माघको अन्तिम सातादेखि नेपालमा रेल 'कुद्ने', तर छैन दक्ष जनशक्ति | Khabarhub Khabarhub

माघको अन्तिम सातादेखि नेपालमा रेल ‘कुद्ने’, तर छैन दक्ष जनशक्ति



काठमाडौं– भारतको चेन्नइस्थित रेल उत्पादन केन्द्र (सवारी डिब्बा कारखाना) मा तयार भइरहेको रेल माघको अन्तिम सातासम्म नेपाल आइपुग्ने भएको छ ।

डब्बा आइपुगेसँगै जयनगर–विजलपुरा–कुर्थासम्म चल्ने रेल विभागले जनाएको छ । भारतमा बनिरहेको रेल नेपालले चाहेको जस्तै रङको हुनेछ ।

पहिलो रेल आएसँगै त्यसको करिब एक महिनापछि दोस्रो रेल नेपालमा भित्रने विभागका महानिर्देशक बलाराम मिश्रले खबरहबलाई जानकारी दिए ।

यसका लागि नेपाल सरकारले ८ महिनाअघि नै भारतसँग रेल खरिद गरिसकेको बताउँदै मिश्रले भने, ‘एउटा रेलको ४२ करोड ५० लाखका दरले दुईवटा रेल ८५ करोड रुपैयाँमा सरकारले भारतसँग खरिद गरिसकेको छ ।’

आगामी महिनाबाट सञ्चालन हुन लागेको रेलले प्रतिघण्टा सय किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्छ । उक्त रेल डिजेल इन्जिनमा आधारित छ ।

त्यसैगरी अगाडि र पछाडि दुई तिरबाटै गुडाउन मिल्ने रेलभित्र एसीसहित एउटा कोच पनि हुनेछ जसमा ५० देखि ६० जना विशिष्ट व्यक्तिहरुले यात्रा गर्न सक्नेछन् ।

सरकारले पहिलो चरणमा भारतको जयनगरदेखि नेपालको बर्दिवाससम्म ६९ किलोटिरमा रेल सञ्चालन गर्ने लक्ष्य राखेको थियो । तर तत्कालका लागि जयनगरदेखि कुर्तासम्म ३४ किलोमिटर मात्र रेल सञ्चालन हुने भएको छ ।

भारतको जयनगरबाट नेपालको बर्दिवाससम्म ६९ किलोमिटर रेलमार्गमा हालसम्म इनरुवादेखि बिजलपुरासम्म ५२ किलोमिटर जग्गा प्राप्ति भएको छ भने १७ किलोमिटर क्षेत्रमा अझै जग्गा प्राप्ती गर्न सकिएको छैन ।

जनशक्ति व्यवस्थापनमा चुनौती

रेल यही महिनाको अन्तिम साताबाट सञ्चालनमा आउने विभागको दावी छ । तर, सरकारले हालसम्म रेल सञ्चालन गर्नका लागि आवश्यक दक्ष जनशक्ति व्यवस्थापनका बारेमा काम गर्न सकेको छैन ।

रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा उल्लेख भएअनुसार रेल चालक र सहचालकले माध्यमिक तह (दश जोड दुई) वा सो सरह उत्तीर्ण गरेको हुनुपर्दछ ।

त्यस्तै रेल्वे ऐन २०७६ अनुसार चालकको हकमा रेल गुडाउनका लागि कम्तीमा ५ वर्ष सहचालकको रुपमा काम गरेको हुनुपर्नेछ ।

तर, नेपालमा पहिलो पटक रेल सञ्चालन गरिने भएकाले यस सम्बन्धी ज्ञान भएका व्यक्तिहरुको अभावका कारण दक्ष जनशक्ति व्यवस्थापनमा सरकारलाई चुनौती थपिएको विभागका सिनियर डिभिजन इन्जिनियर तथा प्रवक्ता अमन चित्रकार बताउँछन् ।

भारतबाटै करारमा जनशक्ति ल्याइने

‘जयनगर–बिजलपुरा लागि एउटा ‘डिमो’ ट्रेन सेटमा ५ वटा डिब्बा हुन्छन् त्यसमा उभिएर यात्रा गर्नेसहित गर्दा १२ सयदेखि १४ सय जना यात्रु आवतजावत गर्न मिल्छ’ चित्रकार भन्छन्, ‘त्यसलाई व्यवस्थापन गर्न दुईसय जनशक्ति आवश्यक पर्छ ।’

भारतकै कुरा गर्ने हो भने कुनै पनि व्यक्ति सिफारिस गरिसकेपछि एउटा इन्जिनियरलाई १ वर्षसम्म ‘प्रोफेसर ट्रेनिङ’ दिइन्छ । ट्रेनिङ पश्चात फिल्डमा लगिन्छ ।

तर भारतमा भएको जस्तो वातावरण भने नेपालमा नभएको चित्रकार बताउँछन् ।

त्यसो त जनकपुर–कुर्था रेलमार्ग निर्माणका लागि सरकारले भारत सरकारसँग सन् २०१० मा सम्झौता गरेको थियो । त्यसको डेढ वर्ष पछिबाट काम शुरु भएको थियो ।

काम शुरु भएपनि अहिलेसम्म नेपालले रेल सञ्चालनका लागि दक्ष जनशक्ति उत्पादन गर्न नसकेको चित्रकार बताउँछन् । ‘नेपाल सरकारले रेलसम्बन्धी तालिम लिन प्राविधिकहरुलाई बाहिर पठाउन सकेको छैन जसकारण जनशक्ति पनि भारतबाटै करारमा ल्याउने तयारी भइरहेको छ,’ चित्रकारले भने ।

रेल क्षेत्रमा हालसम्म १४ अर्ब खर्च

अहिले पूर्व–पश्चिम रेलमार्ग, नेपाल–भारत अन्तरदेशीय रेलमार्ग र नेपाल–चीन रेलमार्ग सञ्चालन सम्बन्धी प्रयासहरु भइरहेका छन् ।

चीन र भारतको आर्थिक सहयोगमा नेपालका तर्फबाट जग्गा प्राप्ति, संरचना हटाउने, अध्ययन, युटिलिटी सिफ्टिङ (स्टेशनसम्म बाटो पु¥याउने) काम भइरहेको छ ।

आयोजना स्थापना भएदेखिको हालसम्म यसका लागि १४ अर्ब खर्च भएको रेल विभागका प्रवक्ता चित्रकारले जनाए ।

सरकारले रेल सेवाका लागि गत आर्थिक वर्षमा ४ अर्ब रुपैयाँ छुट्याएको थियो । चालू आर्थिक वर्षका लागि ७ अर्ब ७० करोड छुट्याइएको छ ।

पूर्वपश्चिम रेलमार्ग: ७० किलोमिटरमा सिभिल बक्सको काम

पूर्व–पश्चिम रेलमार्ग अन्तरगत अहिले पूर्वको बर्दिवासदेखि पश्चिमको निजगढ खण्डसम्मको ७० किलोमिटरमा सिभिल बक्स (रेललाई चाहिने मार्ग बनाउने) काम भइरहेको छ । विभागका अनुसार यो काम नेपाल सरकारको आर्थिक स्रोतबाट भइरहेको हो ।

यसअघि ‘रेलवे अलाइनमेन्ट’ पर्सा र चितवन राष्ट्रिय निकुञ्जबाट जाने भनिएको थियो । तर प्राकृतिक, जैविक र पर्यावरणीय दृष्टिकोणलाई मध्यनजर गर्दै निकुञ्ज बाहिरबाट लान लागिएको चित्रकारले जानकारी दिए ।

सोहीअनुरुप अहिले निजगढ–हेटौँडा–भरतपुर खण्डमा डीपीआरको लागि भारत, चीन र कोरियाका परामर्शतादाताहरुले संयुक्त रुपमा अध्ययन गरिरहेका छन् ।

पूर्व–पश्चिम रेलमार्गको लम्बाइ १ हजार ४५ किलोमिटरको हाराहारीमा हुनेछ । रेलमार्ग निर्माणका लागि जग्गा प्राप्ति धेरै जटिल भइरहेको चित्रकार बताउँछन् ।

अन्तरदेशीय रेलमार्गः दुई नाकामा मात्र निर्माणको कार्य हुँदै

भारतले अन्तरदेशीय रेल्वे लाइनका लागि नेपाल–भारत सीमामा ५ वटा नाका छनोट गरेको छ ।

भारतको न्यू जलपाइगुडी–काँकडभिट्टा ४६ किलोमिटर, भारतको बथनाह–कटहरी १८ किलोमिटर, भारतको जयनगर–बर्दिवास ६९ किलोमिटर, भारतको नौतनहवा–भैरहवा १२ किलोमिटर र नेपालगञ्ज नाकाबाट नेपालमा रेल ल्याउने प्रस्ताव छ । यी ५ नाकामध्ये हाल जयनगर हुँदै बर्दिवास र नौतनहवा हुँदै भैरहवासम्मको काम भइरहेको छ ।

जग्गा प्राप्ति लगायत विभिन्न क्षेत्रमा समस्या भएका कारण अहिले जयनगर–बर्दिवास र नौतनवा–भैरहवाखण्डमा मात्र रेलमार्ग निर्माणको काम भइरहेको चित्रकारले बताए ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ६ : ३७ बजे

गृहमन्त्रीको घोषणाले रात्रिकालीन श्रमिक मारमा

काठमाडौं– नयाँ वर्षको अवसर पारेर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले

हामी जातीय राजनीति गर्दैनौँ, बहुपहिचानको पक्षमा छौँ : सभापति लामिछाने 

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू

वन्यजन्तुलाई लक्षित गरी वनमा पोखरी

म्याग्दी– म्याग्दीका सामुदायिक वनमा वन्यजन्तुलाई लक्षित गरी पोखरी निर्माण गर्न

जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित

टोक्यो– जापानको चन्द्रमा ल्यान्डर आफ्नो प्रमुख कार्यपछि दुई साताको अर्को

महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो

महोत्तरी– महोत्तरीका वनक्षेत्रमा फेरि वन डढेलोका घटना बढ्न थालेका छन्