सेना दिवस र शिवरात्रि पर्वको संयोग « Khabarhub
Logo
२४ चैत्र २०७६, सोमबार

सेना दिवस र शिवरात्रि पर्वको संयोग

नेपाली सेनाको लोगोमा किन राखियो त्रिशुल र डमरु ?



आज महाशिवरात्रि बढाईं तथा सेना दिवस । नेपालकै गौरवमय इतिहास बोकेको नेपाली सेनाले सँधै झैं यो बर्ष पनि महाशिवरात्रिको दिन अर्थात शुक्रबार सेना दिवस मनाउँदैछ ।

सेनाले वि.सं. २०४७ सालदेखि महाशिवरात्रिको दिन पारेर सेना दिवस मनाउन शुरु गरेको हो । सुरक्षा मामिला विज्ञ डा. दिपकप्रकाश भट्टका अनुसार नेपाली सेनाको ‘सेना दिवस’ शिवरात्रिकै दिन हुनु संयोग मात्र होइन, यो अर्थपूर्ण पनि छ ।

‘शिव’ चेतनाको प्रतीक हुन् र शक्तिपनि हुन् । यति मात्र होइन शिव इश्वर हुन र इश्वर भनेको सत्य हो । शिवमा ध्यान अवस्थामा स्थिर रहने र परेको बेला ध्वंस गर्न सक्ने दुवै गुण छन् । त्यसैले पनि यी दुईबीचको समनता देखिएको डा. भट्ट बताउँछन् । उनले भने, ‘शिवरात्रिमा सैनिक दिवस मनाउनु सत्य र चेतना शक्तिलाई आत्मसात गर्नु हो ।’

इतिहास हेर्ने हो भने स्थापनाकालदेखि नै नेपाली सेनालाई धर्म र संस्कारमा सामाजिकीकरण गराइएको छ । यति मात्र होईन नेपाली सेनाको लोगोमा रहेको हरियो षठकोणभित्रको डमरु र त्रिशूलको समायोजनको समेत धार्मिक र दार्शनिक अर्थ छ ।

डा.भट्टका अनुसार लोगोमा उल्लेखित चित्रहरुले शिवलाई संकेत गर्छन् । जुन हिन्दु दर्शन अनुसार सृष्टिकर्ता, संरक्षणकर्ता र संहारकर्ता हुन् ।

इतिहासको विभिन्न कालखण्डदेखि नै नेपाली सेनाका अधिकांश कम्पनी देवीदेवताका नाममा छन् । अहिले पनि हरेक जसो व्यारेकमा पनि विभिन्न देवी देवताको मठमन्दिर बनाइएको छ ।

यसका आलवा कम्तिमा दुईजना मूल र सहायक गरी अमल्दारदेखि सह-सेनानी पद सम्मका पुजारी र पण्डित समेत राखिएको हुन्छ । उनीहरुले पर्वविशेषमा मात्र होइन, दैनिक रूपमा देवीदेवताको पूजा गर्छन् ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार, नेपाली सेनाले आवश्यकता र प्रचलित अभ्यास अनुसार, प्रत्येक व्यारेकमा बलि, पूजा सामग्री र भोजभतेरका लागि बजेट छुट्याउने गरेको छ ।

इतिहासविद् दिनेशराज पन्तका अनुसार महाशिवरात्रि पर्वका दिन नेपाली सेनाको स्थापना दिवस संयोग मात्र होइन, तत्कालिन राजा पृथ्वीनारायण शाहको कमाण्डमा नेपालको पहिलो सैनिक संरचना शिवरात्रि कै दिन बनेको इतिहास साक्षी छ ।

इतिहासविद्हरुको दाबी अनुसार नेपाली सेना स्थापनाको एउटै मिति नभएको र विभिन्न मितिमा संगठित भएकाले महाशिवरात्रिलाई सेना दिवसका रुपमा मनाउने गरिएको हो ।

यस्तो छ नेपाली सेनाको इतिहास

नेपाली सेना कति सालमा स्थापना भयो भन्ने ठ्याक्कै मिति पाइदैन । तर सन् १७४४ अर्थात विक्रम संवत १८०१ देखि नेपाली सेनाले यो मुलुकको स्वतन्त्रता, अखण्डता र सार्वभौकिताको रक्षा गरेको इतिहास छ ।

सन् १७४४ मा तत्कालिन गोर्खा राज्यले संगठित गरेको नेपाली सेना मैदानमा उत्रिदासम्म दक्षिण एशियाका अरु देशमा आफ्नै सैनिक संरचना थिएन । त्यसैले नेपाली सेनालाई दक्षिण एशियाकै सबैभन्दा पूरानो सैनिक संगठन मानिन्छ ।

