‘सुनकोशी–तेस्रो’को प्रतिवेदन अन्तिम चरणमा | Khabarhub Khabarhub

‘सुनकोशी–तेस्रो’को प्रतिवेदन अन्तिम चरणमा


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक- सुनकोशी- तेस्रो जलाशययुक्त विद्युत् आयोजना निर्माण प्रक्रियाको मापदण्ड तथा कार्यविवरण प्रतिवेदन (टीओआर) अन्तिम चरणमा पुगेको छ । दुई परामर्शदाता कम्पनीले उक्त प्रतिवेदन विद्युत् विकास विभागलाई एक हप्ताभित्र बुझाउनेछन् ।

सुनकोशी–तेस्रोको टीओआर एक नेपाली र एक चिनियाँ परामर्शदाताले अन्तिम चरणमा पुर्‍याएको विभागका इन्जिनीयर सुवास थपलियाले बताए । उनका अनुसार परामर्शदाताले उक्त टीओआर विभागलाई एक हप्ताभित्र बुझाउने समयसीमा रहेको छ ।

प्रतिवेदनमा आयोजनाबाट प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभावित घरपरिवार तथा क्षेत्र र प्रभावितलाई कुन आधारमा क्षतिपूर्ति दिन सकिन्छ भन्ने विषयसमेत उल्लेख हुने थपलियाले बताए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयद्वारा संयुक्त रुपमा सुनकोशी–३ जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)का लागि हालै मात्र क्षेत्र निर्धारणका लागि गत कात्तिक पहिलो सातादेखि प्रक्रिया शुरु गरिएको हो । आयोजनाबाट प्रभावित पर्नसक्ने जिल्ला, नगरपालिका तथा गाउँपालिका र वडास्थित त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्यचौकी, सरोकारवाला व्यक्ति तथा सङ्घसंस्थाबाट सुझावसमेत मागिएको छ ।

वाग्मती प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९ को सिमाना र रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभूघाटमा विद्युत् आयोजनाको बाँध निर्माण प्रस्ताव गरिएको छ । प्रस्तावित आयोजना सुनकोशी–३ बाट ५३६ मेघावाट विद्युत् उत्पादन हुनेछ ।

विभागका अनुसार सुनकोशी–३ का लागि लुभुघाटस्थित नदीमा करीब ४८४ मिटर लामो र १६६ मिटर उचाइको बाँध निर्माण गरी ५७० घनमिटर प्रतिसेकेन्ड पानीलाई एक दशमलब एक किलोमिटर लामो र नौ मिटर ब्यास भएको सुरुङबाट लुभुघाटनजीक निर्माण गरिने विद्युत्गृहमा लगिनेछ भने लगभग ५३६ मेघावाट विद्युत् उत्पादनपछि सो पानीलाई टेलरेसद्वारा पुनः सुनकोशी नदीमा खसालिनेछ । आयोजना निर्माण गर्दा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाका करीब एक हजार ६०० परिवार प्रभावित हुनसक्ने थपलियाले बताए ।

आयोजनाबाट सिन्धुपाल्चोेकको तीन गाउँपालिका र दुई नगरपालिका, काभ्रेपलाञ्चोकको तीन गाउँपालिका र दुई नपा, रामेछापको दुई गाउँपालिका र सिन्धुलीको एक गाउँपालिकाका बासिन्दा प्रभावित हुनेछन् । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका आठ वडा बाँध, विद्युत्गृह र डुबान क्षेत्रमा पर्नेछ भने रामेछापको खाँडादेवी गाउँपालिका बाँध र डुबान क्षेत्रमा तथा अन्य जिल्लाको प्रभावित क्षेत्र डुबानमा पर्नेछ ।

वातावरण संरक्षण ऐन २०५३ तथा वातावरण संरक्षण नियमावली २०५४ को नियम ४ (१), अनुसूची–२ बमोजिम इआइए प्रतिवेदन तयार गर्दा प्रभावित भनिएका क्षेत्रमा भौतिक, जैविक तथा सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रसँग सम्बन्धित सवालका विषयमा प्रस्ताव कार्यान्वयन हुने क्षेत्रमा ‘राय–सुझाव’ लिनुपर्ने भएकाले समयसीमा तोकेर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयद्वारा संयुक्त रुपमा सार्वजनिक रुपमा अपिल गरेका छन् ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आयोजनाबाट प्रभावित हुने परिवारलाई स्थानान्तरण गर्ने विषयमा छलफल भइरहेको बताउँछन् । शहरी विकासमन्त्रीसमेत रहनुभएका उनी भन्छन्, “वर्षौंको पर्खाइपछि गौरवको योजना सञ्चालन हुँदा काभ्रेपलाञ्चोकवासी खुशी हुनु सुखद विषय रहेको छ ।” उनका अनुसार उक्त स्थानमा जलाशययुक्त विद्युत् आयोजना बन्दा माछापालन, बोटिङ, पर्यटकीय होटल तथा थप पर्यटकीयस्थल विकासको सम्भावना रहन्छ ।

त्यसो त गत साल चैतमा काठमाडौँमा सम्पन्न दोस्रो लगानी सम्मेलनमा सुनकोशी–तेस्रो जलाशययुक्त विद्युत् आयोजनालाई समावेश गरिएको थियो । आयोजनामा पहुँच मार्ग पुगिसकेको छ भने प्रसारण लाइनको समस्या नदेखिएको बताइन्छ । प्रस्तावित आयोजना निर्माणस्थल काठमाडाँैबाट ६० किलोमिटरको दूरीमा छ ।

सन् १९८५ मै जापान इन्टरनेशनल कोअपरेशन (जाइका)ले सम्भाव्यता अध्ययन गरेको थियो । जाइकाले नेपालमा अध्ययन गरेका १० उत्कृष्ट जलाशययुक्त विद्युत्मध्ये सुनकोशी तेस्रो एक हो । विसं २०२२ मा पनौतीमा नेपालकै तेस्रो जलविद्युत् आयोजना (दुई दशमलब चार मेघावाट क्षमता) निर्माणपश्चात् प्रस्तावित सुनकोशी–३ जलाशययुक्त विद्युत् आयोजना काभ्रेपलाञ्चोककै दोस्रो आयोजना हुनेछ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  १० : ४५ बजे

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको