लकडाउनका बेला मानसिक चिन्ता– कोरोना लागेर मरिने पो हो कि ! | Khabarhub Khabarhub

लकडाउनका बेला मानसिक चिन्ता– कोरोना लागेर मरिने पो हो कि !


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको लगनखेलस्थित मानसिक अस्पतालमा आएका कतिपय बिरामीलाई कोही पनि मानिससँग नजिक जान डराउने समस्या देखिएको छ । कोभिड–१९ को रोकथामका लागि सबै नागरिकले सामाजिक दूरी कायम गरे पनि ती व्यक्ति जो कोही आफ्नो नजिक आउनासाथ रोग लागिहाल्छ कि भन्ने चिन्तामा रहेको पाइन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चारमाध्यमबाट साबुनपानीले हात धुनु भन्ने सन्देश सुनेरै कतिपय दिनभर हात धुने काम मात्रै गरेको पनि अस्पतालले जनाएको छ । बीस सेकेण्डसम्म मिचीमिची हात धुनु भन्ने सन्देश सुनेरै उनीहरु दिनभर अधिकांश समय हात धोएरै बिताउने गरेका छन् ।

विश्वव्यापीरूपमा फैलिरहेको कोभिड–१९ सङ्क्रमितको सङ्ख्या नेपालमा पनि थपिरहँदा त्यसकै भयका कारण मानसिक रोगको जोखिम बढिरहेको छ । कतिपय यसअघि नै औषधि खाइरहेका बिरामी त कतिपय नयाँ बिरामीमा मानसिक समस्या देखिन थालेको अस्पतालले जनाएको छ ।

कतिपय बिरामीमा सामान्य रुघाखोकी पनि कोरोना भाइरस नै हो भन्ने रूपमा लिने गरेको पाटन मानसिक अस्पतालका प्रमुख मनश्चिकित्सक डा अनन्तप्रसाद अधिकारीले बताए । उनका अनुसार कतिपय व्यक्ति भने रोगको रोकथामका लागि तीन–चार मास्क एकैपटक लगाउने गरेको पाइन्छ । उनले भने, ‘धेरै मास्क लगाउँदा बढी सुरक्षित हुन्छु भन्ने भ्रम ती व्यक्तिमा रहेको पाइन्छ ।’

कोभिड–१९ का त्रासका कारण नरम र कडा दुवै किसिमका मानसिक समस्या भएको पाइएको छ । यस समयमा व्यक्तिमा साइकोसिस (वास्तविक र अवास्तविक छुट्याउन नसक्ने अवस्था), एन्जाइटी, डिप्रेसन (नैराश्यता) लगायत मानसिक रोग देखिरहेको छ ।

ती व्यक्तिमा डराउने, झस्कने, जुनसुकै कुरालाई शङ्काका रूपमा हेर्ने, निद्रा नलाग्नेलगायत समस्या देखिन थालेको उनले बताए । रोगकै त्रासका कारण कतिपयमा अल्कोहलको प्रयोग अत्यधिक बनाएका छन् । यो समयमा मानसिक समस्या महिला र पुरुष दुवैमा बराबर रहेको अस्पतालमा आउने बिरामीको सङ्ख्याले देखाएको छ ।

लकडाउनका कारण बिरामीको सङ्ख्या कम हुनु स्वभाविक भए पनि अहिले पनि बिरामी उपचारका लागि आइरहेको अस्पतालले जनाएको छ । सामान्य अवस्थामा दैनिक १५० देखि २०० सम्म बिरामी उपचारका लागि आउने गरेकामा अहिले झण्डै ३०/३५ जना आइरहेका छन् ।

उपचारका लागि आउनेमा काठमाडौं उपत्यकाकै बिरामीको सङ्ख्या बढी रहेको अस्पताल निर्देशक डा मोहनराज श्रेष्ठले बताए । कतिपय भने बाहिरी जिल्लाबाट पनि आकस्मिक सेवाका लागि आएका छन् । कोभिड–१९ का बारेमा राम्ररी नबुझेर पनि व्यक्तिमा त्रास बढी भएको उनले बताए । ‘कतिपयमा रोग लाग्नासाथ मरिहाल्छु कि भन्ने भय पाइन्छ,’ उनले भने, ‘सावधानी अपनाएपछि रोग लाग्दैन र लागेपछि पनि निको हुने सम्भावना बढी छ भनी बुझाउनुपर्छ ।’

मानसिक रोगको असर सबै उमेर, वर्ग र पेशामा देखिएको भए पनि यस्ता विपद्का समयमा विगतमा औषधोपचार गरेर निको भएका वा हाल उपचार गराइरहेका व्यक्ति बढी जोखिममा रहेका छन् । ती व्यक्तिमा कुनै पनि कुरा सहन नसक्ने समस्या पाइन्छ ।

बालबालिका पनि रोगको जोखिम रहने डा अधिकारीले बताए । ‘उनीहरुमा रोग लागेपछि निको नै हुँदैन भन्ने चिन्ता हुनसक्छ,’ डा अधिकारी भन्छन् । बालबालिकालाई रोगबारे सजग गरे पनि अभिभावकले सही सूचना दिएर अनावश्यक चिन्तामा जान दिन नहुने उनको सुझाव छ । उनले भने, ‘जुनसुकै कुरालाई झिँझो मान्ने, निद्रा नलाग्नेलगायत यो रोगका लक्षण हुन् ।’

कोभिड–१९ का बारेमा आधिकारिक निकायका सूचना मात्रै पढ्न र सुन्न उनले सुझाव दिए । रोगका लक्षण देखिएपछि वा सङ्मणको सम्भावना हुँदा आइसोलेसनमा गए पनि सामान्य अवस्थामा यो समय परिवारसँग बिताउन सकिन्छ । सामाजिक सञ्जालको अत्यधिक प्रयोग गर्नुभन्दा पारिवारका सबै सदस्य एक ठाउँमा बसेर कुराकानी गर्नु उपयुक्त हुन्छ । घरमा बस्दा हुने खाली समय सिनेमा हेर्ने वा सङ्गीत सुनेर बिताउनुपर्ने उनको सुझाव छ । उनले भने, ‘परिवार एकै ठाउँमा बस्दा एकले अर्काको कुरा सुन्ने हँदा डिप्रेसनको जोखिम कम हुन्छ ।’

अहिलेसम्म मानसिक रोगको औषधिको समस्या भने भइनसकेको अस्पतालले जनाएको छ । अस्पतालमा भर्ना गरेर उपचार गर्न ५० श्यया रहेकामा अहिले पनि झण्डै ४० जनाको हाराहारीमा बिरामी छन् ।

अस्पतालमा धेरै कर्मचारी करारमा रहेकाले लकडाउन लम्बिँदा तिनलई तलब दिन भने समस्या आउनसक्ने देखिएको अस्पताल निर्देशक डा श्रेष्ठले बताए । अस्पतालमा ३१ जना करारका कर्मचारीलाई अस्पतालले नै तलब दिँदै आएको छ । उनले भने, ‘लकडाउन अझै लम्बिँदा समस्या अझै बढी हुनसक्छ ।’


सञ्चिता घिमिरे/रासस

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  २ : ३२ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका