महाशिवरात्रि पर्व : महत्त्व र महिमा « Khabarhub
Logo
२५ चैत्र २०७६, मंगलबार

महाशिवरात्रि पर्व : महत्त्व र महिमा



हरेक वर्ष नेपालमा महाशिवरात्रि पर्व फाल्गुन कृष्णपक्षको चतुर्दशीमा धुमधामले मनाइन्छ। धार्मिक-आध्यात्मिक जागरणको साथसाथै यसै दिन टुँडिखेलमा बढाइँका साथ सेना दिवसको रूपमा पनि मनाइने गरिएकोले शिवरात्रि पर्वले राष्ट्रिय पर्वको रूप ग्रहण गर्न पुगेको छ ।

आराध्यदेव भगवान् श्रीपशुपतिनाथप्रतिको यो एक किसिमले आराधना र सम्मान पनि हो भन्दा अत्युक्ति हुँदैन। महाशिवरात्रि पर्व भगवान् शिवको आराधनाको प्रमुख दिन हो ।

शिवतत्त्वको चर्चा गर्दै जाँदा शास्त्रहरूमा जसमा सारा जगत् शयन गर्दछ, जो विकाररहित छ उही शिव हो अथवा जो अमङ्गलको ह्रास गर्दछ उनै सुखमय, मङ्गलमय भगवान् शिव हुन्; जो सारा जगत्‌लाई आफूमा लीन गर्दछ उनै करुणासागर भगवान् शिव हुनुहुन्छ; जो भगवान् नित्य, सत्य, जगदाधार, विकाररहित, साक्षीस्वरूप छ उनै शिव हो भनेर यत्रतत्र सर्वत्र चर्चा-परिचर्चा गरिएको पाइन्छ।

भगवान् शिवको गुणगान गाइएका अनेक मन्त्र र स्तुतिहरू वेद, उपनिषद्, रामायण, महाभारत, पुराणलगायत परवर्ति साहित्यहरूमा समेत अत्यधिक मात्रामा पाइन्छ । भगवान् शिवको स्तुतिगानको लागि प्रशिध्द शिवमहिम्नस्तोत्रमा विद्वान् पुष्पदन्तले यसरी श्रध्दा-भक्ति दर्शाएका छन् :

त्रयी साङ्ख्य योग: पशुपतिमतं वैष्णवमिति।
प्रभिन्ने प्रस्थाने परमिदमद: पथ्यमिति च।।
रुचिनां वैचित्र्यादृजुकुटिलनानापथजुषां।
नृणामेको गम्यस्स्तमसि पयसामर्णव इव।।

महासमुद्ररूपी शिवजी नै एक अखण्ड पर-तत्त्व हुनुहुन्छ, उहाँ सर्वव्यापक र सर्वशक्तिमान् हुनुहुन्छ, उहाँ व्यक्त-अव्यक्त रूपले क्रमश: सगुण ईश्वर र निर्गुण ब्रह्म कहिनुहुन्छ तथा उहाँ परमात्मा, जगदात्मा, शम्भव, मयोभव, शङ्कर, मयस्कर, शिव, रुद्र, पशुपति आदि अनेकौँ नामले सम्बोधित हुनुहुन्छ ।

भगवान शिव वर्णनातीत भएर पनि अनुभवगम्य हुनुहुन्छ । उनै आशुतोष भक्तहरूलाई आफ्नो आश्रयमा लिनु हुन्छ, उनै त्रिविध तापलाई शमन गर्नेवाला हुनुहुन्छ, उनैबाट समस्त विद्या एवं कला निक्लेको छ, उनै वेद तथा प्रणव अर्थात् ‌ओमकारको उद्‌गम हुनुहुन्छ, यसैलाई वेदले ‘नेति नेति’ भनेको छ । उनै नित्याश्रय एवं अनन्ताश्रय हुनुहुन्छ तथा उहाँ नै दयासागर एवं करुणावतार हुनुहुन्छ । शास्त्रहरूसमेत उहाँको महिमाको सम्पूर्ण वर्णन गर्न असमर्थ छन् त्यस्ता भगवान् शिव वा पशुपतिनाथको मन्दिर युगौँयुगदेखि नेपालमा रहनु नेपालीहरूकै सौभाग्य हो।

सम्पूर्ण जीवात्माहरुको उत्पत्ति, रक्षा र संहार गर्ने भगवान् श्रीपशुपतिनाथ हुनुहुन्छ भन्ने कुरा वैदिन वाङमयहरुको परिशीलनबाट अवगत हुन्छ । मल, माया–मोह एवं अज्ञान आदि बन्धनमा जकडिएका पशुरुपी जीवात्माहरुलाई ती बन्धबाट छुटकारा दिलाउने हुनेलोनै उउहाँलाई ‘पशुपति’ भनिएको हो ।

यसैले जसले यस रुपमा भगवान् पशुपतिलाई चिनेका छन् उनीहरु आफ्ना अवगुणहरुलाई त्यागेर पशुपतिनाथको शरण प्राप्त गरौं भन्ने मनशायले नै पशुपतिनाथको भक्ति, साधना र आराधना गर्न लालयित हुन्छन् र त्यसैका लागि टाढा–टाढादेखि धाउँछन् नेपालमा मनाइने महाशिवरात्रिको केन्द्रविन्दु यही विश्वप्रसिद्ध मन्दिर रहने गरेको छ ।

शिवरात्रिमा पूजा, उपवास र जागरणलाई महत्त्व दिइएको पाइन्छ । अधिकांश पूजा-आजा दिनमा हुन्छ तर भगवान् शिवको पूजा यस दिन रात्रिको समयमा हुन्छ किन? यो धेरैको मनमा आइरहने जिज्ञासा हो। यो थाहा भएकै कुरा हो कि भगवान् शङ्कर संहारशक्ति तथा तमोगुणका अधिष्ठाता हुनुहुन्छ । अत: तमोमयी रात्रिसँग उहाँको स्नेह रहनु स्वाभाविक हो।

रात्रि आनन्ददायीको साथसाथै संहारकालको प्रतिनिधि पनि हो। रात्रिको आगमन हुनासाथै सर्वप्रथम प्रकाशको संहार हुन्छ, जीवहरूको दैनिक कर्मचेष्टाहरूको संहार, इन्द्रियहरूको सामर्थ्यको संहार तथा अन्तमा निद्राद्वारा चेतनताको संहार भएर सम्पूर्ण विश्व संहारिणी रात्रिको काखमा अचेतन भएर लुटपुटाउँछ। यस स्थितिमा प्राकृतिक दृष्टिले शिवलाई रात्रि प्रिय हुनु स्वाभाविक एवं हृदयङ्गम लाग्छ। यसै कारण भगवान् शङ्करको आराधना रात्रिमा मात्र होइन प्रदोष (साँझ पर्दा) मा समेत गर्ने प्रचलन छ।

प्रत्येक महिनामा पर्ने कृष्णचतुर्दशी सबै नै शिवरात्रि हुन् तर फाल्गुन महिनामा पर्ने कृष्ण चतुर्दशीको विशेष महत्त्व भएकोले यस दिनलाई ‘महा’ विशेषण जोडेर महाशिवरात्रि नामले पुकारिन्छ । क्षयपूर्ण तिथि (अमावास्य) को दुष्प्रभावबाट बच्नको लागि त्यसको एक दिन अगाडिको चतुर्दशीको दिन भगवान् शिवको उपासना गरिएजस्तै वर्षको अन्तिम महिना आउनुभन्दा अगाडि नै महाशिवरात्रिको रूपमा पूजा-अर्चना गर्ने विधान शास्त्रमा पाइन्छ।

महाशिवरात्रिको सुरुवात कसरी भयो भन्ने सम्बन्धमा ईशानसंहिताको एक ठाउँमा फाल्गुनकृष्णचतुर्दशीको महानिशामा आदिदेव महादेव कोटि सूर्यको समान दीप्तिसम्पन्न भई शिवलिङ्गको रूपमा आविर्भूत हुनुभएथ्यो। अतएव शिवरात्रि-व्रतमा त्यही महानिशाव्यापिनी चतुर्दशीको ग्रहण गर्नुपर्छ भनी बताइएको छ। यसप्रकार शिवलिङ्ग रूपमा पृथ्वीमा पहिलो पटक आभिर्भूत भएको दिनलाई शास्त्रहरूले महाशिवरात्रिको रूपमा ग्रहण गरेको पाइन्छ।

व्रतहरूमा शिवरात्रि महाव्रत वा व्रतराजको रूपमा लिने प्रचलन हिन्दूधर्मावलम्बीहरूमा छ। व्रतको अर्थ सर्वसाधारणले अन्नग्रहण गर्ने वा नगर्नेलाई मात्र लिने गरेका छन्। वास्तवमा व्रतको अर्थ आत्मिक उन्नति वा सम्पन्न गरिने कर्मद्वारा ईश्वरानुभूतिको अवसरलाई प्राप्त गर्ने अभूतपूर्व क्षण हुनु पर्ने हो।

तर व्यवहारमा कस्तो भइरहेको छ त्यो स्वयं व्यक्ति-व्यक्तिले सम्झने कुरा हो।यस दिन नित्यकर्मबाट निवृत्त भई स्नानपश्चात् भगवान् शिवको ध्यान, जप, उनको गुणगान, श्रवण तथा परहितलायकका सुकर्महरू गरी कालयापन गर्नु नै ‘उपासना’ हो।केवल भोको बसेर, अन्न नखादैमा उपवास हुने होइन। रात्रिमा जागरण महाशिवरात्रिको अर्को महत्त्वपूर्ण पक्ष हो।श्रीमद्‌भगवत गीतामा भनिएको छ-

या निशा सर्वभूतानां तस्यां जागर्ति संयमी।
यस्यां जाग्रति भूतानि सा निशा पश्यतो मुने:।।

अर्थात्, सबै प्राणीहरूको अर्थात् विषयासक्त संसारी जनहरूको लागि जुन रात हुन्छ त्यसमा संयमी व्यक्ति जागेका हुन्छन्। आत्मदर्शनविमुख प्राणीगण जुन जगदावस्थामा जाग्दछन् मनीषी, आत्मदर्शननिरत योगीको लागि त्यो रात हो। अत: स्पष्ट छ कि विषयासक्त जसमा निद्रित छ त्यस अवस्थामा संयमी प्रबुध्द हुन्छ।यसैले महाशिवरात्रिमा जागा रहनुलाई महत्त्व दिइएको हो।

यसर्थ शिवपूजाको वास्तविक अर्थ पुष्पचन्दन, विल्वपत्र श्रध्दासाथ अर्पित गरेर शिव नामको जप-ध्यान गर्नु एवं चित्तवृत्तिलाई निरोध गरेर जीवात्मालाई परमात्मा “शिव” को साथ योग गर्नु हो। जीवात्माको “आवरणविक्षेप” हटाएर परतत्त्व “शिव” को साथ एकीभूत हुनु नै वास्तविक शिवपूजा हो। यही जीवनको ध्येय हुनुपर्छ भनेर शास्त्रहरूले बताएका छन्।

भगवान् शङ्करलाई पुराणहरूमा सम्पूर्ण विरोधी भावहरूको अनुपम सामञ्जस्य स्थापन गर्ने ईश्वर तत्त्वको रूपमा चित्रित गरिएको पाइन्छ। यस्तो अद्‌भुत समन्वय जसको जीवनमा छ साँच्चै भन्ने हो भने उही व्यक्ति निन्दा-स्तुतिमय हलाहललाई पचाएर अमरत्वको लाभ गर्न सक्छ। शिव नारीश्वर हुनुहुन्छ परन्तु उहाँजस्तो कामविजेता पाउन सकिन्न। उहाँ गृहस्थ भएर पनि गृह-स्थ हुनुहुन्न।

श्रीकण्ठ भएर पनि श्रीभन्दा धेरै टाढा हुनहुन्छ, ऋध्दिसिध्दिको स्वामी भएर पनि त्यसबाट पराङ्‌मुख, उग्र भएर पनि सौम्य र अकिञ्चन भएर पनि सर्वेश्वर हुनहुन्छ। भयङ्कर विषधर र सौम्य सुधाकर दुवैले उहाँको शरीरको शोभा बढाएका छन्। मस्तकमा प्रलयकालिक वह्नि र शिरमा हिमशीतल जाह्नवीधारा उनको अनुपम श्रृङ्गार हो। उहाँको घरआगँनमा नन्दी वृषभ र दुर्गावाहन सिंह साथसाथ बस्छन्, पारिवारिक सदस्य मयूर र सर्प वैरलाई बिर्सेर खेल्छन्।

न्याय र आदर्शको कत्रो आदर्श चित्र छ यो, जसलाई भगवान् शङ्करले विविध विषमताहरूले त्रस्त एवं विकल विश्वको सामु उदाहरण प्रस्तुत गरिदिनुभएको छ। विभिन्न विचारधारा, वाद, मतबीच प्रतिदिन चल्ने लडाइँ-झगडाले त्रस्त आजको संसारको लागि “सहअस्तित्व” को यो जस्तो उदाहरण के हुन सक्छ? महाशिवरात्रिको अवसरमा लिनु पर्ने, आत्मानुभव गर्ने नै यस्तै आदर्श र जीवनदायिनी विषयहरू हुन्।

महाशिवरात्रिको दिन पशुपतिनाथको मन्दिरमा षोडशोपचारसहित भव्यरूपले पूजाअर्चना हुन्छ। साथै रात्रिको प्रथम प्रहरमा दूधद्वारा ईशान मुहारको, द्वितीय प्रहरमा दहीद्वारा अघोर मूर्तिको, तेस्रो प्रहरमा घ्यूद्वारा वामदेव मुहारको तथा चौथो प्रहरमा सद्योजात मुहारको स्नान गरिने प्रचलन छ।यस दिन पशुपतिनाथको दर्शन गर्न स्वदेश तथा विदेशबाट भक्तजनहरूको बिहान सबेरैदेखि भीड लाग्दछ।

महाशिवरात्रि पर्वभित्र अनेकौँ उज्याला चेतनाका पक्षहरू छन् जसले मानिसको जागरण र आत्मबोधलाई उजागर पारेर अगाडि बढ्न प्रेरित गर्दछ।

वैरागी, उदासी, सन्न्यासी, नागा आदि विभिन्न सम्प्रदायका साधु-सन्त, योगी, भेषधारी जोगीहरू पनि महाशिवरात्रिका लागि टाढा-टाढाबाट आइपुग्छन्।फागुनकृष्ण एकादशीदेखि फागुनकृष्ण अमावस्यासम्म भगवान् श्रीपशुपतिनाथमन्दिर प्राङ्गणमा अतिथि नागाबाबाहरू आसन जमाएर बस्छन्। उनीहरूको खानापिना र सुविधा नेपालको तर्फबाट गुठी संस्थान र पशुपतिक्षेत्र विकास कोषले गर्नु पर्ने दायित्व रहेको छ।त्यसमा अनेकन् धार्मिक-सामाजिक संघ-संस्थाहरूले पनि सेवा दिइरहेका हुन्छन्।

महाशिवरात्रिलाई भोग र मोक्ष दिने पुण्यदायक पर्वको रूपमा लिइएको पाइन्छ। शिवपुराणमा भगवान् विष्णुले एक पटक भगवान् शिवलाई कुन व्रतबाट उहाँ भक्तजनहरूलाई भोग र मोक्ष एकसाथ प्रदान गर्नु हुन्छ भनी सोध्दा भगवान् शिवले दशवटा व्रतहरूको नाम लिनुभएकोमा महाशिवरात्रिलाई अत्यधिक महत्त्व दिँदै भोग र मोक्ष चाहानेले शिवरात्रिको व्रत बस्नु योग्य छ भनी बताएको प्रसङ्गको चर्चा पाइन्छ।

त्यहाँ गुरुद्रुह नाम गरेको एक जना ब्याधाले अञ्जानमै भगवान् शिवको पूजा-अर्चना गर्दा उसको जीवनमा आएको परिवर्तनको कुरालाई पनि उल्लेख गरिएको पाइन्छ। अञ्जानमा पूजा गर्दा त दिव्य ज्ञान पाउन सकिन्छ भने जानेर, बुझेर उहाँको पूजा-अर्चना गरियो भने के पाइदैन ? भन्ने कुरा त्यहाँ बताउन खोजिएको पाइन्छ।

वि.सं. २००७ साल अघिसम्म नेपाल भारतीयसमेतको लागि जुन पायो त्यही बेला प्रवेश गर्न नपाउने राष्ट्रको रूपमा थियो। महाशिवरात्रिकै अवसरमा मात्र सात दिनको लागि उनीहरूलाई प्रवेश सुविधा थियो। आठौँ दिनमा सीमा कटिसक्नु पर्थ्यो। यस कारणले पनि होला महाशिवरात्रिको अवसर पारेर साधु, सन्त तथा राजा, रजौटा, विद्वान्, नटुवा, जोगी, चटके तथा सर्वसाधारणहरू पनि ठूलो सङ्ख्यामा आउँथे। त्यस अवधिमा वेदान्तको चर्चा चल्थ्यो।

ठाउँ-ठाउँमा भजन-कीर्तनको आयोजना हुन्थ्यो। महाशिवरात्रि पर्व भनेको राष्ट्रिय प्रतिष्ठासँग जोडिएको पर्व मानिन्थ्यो। श्रध्दालु भक्तजन, दर्शनार्थीहरूको सुविधाका लागि ठाउँ-ठाउँमा आवास-भोजन, सदावर्तको विशेष व्यवस्था गरिएको हुन्थ्यो।त्यसवेला महाशिवरात्रिको दुइ-तीन दिन अगाडिदेखि नै वीरगञ्ज, अमलेखगञ्ज, भीमफेदी, मार्खु आदि गाउँहरूमा आवासको निमित्त पाल, भरिया र डोलेहरूको व्यवस्था हुन्थ्यो।

साथै उनीहरूको निमित्त आवश्यक पर्ने औषधि एवं कम्पनी/भारु सटहीको व्यवस्था पनि हुन्थ्यो। डोले, भरियाहरूले सरकारले तोकेभन्दा बढी भाडा लिन पाउँदैनथिए। यात्रुहरू नठगियूँन भनी ठाउँ-ठाउँमा त्यसको रेखदेख गर्ने व्यवस्था थियो। साधु-सन्त, महात्मा एवं सर्वसाधारणले कुनै किसिमको दु:ख नपाऊन् भनी सतर्कता अपनाइएको हुन्थ्यो।

विभिन्न गुठीहरू- राजगुठी, छुटगुठी, निजी गुठीहरूको तर्फबाट पनि स्वागत-सत्कारका लागि तथा आवास-भोजनका लागि व्यवस्था मिलाइएको हुन्थ्यो। समग्रमा भन्दा राष्ट्रको पूरै दृष्टि महाशिवरात्रि पर्वलाई कसरी भव्य रूपमा सम्पन्न गर्ने भन्ने हुन्थ्यो र यसको सफलता र असफलता देशको इज्जत र प्रतिष्ठासँग गाँसिएको हुन्थ्यो।

प्रजातन्त्रपछि भारतीयहरूलाई नेपाल आउन महाशिवरात्रि कुरेर बस्नु पर्ने अवस्था रहेन। वि.सं. २०१३ मा त्रिभुवन राजपथको निर्माणले यातायातमा केही सुगमता थप्यो।त्यसपछि हवाइ यातायातलगायत अरू बाटो-घाटोहरूको निर्माणले गर्दा महाशिवरात्रिमा हुने भीड केही होलो हुँदै गयो।सरसुविधाका लागि पहिले गरिने व्यसस्था पनि खुकुलो हुँदै गयो।यसो हो तापनि अहिलेसम्म भगवान् श्रीपशुपतिनाथको मन्दिरमा सबैभन्दा भीड वा घुँइचो लाग्ने पर्वहरूमा महाशिवरात्रि नै पर्दछ।यस वेला विभिन्न सामाजिक, धार्मिक सङ्घ-संस्थाहरू सेवाकार्य एवं स्वयंसेवामा जुटेका हुन्छन्।

पशुपतिक्षेत्र विकास कोषको स्थापना वि.सं. २०४३ मा भएपछि पशुपतिक्षेत्रको संरक्षण, सम्वर्ध्दन एवं प्रवर्ध्दनको जिम्मेवारी कोषमा आएकोले महाशिवरात्रिलगायत यहाँ मनाइने यात्रा-पर्वहरूको व्यवस्थापन गर्ने जिम्मेवारी कोषले पाएता पनि तीर्थयात्री, दर्शनार्थीहरूका लागि जे-जस्ता सुविधा विकास गर्दै जानु पर्ने हो त्यो सबै भइनसकेको अवस्था छ।

श्रध्दालु दर्शनार्थी, तीर्थयात्रीहरूको सुविधाको लागि चाहिने आवास, पिउने पानी, दर्शनको उचित व्यवस्था एवं व्यवस्थित शौचालयहरूको सम्म पनि उचित र स्थायी ढङ्गले कोष स्थापना भएको झण्डै बत्तीस वर्ष बितिसक्दा पनि तिनीहरूको उपयुक्त व्यवस्था हुन सकेका छैनन्। धार्मिक पर्यटनलाई बढावा दिँदै स्थानीय, क्षेत्रिय, राष्ट्रिय एवं अन्ताराष्ट्रिय महत्त्वका धार्मिक, साँस्कृतिक, पुरातात्त्विक सम्पदाहरूलाई प्रवर्ध्दन गर्दै तीर्थयात्री एवं पर्यटकहरूलाई आकर्षित तुल्याउन सके नेपालले पर्यटनको क्षेत्रबाट लाभान्वित बन्न सक्ने प्रचूर सम्भावना छ। मात्र आवश्यक छ स्पष्ट नीति, नियम र राज्यको दृढ इच्छा शक्तिको।

महाशिवरात्रि पर्व केवल औपचारिकतामै मात्र सीमित भयो र यसबाट लिनु पर्ने, सिक्नु पर्ने असल कुराहरूलाई जीवनमा लिन सकेनौँ भने हरेक वर्ष महाशिवरात्रि पर्व आउँछ-जान्छ त्यसबाट लिनु पर्ने आत्मिक जागरणका महत्तम पक्षहरू छुट्छन् ।

भारतीयहरूमा आफ्नो देशमा रहेका विभिन्न तीर्थस्थलहरूको तीर्थाटनपश्चात् पूर्णाहुतिको लागि नेपालस्थित भगवान् श्रीपशुपतिनाथको दर्शन-पूजन गर्ने तथा त्यस अवसरमा विभिन्न तीर्थस्थलहरूबाट ल्याइएका जल लोटा, घैलामा ल्याई चढाउने चलन छ।त्यसरी नल्याउनेहरूले पनि यहीँको जल चढाउने प्रचलन उनीहरूमा छ। पहिले-पहिले बाग्मतीको जललाई नै प्रयोग गर्थे भने प्रदूषित बनेपछि त्यस प्रचलनमा पनि केही कमी आएको देखिन्छ।

नेपाली भक्तजनहरूले चाहीँ दर्शनलाई प्रधानता दिएको पाइन्छ। शिवरात्रिको दिन साँझपख शिवधुनी भनी दोबाटो-चौबाटोमा दाउरा बाल्ने प्रथा छ। भगवान् शिव धुनीप्रिय हुनुहुन्छ भन्ने पौराणिक मान्यताको कारण तथा शिशिरऋतुको ठण्डी अझै नगइसकेको हुनाले गर्मी ठाउँबाट आउने परदेशी यात्रुहरूलाई जाडो नहोस् भन्ने समेत मनोकाङ्क्षा त्यसमा देखिन्छ।

महाशिवरात्रिको दिन भनेको कसैका लागि पशुपतिक्षेत्रमा गएर गाँजा-भाङ खाने पर्व हो कि जस्तो भान केही वर्ष अघिसम्म पनि थियो। यो गलत परम्परा केही वर्षदेखि विस्तारै हट्दै गएको सुखद् छ। भगवान् शिवसँग जोडेर गाँजा-भाङजस्तो दुर्व्यसन एवं विकृतिलाई प्रश्रय दिन खोज्नु कुनै हालतमा पनि ठीक हो भन्न सकिन्न। कहाँ परात्पर परब्रह्म ईश्वरतत्त्व! कहाँ दुर्व्यसन!

महाशिवरात्रिको दिन राजमार्गका ठाउँ-ठाउँमा बस, कार, मोटरसाइकललाई रोकेर जगात माग्ने तथा साँझपख त्यो कमाइले जाँड-रक्सी खाएर जथाभावी गर्ने जस्तो गलत प्रवृत्तिले प्रश्रय जुन पाइरहेको छ त्यसलाई निरुत्साहित गर्नु जरुरी छ। यस्तो प्रवृत्तिले बढ्ने मौका पायो भने मगन्ते संस्कार हुर्कन-बढ्न थाल्छ, जुन कुनै पनि दृष्टिकोणले उपयुक्त मान्न सकिन्न। साथै यस दिन धुनी बाल्ने नाउँमा छिमेकीको घरबाट दाउरा चोरेर ल्याएर वा जथाभावी रुख काटेर शिवधुनी भनी आगो बाल्ने गलत प्रवृत्तिलाई पनि कुनै हालतमा बढावा दिनु हुँदैन। यस्तो प्रवृत्तिलाई हटाउनु आवश्यक छ।

महाशिवरात्रि पर्वभित्र अनेकौँ उज्याला चेतनाका पक्षहरू छन् जसले मानिसको जागरण र आत्मबोधलाई उजागर पारेर अगाडि बढ्न प्रेरित गर्दछ। बाहिरी बोक्रा र खोष्टालाई छोड्दै जान सके यसले सबैलाई आत्मिक उन्नतिको प्रकाशमय पथमा पुर्‍याउने छ र त्यसले व्यक्ति-व्यक्तिको जागरणलाई खुराक दिनेछ त्यसमा शङ्कै छैन।महाशिवरात्रि पर्व केवल औपचारिकतामै मात्र सीमित भयो र यसबाट लिनु पर्ने, सिक्नु पर्ने असल कुराहरूलाई जीवनमा लिन सकेनौँ भने हरेक वर्ष महाशिवरात्रि पर्व आउँछ-जान्छ त्यसबाट लिनु पर्ने आत्मिक जागरणका महत्तम पक्षहरू छुट्छन् ।


भर्खर

0