इतिहासविद् पन्तका अनुसार पृथ्वीनारायण शाहको गोर्खाली फौजले नुवाकोट र सन् १७४४ मा छिमेकी कान्तिपुर राज्य कब्जा गरेपछि गोर्खाली फौजलाई शाही नेपाली सेनाको रुपमा चिनिन थालेको हो ।

यसबाहेक व्यारेकीय संरचनाको हिसाबमा हेर्ने हो भने नेपाली सेना वि.सं. १८१९ फागुन १० गते पोखरा गोरख गणका रुपमा स्थापित भएको पाइन्छ । नेपाली सेना सम्बन्धि विभिन्न किताबहरुमा उल्लेख भएअनुसार त्यसअघि नेपाली सेना रहे पनि गण बनिसकेको थिएन ।

तर केही इतिहासविद्हरुले भने नेपाली सेनाको सुरुवात विक्रम सम्वत १६१६ मा गोरखा राज्यको स्थापनासँगै शुरु भएको दावी गरेका छन् । यस हिसाबले नेपाली सेनाको इतिहास ४ सय ५५ वर्ष भइसकेको छ । डा. भट्टका अनुसार, करीव दुई सय वर्ष त्यो सेनाले खासै कुनै लडाइ लडेको पाइदैन ।

भगिरथ पन्तको कमाण्डबाट शुरु भएको गोरखा राज्यको सेना हाल नेपाली सेनाका रुपमा पुर्णचन्द्र थापाको नेतृत्वमा छ ।

इतिहास हेर्ने हो भने नेपाली सेनाको सञ्चालन तथा सुरुवात तत्कालिन बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट भएको थियो । तत्तकालिन शाही सेना, शाही नेपाली सेना हुँदै पृथ्वीनारायण शाहका ११ औं पुस्ताका राजा ज्ञानेन्द्र शाहको पालामा राजतन्त्र अन्त्यसँगै सेना पनि राजाबाट जनताको नियन्त्रणमा आएको छ ।

२०६३ साल जेठ ४ गतेको तत्कालिन पुर्नस्थापित प्रतिनिधिसभाको घोषणबाट शाही नेपाली सेनाको नाम नेपाली सेना बनाइएको थियो ।

त्यस लगत्तै २०६३ मा अन्तरिम संसद्ले सैनिक ऐन पारित गरी सेनामाथि राजदरवारको नियन्त्रण पूर्ण रुपमा अन्त्य गरी संसद्को माताहत ल्याएका हो । नेपाली सेनाका प्रवक्ता सहायक रथी पाण्डेका अनुसार, अहिले सेनाको संख्या ९६ हजार ५ सय ९९ छ । यो सकल दर्जाको संख्या हो ।

अहिले नेपाली सेनाको परमाधिपतिका रुपमा राष्ट्रपति छन् भने सैनिक संरचनाको नेतृत्व प्रधान सेनापति महारथीले गदर्छन् । उनीभन्दा ठीक तल दुई रथी रहन्छन् ।

त्यसपछि क्रमशः उपरथी, सहायकरथी, महासेनानी, प्रमुख सेनानी, सेनानी, सहसेनानी, उपसेनानी र सहायक सेनानी अधिकृत तहभन्दा माथिका दर्जा हुन् । सैनिक प्रवक्ता पाण्डेका अनुसार, अधिकृत भन्दा तल प्रमुख सुवेदार, सुवेदार मेजर, जमदार, मुद्दा, अमल्दार, प्यूठ समेतको दरवन्दी छ ।

नेपाली सेनाले लडेका केही युद्ध

नेपाली सेनाले थुप्रैपटक आन्तरिक र बाह्य युद्धहरु लडेको इतिहास छ । पृथ्वी नारायण शाहले १८०० मा पहिलो पटक नगरकोटमा अक्रमण गरी नेपाल एकीकरण अभियान थालेका थिए । पछि उनका छोरा नातिका पालासम्म राज्य विस्तारको अभियान पूर्वमा टिष्टादेखि पश्चिम काँगडासम्म पुगेको थियो ।

यसबाहेक नेपाली सेनाले तीन पटक तत्कालिन भोट राज्य अर्थात तिव्वतसँग लडाइ गरेको थियो भने एकपटक तिव्वत र चीनसँग संयुक्त लडाइ लडेर बिजय पाएको थियो ।

यसैगरि वि.सं. २०३१ सालमा नेपालको मुस्ताङमा भड्किएको खम्पा बिद्रोह नियन्त्रण गर्न र २०५८ देखि २०६२ सम्म करीब ५ वर्ष माओवादी सशस्त्र विद्रोह नियन्त्रण गर्न नेपाली सेना परिचालित भएको थियो ।


भर्खर

0