सांस्कृतिक विविधता नेपालको पहिचान | Khabarhub Khabarhub

सांस्कृतिक विविधता नेपालको पहिचान



नेपाली समाज र संस्कृतिका बारेमा गम्भीर र गहिरो अध्ययन अझै पनि राम्रोसँग हुन सकेको छैन ।

हाम्रो देशको विविधता र एकताले नै नेपाल बनेको हो । हामी नेपालीहरु बहुजातिय, बहुभाषिक, बहु सांस्कृतिकरुपमा रहेका हौं । यी नै विविधताकासाथ नेपाली भएका हौं भन्ने कुरा अझै पनि सही किसिमले आत्मसात हुन छैन ।

यद्यपि यस विविधताका बीचको एकताको स्थितिले नै प्रष्ट पार्दछ कि हामी हाम्रा विविध संस्कृति र चिन्तनका बीच सहिष्णु, उदार र गुणग्राही रहँदै आएका छौं । यसो नभएको भए हाम्रो यो विविधता नै रहँने थिएन । यसले आजसम्म निरन्तरता पाउने थिएन ।

अनि यसमा विभिन्न सांस्कृतिक धाराहरुको समिश्रण विभिन्न श्रोतहरुबाट हुन पाउने पनि थिएन । यस प्रकार हाम्रो यो अनेकताका बीच एकता नरहेको भए नेपाल भन्ने देश जुन विश्वमा १७ वटा देश मात्र अस्तित्वमा रहेका बेलामा पनि अस्तित्वमान रहेको प्राचीन देश हो, त्यो रहने नै थिएन ।

लामो समयदेखिको यो विविधतालाई स्वीकार्नु र मान्यता दिनु वास्तवमा यो हाम्रो संस्कृतिको अत्यन्तै सबल र एउटा सफल पक्ष हो । तर काल क्रममा नेपाली–नेपाली बीचमा बिषमता, बिभेद र बहिष्करणको स्थिति उत्पन्न भयो । बिद्यमान रह्यो, त्यो अहिले पनि छ ।

यो दुर्बल पक्षलाई छैन भनेर या यसलाई लुकाएर या ढाकछोप गरेर हामी नेपाली र हाम्रो देश कदापि अघि बढ्न सक्ने छैनौं । यो कुरा पनि त्यत्तिकै ध्रुब सत्य कुरा हो ।

हाम्रा एक चर्चित साहित्यकार महाकवि लक्ष्मीप्रसाद देबकोटाले भने जस्तै यो हाम्रो सुन्दर, शान्त तर विशाल देश नेपालका हामी निवासीहरु प्रकृतिपूजकदेखि हिन्दू, बौद्ध, मुस्लिम, इसाई लगायतका विभिन्न धर्म, सम्प्रदाय एवं दर्शनमा आस्था राख्ने आस्तिकदेखि धर्ममा आस्था नराख्ने नास्तिक अर्थात चार्बाकका अनुयायी अर्थात् भौतिकबादी धाराका अनुयायीहरुसम्म पनि यही देशमा छौं ।

आजको हाम्रो देशका अध्ययनशील विचारकहरुले आग्रहरहीत र तटस्थ भएर अध्ययन, बिश्लेषण र विचार गर्ने हो भने नेपाली संस्कृतिको यो जुन असल परम्परा छ । त्यसले विविधतालाई सहर्ष स्वीकारेको छ । अनि अन्तरघुलनको बाटो लिएको हामी अघि बढेका छौं ।

आधुनिक समाजशास्त्रीय भाषामा यसलाई ‘सांस्कृतिक समिश्रीकरण’(Cultural amalgamation) भन्ने गरिन्छ ।

विश्वका सम्पूर्ण सरकारहरु र शक्तिहरुले विश्व मानको भाबी पिढीको जीवन र अस्तित्वका लागि आतंकबाद र कट्टरतावादको रक्तरञ्जित खेल खेल्न छोड्नै पर्दछ । विश्वका सबै सरकार र शक्तिहरुको विश्वको कल्पना एउटा बिराट मेशिनरुपमा गरिनुपर्ने विचारधारालाई त्याग्नु पर्दछ । परस्पर सहयोग, समानता, न्याय तथा अन्योन्याश्रति ब्यवस्थाको भावनालाई अंगीकार गरिनै पर्दछ ।

मानिस श्रमले नै बनेको हो भन्ने कुरा कार्ल मार्क्सका अनन्य मित्र तथा माक्र्सवादका सह–निर्माता फेडरिक एंगेल्सले ‘बादरबाट मानिस बन्नमा श्रमको भूमिका’ भन्ने अत्यन्तै महत्वपूर्ण लेखबाट प्रष्ट उजागर गरेका छन् ।

यसले श्रमको कति ठूलो महत्व छ भन्ने कुरा मात्र दर्शाउदैन त्यसका अतिरिक्त श्रमले कसरी अरु कसैको भर नपर्ने, आत्मनिर्भर र स्वचालित बाटोमा अग्रसर हुन सकिन्छ भन्ने कुरा पनि प्रष्ट पार्दछ । हाम्रो पूर्वीय प्राचीन संस्कृतिमा पनि तीन रुपमा समिश्रण संस्कृति पाइन्छ । पहिलो हो श्रमण, दोश्रो समन र तेश्रो शमन ।

श्रमणको खाश अर्थ हो – श्रम अर्थात परिश्रम गर्नु श्रमशील हुनु। यसले कुन परम्पराको मान्यतालाई प्रकट गर्दछ भने मानिसको भाग्य बिधाता कोही अरु छैन, हुँदैन र त्यो मानिस स्वयम हो ।

मानिसले आफ्नो विकास आफ्नै श्रमको भरमा गर्दछ र गर्नु पर्दछ । मानिस नै आफ्नो सुख र दुःख दुबैको कर्ताधर्ता हो । समनको अर्थ हो–परस्पर समताको भाव राख्नु र सबैलाई आफु जस्तै सम्झनु । सबैसँग आफुलाई जस्तै आचरण र ब्यवहार गर्नु । समाजका प्रत्येक सदस्यलाई समान मान्नु । कुनैलाई श्रेष्ठ र कुनैलाई अश्रेष्ठ या हीन नठान्नु ।

जाति तथा बर्ण ब्यवस्थामा विश्वास नगर्नु । अनि शमनको अर्थ हो – आफ्ना प्रबृत्तिहरुलाई संयमित तुल्याउनु, परिग्रहको सीमालाई निर्धारण गर्नु । अर्थात् कोही कसैमाथि हावी हुने स्थिति आउन नदिनु ।

यसरी हाम्रो प्राचीन संस्कृति उदार, गुणग्राही (सबैको राम्रो कुरा ग्रहण गर्ने) र समन्वयशील अर्थात् सबैका असल कुरालाई सम्मिलन गर्ने किसिमको रहेको हामी प्रष्टसँग देख्दछौं ।

तर समाजमा ब्यक्तिगत सम्पत्तिको प्रादुर्भाव र तेरो मेरोको भावना र प्रबृत्ति खडा भएपछि यो असल परम्परा जस्ताको तस्तै कायम हुन सकेन । यसमा अनेक बिकृति र बिसंगतिहरु आए । त्यसको शिकार स्वयं हाम्रो प्राचीन समाज पनि भयो ।

आज त हामी विश्वलाई हेर्दछौ भने एकातिर यथास्थितिबादी कट्टरताबाद र अर्कोतिर आतंकबाद नै हावी भएको स्थितिबाट हामी गुज्रिरहेका छौं । विश्व परिप्रेक्षमा आज हामी यस्तो मोडमा खडा भएका छौ जहा एकातिर विश्व संस्कृतिको प्रचार प्रसारका कारणले पूँजीवादी बजारको संस्कृतिले देश–देशको सीमालाई नै समाप्त पारिदिएको छ र त्यसले गर्दा राष्ट्रबादको स्थानमा अन्तर्राष्ट्रबादको चेतना विकास भइरहेको छ ।

अर्को शब्दमा, आजको संसार नै ’विश्व ग्राम’ भएको या हुँदै गएको भनिन्छ । त्यहीं अर्कोतिर धर्मका नाममा रक्त रञ्जित आतंकबादी गतिबिधिहरुले नराम्रोसँग टाउको उठाइरहेको देखिन्छ ।

यद्यपि धर्म र आतंकबादको कही कतै कुनै टाढाको पनि साइनो र सम्वन्ध छैन भनिदै आएको छ । तर अत्यन्तै आशचर्यलाग्दो र यसकारण बिचित्रको सन्देहास्पद कुरा चाँही के छ भने अहिले चलिरहेका आतंक र कट्टरबादका सबै रक्त रञ्जित खेलहरु सबै धर्म अथवा ‘रिलिजन’ कै नाममा खेलिएका छन् र खेलिदैछन् ।

आधुनिक चिन्तनले ब्रह्माण्डाको परिकल्पना एउटा बिराट मेशिनको रुपमा गरेको छ । जीवनको प्रगति र विकासकोे लागि मेशिनद्वारा अधिक उत्पादन गर्नुलाई अनिवार्य मानिदै आयो ।

प्रत्येक देशका सरकारहरुले आ—आफ्ना नागरिकहरुलाई विकासको यही चमकदमक देखाउने र यही बाटोमा लगाउने काम गरिरहेका छन् । सरकारहरुको सारा विकास २४ घण्टै बिद्यूत उपलब्धता र चिल्ला चम्किला सडकको सञ्जाल बनाउने कुरामै प्रायः सीमित हुन थालेको छ । सीमित औद्योगिक घरानाहरुको हितमा कार्य सम्पादन गर्नमानै सरकारहरु ब्यस्त हुने गरेका छन् ।

सारा जसो देशहरु मेशिनद्वारा उत्पादित सामानको खपतका लागि बजारको खोजी गर्ने र धेरैभन्दाधेरै पूजी जुटाउने प्रतिस्पद्र्धा गर्नमा ब्यस्त छन् । यसका लागि प्रकृतिको निर्मम दोहन मात्रै होइन ठूल्ठूला नरसंहारकारी युद्धसम्म पनि हुदै गरिदै आएको छ ।

संसार एउटा परिवार भएकाले हामी सबैले मिलिजुली रहनु पर्दछ र त्यसका निमित्त समान आधार तयार गरिनु पर्दछ । हामी सबै मिलेर बाडिचुँडी खानु पर्दछ । आजको विश्वको लागि समानता, न्याय र त्यसको निरन्तरताका लागि नयाँ अर्थशास्त्रको रचना गरिनु पर्दछ ।

यसका अतिरिक्त आजका ठूल्ठूला कारखानको बिषैलो धुवाँले हावालाई प्रदुषित तुल्याइरहेको छ । कल काराखानाबाट निस्केको बिषालु रसायनले नदीनालाहरुको पानी पनि नराम्रोसँग प्रदुषित भइरहेको छ ।

रसायनिक मल असन्तुलित किसिमले प्रयोग गर्दा जमिन पनि बिषैलो र उर्बराहीन बन्दै गएको छ । यस्तो विकास भइरहेको छ जहाँ मानिसले न त स्वस्थ हावामा श्वास लिन सक्छ न सफा र सुरक्षित पानी पिउन सक्तछन न बिषादीरहीत भोजन र तरकारी नै खान सक्तछ । आजको अति नाफा केन्द्रित बजारबादी यो विकासको मोडेलले सर्बत्र यसरी डरलाग्दो बिनाश निम्त्याएको छ र निम्त्याइरहेको छ ।

यस्तो अमान्य र अस्वीकार्य आत्मघाती अबस्थाको समाधानको बाटो के हो यो आजको अहं महत्वको यक्ष प्रश्न हो । यसको उत्तरको खोजी गर्दा प्रष्ट छ कि विश्वका सम्पूर्ण सरकारहरु र शक्तिहरुले विश्व मानको भाबी पिढीको जीवन र अस्तित्वका लागि आतंकबाद र कट्टरतावादको रक्तरञ्जित खेल खेल्न छोड्नै पर्दछ ।

विश्वका सबै सरकार र शक्तिहरुको विश्वको कल्पना एउटा बिराट मेशिनरुपमा गरिनुपर्ने विचारधारालाई त्याग्नु पर्दछ । परस्पर सहयोग, समानता, न्याय तथा अन्योन्याश्रति ब्यवस्थाको भावनालाई अंगीकार गरिनै पर्दछ ।

यसरी मात्र ‘बाँच र बाँच्न देऊ’ भन्ने सह–अस्तित्वको मूल मानबीय मन्त्रलाई ब्यवहारमा खरो उतार्न सकिन्छ र उतारिनु पर्दछ । विश्वको कल्पना एउटा परिवारकोरुपमा ‘बसुधैब कटुम्बकम्’को रुपमा गरिनु पर्दछ । के कुरा मान्नु पर्दछ भने हामी सबै संसाररुपी एउटै जहाजका सहयात्री हौं ।

हाम्रा बहु जाति, भाषा, संस्कृतियुक्त समाजले यस्तै स्थिति बोधको आवश्यकता बिगतमा गरेको हो र त्यो असल र आधारभूत परम्परालाई आज पनि दृढताकासाथ पक्रिनु र अझ परिमार्जनकासाथ अघि बढ्नुको कुनै बिकल्प छैन ।

संसार एउटा परिवार भएकाले हामी सबैले मिलिजुली रहनु पर्दछ र त्यसका निमित्त समान आधार तयार गरिनु पर्दछ । हामी सबै मिलेर बाडिचुँडी खानु पर्दछ । आजको विश्वको लागि समानता, न्याय र त्यसको निरन्तरताका लागि नयाँ अर्थशास्त्रको रचना गरिनु पर्दछ ।

यसका लागि केवल अधिक नाफा कमाएर बढी भन्दा बढी पूँजी संकेन्द्रित गर्ने विकास मोडललाई बिना हिच्किचाहट तिलाञ्जली दिनै पर्दछ । उपभोगको अमयाििदत लालसलाई कहिले पनि तृप्त गर्न सकिदैन । यसको कारण के हो भने कामना र इच्छाहरुको कुनै अन्त्य हुँदैन ।

ती आकाश जस्तै अनन्त छन् । अमर्यादित उपभोग नै बिनाशको मार्ग हो । यदि यसमाथि नियन्त्रण गरिएन र मानिसले र बृहतरुपमा समाजले आफ्नो उपभोगको उपयुक्त सीमा निर्धारण गरेन तथा आफ्ना इच्छा आकांक्षाहरुमाथि लगाम लगाएन भने विकास र उन्नति तथा प्रगतिमाथि नै प्रश्न उठ्दछ ।

हामी मानब तथा सम्पूर्ण जीव मात्रको अस्तित्वका लागि पनि यो स्थिति भयानक खतराको स्थिति बन्न जान्छ । सह अस्तित्वको भावनाको स्वीकृति तथा तदनुरुपको आचरण नै पृथ्वीलाई स्वर्ग बनाउने मूल बाटो हो ।

हाम्रा बहु जाति, भाषा, संस्कृतियुक्त समाजले यस्तै स्थिति बोधको आवश्यकता बिगतमा गरेको हो र त्यो असल र आधारभूत परम्परालाई आज पनि दृढताकासाथ पक्रिनु र अझ परिमार्जनकासाथ अघि बढ्नुको कुनै बिकल्प छैन । यो बञ्छित यथार्थलाई राम्ररी आत्मसात गरौं !

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ८ : ३६ बजे

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको

सुदूरपश्चिम सरकारबाट बाहिरिन दलका नेतालाई नागरिक उन्मुक्तिको निर्देशन

सुदूरपश्चिम – नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालयले नेपाली कांग्रेस नेतृत्वको

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी