स्वयम्भू बुद्धपार्क क्षेत्रमा अत्याधुनिक शौचालय निर्माण « Khabarhub
Logo
४ माघ २०७७, आइतबार

स्वयम्भू बुद्धपार्क क्षेत्रमा अत्याधुनिक शौचालय निर्माण



फाइल तस्वीर ।

काठमाडौं – काठमाडौँ महानगरपालिकाल सबै वडामा सुबिधाजनक सार्वजनिक शौचालय निर्माण गर्ने योजना अघि बढाएको छ ।

यही योजना अनुरुप काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज विश्व शौचालय दिवस २०२० को अवसर चक्रपथ सडक खण्डको स्वयम्भू बुद्ध पार्क क्षेत्रमा स्वचालित नमूना सार्वजनिक शौचालयको शुभारम्भ गरे ।

४०० बर्ग फिट क्षेत्रफलमा निर्माण भएको सो सौचालयको शुभारम्भ गर्दै प्रमुख शाक्यले सार्वजनिक शौचालयलाई परम्परागत स्वरुपबाट आधुनिक तथा अत्याधुनिक ढाँचामा रुपान्तरण गर्ने र व्यवसायिकताबाट सेवामुलक बनाउँदै लैजाने महानगरको योजना रहेको स्मरण गराए ।

‘सार्वजनिक शौचालय भएका ठाउँहरु शौचालयभन्दा अन्य व्यापारिक गतिबिधि गर्ने ठाउँ जस्ता देखिए,’ उनले भने,‘त्यस्ता क्रियाकलापलाई निरुत्साहित गर्दै पहुँचयुक्त सार्वजनिक शौचालयलाई प्रोत्साहित गर्दै लैजाने योजना अनुसार आज यो सौचालयको शुभारम्भ गरेका छौँ ।’

शाक्यले व्यक्तिको आधारभूत आवश्यकतासँग जोडिएकाले सार्वजनिक शौचालय निर्माणलाई प्राथमिक योजना राखेर काम गरिरहेको भन्दै आधुनिक सामाग्रीको जडान गरेपछि त्यसलाई सञ्चालन गर्ने आचरण पनि प्रबिधिमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिए । ‘प्रबिधिको प्रयोगबाट परिणाम आउँछ,’ उनले भने, ‘स्वयम्भूमा अत्याधुनिक शौचालय निर्माण भएको छ । यसको प्रयोग र व्यवस्थापन सीप सिकाइ विस्तार गर्दै लगिनेछ ।’

काठमाडौं महानगरले सम्पदा र भीड हुने क्षेत्रलाई प्राथमिकतामा राखेर सार्वजनिक शौचालय निर्माण गर्ने नीति अनुरुप काम गरिरहेको पनि उनले जानकारी दिए ।

काठमाडौँ महानगरपालिकाले पछिल्लो समय डिजाइन तयार पारेका पार्क र निर्माण भैरहेका पार्कमा पनि सौचालयलाई प्राथमिकतामा राखेको छ भने वडा–वडामा पनि यहि नीति अघि बढाएको छ ।

कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले महिनावारी प्याड मेसिनमा सिक्का राखेर स्यानिटरी प्याड मेसिन सञ्चालन सुरु गरिन् ।

‘केही नमूना शिफारिस पनि भएका छन्,’ अध्ययन समितिको संयोजक भएर काम गरेको अनुभव सुनाउँदै उपप्रमुख श्रेष्ठले भनिन्,’ ‘सबै वडामा सुबिधाजनक सार्वजनिक शौचालय निर्माण गर्ने योजनाअनुसार काम भइरहेको छ ।’

महानरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले उक्त ठाउँलाई शौचालय पार्कका रुपमा विकास गर्ने वडाको योजना रहेको सुनाए ।

‘पार्कमा आउने व्यक्तिले १० रुपैयाँ शौचालयमा तिर्नुभन्दा त्यस बराबरको चिया खान्छन् । उनीहरुले त्यागेको दिशापिसाब संकलनबाट बायोग्याँस उत्पादन हुन्छ,’ उनले भने, ‘यसैबाट पार्कमा आउनेहरुका लागि खानेकुरा पकाइन्छ । शौचालय व्यवस्थापनको यो दिगो तरिका हो । यसले स्वयम्भु क्षेत्रको पर्यटक व्यवस्थापनमा नयाँ आयाम थपेको छ ।’

काठमाडौँ महानगरपालिकाले सहरभित्र सञ्चालनमा रहेका सार्वजनिक शौचालयको गुणस्तर सुधार गर्ने, पहुँच बढाउने, पेटोल पम्पलगायत सार्वजनिक सेवा प्रदायक निकाय र होटल, रेष्टुरेन्टलगायत निजी तथा व्यवसायिक स्थान सञ्चालन भइरहेका शौचालयलाई सार्वजनिक रुपमा सञ्चालन गर्ने जस्ता योजना अघि सारेको छ सहरी योजना आयोगका सदस्य मनराजा रञ्जितले जानकारी दिए ।

‘काठमाडौँ महानगरपालिकाले यो आर्थिक वर्ष भित्रमा ३० देखि ४० वटासम्म सौचालय निर्माण गर्ने योजनासहित अघि बढेको छ,’ रञ्जितले भने ‘एरोसानलाई हामीले स्वयम्भुसँगै त्रिपुरेश्वर, परोपकार र टंकेश्वरमा पनि अत्याधुनिक सौचालय निर्माणका लागि प्रक्रिाय अघि बढाउन अनुमति दिएका छौँ । गैर आवासीय नेपाली संघसँग कंलकी, कोटेश्वर, महाराजगञ्ज र सिफलमा सौचालय निर्माणको प्रक्रिया अघि बढिसकेको छ ।’

उनले त्यसका लागि सहरी योजना आयोगले काठमाडौंमा उपयुक्त हुने सार्वजनिक शौचालयका ढाँचा, लागत र स्थानको अध्ययन गरिसकेको पनि जानकारी दिए ।

गतवर्ष मंसिर १७ गते बसेको नगर कार्यपालिकाको बैठकले सामाजिक उत्तरदायित्वअन्तर्गत सार्वजनिक शौचालय निर्माणको काम अघि बढाउन उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई जिम्मेवारी दिएको थियो ।

यहि अनुरुप केही महिना अघि मात्रै पनि बढी भिडभाड हुने नयाँ बानेश्वर छक्कुपक्कु पार्कमा आधुनिक सौचालय निर्माणपछि हाल सञ्चालनमा छ । यसबाट पनि वायोग्याँस उत्पादन भैरहेको छ ।

‘स्वयम्भूमा ५५ लाख रुपैयाँ लागतमा निर्माण भएको शौचालयमा वडा १५ ले ५ लाख रुपैयाँ र बाँकी एरोसानकातर्फबाट स्रोत व्यहोरिएको छ ।

शौचालय भवनबाट आकाशे पानी संकलन गर्न १२ हजार लिटरको पानी संकलन ट््याङ्की राखिएको छ । शौचालय महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक सबैका लागि प्रयोग मैत्री छ ।

शौचालयका सुबिधा स्वचालित प्रबिधिमा आधारित छन् । शौचालयको बिशेषताका बारेमा जानकारी दिँदै एरोसानका राष्ट्रिय प्रतिनिधि प्रकाश अमात्यले भने ‘शौचालयबाट उत्पादन भएको कुनै पनि फोहोर बाहिर जाँदैन । प्रबिधि र वातावरणमैत्री दुवै पक्ष जोडेर यसलाई नमूना बनाइएको हो ।’

शौचालयमा पुरुषका लागि ४ वटा युरिनल र २ वटा शौचालय, २ वटा कोठा रहेको महिला शौचालयमा बच्चालाई प्याड फेराउने ठाउँ, महिनावारी भएका बेला प्याड लिन मिल्ने र प्रयोग गरिएको प्याड व्यवस्थापन गर्ने डिस्पोजल मेसिन, स्वचालित प्रबिधिबाट पानी र झोल साबुन आउने प्रबिधि, हात सुकाउने मेसिन (ह्याण्ड ड्रायर) जडान गरिएका छन् ।

त्यहाँ पर्यटक र अपाङ्गता भएका व्यक्तिका लागि १÷१ वटा छुट्टाछुट्टै शौचालय कोठा छन् । स्वचालित भेन्टिलेसन, स्वचालित फ्लस प्यान, सुधारिएको दिसा गर्ने प्यान जडान गरिएका छन् ।

नुहाउनका लागि तातो र चिसो पानी आउने सावर, फोहरपानी प्रशोधन पुनः प्रयोग गर्ने प्रणाली, बायो ग्याँस प्रविधिबाट दिशाजन्य लेदो व्यवस्थापन यसका बिशेषता हुन् । शौचालयबाट उत्पादन भएको कम्पोट मल त्यहीँको बगैंचामा प्रयोग हुनेछ ।

बायोग्याँसका लागि १० घन मिटरको प्लान्ट छ । यसबाट मासिक रुपमा १.५ सिलिण्ंडर बराबर ग्याँस उत्पादन हुने एरोशासनका राष्ट्रिय प्रतिनिधि अमात्यले जानकारी दिए ।

 

 


भर्खर

0