साँच्चै सहारा बन्यो सहारा एकेडेमी | Khabarhub Khabarhub

साँच्चै सहारा बन्यो सहारा एकेडेमी

कमल भन्छन्– नेपालबाट खेल्ने लक्ष्य छ



काठमाडौं– नेपाली फुटबलको इतिहासमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ, कास्कीको सहारा एकेडेमी ।

विपन्न वर्गका बालबालिकालाई एकेडेमीमा राखेर उनीहरुलाई दैनिक फूटबल प्रशिक्षण र शिक्षा दिने काम सहारा एकेडेमीले गर्दै आएको छ ।

पोखराको दोबिल्लामा रहेको सहारा एकेडेमीको पहिलो ब्याजका चर्चित खेलाडी हुन्, नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ ।

गुरुङ मात्रै होइनन् अहिलेको राष्ट्रिय टोलीमा सहाराको उत्पादन अजित भण्डारी छन् ।

एकेडेमी स्थापना अगाडि पोखराका स्थानीय युवाको पहलमा पोखरा रंगशालामा आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरेका थिए ।

एकेडेमी सञ्चालनका लागि आहा रारा गोल्डकप प्रतियोगिता मुख्य आम्दानीको स्रोत हो । एकेडेमीले विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाको साथ पाउँदै आएको छ ।

स्थापनको दुई दशक नजिक पुगेको आहा रारा गोल्डकपको १८औं संस्करण मनाङ मर्स्याङ्दी क्लबलाई उपाधि सुम्पिँदै सम्पन्न भएको छ ।

फाइनलमा नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै मनाङ छैटौं पटक च्याम्पियन बन्यो ।

प्रतियोगितामा आयोजक टोली सहारा क्लबले क्वाटरफाइनलसम्म स्थान बनायो । क्वाटरफाइनलमा पछि उपविजेता बनेको पुलिससँग पराजित भएपछि उपाधि रक्षा होडबाट सहारा बाहिरियो ।

टोलीमा एकेडेमीका मात्रै छ जना खेलाडीले स्थान बनाए । कमल सोमइ मगर, जीवन रायमाझी, प्रवेश गुरुङ, शिशिर क्षेत्री, अभिषेक राना र अनिश लिम्बु थिए । जुन सहारा क्लबका लागि मात्रै नभई समग्र नेपाली फुटबलका लागि राम्रो उदाहरण बन्यो ।

त्यही टोलीका छ जना मध्येका एक हुन्, सुर्खेत वीरेन्द्रनगरका कमल सोमइ मगर ।

सहारा क्लब पोखरा

२०७० सालमा सहारा एकेडेमीमा आवद्ध भएको उनी आफ्नो जीवनको लक्ष्य सहाराले पल्याइदिएको बताउँछन् । वीरेन्द्रनगरमा जन्मेहुर्केका उनी १० वर्षको उमेरमा पोखरा आएका हुन् ।

घरमा उनीसहित ३ जना दाजु–भाइ र २ दिदी थिए । जसमा उनी कान्छा भाइ हुन् । कमलका बुबा–आमा छैनन् । त्यसो त, उनी सहाराको अभिभावक नभएका बालबालिकाको कोटामा नै एकेडेमीमा आएका हुन् ।

कमललाई बुबा के कसरी बित्नुभयो बारे खासै जानकारी छैन । आमालाई भने रोग लागेको उनलाई थाहा छ । निम्न वर्गीय परिवारका उनको घरमा जेठा दाजु हेम एक्लै काम गर्थे । उनले कमाएर ल्याएको पैसाबाट ४ जनाको परिवार पाल्नुपर्ने बाध्यता रहेको कमल सुनाउँछन् ।

कमलका दाजु घर बनाउने मिस्त्रीको काम गर्छन् । दैनिकीमा समस्या हुन थालेपछि कमलकी भाउजु पनि काममा जान थालिन् ।

दाजु भाउजु दुवै जना काममा जाने भएपछि कमलले भतिजीको रेखदेख पथ्र्यो । त्यसो हुँदा पढाइमा पनि असर पर्ने गरेको उनी सुनाउँछन् ।

आमा वा बुबामध्ये एक जनाको निधन भएका र पछाडि परेका वर्गका सन्तानलाई एकेडेमीमा राख्ने गरेको छ । सहाराको उक्त मापदण्ड अनुसार नै कमल एकेडेमीमा आइपुगेका हुन् ।

५ कक्षासम्म वीरेन्द्रनगरमै पढेका कमलले कक्षा छ देखि सहारा एकेडेमीमा बसेर पोखराको शिशु कल्याणमा पढे ।

एकेडेमीका खेलाडी पढ्दैनन् भन्ने धारणा कमलले झुटो प्रमाणित गरिदिएका छन् । उनी कक्षा ६ देखि ९ सम्म प्रथम भए । एसईईमा ‘ए’ ग्रेड हासिल गरे । अहिले ‘प्लस टु’ मा व्यवस्थापन संकायमा अध्ययनरत छन् ।

