कोरोना संक्रमणको जोखिमप्रति उदासीन राजनीतिक दलहरू | Khabarhub Khabarhub

कोरोना संक्रमणको जोखिमप्रति उदासीन राजनीतिक दलहरू


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोभिड–१९ (कोरोना भाइरस) को महामारी फैलिएको छ ।

यसबाट बच्न विभिन्न देशहरूले सावधानी अपनाइरहेका छन् । नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका एक जना निको भएर घर फर्किसकेका छन् ।

नेपालमा संक्रमण नफैलिए पनि जोखिम भने उच्च छ । सरकारले संक्रमण नियन्त्रण गर्न चरण चरणमा विभिन्न निर्णयहरू गरेको छ ।

सरकारले सांस्कृतिक, धार्मिक तथा सामाजिक कार्यहरूमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता स्थलहरूमा २५ जना भन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको छ ।

सिनेमाहल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेल स्थल, जिम क्लब, हेल्थ क्लव, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थल, डान्सवार र रात्री क्लव लगायत २०७७ वैशाख १८ गतेसम्म बन्द गर्न निर्देशन दिएको छ ।

सरकारले ५५ देशबाट हवाई आवागमन बन्द गरेको छ । सीमानाका पनि बन्द गर्ने विषयमा छलफल चलिरहेको छ । यही चैत १० गतेदेखि लामो दूरीका सवारी साधान चल्न पाउने छैनन् ।

सरकारले नियन्त्रणको प्रयास गरिरहँदा राजनीतिक दलहरू भने यसप्रति उदासीन देखिएका छन् । आफूलाई जनताको सेवक ठान्ने राजनीतिक दलहरूले जोखिम नियन्त्रणका लागि ठोस काम गर्न सकेका छैनन् ।

दलका तर्फबाट हुने सभा – सम्मेलन, भेटघाट बन्द गर्ने र सचेत रहन अपिल गर्नेबाहेक कुनै प्रयास सकेका छैनन् ।

देशभर लाखौंको संख्यामा कार्यकर्ता र अनेक संघ- संगठन रहेका राजनीतिक दलहरूले जनचेतनाका कार्यक्रम चलाउनमा पनि ध्यान दिएका छैनन् ।

सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिकी हिरा थापा शुक्रबारदेखि काठमाडौंमा छिन् । उनले कोरोना भाइरसका बारेमा थाहा नपाएको बताइन् । उनले कुनै रोग आएको छ भन्ने हल्ला सुनेकी छन् तर कसरी बच्ने भन्ने थाहा छैन ।

हिराजस्ता दूरदराजका धेरै नागरिकमा सचेतनाको अभाव छ । यता आफूलाई जनताको सेवक ठान्ने राजनीति दलका नेता–कार्याकर्ता भने त्यसै अलमलिएका छन् ।

संकटको यो घडीमा राजनीतिक दलहरू के गर्दै छन् भन्ने चासो बढेको छ । दलहरू भने आफ्ना कार्यक्रम स्थगित गरेर ढुक्कले बसेका छन् । उनीहरू जनतालाई सचेत बनाउने गरी घरदैलोमा पुग्न सकेका छैनन् ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देशभर १० लाख संगठित सदस्य छन् । पार्टीका ३२ विभाग छन् ।जनवर्गीय, पेशागत र सामुदायिक गरी २५ भन्दा धेरै संघ-संगठनहरू छन् ।

जनशक्ति र पार्टी सञ्जालका हिसाबले देशभर सक्रिय नेकपाले सरकारका निर्णयको समर्थन गर्नुबाहेक कार्यान्वयनका लागि कुनै ठोस काम गर्न सकेको छैन ।

नेकपा नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङ नेकपामा अहिले जनताकाबीचमा जाने कुनै कार्यक्रम नरहेको बताउँछन् ।

उनले भने, ‘सरकारले २५ जना भन्दा धेरै भेला हुने कार्यक्रम, नगर्न आह्वान गरेपछि पार्टीको कुनै कार्यक्रम छैन ।’

कार्यकर्ता तथा सर्वसाधारण जनतालाई सचेत गराउन, सामाजिक सञ्जाल, सञ्चारमाध्यम लगायतका प्रविधिको प्रयोग गरेर सचेत रहन आग्रह गरिएको उनको भनाइ छ ।

नेकपाका अर्का नेता ठाकुर गैरेले केन्द्रीय कमिटी बैठकबाट कोरोना भाइरसबाट बच्न सावधानीका लागि राष्ट्रिय अभियान घोषणा गरिएको बताए ।

उनले भाइरसबारे भ्रम फैलिन नदिन र सरकारलाई ठोस परिणाम दिने गरी काम गर्न पार्टीले निर्देशन दिएको पनि बताए ।

पार्टीका संगठन र युवाशक्तिलाई स्वंयम्सेवकका रूपमा परिचालन गर्न निर्देशन भएपनि त्यसको कार्यान्वयन नेकपाले गरेको छैन ।

नेकपाले सरकारले गरेको कामको समर्थनबाहेक अन्य गतिविधि गर्न नसकेको राजनीतिक विश्लेषक मुमाराम खनाल बताउँछन् ।

उनले सत्ता र शक्तिले अनुकूल रहेको नेकपाले जति प्रभावकारी भूमिका निर्वाह गर्न सक्थ्यो, त्यति हुन नसकेको उनको भनाइ छ ।

नेपालका राजनीतिक दलहरू नागरिकका लागि हुन पर्ने भएपनि जनताको तहमा जान नसकेको खनालको भनाइ छ ।

दलहरूले नागरिकका समस्या निराकरणलाई प्रमुख प्राथमिकता बनाउनुपर्ने भएपनि कर्तव्य बिर्सेको र नीतिगत तहमा चुकेको खनालको आरोप छ ।

कार्यकर्ता र संगठनका हिसाबले उत्तिकै सम्पन्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस निष्क्रिय देखिएको छ । सरकारले तयारी गर्न सकेन भनेर खरो आलोचना गरेको कांग्रेसले संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरायो ।

संसदमा कुरा त उठाए पनि कांग्रेस जनचेतनाको अभियान लिएर जान सकेको छैन । नेपाली कांग्रेसमा पाँच लाखको हाराहारीमा सक्रिय सदस्य छन् ।

पार्टीका जनवर्गीय संघ-संगठन छन् तर कांग्रेसले कार्यकर्तालाई सचेत रहन अपीलबाहेक अर्को काम गरेको छैनन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार कांग्रेसले आमकार्यकर्ता र जनतालाई सचेत रहन सार्वजनिक अपिल गरेको छ ।

सरकारले चालेका कदममा कांग्रेसले सहयोग गरेको उनले बताए । सरकारलाई आवश्यक सुझाव दिएर सहयोग गर्ने पनि उनले बताए । कार्यकर्ता परिचालन गरेर जनचेतना बढाउने कार्यक्रम छैन ।

कांग्रेसले पार्टीको १४औं महाधिवेसन तयारीहरूका कार्यक्रमहरू स्थगित गरेको छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारले गरेको तयारी पर्याप्त नभएको आरोप लगाउँदै आएको छ । राजपा आफैँले भने चिकित्सकको सल्लाह बमोजिम सावधानी अपाउन सर्वसाधारणलाई आग्रह गर्ने बाहेक अरू केही पनि गरेको छैन ।

राजपा अध्यक्ष मण्डलका नेता महेन्द्र राय यादवले सर्वदलीय बैठकमार्फत सरकारसँग सहकार्य गरेको बताए । उनले स्थानीयदेखि तहसम्म सर्कुलर जारी गरेर सचेत रहन आग्रह गरिएको बताए ।

राजपाभित्र अहिले करिब पाँच लाखको हाराहारीमा कार्यकर्ता छन् । पार्टीभित्र युवा, विद्यार्थी लगायतका सहायक संगठनहरू छन् ।

तराई केन्द्रित समाजवादी पार्टीमा पनि करिब ६ लाख कार्यकर्ता सामेल छन् । पार्टीमा युवा तथा विद्यार्थीका संगठन पनि उत्तिकै सक्रिय छन् ।

समाजवादीका नेता डा. शिवजी यादव कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणमा सरकारको भूमिका प्रमुख हुने बताउँछन् ।

उनले आफ्नो पार्टीले नागरिकहरूलाई सचेतरहन अपील गरेको बताए । समाजवादीले पनि पार्टीका कार्यक्रमहरू स्थगित गरेको छ ।

राजसंस्थासहितको लोकतन्त्र भन्दै हालै एकीकृत भएको राप्रपाले पनि कोरोना रोकथाममा पार्टीका तर्फबाट कुनै प्रयास गरेको छैन ।

नेतृ कुन्तीकुमारी शाहीले राजनीतिक दलहरूको भूमिका सहायकमात्र हुने बताइन् ।

नयाँ राजनीतिक विकल्प भन्ने साझा पार्टीले कोरोना भाइरस संक्रमणको त्रास बढिरहेका बेला रगत अभावलाई ध्यानमा राखेर काठमाडौंमा रक्तदान कार्यक्रमहरू सञ्चालन गरेको जनाएको छ ।

देशका अन्य स्थानमा पनि रक्तदानका कार्यक्रम सञ्चालनको तयारी रहेको साझा पार्टीको भनाइ छ । साझाले काठमाडौं उपत्यका बाहिरका केही ठाउँमा मास्क वितरण गरेको पनि जनाएको छ ।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले एउटावक्तव्य जारी गरेर सचेत रहन आग्रह गरेको छ । क्रान्तिकारी माओवादीका नेता हस्त केसी राजनीतिक दलहरू एकजुट हुने समय आएको बताउँछन् ।

राष्ट्रिय संकटका बेला दलहरूएक हुनुको विकल्प नरहेको उनको भनाइ छ। अहिलेसम्म ग्रिन जोनमा रहेको नेपालमासंक्रमणको जोखिम टरेको छैन ।

यस्तो समयमा राजनीतिक दलहरूले आफ्ना लाखौं कार्यकर्ता जनचेतना अभियानमा सक्रिय गराउन सक्छन् ।

विरोध प्रदर्शनमा हजारौँ कार्यकर्ता सडकमा उतार्न सक्ने राजनीतिक दलहरूले कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणका लागि पनि कार्यकर्ता परिचालन गर्न सक्छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  २ : ०३ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन