सेल्फ क्वारेन्टाइनको निगरानी शून्य, फारम भर्ने ५० हजार | Khabarhub Khabarhub

सेल्फ क्वारेन्टाइनको निगरानी शून्य, फारम भर्ने ५० हजार


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना भाइरस प्रभावित देशबाट नेपाल आउनेहरू ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नुपर्ने निर्णय गर्‍यो ।

सरकारको निर्णयअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चैत ५ गतेदेखि नेपाल भित्रिनेहरूलाई सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने फारम भराएर मात्र विमानस्थलबाट निस्किन दिइयो ।

विभिन्न देशबाट नेपाल प्रवेश गरेका तर कोरोना भाइरस संक्रमणको लक्षण नभएका व्यक्तिका लागि सरकारले सेल्फ क्वारेन्टाइनको फारम भराएको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकका अनुसार चैत ५ गतेदेखि शनिबार साँझसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र ५० हजार व्यक्तिले सेल्फ क्वारेन्टाइनको फारम भरेका छन् ।

फारमको निर्देशन अनुसार सेल्फ क्वारेन्टाइनमा हुने व्यक्तिले एउटा कोठामा एक्लै बस्नुपर्ने र एक्लै बस्न सम्भव नभए एक मिटरको दुरी कायम गरी छुट्टै बेडमा बस्नुपर्ने उल्लेख गरिएको छ ।

यस्तै, क्वारेन्टाइनमा रहेका व्यक्तिले छुट्टै बाथरूम तथा शौचालय प्रयोग गर्नुपर्ने, एउटै बाथरुम प्रयोग गर्नुपर्ने भए प्रयोगपछि राम्रोसँग सरसफाइ गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

हरेक दिन आफ्नो कोठा आफैँले सफा गर्नुपर्ने, क्वारेन्टाइनमा भएको व्यक्ति कुनै काम, स्कूल, कलेज वा सार्वजनिक स्थलमा जान नपाइने लगायत १४ दिनसम्म पालना गर्नुपर्ने १५ वटा नियमहरू छन् ।

निर्देशिका अनुसार क्वारेन्टाइनमा भएका व्यक्तिले हरेक दिन आफ्नो ज्वरो मापन गरी त्यसको रेकड राख्नुपर्छ ।

सेल्फ क्वारेन्टाइनमा रहेको व्यक्तिले उक्त नियम पालना गरेको छ कि छैन भनेर हेर्ने जिम्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हो ।

क्वारेन्टाइनमा रहेका व्यक्तिको निगरानी गर्ने र उनीहरूको अवस्थाबारे जानकारी राख्ने निकाय हो स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभाग मातहतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ।

महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डे भने सेल्फ क्वारेन्टाइनको फारम भरेका ५० हजारको अवस्थाबारे जानकारी नभएको बताउँछन् ।

‘सरकारले सबैलाई क्वारेन्टाइनमा राख्न नसक्ने भएकाले सेल्फ क्वारेन्टाइनको व्यवस्था गरेपछि ५० हजारले सेल्फ क्वारेन्टाइनको फारम भरेका छन्,’ डा पाण्डेले भने, ‘तर फारम भरेका व्यक्तिको अवस्थाबारे हामी केही भन्न सक्दैनौँ, अहिले फारम भरेकाहरूको विवरण कम्प्युटरमा अध्यावधिक गर्ने मात्र काम भइरहेको छ, अहिले सबैको अवस्थाबारे बुझ्न सम्भवन नै छैन ।’

उनले सेल्फ क्वारेन्टाइनमा रहेकाहरूको अवस्थाबारे बुझ्न छिट्टै स्वास्थ्यकर्मीको टोली परिचालन गरिने बताए ।

स्थल नाकाबाट आएका ८७ हजारले भरेनन् फारम

सरकारले कोरोना भाइरसको संक्रमण नेपालमा फैलिन नदिन चीन र भारतका गरी ४१ वटा सीमा नाकामा स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्थ स्थापना गरेको जनाएको छ ।

स्थल नाकाबाट भित्रिएकाहरूको स्वास्थ्य परीक्षण गरी सेल्फ क्वारेन्टाइनको फारम भराउने भनिए पनि शनिबार भित्रिएका ८७ हजारलाई फारम नभराइएको मशाखाकाका निर्देशक डा पाण्डेले बताए । उनले सीमा नाकामा खटिएका स्वास्थ्यकर्मीको यकिन जानकारी समेत आफूहरूलाई नभएको बताए ।

‘हिजो मात्र सीमा नाकाबाट ८७ हजार व्यक्ति नेपाल आए तर उनीहरूलाई सेल्फ क्वारेन्टाइनको फारम नै भराइएको छैन,’ डा पाण्डेले भने, ‘सीमा नाकाका ४१ स्थानमा ३ जनासम्म स्वास्थ्यकर्मी परिचालन हुनुपर्ने हो, त्यो कामको जिम्मा प्रदेश सरकारलाई दिइएको छ । त्यहाँ कतिजना परिचालन भएका छन्, यसको जवाफ पनि अहिले दिन सकिँदैन ।’

हटलाइनमा जिज्ञासा धेरै, सम्बोधन कम

सरकारले कोरोना भाइरस संक्रमणको विषयमा जानकारी दिन सर्वसाधारका लागि फागुन ३० गतेदेखि हटलाइन सेवा व्यवस्था गरेको छ ।

हटलाइन सेवामा आउने गुनासोको सम्बोधन गर्ने जिम्मेवारी पनि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई दिइएको छ ।

महाशाखाका प्रमुख डा पाण्डेका अनुसार फागुन ३० गतेदेखि चैत ६ गतेसम्ममा हटलाइन सेवामा २८ हजार ८७५ फोन कल आएको थियो । महाशाखाले भने ८ हजार ७९१ फोन कलको मात्र जवाफ दिन सकेको डा पाण्डेले बताए ।

‘महाशाखाको हटलाइन सेवामा आएका कलमध्ये धेरै कोरोनाको विषयमा सूचनाका प्राप्त गर्नको लागि थिए, २८ हजार कलमध्ये ८ हजारको मात्र उत्तर दिन सकियो,’ डा पाण्डेले भने, ‘हटलाइन सेवाको फोन कलबारे विश्लेषण गर्दा कोरोना बारे अझै धेरैमा जानकारीको कमी रहेको पाइयो ।’

उनका अनुसार धेरैले कोरोनाको रोकथाम, नियन्त्रण, उपचार र नेपालको वर्तमान अवस्थाबारे जानकारी माग्ने गरेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ५ : ४१ बजे

एक जना मन्त्री सहित सरकार विस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

कर्णाली– सत्ता साझेदार दलको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका यामलाल

विपक्षीले अपव्याख्या गरे, हाम्रो सरकार २०८४ सम्म जान्छ : खगराज अधिकारी

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेकपा (एमाले) बाट लाभका

उपनिर्वाचनको आज प्रचार प्रसारको अन्तिम दिन

इलाम– इलाम क्षेत्र नम्बर-२ मा वैशाख १५ मा हुने उपनिर्वाचनका

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित 

वासिङ्टन– अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल

नेपाल र कतारबीच विभिन्न ८ वटा समझदारीमा हस्ताक्षर

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारी भएको छ