अमेरिकामा न्यायाधीश नियुक्तिमा विवाद, चुनावी मुद्दा फेरिने सम्भावना | Khabarhub Khabarhub

अमेरिकामा न्यायाधीश नियुक्तिमा विवाद, चुनावी मुद्दा फेरिने सम्भावना


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको रिक्त न्यायाधीश पदमा आगामी साता एक महिलाको नाम सिफारिस गर्ने घोषणा गरेसँगै अमेरिकी राष्ट्रपतीय निर्वाचनको माहौल नयाँ मोडमा प्रवेश गरेको छ ।

सर्वोच्च अदालतमा उदारवादी छवि बनाएकी न्यायाधीश रुथ बाडर गिन्सबर्गको ८७ वर्षको उमेरमा गत शुक्रबार निधन भएपछि उक्त स्थान रिक्त भएको हो ।

हाल रिपब्लीकन पार्टीको बहुमत रहेको सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले पनि राष्ट्रपति ट्रम्पले गर्ने मनोनयनलाई सिनेटले अनुमोदन गर्ने बताएर नयाँ बहसको सिर्जना गरेका छन् ।

नर्थ क्यारोलिना राज्यमा भएको चुनावी सभामा बोल्दै राष्ट्रपति ट्रम्पले विपक्षी डेमोक्रेट पार्टीले विरोध गरे पनि न्यायाधीशमा मनोनयन गरेरै छाड्ने बताए । गिन्सबर्गको उत्तराधिकारी तत्काल चयन गर्न नाराजुलुस गरेका उत्साहित समर्थकलाई सम्बोधन गर्दै उनले भने, “प्रस्तावित नाम निकै प्रतिभाशाली र एकदमै कुशल महिला हुनेछिन् । म अर्को साता नै नाम सिफारिस गर्नेछु ।”

तर उनले ती सम्भावित उम्मेदवारका बारेमा भने केही बताउन चाहेनन् ।

राष्ट्रपति ट्रम्पले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्ताव गरिने व्यक्तिको सुनुवाई समेतका सम्पूर्ण प्रक्रिया पूरा गर्न आफूसँग पर्याप्त समय रहेको दाबी गरे ।

तर रिपब्लीकन पार्टीभित्रै आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनाव अघि न्यायाधीश नियुक्तीको कार्य गर्न नहुने बहस पनि चलेको छ किनभने यसअघि तत्कालीन राष्ट्रपति बाराक ओबामाले सन् २०१६ मा न्यायाधीश नियुक्त गर्न खोज्दा चुनावी वर्ष भन्दै रिपब्लीकनको बहुमत रहेको सिनेटले नै उक्त कार्य रोकेको थियो ।

डेमोक्रेट पार्टीले सन् २०१६ मा स्थापित पूर्व मान्यता अहिले पनि कायम राख्नुपर्ने अडान राखेका छन् ।

अमेरिकाका विभिन्न चुनावी मतसर्वेक्षणले आगामी चुनावमा राष्ट्रपति ट्रम्पले जित्ने सम्भावना झिनो रहेको देखाइरहेका छन् भने सिनेटमा पनि रिपब्लीकन पार्टी अल्पमतमा पर्ने सम्भावना छ ।

सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिको विषयलाई लिएर फेरि अमेरिकी चुनावमा नयाँ मोड सिर्जना भएको छ ।

कोरोना भाइरसको महामारीबाट झण्डै २ लाख मानिसको ज्यान गइसकेको, लाखौं मानिस बेरोजगार भएका र आपसी कलह बढ्दै गएको अवस्थामा त्यसलाई पन्छाएर राष्ट्रपति ट्रम्पले न्यायाधीश नियुक्तिलाई चुनावी मुद्दा बनाउन थालेका छन् ।

डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले कुनै पनि किसिमको प्रस्ताव नोभेम्बर ३ को चुनावपछि गरिनु पर्दछ भनेका छन् । उनले भनेका छन्, “मतदाताहरुले राष्ट्रपति चयन गरुन् र निर्वाचित राष्ट्रपतिले न्यायाधीश छानोस् ।”

बाइडेनले सर्वोच्चको न्यायाधीशमा कालाजातिकी महिला छनौट गर्ने घोषणा गरिसकेका छन् । तर उनले नाम भने सार्वजनिक गरेका छैनन् ।

राष्ट्रपति ट्रम्पले पुनरावेदन अदालतका न्यायाधीशहरु एमी कोनी ब्यारेट, हिस्पानिक समुदायकी बारबरा लागोआ र एलिसन जोन्स रसिङको नाम प्रस्ताव गर्ने सम्भावना छ । पुनरावेदन अदालतका न्यायाधीश अमुल थापरको नाम समेत चर्चामा रहेको छ ।

सिनेटमा डेमोक्रेटिक पार्टीका नेता चक शुमरले डेमोक्रेटिक पार्टीका सिनेट सदस्यहरुसँग शनिबार नै भिडियो कन्फरेन्स गरेर ट्रम्पको सम्भावित कदमका बारेमा विचार विमर्श गरेका छन् । १०० सदस्यीय अमेरिकी सिनेटमा हाल रिपब्लीकनको ५३ सिट र डेमोक्रेट पार्टीको ४७ सिट रहेको छ ।

अमेरिकामा गर्भपतन अधिकार समेतका महत्वपूर्ण विषयमा निर्णय गर्न नयाँ न्यायाधीश नियुक्तिले महत्वपूर्ण भूमिका खेल्नेछ । अहिलेको न्यायाधीश नियुक्ति राष्ट्रपति ट्रम्पले गरेको खण्डमा अमेरिकी सर्वोच्च अदालतमा कन्जरभेटिभको बाहुल्य स्थापित हुने भन्दै उदारवादीहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ३ : २८ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका