कोरोनासँग जुध्न आहार, व्यायाम र उच्चमनोस्वास्थ्य महत्वपूर्ण - प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

कोरोनासँग जुध्न आहार, व्यायाम र उच्चमनोस्वास्थ्य महत्वपूर्ण – प्रधानमन्त्री ओली


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरससँग जुध्न औषधीय गुणयुक्त आहार, ब्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्वपूर्ण भएको बताएका छन् ।

छैठौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्री ओलीले दिएको शुभकामना सन्देशमा आहार र ब्यायामको विषय पुनः दोहोर्‍याएका हुन् ।

‘यतिबेला सिंगो विश्वसँगै हामी पनि कोरोना भाइरसको महामारीसँग जुधिरहेका छौं । यस्तो बेला औषधीय गुणयुक्त आहार, ब्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्वपूर्ण विषय हुन् । यी विषयमा योग शास्त्रले ज्ञान दिंदै आएको छ,’ प्रधानमन्त्रीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।

योग साधना र अभ्यासलाई जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न पनि उनले आह्वान गरेका छन् ।

‘आधारभूत स्वास्थ्य सेवा भित्र योग र वानस्पतिक औषधीय वस्तुको प्रयोगमा समेत जोड दिंदै हामी निरोगी नेपालको उद्देश्य पूरा गर्न सक्दछौं । समृद्ध नेपाल–सुखी नेपाली हाम्रो राष्ट्रिय आकाङ्क्षा छ । शारीरिक एवं मानसिक रुपले स्वस्थ्य र निरोगी नागरिक यसका मुख्य आधार हुन्,’ प्रधानमन्त्रीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय योग दिवसको यस अवसरमा योग साधना र अभ्यासलाई आफ्नो जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न म सबैमा आह्वान गर्दछु ।’

सन् २०१५ बाट संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरेपछि विश्वभर जुन २१ लाई योग दिवसका रूपमा मनाइँदै आएको छ ।

सन्देशमा ओलीले योग साधना हाम्रो प्राचीन सभ्यताको मौलिक उपज रहेको भन्दै मानसिक अन्तर्यात्रामार्फत शारीरिक तथा मानसिक स्वास्थ्यको अध्ययन गर्ने योग शास्त्रको महत्व आधुनिक युगमा झनै मुखर भइरहेको समेत बताएका छन् ।

शुभकामना सन्देशको पूर्ण पाठ

छैठौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु र आरोग्यका लागि हार्दिक शुभकामना ब्यक्त गर्दछु । योग साधनामा समाहित तमाम साधक/साधिका र योग गुरुहरुलाई यस दिवसका अवसरमा विशेष शुभकामना भन्न चाहन्छु ।

योग साधना हाम्रो प्राचीन सभ्यताको मौलिक उपज हो । सन् २०१५ बाट संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरेपछि संसारभर जुन २१ लाई योग दिवसका रुपमा मनाइँदै आएको छ । हामीले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रुपमा मनाउने परम्परा समेत थालनी गरेका छौं । मानसिक अन्तर्यात्रा मार्फत शारीरिक तथा मानसिक स्वास्थ्यको अध्ययन गर्ने योग शास्त्रको महत्व आधुनिक युगमा झनै मुखर भइरहेको छ । तनाव, अवसाद, द्वेष, ईर्श्या र निन्दाका दुष्प्रभावबाट मुक्त गर्दै समाजलाई स्वस्थ, खुशी र सकारात्मक मनोचेतनाले डोर्‍याउन योग मानवीय जीवनको अङ्ग बन्नु आवश्यक छ । योगको महत्वका बारेमा जनचेतना अभिबृद्धि गर्ने र यसका सरल विधिहरुको जनसाधारणमा पहुँच पुर्‍याउने काममा यस दिवसलाई सबै तह र क्षेत्रले सार्थक बनाउनु पर्दछ ।

योग हाम्रो प्राचीन ज्ञानशास्त्रको महत्वपूर्ण विधा हो र यसले मानिसको शरीर, मन र कर्मलाई एकै स्थानमा अवस्थित गर्दछ । मन, शरीर र कर्मको दूरी हटाई एकरसता प्रदान गर्नु योग हो । योग साधनाले तनाव ब्यवस्थापनमा सघाउँछ र मानव जीवनलाई स्वस्थ्य र नैतिकवान बनाउन मद्दत पुर्‍याउँछ । हाम्रो प्राचीन शास्त्रमा अष्टाङ्ग योगबारे उल्लेख गरिएको छ । जसमा योगका आठवटा चरण यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधीको साधनाबारे ब्याख्या छ । भागवत गीतामा श्रीकृष्णले बुद्धियुक्तो जहातीह उभे सुकृतदुष्कृते, तस्माद्योगाय युज्यस्व योगः कर्मसु कौशलम् भनी योगलाई मोहको त्याग र कर्मको कुशलताका रुपमा ब्याख्या गरेका छन् ।

हाम्रो देश आदिकालदेखि ऋषिमुनि तपस्वीहरुको पवित्र साधनास्थल हो । प्राचीन कालमा यस भूमिमा ऋषिमुनिहरुले ध्यान, आध्यात्मिक चिन्तन एवं आयुर्वैदिक पद्दतिको विकास गरेका थिए । आयुर्वेदका मुख्य ग्रन्थमध्येको चरक संहितामा आयुर्वेदको सिद्धान्त हाम्रै हिमालय क्षेत्रमा ऋषिमुनिहरुको सम्मेलनले प्रतिपादन गरेको कुरा वर्णित छ र संहितामा हिमालय क्षेत्रका वनस्पति अरु क्षेत्रका भन्दा प्रभावकारी वा गुणकारी भएको उल्लेख गरिएको छ । आयुर्वेदमा कायचिकित्सा, शल्यचिकित्सा, शालाक्य, कौमारभृत्य, अगदतन्त्र, रसायन, वाजीकरण, भूतविद्या गरी आठ अङ्ग छन् । शल्यचिकित्साको सबै भन्दा पुरानो ग्रन्थ मानिने महर्षि सुश्रुतको सुश्रुत संहितामा शल्यचिकित्साका प्रक्रिया र औजारहरु बारे वर्णन छ । योग शास्त्र र आयुर्वेदमा हाम्रो क्षेत्रका औषधीय बनस्पतिको वर्णनबाट योगलाई आधुनिक चिकित्सकीय ज्ञानको स्रोत र यहाँका बनस्पतिलाई औषधिको स्रोतका रुपमा बुझ्न सकिन्छ । यहाँका बनस्पतिमा रहेको यौगिक प्रभावकारिताबारे आधुनिक विज्ञानका सोध ग्रन्थहरुमा पनि चर्चा गरेको पाइन्छ । अर्थात् प्राच्य दर्शनमा अपनाइएको योग पद्दतिलाई आजको आधुनिक मेडिकल विज्ञानले पनि स्वीकार गरिसकेको छ ।

यतिबेला सिंगो विश्वसँगै हामी पनि कोरोना भाइरसको महामारीसँग जुधीरहेका छौं । यस्तो बेला औषधीय गुणयुक्त आहार, ब्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्वपूर्ण विषय हुन् । यी विषयमा योग शास्त्रले ज्ञान दिंदै आएको छ । आधारभूत स्वास्थ्य सेवा भित्र योग र वानस्पतिक औषधीय वस्तुको प्रयोगमा समेत जोड दिंदै हामी निरोगी नेपालको उद्देश्य पूरा गर्न सक्दछौं । समृद्ध नेपाल–सुखी नेपाली हाम्रो राष्ट्रिय आकाङ्क्षा छ । शारीरिक एवं मानसिक रुपले स्वस्थ्य र निरोगी नागरिक यसका मुख्य आधार हुन् । अन्तर्राष्ट्रिय योग दिवसको यस अवसरमा योग साधना र अभ्यासलाई आफ्नो जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न म सबैमा आह्वान गर्दछु ।

अन्त्यमा, छैठौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पुनः हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

केपी शर्मा ओली

प्रधानमन्त्री
७ असार, २०७७

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ७ : ५४ बजे

सर्वदलीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सरकार बनाउन अपिल

सुप्रिम सहकारी ठगी प्रकरण दिपेश पुनसँग ४ लाख धरौटी माग

काठमाडौं– बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वउपराष्ट्रपति

दाङमा आगलागीबाट एक जनाको मृत्यु

दाङ– दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय