बाँदर आतंकले बसाई सर्नुपर्ने बाध्यता « Khabarhub
Logo
११ आश्विन २०७७, आइतबार

बाँदर आतंकले बसाई सर्नुपर्ने बाध्यता



धानबालीमा पसेका बाँदर । फाइल तस्वीर

कास्की- बाँदरको आतंकले कास्कीको मादी गाउँपालिकाका स्थानीय बासिन्दा समस्यामा परेका छन् ।

बाँदरले लगातार अन्नबालीमा नोक्सानी पुर्‍याउँदा गाउँ नै छाडेर हिँड्नुपर्ने अवस्था आएको स्थानीय प्रकाश दाहालले बताए ।

स्थानीयले गाउँको बीचमा भएको खेती मात्र जोगाउन सकेको र अन्य स्थानको खेती जोगाउन नसकेर हैरान परेको गुनासो गरेका छन् ।

दाहालले भने, ‘बाँदर आतंकले आजित भइसकियो । अब बसाइँ सराइ गर्नुबाहेक विकल्प छैन् ।’

घरमा भित्र रहेको अन्नपात, फलफूल केही बाँकी नराखेर घर–घरमै भित्रै पसेरसमेत खान थालेपछि आफूले गाउँ नै छाडेर तराईतिर बसाईं सरेको दाहालले बताए ।

बाँदर आतङ्कले गर्दा उत्पादन गर्न नपाएपछि बाँच्ने विकल्प नभएपछि दाहाल बसाइँ सराइ सर्न बाध्य भएको पीडा सुनाए ।

‘उत्पादन गर्न खोज्यो, फूल लाग्दै गर्दा बाँदरले बोट उखाल्न थाल्छन् अनि कसरी उत्पादन हुन्छ ?’ मादी गाउँपालिका–१२ का वडा अध्यक्ष चित्रबहादुर गुरुङले भने, ‘बाँदरका कारण ५०० रोपनी जग्गा बाँझो भइरहेको छ । कानूनले बाँदर मार्न पाइँदैन, बाँदरले हामीलाई बाँच्न दिएन । अब सबै गाउँले मिलेर हेरालु राख्ने अभियान चलाउने सोच बनाएका छौँ ।’

बाँदरले नखाने भनेको जमिनमुनिको अदुवा र हलेदो हो । सबैले त्यही बाली लगाउन पनि सकिँदैन । अन्न नलगाएर के खाने ? गुरुङले प्रश्न गरे ।

बाँदरका कारण कास्कीको अर्को गाउँपालिका अन्नपूर्णमा पनि समस्या त्यस्तै छ । बादर आतङ्क राज्यकै समस्या बनेको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरको भनाइ छ । वनजङ्गलमा खानेकुरा नपाएपछि बाँदर बस्ती पस्न शुरु गरेको र घरभित्र पसेर खानेकुरा खाने गरेको गुनासो गर्दै कुँवरले युवा सहर पस्ने, वैदेशिक रोजगारमा जाने भएकाले यस्तो समस्या आएको बताए ।

रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले आफ्नो क्षेत्रमा बाँदर प्रतिस्थापन गर्ने भन्दै १० लाख रुपियाँ बजेट छुट्याएको र यसले बाँदर आतङ्क केही हदसम्म न्यूनीकरण भएको बताए ।

बाँदरका कारण कास्कीका चारवटै गाउँपालिकाका बासिन्दा प्रभावित भएकाले पीडित किसानको मागअनुसार बजेट व्यवस्था गरेर बाँदर नियन्त्रणका लागि आफ्नो गाउँपालिकामा धेरै काम गरिएको ओझाको भनाइ छ ।

गाउँपालिकाभित्रका बाँदर समातेर राष्ट्रिय निकुञ्जलगायत संरक्षित क्षेत्रमा लैजाने योजनाका लागि बजेट विनियोजन गरिएको हो । स्थानीयको मुख्य पेसा नै कृषि भएकाले यसको व्यवसायीकरण आवश्यक रहेको तर बाँदरबाट बर्सेनि कृषि उपज नष्ट गर्ने कारण समस्या भएको उनले बताए ।


भर्खर

0