरकारले चाहिँ के गर्‍यो त ? सरकारको योगदान चाहिँ के हो ? स्कूलहरूलाई फिस नलेऊ भनेको छ ।

त्यसो भए नेपाल सरकारको अबको जिम्मेवारी के हुनुपर्छ ?

हो, सरकारलाई पनि अप्ठ्यारो छ । खर्च धेरै बढेको छ । हामी पनि सरकारको समस्या बुझ्छौँ । अटोमोबिल नवीकरणमा जरिवाना लिएको छ । बिजुलीमा शुल्क नघटाए पनि सरकारले डिमाण्ड चार्ज नलियोस् न । केही समयका लागि बिजुलीमा सहुलियत दिनु, यातायातमा नवीकरण शुल्क घटाइदिनु । यसरी सरकारले सहुलियत दिन सक्छ । अहिले त सरकारले निर्देशन दिने काममात्रै गरेको छ । यसो गरेरमात्रै त भएन । अरूलाई निर्देशन दिएरमात्रै होइन, सरकारले सोझै मद्दत गर्ने ठाउँहरूमा गर्नुपर्‍यो ।

नेपाल सरकारले कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा गरेको कामलाई कसरी हेर्नुभएको छ ?

कोभिड–१९ को सन्दर्भमा सरकारको कामलाई लिएर जति आलोचना भएको छ, त्यो फियर होइन । यो संकट हाम्रो मात्र होइन । अमेरिका र युरोपका त्यति विकसित मुलुकहरूलाई पनि समस्या परेको छ । लण्डनमै धान्न सकेको छैन । सबै पूर्वाधारहरू राम्रो भएका विकसित देशहरूले त धान्न सकेका छैनन् भने हामीले त झन् कसरी सक्छौँ ! अहिलेसम्म नेपाल सरकारले जति गरेको छ, त्यो राम्रो छ ।

आर्थिक स्रोतको राम्रो परिचालन हुनुपर्‍यो । कतै दुरुपयोग भएको छ भने रोक्नुपर्‍यो । सरकारले हाम्रो अवस्था र सीमित आर्थिक स्रोतअनुसार प्रदेश र स्थानीय तहसम्म स्रोतहरू राम्ररी नै परिचालन गरेको छ । कोभिड त कसैले कल्पना नै नगरेको परिस्थिति हो । यस्तो अवस्थाका लागि त कोही पनि तयार थिएन । त्यो हिसाबमा हेर्दा सरकारले राम्रै गरेको छ । हामी पनि हातेमालो गरेर जान्छौँ । धेरै आलोचना पनि राम्रो होइन ।

यसमा निजी क्षेत्रले पनि सघाउँछ । नेपाल उद्योग वाणिज्य महासंघले पनि डोनेशन गरेको छ । व्यक्तिगतरूपमा ज्योति ग्रुपले पनि सहयोग गरेको छ । हामीले सक्ने सहयोग गरका छौँ । हामी सबै सँगै छौँ ।

लकडाउनको दुई महिनामा बजेट आयो । लकडाउनको क्षतिबाट उद्योग-उद्योग व्यवसायलाई पुनर्जीवन दिन बजेटले चाहिँ कति मद्दत गर्‍यो ?

बजेटले निजी क्षेत्रलाई केही पनि अड्रेस गरेन । कागजमा, नीतिमा आउने र व्यवहारमा कार्यान्वयन नहुने समस्या त सधैँ छँदैछ । यसपालिको बजेटबाट हामी निरुत्साहित भएका छौँ । निजी क्षेत्रका लागि बजेटमा ठोस कुरा केही पनि आएन । निजी क्षेत्र भनेको त देशको मेरुदण्ड हो नि ! रोजगारी सिर्जना गर्ने र कर तिर्ने निजी क्षेत्रलाई सम्बोधन नै भएन ।

बजेट चाहिँ डिसअपोइन्टिङ नै थियो । बजेटले प्राथमिकताका क्षेत्रहरूलाई सम्बोधन गरोस् भनेका थियौँ । ऊर्जा, कृषि, सिँचाइ, पर्यटन, यी केमा पनि फोकस नै भएन । बजेट सबैलाई खुसी बनाउने किसिमले सोसलिस्टिक मात्रै आयो । बजेटको क्यापिटल एक्स्पेण्डिचरतर्फ खर्च नै छैन । खर्च नभएर नै हरेक वर्ष मन्दी आउँछ । गत वर्ष पनि ५० प्रतिशतमात्रै खर्च भयो । खर्च नभएपछि त केही पनि काम हुँदैन । बैंक व्याज बढ्छ, महँगी बढ्छ ।

अत्यन्तै अप्ठ्यारो परिस्थिति भएकाले हामीले हाम्रो गुनासो मौद्रिक नीतिमा सम्बोधन गर्न आग्रह गर्‍यौँ । मौद्रिक नीति चाहिँ धेरै हदसम्म स्वागतयोग्य हुने गरी आयो ।

बजेटपछि मौद्रिक नीतिमा अपेक्षा थियो । स्वागतयोग्य पनि भन्नुभयो । कति सम्बोधन गर्‍यो त मौद्रिक नीतिले ?

नीतिगतरूपमा राम्रै सम्बोधन गरेको छ, स्वागतयोग्य थियो । कार्यान्वयन पक्षमा चाहिँ अझै गाह्रै भएको छ । मौद्रिक नीतिमा एक वर्षको मात्रै होइन, कृषि, ऊर्जा र साना-मझौला उद्योगको क्षेत्रमा तीन वर्षसम्मको कुरा तोकेरै आएकोले धेरै प्रोग्रेसिभ प्रकृतिको छ ।

हामीले मौद्रिक नीतिमा ‘थ्री आर’ भनेका थियौँ- रिस्टक्चर, रिफाइनान्स र रिड्युस । व्याजदर रिडक्सनमा काम भएको छ । पुनर्कर्जा कोषका लागि बजेट बढाइएको छ । कोरोना रिलिफ फण्ड आएको छ । प्रधानमन्त्री स्वरोजगार कोष छ । नीति चाहिँ राम्रो आएको जस्तो लागेको छ ।

अहिलेको परिस्थितिमा ऋण तिर्न नसकेको र उद्योग-व्यवसाय ठप्प भएकोले रिस्टक्चरिङ पनि आयो । रिफाइनान्सिङमा १९० अर्बको फण्ड आयो । कुरा के छ भने, यो रिफाइनान्सिङ भनेको सीमित ठूला व्यवसायीलाई मात्रै होइन । सबै साना-मझौला उद्योगहरूमा पुग्नुपर्छ । सबैले प्रयोग गर्न पाउनुपर्छ ।

यस विषयमा हामीले कुरा पनि गरेका छौँ । नेपाल उद्योग वाणिज्य महासंघको नेटवर्कबाट गर्न सक्यो भने सदुपयोग हुन्छ, जिल्लाजिल्लामा पुग्छ । बजेट जति बढाए पनि सदुपयोग भएन भने त्यसको केही अर्थ हुँदैन । रिफाइनान्सिङको प्रक्रिया एकदमै जटिल छ । त्यसमा सहजीकरण गर्नुपर्‍यो । अहिले पनि तीन महिना जति लागिराखेको छ । एक महिनामै दिन सकिने बनाउनु पर्छ ।

व्यवसायीहरूबाट कर्जा, पुनर्कर्जा, व्याजदर इत्यादिको कुरा उठिरहन्छ, यसमा कतिसम्म सम्बोधन हुनुपर्छ ?

हामीले रिस्टक्चरिङ गर्दा असोजसम्ममा निवेदन दिनुपर्छ । पुस मसान्तपछि चाहिँ रिस्टक्चरिङ गर्न सकिन्छ । रिस्टक्चरिङमा ५ प्रतिशत प्रभिजनिङ गर्नुपर्ने अवस्था छ । अहिलेको परिस्थितिमा ५ प्रतिशत प्रोभिजनिङ धेरै भयो । यो प्रावधान नै नगरौँ वा न्युन गरौँ भन्ने हाम्रो भनाइ हो । अब अनलाइन पेमेन्ट मार्फत जानुपर्‍यो । व्यापारमा इ–कमर्स र बैंकमा अनलाइन पेमेन्ट सिष्टम । धेरै बैंकहरू अनलाइनमा गइसकेका छन् तर त्यसमा पनि अनेक प्रकारका शुल्कहरू छन्, नदेखिने शुल्कहरू । बैंकको शुल्क पनि हटाउनुपर्छ, न्युन गर्नुपर्छ भन्ने हाम्रो माग छ ।

कोरोनाले थला परेको औद्योगिक क्षेत्रलाई पुनर्जीवन दिएर अघि बढाउन बजेट र मौद्रिक नीतिबाहेक सरकारले अरू के के काम गरेको देख्नुभएको छ ?

सरकारले त पास अन मात्रै गरेको छ । इन्टरनेटमा छुट दिने भनेको तर सरकारको मद्दत छैन, आइएसपीहरूले गर्नुपर्छ । निजी स्कूलले फिस नलिने भनेको छ तर सरकारको कुनै योगदान छैन । घरभाडा छुट दिनु भनेको छ, त्यो घरधनीले गर्नुपर्‍यो । बैंक व्याज बैंकले नै घटाउनु पर्‍यो । सरकारको भूमिका खोइ त ?

सरकारले त झन् दण्ड लगाउने काम पो गरेको छ । इन्सेन्टिभ दिनुपर्ने समयमा पेनल्टी भएको छ । बिजुलीको महसुल घटाउने कि, अनेक ठाउँ छन् सरकारले गर्ने । तपाईंले थला परेको भन्नुभयो, म त कोमामै गएको भन्छु । यस्ता उद्योगहरूलाई त सहज हुन ६ महिनादेखि एक वर्षसम्म लाग्छ । बढी असर परेका उद्योगहरूलाई त दुई वर्षसम्म लाग्छ ।

दीर्घकालीन सोच लिएर रिभाइवल प्याकेजहरू आउनुपर्‍यो । यस्ता उद्योगहरूलाई ऋण दिने भनेको छ तर पाउनै गाह्रो छ । उद्योग व्यवसाय बन्द छ । तलब दिनुपरेको छ । उद्योगमा कर्मचारीहरू पालो परेर बोलाउनुपर्छ । स्वास्थ्य सुरक्षाको खर्च बढ्यो । यसले झण्डै २५ प्रतिशत खर्च बढाएको छ । अहिले क्यास फ्लो बन्द छ । हामीलाई क्यास फ्लो आवश्यक छ । यसमा नेपाल सरकारले प्रत्यक्षरूपमा सहयोग गर्नुपर्छ ।

के हाम्रो सरकार निजी क्षेत्रलाई अविश्वास गर्छ वा धेरै विश्वास गर्दैन ?

हामीसँग कुरा त रामै्र हुन्छ । सरसल्लाह पनि हुन्छ । हो, अलिकति अविश्वासको वातावरण छ । निजी क्षेत्रको विकास भनेको समग्रहरूपमा देशको अर्थतन्त्रको विकास हो । निजी क्षेत्रको विकासले रोजगारी सिर्जना हुन्छ, राजस्व बढ्छ । निजी क्षेत्रको कुरा हुँदा मान, सम्मान र सुरक्षा, यी तीन कुरा हुनुपर्छ ।

मानसम्मान नै छैन भने काम गर्न कठिन हुन्छ । हरेक नाफामा मैले एक तिहाइ आयकर तिर्छु नि त ! सामान उत्पादन गर्दा अन्तशुल्क तिर्छु, कच्चा पदार्थ आयात गर्दा भन्सार तिर्छु । यसरी हरेक व्यवसायमा सरकार साझेदार छ । सरकार नै पार्टनर छ । अनि सरकारले निजी क्षेत्रलाई किन प्रोत्साहन नगर्ने !

नियमन र पारदर्शितामा कुनै कमी हुनु हुँदैन, कुनै कम्प्रोमाइज हुनु हुँदैन । फर्मल सेक्टरलाई प्रोमोट गर्नुपर्छ । स्वच्छ व्यवसाय चलाउने, यसमा कम्प्रोमाइज हुनु हुँदैन । राम्रो काम गर्नेलाई प्रोत्साहन गरौँ । नराम्रो गरेको छ, कर छलेको छ भने दण्ड गरौँ ।

अब हामी डिजिटाइजेसनमा जानै पर्ने भएको छ । डिजिटल नेपाल फ्रेमवर्कमा नीति पनि आइसकेको छ । इ–कमर्सको पनि नीति आउन लागेको छ । यसबाट कार्यक्षमता बढ्छ, कस्ट घट्छ । अझ ठूलो कुरा चाहिँ अनलाइन, डिजिटल इकोनोमी भनेको ह्वाइट मनी हो । अहिले त ७० प्रतिशत इन्फर्मल सेक्टर छ । अनि के हुन्छ भने ट्याक्स बढाउने, दायरा कम । ह्वाइट इकनमी हुनासाथ दायरा बढ्छ र कर घटाउन पाइन्छ ।

तपाईंले कोभिड–१९ को सन्दर्भमा एउटा लेखमार्फत ‘व्यक्ति, परिवार र व्यापारका लागि’ बीमा योजना प्रभावकारी बनाउनुपर्छ भनेर कुरा उठाउनुभएको थियो । यो कुरा सरकारले कति सम्बोधन गर्‍यो ?

हामी सबैको बीमा छ । एक्स्टेण्डेड फेमेलीका रूपमा हाम्रा कर्मचारीहरूको पनि बीमा छ । तर, कोरोनाबाट बिमारी हुँदा त कसैको बीमा थिएन । त्यसमा इमजेन्सी परेर खर्च गर्नुपर्‍यो भने त गाह्रो हुन्छ । सुरुमा हामीले बिमाबाटै कोराना पनि कभर होस् भन्ने हाम्रो चाहना थियो । छलफलबाट पछि कोरोनाको १ लाखको छुट्टै बीमा आयो । यो धेरै राम्रो नीति हो ।

हाम्रा सबै कर्मचारी-कामदारको बीमा भएको छ । फेरि त्यसमा पिसिआर परीक्षणमा निजी र सरकारी भनेर विवाद आएको थियो । त्यो पनि छलफलबाट समाधान भयो । यसमा पनि ट्रान्सपरेन्सी, कम्लाएन्स र रेगुलेटरी सिस्टम हुनुपर्‍यो । दुरुपयोग हुन दिनु भएन ।

हाम्रो नियम कानुनमा धेरै ग्रे एरिया हुन्छ अनि व्याख्या फरक पर्छ । यस्तो ग्रे एरिया नहुने गरी प्रष्ट हुनुपर्छ । एउटै व्याख्या होस् ।

कोभिड संक्रमण चाँडै सकिने देखिँदैन, घटी र बढीको कुरामात्रै होला । सधैँको लकडाउनले पनि चल्दैन भन्ने त ६ महिनाको अनुभवले प्रष्ट भइसकेको छ । तपाईंले पनि कोरोनासँगै बाँच्न सिक्नुपर्छ भन्नुभयो । यसरी बाँच्न एउटा ठूलो घराना व्यवसायीका रूपमा सरकारलाई के सुझाब छ ?

कोरोनाको कुरामा हामी धेरै त्रसित भएजस्तो लाग्यो । एउटा तथ्यांकअनुसार विश्वमा वर्षमा ७० लाख मानिस प्रदूषणका कारणले मर्छन्, दक्षिण एशियामा मात्रै प्रदूषणले २० लाख मानिस मर्छन् । मलेरियाले कति, डायबिटिजले कति, कोल्ड फ्लुले कति मरेका छन्, यो तथ्यांक र कोरोनाको हेर्दा अलिकति पस्र्पेक्टिभ आउँछ । यो हेर्नुपर्‍यो र जीवन चलाउनुपर्‍यो ।

यसो भनेर कोरोनालाई हलुकारूपमा लिने भनेको होइन । महामारी हो । सुरक्षाका सबै उपायहरू अपनाएर हामीले लाइफ स्टाइल नै बदल्नु पर्छ । मास्क, स्यानिटाइर, सोसल डिस्टान्सिङ आदिबाट नयाँ नर्मलमा जानुपर्छ । भ्याक्सिन र औषधि आउन त धेरै समय लाग्छ । अब बढी त्रसित नभई सकारात्मक सोच लिएर अघि बढौँ । भविष्यमा पनि अर्को महामारी आउँछ । अब भविष्यको पनि तयारी गर्नुपर्छ । सरकार, चिकित्सक, उद्योगी-व्यवसायी सबैले आआफ्ना ठाउँबाट काम गर्नुपर्छ । आगो लाग्न नदिन तयारी गर्नुपर्छ ।

हामी कसरी आत्मनिर्भर हुने ! खाद्यान्न पुग्छ कि पुग्दैन ! हामी औषधि यही उत्पादन गर्न सक्छौँ कि सक्दैनौँ ! भेन्टिलेटर यही उत्पादन किन नगर्ने ! डेलिभरी सर्भिसका लागि पूर्वाधार बनाउनु पर्‍यो । रोजागरी सिर्जना गर्नुपर्‍यो । विदेशबाट फर्किने दशौँ लाख दाजुभाइ र दिदीबहिनीलाई यहीँ रोजगारी दिनुपर्‍यो । कमाउने अवसर दिनुपर्‍यो । यसका लागि दीर्घकालीन भिजन चाहियो । यसमा सबैको आआफ्नो रोल हुन्छ ।

नेपालमा लगानीको वातावरण भएन, उल्टै पुँजी पलायन हुने गरेको छ भन्ने गुनासो सुनिन्छ । वर्तमान सरकारले त झनै वातावरण बिगार्‍यो भन्ने आरोप पनि सुनिन्छ । यसमा तपाईं के भन्नुहुन्छ ?

यो अहिलको मात्रै समस्या होइन । यहाँ पनि मानसम्मान र सुरक्षाको कुरा आउँछ । सुरक्षा भनेको पुँजीको मात्रै होइन, व्यक्तिको पनि हो । कालाबजारी ऐन, सम्पत्ति शुद्धीकरण ऐन आदिमा जुन वेला पनि फस्न सकिन्छ । ऐनको व्याख्यामा स्पष्टता नहुने भएकाले यस्तो अवस्था भएको हो । मानसम्मान र सुरक्षामा ध्यान दिन सके धेरै उद्योगीले नेपालमै लगानी गर्छन् ।

नीतिगत स्पष्टता पनि चाहियो । नीति कागजमा भएरमात्रै भएन, कार्यान्वयन हुनुपर्‍यो । यसो भएपछि लगानी, श्रम, उत्पादन हुँदै समृद्धि हुन्छ । नीतिगत स्थायित्व पनि चाहियो । यसपालिको बजेटमा एउटा कुरा र अर्को बजेटमा अर्को कुरा भयो भने स्थायित्व भएन । दीर्घकालीन नीति चाहियो । दश वर्षसम्म ढुक्कले काम हुन सकोस् । अनि लगानीकर्ताले दश वर्षको कुरा सोचेर आत्मविश्वासका लागि लगानी गर्छ ।

यो सरकारसँग अपेक्षा थियो । दुई तिहाईको सरकार त ऐतिहासिक कुरा थियो । यस्तो सरकारसँग अपेक्षा हुनु स्वाभाविकै थियो तर त्यसअनुसार खासगरी निजी क्षेत्रलाई प्रोत्साहन गरेको वातावरण हामीले पाएनौँ ।

लकडाउनका कारणले अटोमोबिलको क्षेत्रमा कस्तो असर पारेको छ ?

असर त पूरै अटोमोबिलमा परेको छ तर टु ह्वीलरमा कम असर छ । नेपाल सरकारले विलासिता माने पनि टु ह्वीलर जरुरी आवश्यकता भइसकेको छ । फोर ह्वीलर पनि आवश्यकता नै हो, लकडाउनमा त ठप्पै भएको छ । अब दशैँमा केही चहलपहल होला ।

यसको ठूलो असर छ । अटोमोबिल क्षेत्रले झण्डै १६ लाख जनालाई रोजगारी दिन्छ । हरेक वर्ष २ लाख रोजगारी सिर्जना गर्छ । सय अर्बभन्दा बढी राजस्व तिर्छ । एसेम्ब्ली बनाउन टु ह्वीलरलाई २५ प्रतिशत र फोर ह्वीलरलाई ५० प्रतिशत अन्तशुल्क छुट दिएको छ, त्यो एमआरपीमा आउँदा ५ देखि ७ प्रतिशतमात्रै हुन्छ ।

यो छुट बढाएर नेट एमआरपी १० प्रतिशत बनाउन सक्दा एसेम्बलका लागि पार्टपूर्जाहरू पनि यहीँ बन्न थाल्छ । पार्टपूर्जा ल्याउँदा पनि भन्सारशुल्क उच्च छ । थोरै सुविधा बढाउने हो भने यहीँ अटोमोबिल इण्डष्ट्री तयार हुन्छ ।

उद्योगी-व्यवसायीको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघमा कोभिडका कारणले नयाँ नेतृत्व आएको छैन । कोरोनाले परेको असर र समसामयिक विषयहरूमा महासंघको भूमिका कस्तो देख्नुहुन्छ ? नेतृत्वका लागि तपाईंको भावी योजना केही छ कि !

कोरोनाको असरले महासंघको चुनाव हुन पाएको छैन । हाम्रो मात्रै होइन, सबैतिरको समस्या एकै हो । म उपाध्यक्ष पदमा उठ्ने भनेको छ । त्यो पदमा पुगेपछि मेरो भूमिका फरक हुन्छ । अहिले पनि महासंघमा मेरो जिम्मेवारी छ । म अहिले बैंक फाइनान्स, इन्स्योरेन्स कमिटीको अध्यक्ष हुँ ।

लकडाउनको समयमा पनि हामीले जिल्लाबाट सल्लाह, सुझाब संकलन गरीकन पेपर बनाएर प्रस्तुत गर्‍यौँ । यसले मौद्रिक नीतिमा सहयोग गर्‍यो । काम भइरहेकै छ । चुनाव हुन सक्यो भने नयाँ नेतृत्व आउँछ, तबसम्म त अहिलेकै नेतृत्व रहनुको विकल्प छैन । महासंघ सधैँ उद्योगी-व्यवसायीको हकहित र देशको उन्नतिको लागि अघि बढिरहन्छ ।

महासंघमा गएर काम गर्ने हो । महासंघमा किन जाने ? सेवा गर्न जाने हो । निजी क्षेत्रको विकासका लागि महासंघले काम गर्ने हो । देशको विकास, समग्ररूपमा देशको विकासको काममा मद्दत गर्ने हो । मैले राम्रो काम गरेँ भने म पनि नेतृत्वमा पुग्ने सम्भावना हुन्छ ।

कोभिड–१९ ले जनजीवन र देशको आर्थिक अवस्थामा ठूलो संकट त ल्याएकै छ । यस विपरीत यो संकटले भविष्यका लागि कुनै अवसर पनि ल्याएको छ ? कि संकटमात्रै ?

यसमा ग्लोबल इक्जाम्पल हेरौँ । एमेजोन र जेफ बेजोज कहाँ थियो त, दुई-तीन नम्बरमा थियो । बिल गेट्स सबैभन्दा धनी थियो । कोरोनाकै समयमा जेफ बेजोज सबैभन्दा धनी मान्छे भयो । जुम कति मानिसको एप्लिकेसन थियो, अहिले हेर्नुहोस् कहाँ छ । नेपालमा पनि त्यस्तै अवस्था आउन सक्छ ।

अब हाम्रो आनीबानी र काम गर्ने तरिकाहरू सिफ्ट हुन्छ, फरक पर्छ । अब हाम्रो माइण्डसेट र कन्जुमर बिहेवियर फेरिन्छ । अब अनलाइनतिर जान्छौँ । कन्ट्याक्टलेस डेलिभरी सर्भिसतिर जान्छौँ । अब हामी आफ्नो स्वास्थ्यप्रति पनि बढी सचेत हुन्छौँ । हेल्थ सर्भिस, हेल्थ प्रोडक्ट, आइटी, इकमर्स हुँदै सबै अनलाइन प्लेटफर्मतिर जान्छ । अब अनलाइन एजुकेशनतिर जाने हुन्छ । उद्योगहरूमा पनि परिवर्तन आउँछ, आत्मनिर्भरतातिर जानेछ । यो ठूलो अवसर हुनेछ ।

अब युवाहरूको सिप प्रयोगको अवसर धेरै हुनेछ । एउटा राम्रो एप बनाएर विश्वकै बजार लिने अवसर हुनसक्छ । यसका लागि पनि पूर्वाधारको विकास आवश्यक हुन्छ । इन्टरनेट लाइन छैन, ब्याण्डविथ छैन । विकासको सबै पूर्वाधार चाहिन्छ, बाटो, पुल, बिजुली सबै चाहिन्छ ।

यो कोरोनाले हाम्रो कृषिमा ठूलो सकारात्मक परिवर्तन ल्याउनेवाला भने चर्चा र विश्लेषण सुनिन्छ । यसमा तपाईं के भन्नुहुन्छ ?

नीतिगतरूपमा प्राथमिकताको क्षेत्र भएको हुनाले कम व्याजदरमा ऋण सहजीकरण गर्नुपर्‍यो । बजेटमा भनिएको कृषिको प्राथमिकता क्षेत्रमा कति युवाहरूले ऋण लिए ? ऋण उपलव्ध नै भएन । ऋण लिनै आएनन् । त्यस्तो सहुलियत ऋण किन उपयोग भइरहेको छैन भन्ने बुझ्नु पर्‍यो ।

अब हामी कृषिमा बिस्तारै निर्वाह प्रणालीबाट व्यावसायिक प्रणालीमा जानुपर्छ । हामी अझ हाई भ्यालु एग्रिकल्चरमा जानुपर्छ । नेपालमा यार्सागुम्बा छ, यसलाई व्यावसायिक गरेर विश्वभर पुर्‍याउनु पर्‍यो । हाम्रा हिमाली इकोजोनमा जे पनि उत्पादन गर्न सक्छौँ । अब हाई भ्यालु मेडिसिनल हर्ब र रुख उत्पादन गर्नुपर्‍यो ।

जोमसोमको स्याउ बजार पुर्‍याउने पूर्वाधार छैन, बाटो छैन । शीतभण्डार छैन । पूर्वाधार भए त जोमसोमको स्याउ नेपालभरि जान्थ्यो नि ! त्यो स्याउ निर्यात नै गर्न सक्थ्यौँ नि । यो त उपहार हुन्छ ।

हामीले भ्यालु एसिडन पनि हेर्नु पर्‍यो । हामी सुन्तलाको बोक्रा फ्याक्छौँ, चिनियाँले पाउँ बनाउँछ । हामी नेपालबाट अति सस्तोमा बोराका बोरा कच्चा पदार्थ निर्यात गर्छौं र उनीहरूले प्रोसेसिङ गरेपछि कैयौँ गुणा बढी तिरेर हामी किन्छौँ । यसो गर्नु भएन । हाम्रो उत्पादनको भ्याल्यु एडिसन हामीले नै गर्नुपर्‍यो । यसका लागि सरकारले नीति बनाउनुपर्‍यो । उचित वातावरण दिनुपर्‍यो ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ४ : ४१ बजे

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द

सडक बालबालिका मुक्त बनाउन मन्त्री चौधरीको निर्देशन

ललितपुर – सडक बालबालिका मुक्त बनाउन महिला, बालबालिका तथा ज्येष्ठ

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवन बन्दै

काठमाडौं– दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकास्थित श्री गलैनाथ माध्यमिक विद्यालयको भवन

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले पद तथा