कोरोना भाइरसको संक्रमणबाट नेपालमा तेस्रो व्यक्तिको मृत्यु « Khabarhub
Logo
३ कार्तिक २०७८, बुधबार

कोरोना भाइरसको संक्रमणबाट नेपालमा तेस्रो व्यक्तिको मृत्यु



काठमाडौं- नेपालमा कोरोनाभाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ।

रुपन्देहीको मणिग्राममा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको हो । भेन्टिलेटरमा उपचार भइरहेका उनको बिहीबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको क्रिमशन अस्पतालका अध्यक्ष चिन्तामणि पाण्डेले जानकारी दिए ।

‘उहाँको त आज बिहान ७ : १० बजे भेन्टिलेटरबाट छुटाइयो । मृतक घोषणा गरियो । स्वास्थ्य निर्देशनालय प्रदेश ५ का निर्देशक डाक्टर उमाशंकर चौधरीले पनि मृत घोषण गरिसक्नुभयो,’ अध्यक्ष पाण्डेले खबरहबसँग भने, ‘बिरामीका मान्छेले आज बिहान शव हेरेर उहाँहरुको राय अनुसार शवलाई भेन्टिलेटरबाट छुटाइयो । शवको बारेमा प्रदेश सरकारलाई जानकारी गराएका छौं , प्रदेश सरकारले छुट्टै योजना बनाएको छ । प्रदेश सरकारले नै दाहसंस्कार गर्ने योजना बन्दै छ ।’

स्वास्थ्य निर्देशनालय प्रदेश ५ का निर्देशक डाक्टर उमाशंकर चौधरीले मृतकको शव व्यवस्थापनको विषयमा प्रदेश सरकारमा छलफल चलिरहेको जानकारी दिए ।

‘केन्द्र सरकारले कोरोना संक्रमितको शव व्यवस्थापनको निर्देशिका बनाएको छ, हामीले सोही निर्देशिका अनुसार सब व्यवस्थापन गछौं,’ उनले भने,‘उहाँको आज विहान मृत्यु भएको छ, उहाँ कोरोना संक्रमित हो, सामान्य केस होइन, त्यसैले शव व्यवस्थापनको विषयमा हामीले छलफल गर्दैछौं । शव व्यवस्थापन हुन २,३ घण्टा अझै लाग्नसक्छ ।’

मृत्यु हुने बिरामी गुल्मीको मदाने गाउँपालिका वडा नं. ६ का ४१ बर्षका पुरुष हुन् ।

उनको शव व्यवस्थापन गर्न प्रदेश सरकारलाई आग्रह गरिएको अध्यक्ष पाण्डेले बताए । पाण्डेका अनुसार अहिले मृतकका आफन्त अस्पतालमा जम्मा भएका छन् ।

शिक्षण पेशामा रहेका उनी बिरामी भएपछि अर्घाखाँचीको एक मेडिकलमा चेकजाँचपछि रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा उपचारत थिए ।

उनको स्वास्थ्य अवस्था नाजुक भएका कारण उनलाई मंगलबार बुटवलको बिशेष कोरोना अस्पताल सार्न सकिएको थिएन । बिरामी सार्ने प्रक्रियामा जोखिम हुनसक्ने भन्दै प्रदेश सरकारका अधिकारीहरुले क्रिमशन अस्पताल प्रशासनलाई अनुरोध गरेपछि उनको त्यही नै उपचार भएको थियो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ। नेपालमा यसअघि पनि दुईजना व्यक्तिको कोरोनाबाट मृत्यु भएको थियो। जसमा सिन्धुपाल्चोककी २९ वर्षीया महिला र बाँकेका २५ वर्षे युवक हुन्।


भर्खर

0