उखु किसानको गुनासो : सरकारी सम्झौताले अल्झायो, अन्यथा भुक्तानी लिएरै फर्किन्थौं | Khabarhub Khabarhub

उखु किसानको गुनासो : सरकारी सम्झौताले अल्झायो, अन्यथा भुक्तानी लिएरै फर्किन्थौं

अझै करोडौं बक्यौता रकम पाउन बाँकी



काठमाडौं– ७ वर्षदेखि उखुको बक्यौता रकम नपाएपछि आन्दोलित बनेका उखु किसान सरकारसँगको सम्झौतापछि बक्यौता रकम पाउने आशामा रहेका थिए । तर अहिलेसम्म पनि सम्पूर्ण रकम पाउन नसकेपछि उनीहरु निराश बनेका छन् ।

उखु किसानले गत पुसमा २१ दिनसम्म आन्दोलन गरेका थिए । जिल्लाबाट शुरु भएको आन्दोलन राजधानीमै केन्द्रित बनेको थियो । बक्यौता रकम नपाएसम्म आन्दोलन नरोक्ने अडान राखेपछि किसानहरुका माग सम्बोधनका लागि सरकार र चिनी उद्योगबीच पाँच बुँदे सहमति भएको थियो ।

गत पुस १८ गते भएको सहमति अनुसार चिनी उद्योगबा माघ ७ गतेसम्म सबै रकम फिर्ता गराइने थियो । तर, उक्त समय सीमा सकिए पनि किसानहरु अझै पूरै रकम पाउन सकेका छैनन् ।

‘माघ ७ गतेसम्म भुक्तानी रकम पाउनुहुन्छ भनेर लिखित सहमति भएपछि ८० प्रतिशत राहत पाएको महशुस गरेका थियौं । तर, अझै रकम पाएका छैनौं ।’ खबरहबसँगको सम्पर्कमा आएका उखु किसान हरिश्याम रायले भने, ‘सरकारको मिठो बातमा हामीहरु अल्झियौं, नत्र पैसा लिएर नै हामी घर फर्किने थियौं ।’

राजधानीमा आन्दोलन गरिरहेका बेला किसानले भनेका थिए–‘बरु यही मर्छौं तर सरकारले उखुको भुक्तानी रकम नदिएसम्म हामी फर्कने छैनौं ।’

सरकारसँग वार्ता बस्दा अनेक बिलौना गाएको र किसानलाई आश्वासन मात्र दिलाएको आरोप उनले लगाए ।

सर्लाहीको अन्नपुर्ण सुगर मिलले अहिले किसानलाई केही मात्रामा भुक्तानी गरेपनि महालक्ष्मी सुगर मिल सम्पर्कमै आएको छैन ।

‘वर्षभरि लगाएको उखु हरेक वर्ष उधारोमा बेच्दा किसानलाई फाईदा के ?’ उखु किसान संघर्ष समितिका सचिवसमेत रहेका रायले सर्लाहीका अधिकांश बारीमा अझै उखु काट्ने काम सुरु नभएको बताए ।

‘सर्लाहीका किसानलाई अन्नपूर्ण मिलले १० हजारदेखि ३ लाखसम्म भुक्तानी गरेको छ’ उनले भने, ‘ज–जसले भुक्तानी पाएका छन् उनीहरुले अहिले बारीमा उखु पनि काटिरहेका छन् ।’

रायले अन्नपूर्णबाट आफूले ७ लाख रुपैयाँ पाउनुपर्नेमा ३ लाख मात्र पाएको बताउँदै भने, ‘महालक्ष्मीबाट २ लाख पाउनुपर्नेछ, त्यो अझै पाउन सकेको छैन ।’

रायजस्ता धेरै किसानहरुले चिनी उद्योगबाट लाखौं रुपैयाँ पाउनुपर्ने छ । उनीहरुले केही रकम पाए पनि सम्पूर्ण रकम पाउन सकेका छैनन् ।

पैसा नदिए पनि उद्योगले उखु मागे

भुक्तानी नदिएपछि अन्नपूर्ण सुगर मिल हाल बन्द अवस्थामा छ । किसान हरिश्यामका अनुसार सञ्चालक राकेश अग्रवालले पुरानो पैसा छिट्टै दिने र नयाँ उखु पनि हामीलाई दिनुस् भन्दै मोवाइलमा म्यासेज गरेको सुनाए ।

‘२० दिनभित्र नयाँ उखुको रकम पेमेन्ट गर्छु’ सञ्चालकको म्यासेज देखाउँदै उनले भने, ‘पुरानो त छिट्टै दिइहाल्छु ।’

तर उद्योगीको म्यासेज पत्यारलाग्दो नभएको किसानहरु दाबी गर्छन् । ७ वर्षदेखिको भुक्तानी पाउन नसकेका किसानहरु सरकारको लिखित सम्झौतालाई पर्खिरहेका थिए ।

‘सरकारले हामीसँग सहमति गरेको आज अन्तिम दिन थियो’ रायले भने, ‘सरकारले चाहेमा नहुने भन्ने हुँदैनथ्यो हामीले झिनो आशा लिइरहेकै थियौं तर त्यो पनि पूरा भएन ।’

सम्झौता आश्वसन बन्यो– किसान

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानलाई रकम उपलब्ध गराउने वाचासहित चिनी उद्योगसँग गत पुस १८ गते सम्झौता गरेको थियो ।

समझदारी पत्रमा भनिएको थियो– ‘नेपाल सरकारबाट निर्धारण भएको उखुको मुल्य बमोजिमको उखु किसानहरुको सम्पूर्ण बक्यौता रकम चिनी उद्योगहरुले माघ ७ गतेभित्र भुक्तानी गरिसक्नुपर्ने छ ।’

तोकिएको समयभित्रमा भुक्तानी पाउन नसक्दा किसानका लागि सरकारको लिखित सम्झौता आश्वसन मात्र बनेको उखु किसान बताउँछन् ।
सरकारसँग भएको सहमतिको समयसीमा सकिँदा पनि रकम प्राप्त नभएपछि किसानहरु निराश बनेका छन् ।

भुक्तानी रकम लिएरै फर्कने अठोट बोकेर काठमाडौं आएका किसानलाई सरकारले दिएको वचनले केही खुसी दिएको थियो भने साथमा भुक्तानी आउनासाथ आफ्ना समस्या टार्ने कुराहरु खेलाउँदै किसानहरु आ–आफ्नो गृहजिल्ला फर्किएका थिए ।

संघर्ष समितिका अनुसार अब सर्लाहीमै सबै उखु किसानहरुको बैठक बस्ने र सोही बैठकको निर्णय अनुसार अघि बढ्ने योजना छ ।
कुन उद्योगले कति रकम भुक्तानी गर्न बाँकी ?

उद्योग विभागकाअनुसार महालक्ष्मी सुगर मिलले किसानलाई २१ करोड ४० लाख ५८ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने थियो । उसले ११ करोड ५० लाख मात्र रकम भुक्तानी गरेको छ ।

त्यस्तै अन्नपूर्ण सुगरमिलले किसानलाई ४२ करोड रकम भुक्तानी गर्नुपर्नेमा ३ करोड ९० लाख रुपैयाँ मात्र भुक्तानी गरेको छ ।
सर्लाही किसानले अन्नपूर्ण र महालक्ष्मी सुगर मिलबाट मंगलबारसम्म १५ करोड ४० लाख रुपैयाँ भुक्तानी पाएका छन् भने अझै ४८ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको छ ।

पटक–पटक सुगर मिलका सञ्चालकहरुसँग सम्पर्क गरिरहँदा पनि समयमा किसानलाई भुक्तानी नदिएको विभागका प्रवक्ता बिनोद खड्काले जानकारी दिए ।

‘मिलका सञ्चालकहरु अझै पनि सम्पर्कमै छन्’ खड्काले खबरहबसँगको कुराकानीमा भने, ‘अहिल्यै सम्पूर्ण भुक्तानी रकम किसानलाई दिन सक्ने अवस्था छैन भनिरहेका छन् । यस विषयमा मन्त्रालयले छलफल गरिरहेको छ । पैसा फिर्ता नगर्ने र सम्पर्कमा नआउनेलाई कारबाही हुन्छ ।’

त्यस्तै श्रीराम सुगर मिल, गरुडा रौतहटले किसानलाई भुक्तानी गर्नुपर्ने रकम २६ करोड ७७ लाख ६८ हजार ६ सय २३ रुपैयाँ रहेको छ । प्रवक्ता खड्काअनुसार जग्गा बिक्री गरेर केही समयपछि बक्यौता रकमको भुक्तानी गर्ने सहमति भएको थियो ।

सो मिलले पैसा तिर्न नसक्ने भएपछि १५ पुसमा जग्गा बिक्रि गर्न भनेर भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा चिठी पठाएको बताउँदै उनले भने, ‘१० विघा जमीन बेचेर किसानको रकम भुक्तानी गर्छु भनेको छ ।’

एभरेष्ट सुगर मिल, भागेश्वरी सुगर मिल, हिमालयन सुगर मिल, इष्र्टन सुगर मिल, रिलायन्स सुगर मिल, इन्दुशंकर सुगरमिल गरी ६ वटा सुगर मिलले भने बक्यौता रहेको रकम भुक्तानी गरेका छन् ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ६ : ०५ बजे

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र