फोहोर उत्पादन गर्ने टायरको पुनःप्रयोगबाट आकर्षक फर्निचर बनाउँदै वैद्य « Khabarhub
Logo
२४ जेष्ठ २०७७, शनिबार

फोहोर उत्पादन गर्ने टायरको पुनःप्रयोगबाट आकर्षक फर्निचर बनाउँदै वैद्य



काठमाडौं । सुन्दा अचम्म लाग्न सक्छ । ‘सवारी साधनका थोत्रा र काम नलाग्ने टायरबाट पनि फर्निचरका सामान बन्ला र ?’ किनकी सबैले प्रयोगमा नआउने यस्ता टायर फालेर जलाउने गरेका छन् ।

सुन्दा र हेर्दा केही कठिन जस्तै लाग्छ–‘टायरबाट फर्निचरका सामाग्री बनाउने काम ।’ तर सीप र क्षमता हुनेहरुले जतिसुकै कठिन कामलाई पनि सहज रुपमा उतारिरहेका छन् । जसमध्ये ललितपुरकी ओजस्वी वैद्यपनि एक हुन् ।

स्नात्तकोतर तह उतीर्ण गरेकी कुपडोलकी वैद्यले सवारी साधनबाट काम नलाग्ने बनेका टायरको प्रयोग गरी आकर्षक र वातावरणमैत्री फर्निचरका सामानहरु बनाइरहेकी छिन् ।

सडकमा गुड्ने जीवन सकिएको टायरबाट नयाँ वस्तु बनाउने यो कर्मलाई उनी ‘अपसाइकल’ भन्छिन् ।

एउटा प्रतियोगिताले बनाएको उद्यमशीलता

ओजस्वीले झण्डै ३ वर्षअघि ‘ग्रिनोभेसन अफ च्यालेन्ज’ मा भाग लिएकी थिइन् । त्यतिबेला उनी लगायतका उनका केही साथीहरुको समुहले यो आइडिया निकालेका थिए ।

‘ग्रिनोभेसन च्यालेन्जमा आउने प्रतिस्पर्धीहरुले प्लाष्टिकबाट बनाइएका सामग्री, एप, पेपर, सेनेटरी प्याड लगायतका थुप्रैसामानहरु उत्पादन गरेका थिए’ वैद्यले भनिन्, ‘तर त्यो प्रतिस्पर्धामा हाम्रो प्रडक्ट भने एकदमै नयाँ थियो । हाम्रा विशेष पनि थियो ।’

प्रतिस्पर्धी हुँदाको अनुभव सुनाउँदै उनी भन्छिन्, ‘डिसेम्बर २०१६ ग्रिनोभेसन अफ च्यालेन्जमा भाग लिएको थिएँ त्यतिबेला ग्रीन आइडिया खोज्नुपर्ने थियो लगभग डेढसय भन्दा बढी प्रतिस्पर्धीहरुले भाग लिएका थिए।’

हरेक दिन लाखौंको संख्यामा सवारीसाधनहरु गुडिरहेका हुन्छन् । सवारीको चाप र जाम भइरहेको देख्दा उनलाई लाग्थ्यो–‘काम नलाग्ने भएपछि यी सवारीका टायर कहाँ जान्छन् होला ?’

ग्रिनोभेसनमा भाग लिईरहेका बेला उनीहरुको समुहले टायरका समस्या, प्रदुषण र कसरी समाधान गर्ने भन्ने बारे अनुसन्धान गरेका थिए । अन्ततः उनी त्यो प्रतिस्पर्धामा पुरस्कृत भइन् ।

‘एउटा प्रतिस्पर्धामा पुरस्कृत मात्र भएको थिइनँ’ खुसीका अनुभव साट्दै भनिन्, ‘त्यही प्रयोग प्रतिस्पर्धा र सम्मानले नै उद्यमशील बनाएको छ ।’

पुरस्कारबापत पाएको डेढ लाखबाट टायर ट्रेजर्स

ग्रीनोभेशनमा भाग लिएर पुरस्कार पाउँदा ओजस्वी निकै खुसी थिइन् । तर त्यो खुसीलाई कसरी व्यवसायिक रुपमा ढाल्ने भन्ने कुरामा उनलाई केही चुनौती थियो ।

चुनौती यसकारण थियो नेपालमा यसरी फालिएका टायरको प्रयोग खासै हुँदैन थियो । तर बाह्य मुलुकहरुमा यसरी प्रयोगमा आउने सामानको व्यापार गरिरहेका हुन्छन् ।

नेपालको सन्दर्भमा हेर्दा टायरबाट बनाइएका सामग्रीको मार्केट कस्तो छ भन्नेबारे पनि उनलाई थाहा थिएन ।

‘विदेशमा त टायरलाई नै रिसाइक्लिङ र ब्रेकडाउन गरेर धेरै कुराहरु गरिरहेका हुन्छन्’ खबरहबसँगको कुराकानीमा उनले भनिन्, ‘हाम्रो हातले चाहिँ किन गर्न सक्दैन त? त्यसैले मैले पुरस्कृत हुँदा पाएको डेढ लाख रुपैयाँबाटै अक्टोबर २०१७ मा टायर ट्रेजर्सको स्थापना गरेँ ।’

उनलाई ट्रेर्जसमा सहयोग र साथ दिने साथी थिइन्–लुनिभा । लुनिभा त्यतिबेला वातावरण विज्ञान विषयमा स्नात्तक तह पढ्दै थिइन् भने वैद्यले स्नात्तकोतर तह सकिसकेकी थिइन् ।

गल्ली–किनारामा टायर खोज्न हिड्थेँ

बिग्रिएका टायरलाई नयाँ जीवन दिने काम शुरुमा सजिलो भएन । ‘पहिलेदेखि इँटा उद्योगमा इन्धनको रुपमा बिक्री हुँदै आएको कुरा हामीलाई दिनुस् न भन्दा कोही मानेनन्’ उनले ती दिनलाई स्मरण गर्दै भनिन्, ‘नयाँ सामान बनाउछौं भन्दा कसैले पत्याएनन् ।’

ओजस्वीका मानसपटलमा ती दिनहरु अझै पनि ताजै छन् । जति बेला उनी टायरको खोजीमा विभिन्न स्थानमा पुगेकी थिइन् ।

‘शुरुमा त ललितपुरका किनाराबाट पनि टायर खोज्न पुगेको थिएँ, किनारामा फालिएका टायर टिपेर ल्याउँथे’ संघर्ष सुनाउँदै उनले भनिन्, ‘वर्कशपहरुमा पुग्दा मान्छेहरु हप्काएर पठाउँथेँ उनीहरुलाई थाहै थिएन र जागरुकता पनि।’

जसोतसो २० वटा जति पुराना टायर संकलनगरी उनीहरुले पेटवेड्स (घरपालुवा जनावरका लागि ओछ्यान) बनाउन शुरु गरिन् ।

आफुले बनाएको पेटवेड्सको फोटो सामाजिक सञ्जालमा राखेको र धेरैले मन पराएर राम्रो प्रतिक्रिया दिएको उनले बताइन् ।

अहिले उनको ट्रेजर्स परिचित बन्दै गएको छ भने राम्रो आम्दानी समेत भइरहेको छ ।

उनलाई टायर खोज्नका लागि गल्लीमा धाइरहनु पर्ने अवस्था पनि अन्त्य भइसकेको छ ।

‘टायर खोज्न पहिलेजस्तो छैन अहिले’ उनले भनिन्, ‘अटो वर्कशपहरुबाट किनेर ल्याउने गरेका छौं साथै कतिपयले डोनेट पनि दिनुहुन्छ ।’

अहिले कुपडोलमा टायरबाट बनाइएको फर्निचरका सामग्री देशभर पुगेको उनको भनाइ छ । व्यवसाय थालेको सुरुवाती दिनहरुमा केही चुनौती आएपनि त्यसको सामना गरेर सफल बन्दै अघि बढिरहेकी छिन् उनी।

रेष्टुरेन्ट र होटललाई टार्गेट गरेर स्थापना गरेको ओजस्वीको ट्रेर्जसले छोटो समयमै ग्राहकको मन जित्न सफल भएको छ । नयाँ रेष्टुरेन्ट, क्याफे, कार्यालय, घर, लगायत धेरै स्थानमा ट्रेजर्सकै फर्निचर उपयोगी बन्दै गएको उनी बताउछिन् ।

पछिल्लो समय ट्रेजर्समा बनाइएको फर्निचरका सामग्रीहरु नेपालभर पुगिसकेको उनको भनाइ छ ।

परिवार र साथीको साथ

उनले आफ्नै घरको भुँइतलामा टायर ट्रेजर्सको वर्कशप बनाएकी छिन् । विभिन्न स्थानबाट संकलन गरेर ल्याएका टायरहरुको संग्रह गर्ने र नयाँ सामग्रीको उत्पादन गर्ने सबै काम वर्कशपमै गर्छिन् ।

नियमति काम गर्ने ६ जनासँगै ३० देखि ३५ जनाले काम गर्ने गरेको उनी सुनाउछिन् ।

उनले यसरी व्यवसायिक रुपमा नै टायर ट्रेजर्सको काम गर्दा परिवारले पनि राम्रो अपेक्षा भने गरेको थिएन ।

पढाइकै हिसाबले पनि उनले मास्टरर्स सकिसकेकी थिइन् भने उनको परिवारको चाहना थियो छोरी जागिरे होस् ।

‘परिवारको चाहना मल्टिनेशनल कम्पनी अथवा बैंकहरुमा जागिरे होस् भन्ने थियो’ उनले भनिन्, ‘तर यसरी वातावरणलाई नै फाइदा पुग्ने गरी काम गरिहरेको छु यसमा पनि परिवारको साथ चाहिँ छ ।’

त्यति मात्र होइन् उनले यसरी व्यवसाय थाल्दा उनका साथीहरु पनि अचम्मित थिए । ‘यो त हामीले सोचेकै थिएँन किनभने पढेको पनि अर्कै विषय’ साथीहरुको प्रतिक्रिया सुनाउँदै भन्छिन्, ‘ए के गरेकी ओजस्वीले..।’

तर वातवरणलाई प्रदुषण बनाउने एउटा तत्व यो पनि हो । यसलाई हटाउनका लागि केही गर्नुपर्छ भन्ने सोच भने उनमा थियो ।

टायरबाट २ हजारदेखि १३ हजारसम्मका फर्निचर

उनको टजर्समा मोटरसाइकल, स्कुटरका टायरहरु प्रशस्त देख्न सकिन्छ । ‘धेरै मात्रामा प्रयोग हुने टायर भनेको मोटरसाइकल र स्कुटर कै हो’ उनले भनिन्, ‘त्यसबाहेक बस, साइकल, साना एयरप्लेनको टायर पनि प्रयोग गरिरहेका छौ. ।’

धेरै उनले शुरुमा टायरबाट पेटबेड्स बनाएकी थिइन् । कालो कपासको र अर्गानिक सामानको प्रायोग गरेर ।

अर्गानिक डाइ, मेटल, पेन्टिङ र डोरीको प्रयोग गरेर कुसनहरुको प्रयोग गरेर टेबलहरु बन्छन् ।

टायरमात्र होइन उनको ट्रेजर्समा बोतलबाट बनाइएका लाइट डेक्वर पनि छन् जुन टेबलकै कम्लिमेन्टका लागि बनाएको उनले बताइन् ।

उनको टेजर्समा टेवल, मुडा, ढुकुटी, सरजयन्ती पटेर, मकैको खोस्टाको खोल र जुटको डोरीबाट बनाइएका टेबल लगायत विभिन्न सामग्रीहरु छन् ।

टेजर्समा ६ हजारदेखि १३ हजार पाँच सय रुपैयाँ सम्मका टेबलहरु छन् । अर्डर आएका सामानमा भने त्यही अनुसार मुल्य तोकिने उनले बताइन् । सिटहरु २ हजार २ सय ५० रुपैयाँदेखि ८ हजारसम्मका छन् ।

टायर ट्युबबाट बन्ने साधरण टेबलहरु तौलका आधारमा पनि बिक्री हुने गरेको उनले बताइन् ।

यसरी बनाइएका फर्निचरहरु ५ देखि १० वर्षसम्म टिकाउ हुने बताउँदै उनी भन्छिन्, ‘फर्निचरका सामान बनाउन पनि समय लाग्ने हुँदा केही मंहगो पनि छ र टिकाउ पनि छ ।’

सवारीसाधनलाई काम नलाग्ने भएपछि प्रदुषण बढिरहेको टायरलाई नयाँ जीवन दिइरहेकी वैद्य वि.स.२०४८ सालमा ललितपुरको कुपडोलमा जन्मिइन् ।

परिवारकी कान्छी छोरी हुन् ओजस्वी । सानैदेखि पढाइ र आर्टमा रुची राख्थिन् उनी ।

‘बाल्यकालमा भविष्यमा के बन्छु भनेर फाइनल चाहिँ गरेकी थिइनँ,’ मुस्कुराउँदै उनी भन्छिन्, ‘तर जे गर्छु हाम्रो वातावरणलाई सफा राख्ने काम गर्छु र उदाहरणीय काम गर्छु यो सोच चाहिँ थियो ।’

‘टायर सडकमा गुड्न नसकेपछि यसलाई नयाँ आकार दिएर वातावरणमैत्री उत्पादन बनाएर बेच्दा आत्मसन्तुष्टि छु’ अन्तमा उनले भनिन् ।


भर्खर

0