कांग्रेसका ११ युवा नेताहरुले भने- प्रधानमन्त्री ओलीसँग सत्तामा बस्ने नैतिकता छैन | Khabarhub Khabarhub

कांग्रेसका ११ युवा नेताहरुले भने- प्रधानमन्त्री ओलीसँग सत्तामा बस्ने नैतिकता छैन


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका युवा नेताहरुले प्रधानमन्त्रीसँग अब सरकारको नेतृत्व गरेर बसिरहने नैतिक आधार बाँकी नरहेको निश्कर्ष निकालेका छन् ।

बुधबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै कांग्रेस युवा नेताहरुले संविधान बनाउँदा अत्यन्त सुझवुझका साथ राखिएको प्रावधानहरूलाई भत्काएकाले सत्तामा रहने नैतिकता प्रधानमन्त्री केपी शर्मा ओलीसँग नभएको ठहर गरेका हुन् ।

सरकारको निर्णयपछि राष्ट्रपतिले जारी गरेका दुवै अध्यादेश कुनै दल विशेषको विषय वा कानून परिमार्जनको विषयमा मात्र सिमित नभई संविधानले परिकल्पना गरेको सिंगो राजनीतिक व्यवस्थामाथि प्रहार भएको उनीहरुको भनाइ छ ।

११ युवा नेताहरुले वक्तव्य मार्फत् सोधेका छन्, “संविधानले व्यवस्था गरेको संवैधानिक परिषदको नियुक्तिको प्रावधानलाई संविधानकै खिलाप हुनेगरी अध्यादेश ल्याउने अधिकार सरकारलाई कसरी भयो ? के मनसुवाका साथ त्यो प्रावधान हटाइयो ?”

कांग्रेस केन्द्रीय सदस्यहरु डा. चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ्ग, रत्ना शेरचन, गगन कुमार थापा, बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, प्रदिप पौडेल, रामकृष्ण यादव, सरिता प्रसाइले जारी गरेको वक्तव्यमा संविधानलाई कुल्चेर ल्याइएको जालझेल र षडयन्त्रपुर्ण अध्यादेश प्रधानमन्त्रीको आफ्नो स्वार्थ पूर्ति गर्न र आफ्नो महत्वकांक्षा पूरा गर्नको लागि हो भन्ने प्रष्ट भइसकेको उल्लेख गरिएको छ ।

उनीहरुले संवैधानिक अंगहरूमा कब्जा गर्ने मनोकांक्षाका साथ कार्यकारी व्यक्तिको चाहना वा निर्णयबाट संवैधानिक निकायको नियुक्ति गर्ने प्रावधानहरूले संवैधानिक निकायको स्वायत्ततामाथिको निर्मम प्रहार, संविधानले व्यवस्था गरेको सन्तुलन र नियन्त्रणको समेत पूर्णत वर्खिलापमा रहेको जनाएका छन् ।

वक्तव्यमा लेखिएको छ, “जनताले गरेको वलिदानवाट प्राप्त संविधान न कुनै नेता, गुट वा पार्टी विशेषको सत्ता लिप्साका निम्ति थियो नत यो कुनै व्यक्तिको लहड र सनकको अस्त्र बनाउनका लागि हो ।”

लोकतान्त्र र संविधानमाथी नै प्रहार गर्ने कुत्सित मनसायबाट उत्प्रेरित अध्यादेश सरकारले अबिलम्ब फिर्ता लियोस्, अन्यथा यस विरुद्धको प्रतिरोध आन्दोलनको परिणाम भोग्न तयार रहोस् भन्ने चेतावनी पनि वक्तव्य मार्फत् काँग्रेसका युवा नेताहरुले दिएका छन् ।

सरकारको यो कदममा राष्ट्रपतिको भूमिकालाई अस्वभाविक हतारो र संलग्नता आश्चर्यजनक मात्रै होइन संशयपूर्ण पनि रहेको उनीहरुको ठहर छ । यस घटनाले राष्ट्रपति जस्तो गरिमामय संस्थालाई पुनः एकपटक कुनै दल भित्रको गुट विशेषको सहयोगी जस्तो बनाएको युवा नेताहरुले आरोप लगाएका छन् ।

यतिवेला आफुहरु कोरोना विरूद्धको लडाई र सरकारको असंवैधानिक कदम विरुद्धको लडाई गरी दुई मोर्चाको लडाईमा रहेको काँग्रेसका युवा नेताहरुले वक्तव्यमा उल्लेख गरेका छन् ।

कोरोना महासंकटको बाहनामा सरकारले विषयान्तर गर्न खोजेपनि आफुहरुले सरकारलाई छुट नदिने र अध्यादेश फिर्ता गराई छाड्ने अठोट उनीहरुले व्यक्त गरेका छन् । कोरोनासँगै संविधानलाई जोगाउन पनि एक जुटभएर लड्नेगरी तयार रहन आम नागरिकलाई पनि युवा नेताहरुले आह्वान गरेका छन् ।

लोकतन्त्र र संविधान जोगाउन इतिहासले सुम्पेको अर्को एक दायित्व निर्वाह गर्न प्रविधि मार्फत छलफल गर्नेगरी नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको वैठक अबिलम्ब बोलाउन पनि उनीहरुले पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

वक्तव्यको पूर्ण अंश

प्रेस विज्ञप्ति

मन्त्रीपरिषदको सिफारिसमाराष्ट्रपतिज्यूबाट वैशाख ८ गते जारी अध्यादेशहरूका सन्दर्भमा नेपाली कांग्रेसको पदाधिकारीहरूको वैठकलेआपत्ति प्रकट गर्दै यसको प्रतिवाद गर्न सवै राजनीतिक दल, संघसंस्था, नागरिक समाज, आम संचार माध्यम र समस्त नेपालीहरूमा अपील गरिसकेको छ। हामी सरकारको कृत्यको घोर भर्त्सना र खेद प्रकट गर्दै सरकारले चालेकोअसंवैधानिक कदमका विरुद्ध एकवद्ध हुन नेपाली कांग्रेस पार्टीले गरेको आव्ह्वानलाई पुन: दोहोर्‍याउन चाहान्छौं । साथै यस घडीमा पार्टीको भूमिकालाई अझै प्रभावकारी बनाई सरकारको यो रवैयाका विरुद्धकोप्रतिरोध आन्दोलनलाईसशक्त र परिणाममुखी वनाउनपार्टीभित्र वृहत छलफल आवश्यक भएकोले अबिलम्ब नेपाली कांग्रेस केन्द्रीयकार्य समितिको वैठक बोलाउन हामी सभापतिज्यू समक्ष जोडदार माग गर्दछौं । लकडाउनको समयमै प्रविधिको प्रयोग गरी वैठक वस्न सम्भव छ।

महासंकटको यो क्षणमा यी अध्यादेशहरू जारी गर्नुले प्रधानमन्त्रीको अन्तरनिहित उद्देश्य, नियत र प्राथमिकता के रहेछ भन्ने पुष्टी गरेको छ । जनता महामारीको त्रास र लकडाउनले सिर्जना गरेको कष्टकर दैनिकीबाट आक्रान्त छन्, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरू आफ्नो जीवनलाई हत्केलामा राखेर महामारी नियन्त्रणको प्रयासमा खटिरहेका छन्, नेपाली कांग्रेस लगायतका राजनीतिक दलहरू, सञ्चार जगत,नागरिक समाज एकतावद्ध भएर महासंकटबाट मुक्तिका लागि सहकार्य गरिरहेकाछन्।यस कहालीलाग्दो परिस्थितिमा थप जिम्मेवारीबोध सहित सवैलाई एकतावद्ध गरी महामारीसंग जुध्नुपर्ने सरकार स्वयं यसप्रति बेखबर जस्तो बनेर जारी गरेको अध्यादेशको कुनै कोणबाट पनि औचित्य पुष्टि हुन सक्दैन । बरु यसबाट सरकार सत्ता राजनीतिको छुद्र खेलमा कतिसम्म लिप्त रहेछ भन्ने स्पष्ट भएको छ। यो समयमा सरकारको यो भन्दा ठुलो गैरजिम्मेवारीपन अरु हुन सक्दैन ।यो वदनियतपूर्ण निर्णयसंगै सरकार चलाउनका लागि वैधानिक हैसियत रहेपनि शासन संचालनको वैधता भने अब सरकारले गुमाइसकेको छ ।

यी अध्यादेशहरू समयको संवेदनशिलता रपरिस्थितिको गाम्भिर्यता अनुरुप नभएर मात्र आपत्तिजनक भएका होइनन । अध्यादेशले संविधानको आधारभूत स्तम्भलाई भत्काएको छ ।नेपाली जनताकोलामो संघर्षवाट जारी भएको संविधान, संविधानले स्थापित गरेको व्यवस्था र हामीले अबलम्बन गरेको लोकतान्त्रिक राजनीतिक प्रणालीलाई मास्ने षडयन्त्रको रुपमा यी अध्यादेश आएको छ ।त्यसैले यो आपत्तिजनक छ, अस्वीकार्य छ ।

संविधान वनाउँदै गर्दा लामो राजनीतिक अस्थिरताबाट गुज्रेको हाम्रो अनुभवबाट सिक्दै हाम्रो आवश्यकता र जनआकाक्षाको संवोधन गर्न,आवधिक निर्वाचनवाट आउने संसदमा राजनीतिक स्थिरताको खोजी गर्न, यसभित्रै शक्ति सन्तुलन र नियन्त्रण गर्न संविधानमा केहीविशेष प्रावधान सहितको राजनीतिक प्रणालीको व्यवस्था गरेको हो ।त्यसमध्ये एउटा महत्वपूर्ण व्यवस्था दलसम्बन्धि व्यवस्था हो ।अध्यादेशमार्फत गरेको परिवर्तनले संविधान बनाउँदा अत्यन्त सुझवुझका साथ राखिएको ति प्रावधानहरूलाई भत्काएको छ ।यो कुनै दल विशेषको विषय वा कानून परिमार्जनको विषयमा मात्र सिमित छैन ।यसले संविधानले परिकल्पना गरेको सिंगो राजनीतिक व्यवस्थामाथी प्रहार हो ।त्यसमाथी संसदीय व्यवस्थाभित्र स्थीर सरकारको नारा दिएर सत्तारोहण गरेका वर्तमान प्रधानमन्त्रीसंग यो कदम पछि सरकारमा वसिरहनेकुनै नैतिक आधार वांकी होला र ?

संविधानले व्यवस्था गरेको संवैधानिक परिषदको नियुक्तिको प्रावधानलाई संविधानकै खिलाप हुनेगरी अध्यादेश ल्याउने अधिकार सरकारलाई कसरी भयो? के मनसुवाका साथ त्यो प्रावधान हटाइयो? त्यसका विवध पक्षको खुलासा त विस्तारै होला नै । तर संवैधानिक अंगहरूमा कब्जा गर्ने मनोकांक्षाका साथ कार्यकारी व्यक्तिको चाहना वा निर्णयबाट संवैधानिक निकायको नियुक्ति गर्ने प्रावधानहरूजसरी अध्यादेशमार्फत आएको छ यो संवैधानिक निकायको स्वायत्ततामाथिको निर्मम प्रहार त हो नै संविधानको व्यवस्था गरेको सन्तुलन र नियन्त्रणको समेत पूर्णत वर्खिलापमा छ । यो संविधानको विरुद्धमा छ।

संविधानलाई कुल्चेर गरिएको यो जालझेल र षडयन्त्रपुर्ण हर्कत प्रधानमन्त्रीको आफ्नो स्वार्थ पूर्ति गर्न र आफ्नो महत्वकांक्षा पुरा गर्नको लागि हो भन्ने प्रष्ट भइसकेको छ ।याद रहोस, हामी कदापी त्यस्तो हुन दिने छैनौं । लोकतान्त्रिक व्यवस्थाको निम्ति नेपाली जनताले गरेको वलिदानवाट प्राप्त संविधान न कुनै नेता, गुट वा पार्टी विशेषको सत्ता लिप्साका निम्ति थियो नत यो कुनै व्यक्तिको लहड र सनकको अस्त्र बनाउनका लागि हो । हामी चेतावनी दिन चाहन्छौं, लोकतान्त्र र संविधानमाथी नै प्रहार गर्ने कुत्सित मनसायबाट उत्प्रेरित यी अध्यादेश सरकारले अबिलम्ब फिर्ता लियोस् अन्यथा यस विरुद्धको प्रतिरोध आन्दोलनको परिणाम भोग्न तयार रहोस् ।

सरकारको यो कदममा सम्माननीय राष्ट्रपतिज्यूको अस्वभाविक हतारो र संलग्नता आश्चर्यजनक मात्रै होइन संशयपूर्ण पनि छ ।यस घटनाले राष्ट्रपति जस्तो गरिमामय संस्थालाई पुनः एकपटक कुनै दल भित्रको गुट विशेषको सहयोगी जस्तो बनाएको छ ।जुन विडम्बनाको विषय हो । राष्ट्रपति व्यक्ति होइन संस्था हो, यस गौरवपूर्ण संस्थाको गरीमा राख्नको लागि हामी पुन: सचेत गराउन चाहन्छौं।

अन्त्यमा,

यतिवेला हामी दुइवटा मोर्चाको लडाईमा छौं-कोरोना विरूद्धको लडाई र सरकारको असंवैधानिक कदम विरुद्धको लडाई ।कोरोना महासंकटको यो क्षणमा सरकार स्वयंले विषयान्तर गर्न खोजे तापनि हामीलाई त्यो छुट छैन लागिरहेका छौं,लागिरहने छौं । जो जहाँ छौं आफू सुरक्षित रहेर कोरोना विरुद्धको यो लडाईमा निरन्तर लाग्न, साथ सहयोग गर्न सवैमा हामी हार्दिक अपील गर्दछौं ।

साथै यो संविधानलाई जोगाउन पनि संगसंगै लड्नुपर्नेछ ।त्यसैलेसरकारको असंवैधानिक कदमका विरुद्ध प्रतिरोधका लागि ठोस निर्णय लिन तथा राजनीतिक दल र समस्त लोकतन्त्रवादीहरूलाई एकवद्ध गर्दै लोकतन्त्रको रक्षार्थ इतिहासले सुम्पेको अर्को एक दायित्व निर्वाह गर्न पार्टीभित्र वृहत छलफलको लागि अविलम्ब नेपाली कांग्रेसकेन्द्रीय कार्य समितिको वैठक बोलाउननेपाली कांग्रेसकासभापति समक्ष पुन: आग्रह गर्दछौं।

जय नेपाल!

 

१. चन्द्र भण्डारी,,केन्द्रीय सदस्य, नेपाली कांग्रेस

२. कमला पन्त, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

३. धनराज गुरुङ्ग,  केन्द्रीय सदस्य, नेपाली कांग्रेस

४. रत्ना शेरचन, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

५. गगन कुमार थापा, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

६. बद्री पाण्डे, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

७. जीवन परियार, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

८. गुरुराज घिमिरे, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

९. प्रदिप पौडेल, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

१०. रामकृष्ण यादव, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

११. सरिता प्रसाइ, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

 

मिति २०७७ वैशाख १० गते।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  १ : ०८ बजे

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार

निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता : प्रधानमन्त्री 

हेटौंडा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर

सुपरहिटको ट्याग पाउँदै ‘महाजात्रा’ दोस्रो हप्तामा प्रवेश

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन रहेको ‘महाजात्रा’ सुपरहिटको ट्याग पाउँदै दोस्रो