पछिल्लो ५ वर्ष उनले फुटबल र जीवन दुवै बुझेका छन् । अब उनी आफ्नो जीवनका दुई लक्ष्य पहिलो र दोस्रो भनि प्राथमिकतामा राखेका छन् ।

‘मेरो दुई वटा लक्ष्य छ । पहिलो प्राथमिकतामा फुटबल हो । त्यसमा भएन भने विकल्प सोचिसकेको छु,’ कमलले खबरहबसँग भने, ‘सोचे जसरी फुटबल करियर अगाडि बढेन भने लोकसेवा लडेर सरकारी जागिरमा प्रवेश गर्छु ।’

उनी अबको ३ वर्षभित्र नेपालको उमेर समूह हुँदै राष्ट्रिय टोलीमा स्थान बनाउने लक्ष्यमा लागेका छ ।

‘अहिले मैले जसरी मेहनत गरिरहेको छु । त्यसले आफूमा आत्मविश्वास दिलाएको छ । ३ वर्ष भित्र उमेर समुह हुँदै राष्ट्रिय टोलीमा स्थान बनाउने छु,’ उनले भने ।

कमलले मात्रै होइन उनको परिवारको जिम्मेवारी थपिएको बताउँछन् ।

‘घर परिवारले पनि मबाट धेरै अपेक्षा गरेको छ । दाजुले फोन गर्दा सधै तिमी राम्रो गरिरहेका छौं, मेहनत गर भन्नुहुन्छ,’ मगरले भने, ‘घरबाट त्यस्तो भन्दा जिम्मेवारी थपिएको महसुस हुन्छ ।’

सहाराको छहारीमा हुर्केका उनी बोल्नमा पनि स्पष्ट छन् । कतिपय राष्ट्रिय टोलीका खेलाडीले पनि स्पष्ट बोल्न सकेका हुँदैनन् । कमलको ‘बडिल्याङ्वेज’ ले पनि उनी नेपाली फुटबलको भविष्यको भरपर्दो मिडफिल्डर बन्न सक्ने अनुमान गर्न सकिन्छ ।

‘घरबाट राम्रो गर भन्नु हुन्छ । म मेहनत गरिरहेको छु । सके जति राम्रो गर्छु,’ कमलले भने । त्यसो त, उनी आफूमा यस्तो आत्मविश्वासका पछाडि सहारा क्लबको ‘सहारा’ नै मान्छन् ।

कमलको सहारा कनेक्सन पनि भिन्दै छ । पोखराको सहारा एकेडेमी र तत्कालीन मध्यपश्चिमको सुर्खेतका कमल ।
उनका एक जना आफन्त गुगलमा काम गर्छन् ।

उनले नै सहारा एकेडेमीले कमल जस्ता अभिभावकविहीनहरुलाई खेल्ने र शिक्षाको व्यवस्था गर्ने गरेको उनका दाजुलाई भनेका थिए । पछि उनका दाजुले सहारासम्म पुर्‍याइ दिएका हुन् ।

६ वर्ष सहारामा रहेर प्रशिक्षण गरेपछि उनले खेलेको ठूलो नकआउट प्रतियोगिता आहा रारा गोल्डकप हो । आहा रारामा उनको टोली क्वाटरफाइनलसम्म पुगेको थियो । ठूला क्लबहरुसँग खेल्न पाउँदा खुसी लागेको उनी बताउँछन् ।

‘ठूला क्लबसँग खेल्न पाउँदा खुसी छु । टोलीमा गुरु (प्रशिक्षक) राम्रो हुनुहुन्छ । सिक्दैछु,’ होचो कदका उनी भन्छन्, ‘मलाई आफ्नो हाइट ले समस्या गर्छ भन्ने लागेको थियो । तर, त्यसले असर नगर्दो रहेछ । टेक्निक स्पीड भए हुने रहेछ ।’

कमल सहारा क्लबको मिडफिल्डमा राम्रो खेल्ने खेलाडी हुन् । उनी सहारा हुँदै ए डिभिजन लिग क्लब र नेपाली टोलीको मिडफिल्डमा जम्ने लक्ष्यमा रहेका छन् ।

आहा रारा गोल्डकप खेल्नुअघि उनले कास्कीको हेम्जामा आयोजना भएको शुभकामना कप, कास्की लिग र संगम कप खेलेका थिए ।

अबको आफ्नो लक्ष्य सुनाउँदै उनी भन्छन्, ‘अबको २ बर्ष सहाराबाटै खेल्छु । उमेर समूह हुँदै ‘ए’ डिभिजन लिग क्लबदेखि नेपालको प्रतिनिधित्व गर्ने लक्ष्य छ ।’

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ९ : ४८ बजे

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौं– चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

दमौली– तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ महिनाको अवधिमा आठ

त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुन बरामद

काठमाडौं–  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक भारतीय महिलाको करिब ८५०