‘गाडी चल्यो, दशैँ खर्च जुटाउन पाइयो’ | Khabarhub Khabarhub

‘गाडी चल्यो, दशैँ खर्च जुटाउन पाइयो’

सवारी चालकमा छैन कोरोनाको त्रास


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– घटस्थापनासँगै शनिबार दशैँ सुरु भएको छ । संघीय राजधानी शहर काठमाडौँमा बजार, सपिङ मल, बसपार्क, टिकट काउन्टर लगायतका स्थानमा विगत वर्षहरूमा झैँ भिडभाड छैन ।

कोरोना भाइरस संक्रमितहरू बढिरहँदा संघीय राजधानी काठमाडौँबाट यात्रु लिएर विभिन्न जिल्लामा पुग्ने चालकहरूसँग कुरा गर्ने उद्देश्यले हामी एउटा डिलक्स बसछेउ पुग्यौँ ।

हामीले सोध्यौँ, ‘यो बसको गुरुजी कता हुनुहुन्छ ?’

‘म नै हुँ, के को लागि होला, ’उनले गाडीभित्रैबाट जवाफ दिए’ ।

हामीले कोरोना भारस संक्रमणको यस्तो समयमा गाडी चलाइरहँदाको केही अनुभव र चालकहरूको दशैँबारे कुराकानी गर्न चाहेको बतायौँ ।

‘रातभरि बसको स्टेरिङ घुमाउँदा जिउ थाकेर एक छिन आराम गरेको,’ उनले बसको अगाडीको सीसा खोल्दै भने, ‘भित्रै आउनुस् न, बसेर कुरा गरौँला ।’ चालकको नाम रहेछ दिनेश कार्की । उनी काठमाडौँबाट विराटनगरसम्म गाडी यात्रुवाहक बस चलाउँछन् । उताबाट यात्रु लिएर काठमाडौं आइपुग्छन् ।

बिहानको साढे १० बजे, नयाँ बसपार्कमा बस पार्किङमा राखेर चालक र सहचालक पनि आराम गरिरहेका थिए । डिलक्स बसको ढोकामा स्यानिटाइजर राखिएको थियो ।

त्रास छैन, खुसी छौँ

नेपालमा अहिले कोरोना भाइरस संक्रमितहरूको संख्या दैनिक बढिरहेको छ । काठमाडौं उपत्यकामा २ देखि ३ हजारको संख्यामा संक्रमित फेला पर्ने गरेका छन् । यहीँबाट दशैँ मनाउन गाउँघर जाने यात्रु लिएर १२—१४ घण्टा बस चलाउँदा कोरोनाको त्रास हुन्छ कि हुँदैन ?

दिनेशको विचारमा कोरोना भाइरस सामान्य रुघाखोकी जस्तै हो, यसलाई कसरी लिने भन्ने कुरा आफूमै भर पर्छ । डराएर होइन जुधेर अघि बढ्न पर्छ ।’

कोरोना भाइरस कहिलेसम्म रहन्छ र यसको औषधि कहिले बन्छ भन्ने कुनै निश्चित छैन । परिवारको गुजारा चलाउनै पनि मजदुरहरू अहिले सडकमा काम गर्नु परेको छ । दिनेश भन्छन्, ‘आफ्नो तर्फबाट सुरक्षामा उपायहरू अपनाउनुपर्छ तर कोरोना लाग्छ कि भन्ने डर लिनु हुँदैन ।’

दशैँ आउनु महिना दिनअघि सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएर यातायात क्षेत्रमा काम गर्ने आफूजस्ता मजदुरका लागि राहत भएको उनको दिनेशको भनाइ छ ।

उनले भने, ‘दशैँको मुखमा सार्वजनिक यातायात चलाएर हामीले दशैँ खर्चको जोहो गर्न पाएका छौँ, यात्रु नै नभए पनि हामी यात्रामा हिँडेपछि पाउने रकम पाइरहेका छौँ, खुसी छौँ ।’

परिवारलाई चिन्ता

कोरोना भाइरस संक्रमणको जोखिम ध्यानका राखेर सरकारले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरेर असोज १ गतेबाट सार्वजनिक यातायातका साधन सञ्चालन गर्न अनुमति दियो । खबर सुनेर यातायात मजदुरहरू खुसी भए । दिनेशले भने, ‘६ महिनादेखि बेरोजगार भएर बसेको ज्यान पुनः काममा फर्कन पाउने भयो भनेर खुसीको कुरा घरमा सुनाएँ ।’

दिनेशको परिवारका सदस्यहरू भने उनको खुसीमा सहमत हुन सकेनन् । होऊन् पनि कसरी ! कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या दिनप्रतिदिन बढ्दै थियो । बाआमाको मन, घरमा सुरक्षित भएर बसेको छोरो गाडी चलाउन गएपछि बिरामी पो हुने हो कि भन्ने डरले निराश भए ।

दिनेशले कोरोनाबारे बाआमालाई सम्झाए । सरकारले जनस्वास्थ्यका मापदण्ड जारी गरेको छ, त्यहीअनुसार काम गर्ने हो, दशैँ खर्च पनि जुटाउनु पर्‍यो भनेर सम्झाएको उनले बताए ।

६ महिनापछिको पहिलो दिन

असोज २ गते बिहान सबेरै उठेर दिनेश काठमाडौको नयाँ बसपार्क पुगे । ‘लामो समयदेखि ठप्प सवारी साधन सञ्चालन हुने भनेपछि यात्रु नै नभए पनि आफ्नो रुटमा गाडी चलाउनै पर्‍यो,’ उनले भने, ‘काठमाडौँ—विराटनगरको लागि बस सञ्चालनको तयारी गरियो तर यात्रु नै थिएनन् ।’

नयाँ बसपार्कमा १३० रुपैयाँ तिरेर बस डिसइन्फेक्सन गर्ने गरेको उनले बताए । बस चढ्नुअघि हातमा स्यानिटाइजर लगाउन ढोकामै स्यानिटाइजर राखिएको छ । यात्रुका लागि मास्क अनिवार्य गरिएको छ । यात्रुहरूलाई झ्यालको सिसा खोल्न भनिएको छ ।

घर नगए पनि दशैँ खर्च पठाउने धोको

पोखरा–काठमाडौँ रुटमा गुड्ने गाडीका सहचालक रविन गुरुङ पनि माहामारीमा पनि लामो समयपछि काममै फर्कन पाउँदा खुसी भएका छन् । ‘मापदण्डअनुसार दुईवटा सिटमा एकजना मात्र यात्रु राखेका छौँ’ उनले भने, ‘अहिले यात्रु थोरै छ, सुरक्षित तरिकाले यात्रा गराइरहेका छौँ ।’

चालक दिनेश र सहचालक रविन विगतका वर्षहरूमा अष्टमी, नवमी र विजयादशमीका दिन बिदा लिने गर्थे । यस वर्ष कोरोना भाइरसकै कारणले उनीहरू घर नजाने सोचमा छन् ।

‘हामी गाडी लाइनमा हिडिरहँदा धेरै जनासँग सम्पर्कमा रहेका हुन्छौँ, क्वारेन्टिनमा बस्ने अवस्था पनि छैन त्यसकारण यसपालिको दशैँमा टीका नलगाउने सोचमा छु’ रविनले भने, ‘आफू नगए पनि घरमा दशैँ खर्च पठाउँछु, दशैँ त अर्को वर्ष पनि मान्न सकिन्छ ।’

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ५ : २० बजे

विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार

काठमाडौं–  विशेष गरी महिलाहरू एक अर्कामा सामानहरू साटासाट गरेर चलाउने

कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक अझै भेटिएनन्

घोडाघोडी– चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम

सबैभन्दा धेरै अपराध कोशी प्रदेशमा 

काठमाडौं– सात प्रदेशमध्ये सबैभन्दा धेरै गम्भिर प्रकारका अपराध कोशी प्रदेशमा

शिक्षाले मात्रै गाउँको परिवर्तन हुन्छ : मन्त्री राई

धनकुटा– खानेपानीमन्त्री राजेन्द्रकुमार राईले शिक्षाको विकासले मात्रै गाउँको परिवर्तन हुने

खुवालुङ : चुलियो चर्चा, संरक्षणको छैन सुरसार

किराती समुदायले आफ्नो आस्था केन्द्र रहेको भन्दै संरक्षणमा जुटेपछि एकताका